टनेल खेतीले बढायो किसानको आम्दानी

नारायण तुम्बापो

फिदिम, साउन ८ गते ।  पाँचथरका व्यावसायिक किसानले टनेलमा तरकारी खेती गरेर वार्षिक डेढ करोड रुपियाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।  टनेलमा टमाटर, काँक्रा, तीते करेला, सिमी, बोडी, फर्सी, चिचिन्डा, अकबरे खुर्सानीलगायत लहरे तरकारी लगाएर किसानले आम्दानी थाप्ने गरेका हुन् ।
कृषि विकास कार्यालयले अनुदानमा दिएको टनेलमा किसानले मौसमी÷बेमौसमी तरकारी लगाएर आम्दानी बढाउन थालेका हुन् ।  अहिले पाँचथरका विभिन्न ठाउँमा छ सय टनेलमा किसानले तरकारी खेती गरिरहेको कृषि कार्यालयले जनाएको छ ।  एउटा टनेलबाट वार्षिक न्यूनतम २५ हजार फाइदा हँुदा छ सयवटाबाट डेढ करोड रुपियाँसम्म आम्दानी हुने गरेको हो ।  
आफूसहित छ किसानले १८ वटा टनेलबाट चिचिन्डा, टमाटर, करेला फलाएर वार्षिक चार लाख रुपियाँसम्म आम्दानी गर्नेे गरेको भारापाका डिल्ली सुवेदीले बताउनुभयो ।  टनेलबाट चार÷चार महिनाको फरकमा वर्षमा तीनपटक खेती गरेर आफूहरूले आम्दानी लिने गरेको फिदिम–२ अर्खौलेका किसान सरस्वता ढुङ्गानाले बताउनुभयो ।  तरकारी खेती गरेर राष्ट्रपति पुरस्कारसमेत पाउनुभएका सरस्वताले पशुपालन समेत गरेर वार्षिक दस लाख रुपियाँ आम्दानी गर्ने गरेको सुनाउनुभयो ।  
यस्तो प्रविधिमा खेती गर्न विगत पाँच वर्षदेखि किसानलाई प्रोत्साहित गरिरहेको वरिष्ठ विकास अधिकृत कमलेस तिवारीले बताउनुभयो ।  टनेलमा लगाएको बाली कडा वर्षा, असिना, शीतले नोक्सान गर्न नसक्ने हुनाले यसतर्फ किसानको आकर्षण बढेको पाइएको छ  ।  tanel
प्राविधिकका अनुसार जाडोयाममा तापक्रम व्यवस्थापन गरिदिएर बढी आम्दानी हुने गरी बेमौसमी  तरकारी फलाउन टनेलले किसानलाई सघाउने गरेको छ ।  
अधिकांश किसानले ८४ वर्गमिटर जमिनमा चार वर्षसम्म खपाउ हुने प्लास्टिक ओताएर निर्माण गरिएको टनेलमा लहरे बाली मात्रै लगाउने गरेका छन् ।  सामूहिक खेती गर्ने किसानले ठूला टनेल बनाउने गरेका छन् ।  
टनेलको उपयोगिता बुझेपछि पाँचथरका किसानले अभियानकै रूपमा एक घर एक टनेल निर्माण गर्ने क्रम पनि बढिरहेको पाइएको छ ।  टनेल घरकै रूपमा पाँचथरका विभिन्न ठाउँमा छवटा अलैँची नर्सरीका लागि ठूला हरितगृह समेत निर्माण गरिएको छ ।  पाँचथरका फिदिम, भारापा, नागी, अमरपुर, फाक्तेत, चिलिङ्देन, इम्बुङ, नागीनलगायतका क्षेत्रमा टनेलमा तरकारी खेती गर्ने किसानको सङ्ख्या बढ्ने क्रममा छ ।  
टनेल देखासिकीका रुपमा पनि बनिरहेका छन् ।  हिजोआज यहाँ टनेलको चलन बढेसँगै परिश्रमी किसानको घर या जमिन छुट्याउनु परे टनेल नै हेर्ने चलनको समेत विकास भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना