सप्तरीमा ३५ प्रतिशत धान रोपाइँ

सप्तरी, साउन ९ गते ।  साउनको पहिलो सातासम्ममा सप्तरीमा करिब ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ भने अझै ६५ प्रतिशत खेत बाँझै रहेका छन् ।
कुल ७० हजार हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्ममा ३५ प्रतिशत मात्र धान रोपाइँ हुँदा स्थानीय किसान चिन्तित बनेका छन् ।  समयमा पर्याप्त वर्षा नहुँदा तथा सिँचाइको उचित व्यवस्था नभएकै कारणले थोरै मात्रामा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादवले जानकारी दिएका छन् ।  उनका अनुसार समयमा पर्याप्त वर्षा हुँदा तथा सिँचाइको उचित व्यवस्था भएपछि करिब ६० प्रतिशतसम्म धान रोपाइँ हुनुपर्नेमा सिँचाइको अभावमा हालसम्म सप्तरीमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको बताए  ।
यता साउनको पहिलो साता बितिसक्दा पनि पर्याप्त वर्षा नभएका कारण सप्तरीका किसान सुख्खा खेतमै धान रोप्न बाध्य भएका छन् ।  यसपालि मनसुन चाँडो सुरु भए पनि नेपालको पूर्वी तराईमा वर्षा नभएका कारण धानको बेर्नासमेत सुक्न लागेकाले सुख्खा खेतमै रोपाइँ गर्न थालेका हुन् ।  समयमा वर्षा नहँुदा तथा सिँचाइको उचित व्यवस्था नभएका कारण खासगरी जिल्लाका पश्चिमी भेगका किसान सुख्खा खेत जोत्दै आएका छन् भने केही किसानले मोटरबाट समेत पानी हालेर खेती गर्न बाध्य भएका छन् । dhan ropai
सिँचाइको उचित व्यवस्था छैन, वर्षासमेत हुँदैन कसरी खेती गर्ने चिन्ता गर्दै सप्तरीको महदेवा गाउँपालिका–१ का वासुदेव यादवले भने, यस वर्ष आफूहरूलाई अहिले नै खडेरीको महसुस भइरहेको छ ।  वर्षभरि घरपरिवारलाई के खुवाएर जीवन काट्ने चिन्ता लागेको बताउँदै उनले अगाडि थपे किसानको चिन्ताप्रति राज्य तथा सम्बन्धित निकायसमेत मौन रहेका छन् ।
देशकै सबैभन्दा पुरानो चन्द्रनहर र कोसी पम्प नहरमा समेत पानी नआउँदा किसान झन् मारमा परेको स्थानीय किसानको भनाइ रहेको छ ।  नहरमा पानी आएको भए जिल्लाको झण्डै तीन दर्जनभन्दा बढी गाविसमा सहज रूपमा रोपाइँ गर्न सकिने अवस्था रहे पनि हालसम्म पानी नआउँदा किसान निराश हुन थालेको उनको कथन छ ।
यस्तै दुःखेसो सप्तरीको तिरहुत गाउँपालिका–४ का बद्री यादवको पनि भनाइ छ ।  आफूहरूले आकाशे भरमा खेती गर्दै आए पनि यसवर्ष खेत रोपाइँ गर्ने बेलामा पनि पर्याप्त वर्षा नभएका कारण स्यालो ट्युबवेल, पम्पिङसेट, भबलेटर आदि वैकल्पिक उपायहरू प्रयोग गरेर रोपाइँ सुरु गरेको तर विकल्पहरू समेत नभएकोे जग्गामा सुख्खा खेतमै रोप्नुपर्ने बाध्यता रहेको उनको कथन छ ।  आकाशमा कालो बादल लागेको देख्दा आज पानी पर्ला कि भन्ने आश गरे पनि निराश हुँदै आएको बताउँदै उनी भन्छन्, हरेक दिन कालो बादल देख्दा पानी पर्ने आश जागेर आउँछ तर हरेक दिन निराश भइन्छ, खेत बाँझो राख्नुभन्दा रोप्नु नै उपयुक्त ठानेर सुख्खा जमिनमा धान रोप्न बाध्य छौँ ।  वर्षा नहुँदा चिन्ताले पिरोलेको अवस्थामा मलखाद समेत उपलब्ध नहुनुले किसानहरू थप मारमा परेको उनको दुःखेसो रहेको छ ।
खेतमा चाहिने जति पानी नभएर जिल्लाको पश्चिमी, उत्तरी तथा पूर्वी दक्षिणी भेगका किसानहरू सुख्खा खेतमै धान रोप्न थालेको स्वीकार्छ जिल्ला कृषि विकास कार्यालय सप्तरीले  ।
गत वर्ष सप्तरीमा ०.६ मेट्रिक टन प्रतिहेक्टर धानको उत्पादन भएको थियो तर यस वर्ष वर्षा नभएका कारण १० प्रतिशत रोपाइँ पनि हुन नपाएकाले धानको उत्पादनमा समेत कमी आउने कार्यालयको अनुमान रहेको छ ।
यता समयमा पर्याप्त वर्षा नहुँदा तथा सिँचाइको उचित व्यवस्था नभएका कारण रोपाइँ हुन नसक्दा सप्तरीका किसानले रोपेको धानको बेर्नालाई काटी पशु चौपायालाई खुवाइरहेका छन् ।
पानीको अभावमा जिल्लाका अधिकांश किसान धान रोप्न नपाएपछि उम्रेको बेर्ना अहिले धमाधम काट्नमा व्यस्त छन् ।
यता स्थानीय किसानले सप्तरीमा बर्सेनि सिँचाइको अभाव तथा पर्याप्त वर्षा नभएकै कारणले गर्दा खडेरी पर्ने प्रवल सम्भावना रहेकाले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माग स्थानीयको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना