अविस्मरणीय डा. रामानन्द

Shanti krishna adhikariशान्तिकृष्ण अधिकारी

 

सामान्य जोगी देख्नेबित्तिकै काम गर्नका गाह्राले जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै प¥यो भन्ने हामी नेपालीको आम चलन छ ।  पहेँला लुगा लगाएर घरघरमा माग्दै हिँड्ने र सञ्चारमाध्यममा विभिन्न हतकण्डाका कारण चर्चामा आइरहने अधिकांश सन्न्यासीका कारण पनि आधुनिक जगतमा सन्यस्तले अपमानित हुन परी रहेको छ ।  आम मानिस सन्न्यासी बन्न सक्दैन र सन्यस्त सबै वास्तविक सन्न्यासी हुन पनि सक्दैनन् ।  माग्न हिँड्ने जोगी र सन्न्यासीका बीचमा भेद छुट्याउन नसक्नु समाजको कमजोरी बनिरहेको छ भने अधिकांश सन्न्यासीले पहेँलो बस्त्रलाई ठगी खाने अस्त्र बनाउनाले हिन्दू धर्मको एक चरण कलङ्कित हुन पुगेको छ ।  गहिरिएर हेर्ने हो भने सबै सन्न्यासी त्यस्ता छैनन् र त्यस्ताकै बीचमा डा. रामानन्द गिरिजस्ता स्वामीहरू पनि भेटिन्छन् ।
वि.सं. २००३ भाद्र १० गते धादिङ जिल्लाको केवलपुर गाउँमा जन्मनु भएका डा. गिरि २०७४ आषाढको २४ गते ब्रह्मलीन हुनुभयो ।  गृहस्थको काजकिरिया १३ दिनमा सम्पन्न हुन्छ तर सन्न्यासीको १६औँ दिनमा सम्पन्न हुने भएकोले साउन ८ गते विभिन्न कर्मसहित देवघाटमा स्वामीजीको भव्य संस्मरणात्मक कार्यक्रमको आयोजना हुँदैछ ।  ७१ वर्ष धर्तीमा बिताउनु भएका स्वामीले समाजका निम्ति अनुकरणीय धेरै काम प्रदर्शन गरेर जानु भएको छ ।  सन्न्यास जीवनभन्दा पहिले रामप्रसाद सुवेदीको नामले चिनिने स्वामी रामानन्दले ४५ वर्षको उमेरमा २०४८ फागुनमा सन्न्यास आश्रममा प्रवेश गर्नु भएको थियो ।  प्रारम्भिक शिक्षा घरमै पिताजीबाट ग्रहण गरेर रानीपोखरी संस्कृत प्रधान पाठशालाबाट माध्यमिक शिक्षा पूरा गरी त्रिभुवन विश्वविद्यालयबाट शाङ्करवेदान्त विषयमा आचार्य (स्नातकोत्तर तह) पार गर्नु भएको थियो ।  सोही विश्वविद्यालयबाट विद्यावारिधिसमेत गर्नुभएका स्वामीले जागिर खाँदै घरजम गरेर सुखसाथ जीवन बिताउने प्रशस्त अवसर हुँदाहुँदै पनि धर्मसंस्कृति संरक्षणार्थ क्रियाशील हुने उद्देश्यले सन्यास लिनुभएको थियो ।  आचार्य तहमा प्रथम श्रेणीमा प्रथम स्थान प्राप्त गरी सकेपछि वि.सं. २०३९ मा तीनधारा संस्कृत पाठशालामा अध्यापकमा नियुक्त हुन भएको थियो भने विश्वनाथ संस्कृत महाविद्यालय दिल्लीमा समेत अध्यापन कार्यमा संलग्न हुनभएका स्वामी काम गर्ने अवसर नपाएर वा नसकेर निश्चय नै जोगी बन्नु भएको होइन ।
 उहाँले समाजलाई नासोका रूपमा छाडेर जानु भएको महेश सन्न्यास आश्रमका बारेमा जानकारी लिने हो भने डा. स्वामी रामानन्द गिरिलाई नमन नगर्ने बिरलै भेटिएलान् ।  तनहूँ जिल्लाको देवघाटमा आधारभूत तहको ज्ञान दिनेदेखि स्नातकोत्तर तहको पढाइ हुने आश्रम जनताका लागि सुम्पेर जानुभएको छ ।  हिन्दू धर्म संरक्षण तथा सम्बद्र्धनका लागि आवश्यक पूर्वाधार तयार गर्ने उद्देश्यले वि.सं. २०५० मा देवघाटमा स्थापना गरिएको उक्त आश्रममा हाल सन्त निवास, छात्रावास, अध्यापक निवास, पुस्तकालय, गौशाला, भक्त निवास, भोजनालय, शिवमन्दिर र विद्यापीठ भवनहरू निर्माण भइसकेका छन् ।
२०५० सालमा स्थापित उक्त आश्रममा वि.सं. २०५२ देखि महेश संस्कृत गुरुकुल स्थापना गरी औपचारिक पठनपाठन प्रक्रियाको आरम्भ गरिएको हो ।  अहिले उक्त आश्रममा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्ममा अध्ययन गर्ने तीन सय विद्यार्थी छन् ।  तीन सय विद्यार्थी अध्ययन गर्ने कुनै विद्यालय वा विद्यापीठ वा क्याम्पस हुनु कुनै ठूलो कुरो होइन तर ती विद्यार्थीले त्यहाँ अध्ययन गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन बरु आवास र भोजन आश्रमका तर्फबाट निःशुल्क उपलब्ध हुन्छ ।  त्यहाँ पढाउनका लागि सरकार र नेपाल संस्कृत विश्वविद्यालयले केही न्यून सङ्ख्यामा शिक्षक दिएको छ भने बाँकीलाई तलब भत्ताको व्यवस्था आश्रम आफैँले गर्दै आएको छ ।  स्वामीको जागिर, व्यापार, व्यवसाय केही थिएन तर त्यत्रो आश्रम चलाउने स्रोत के हो त भन्नेअचम्मलाग्दो कुरो हो ।  त्यहीँ बस्न चाहने शिक्षकलाई समेत तलबका साथै भोजन र आवासको प्रबन्ध हुने उक्त आश्रममा स्वामीजी छउञ्जेल एकमुष्ट ठूलो रकम कसैले दान गर्न समेत पाउँदैनथ्यो ।  एकपटक एकजना व्यापारीले ६ महिनाका लागि आश्रम सञ्चालन गर्ने सामग्री दान गर्छु भन्दा जोगीकहाँ त्यत्रो सामग्री राख्ने ठाउँ छैन भन्दै अस्वीकार गर्नुभएको थियो भन्ने सुनिएकै हो ।  
संस्कृतको उचित शिक्षा लिन चाहनेका निमित्त आज उक्त गुरुकुल एक नम्बरको संस्थाका रूपमा दरिन पुगेको छ ।  आर्थिक अभावका कारण अध्ययनको अवसर प्राप्त गर्न नसकेका बालकका लागि त यसै नै मातृसंस्थाका रूपमा उभिन सफल भएको छ भने त्यहाँ अध्ययन गर्ने अधिकांश छात्रले माध्यमिक तह (पहिले एस्एल्सी र अहिले एस्इइ) को परीक्षामा अतिविशिष्ट र विशिष्ट तहको अङ्क हासिल गर्ने गरेका छन् ।  नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित शास्त्री (स्नातक) तह र आचार्य (स्नातकोत्तर) तहका परीक्षामा समेत त्यहीँका विद्यार्थी सर्वप्रथम हुने गरेको पाइन्छ ।  अनुशासनमा विशेष ख्याल राख्ने स्वामीजीले विद्यार्थीलाई अब्बल बनाउन आफँैसमेत अध्यापन कार्यमा संलग्न हुने गर्नु हुन्थ्यो ।  बिहान उठेदेखि खाना खाने बेला होस् वा खाएर उठ्ने बेला होस्, अध्ययन गर्दादेखि सुत्नेबेलासम्म वेदका ऋचाहरू उच्चस्वरमा पाठ गरेको सुन्न पाइने यो आश्रम संस्कृत अध्ययन, हिन्दू धर्म संरक्षण र नेपालीहरूको सांस्कृतिक पहिचानका लागि उदाहरणीय केन्द्रका रूपमा स्थापित हुन पुगेको छ ।
स्वामीजीमा लोभ पटक्कै नभएको कुरा त माथि उल्लेख गरी सकिएकै छ ।  आज चार जनाको परिवार धान्न आममानिसलाई हम्मेहम्मे परी रहेको अवस्थामा त्यत्रो बन्दोवस्त गरेका स्वामीसँग नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीले उक्त गुरुकुललाई विश्वविद्यालयले सञ्चालन गर्ने प्रस्ताव राख्दा राजनीतिकरण हुन्छ र विद्यार्थीको पढाइ बिग्रन्छ भनी नमानेको कुरा धेरैलाई थाह छ ।  वेद, वेदान्त, व्याकरण र नेपालीको उच्च तहको अध्ययन हुने यस विद्यापीठका विद्यार्थी अहिले पनि नेपाली समाजका निमित्त देखाउन लायकका विद्वान्का रूपमा रहेका छन् ।  विद्यार्थीलाई करिब १२ हजार पुस्तक रहेको पुस्तकालय सुविधा प्राप्त छ भने इतिहासका पुस्तकमा पाइने गुरुकुल भन्ने पाठशाला कस्तो हुन्छ भन्ने प्रत्यक्ष अनुभव गर्न त्यहाँ पाइन्छ ।  भौतिक सामग्री सङ्कलन र निर्माण कार्यबाहेक मासिक पाँच लाख रुपियाँ सञ्चालन खर्च भएको आश्रम उदारमना दाताको दानबाट सञ्चालन हुँदै आएको छ ।  स्वामीजीको देहावसानपश्चात् समेत त्यसैगरी सञ्चालन हुने वातावरण निर्माण गर्न अब सबैको दायित्व हुन पुगेको छ ।
डेढ दर्जनभन्दा बढी पुस्तकका लेखक स्वामी रामानन्दको श्रीमद्भागवत महापुराण नेपाली भावान्ुवाद साह्रै महìवपूर्ण तथा चर्चित मानिएको छ ।  आफ्ना पुस्तकमात्र नभई आश्रमबाट प्रकाशित हुने विभिन्न सामग्रीलाई कम्प्युटर टङ्कण गर्ने, डिजाइनिङ गर्ने, कभर पेज डिजाइन तथा ले आउट सम्पूर्ण कुरा गर्न सक्षम त्यहीँका विद्यार्थीलाई स्वामीजीले बनाउनु भएको छ ।  समग्रमा भन्नुपर्दा महेश गुरुकुलबाट पार भएको विद्यार्थी सम्बन्धित क्षेत्रमा उत्कृष्ट मानिन्छ ।
स्वामीजीको रिस चर्को थियो तर हृदय नरम ।  उहाँले प्रवचन गर्दा गर्दै कोही बोल्यो भने तँ सम्बोधन लगाएरै बाहिर जा भन्न पनि पछि पर्नु हुन्थेन ।  उहाँको हृदय छुने कुरा आए भने समाजकै अगाडि आँशु पुछ्ने गरी पनि रुनु हुन्थ्यो ।  आश्रममा आइपुगेको कोही पनि भोकै नफर्कोस् भन्ने भावना राख्नु हुन्थ्यो ।
अब स्वामी हुनुहुन्न ।  कक्षा ६ देखि आचार्य तहसम्मको पठनपाठन हुने शिक्षालय उहाँकै संरक्षकत्वमा थियो ।  हिन्दू धर्म संस्कृतिको संरक्षणार्थ स्थापना गरिएको अनुपम संस्थाको रक्षाका लागि आश्रमको विधिविधान अनुसार कोही त चुनिएला ।  तथापि यसको गरिमा र महìवलाई ख्याल गर्दै त्यहाँका पूर्व विद्यार्थी, संस्कृत–संस्कृतिप्रेमी लगायत सबैले चासो दिई खटिनु पर्ने दायित्व नेपाली समाजलाई छाडेर जानुभएको छ ।  स्वामीप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न चाहनेले उहाँबाट प्रदर्शित मार्ग अवलम्बन गर्नु अपरिहार्य हुन्छ नै ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना