समृद्ध नगर क्षेत्रको परिकल्पना

suresh acharyaडा. सुरेश आचार्य


 

कालोपत्रे हो वा ग्राभेल, छुट्याउन कठिन सडक ।  खाल्डाखुल्डी र जताततै फालिएका प्लास्टिक ।  सडकपेटिमा राखिएका गिट्टी बालुवा र ठाउँ–ठाउँमा उम्रिएका बोटबिरुवा ।  खच्चरका लिदी र साँढेका गोबर ।  टहरामा बढ्दै गएका साना होटल र खुद्रा व्यवसाय ।  नेपालगञ्जको पछिल्लो समय विकास भएको र न्यूरोड नाम दिइएको क्षेत्रको अहिलेको दृश्य यही हो ।  कुनै बेला सुर्खेत रोडलाई चुनौती दिन विकास भएझैँ लाग्ने यो क्षेत्रले शहरमा आइपुगेको कुनै आभाष दिँदैन ।  घेरबारका कारण जोगिएको सडकबीचको हरियाली चुवा र शिशौका हुर्किएका बिरुवाले आँखालाई केही राहत दिन्छ ।  अन्यथा यो कुनै गएगुज्रेको पुरानो शहरको केही फराकिलो गल्लीझैँ लाग्छ ।  
नेपालगञ्ज आउने अधिकांश मानिस आइपुग्ने ठाउँ हो, यो न्यूरोड ।  यो क्षेत्रमा नै नेपालगञ्जका अधिकांश होटल छन् ।  सामान्यदेखि ठीकैका र मझौलादेखि ठूलासम्म ।  पुष्पलाल चोकबाट बसपार्क पस्ने सडक बिर्सेर पनि न्यूरोड मोडिएपछि नागरिकले आनन्द नै अनुभव गर्थे ।  नाक चुम्च्याउनु पर्थेन तर यो एकादेशको कथा भएछ ।  पुरानो बजार त्रिभुवनचोक जाने बागेश्वरीको बाटो जोडिउञ्जेलसम्म पनि उही दशा छ ।  नेपालगञ्ज आउने अरू गाउँ, शहरका नागरिकले यसको पहिचान के बनाउलान् ? फोहर र पत्रु शहर ?
हवाई मार्ग भएर राँझा विमानस्थलबाट मूल सडक निस्केर आउने यात्रु होस् वा कोहलपुर हुँदै नेपालगञ्ज मोडिने यात्रु, उसका लागि एउटा सुन्दर शहरको परिकल्पना गराउने छ लेनको सडकले स्वागत गर्छ तर जब शहर पसिन्छ, यहाँका मेयर डा. धवलशमशेर वा उद्योग वाणिज्य महासङ्घकी सुकुमारी अध्यक्ष भवानी राणा बस्ने शहर यही हो भनेर गाह्रो पर्छ ।  उनीहरूको राष्ट्रिय व्यक्तित्वलाई शहरको यो कुरूपले नराम्ररी भत्काइ दिन्छ ।  भलै यहाँ आइपुग्नेहरू सबै यी महारथीहरूलाई नचिन्ने किन नहोउन् ।
एमालेका नेता धवलशमशेर कुनै बेला यही नगरमा मेयर थिए ।  उनले नगरका लागि केही राम्रा प्रयत्न पनि नगरेका होइनन् ।  नेपालगञ्जको न्यूरोड उनी मेयर भएसँगै बनेको हो ।  उसबेला सफा र सुन्दर देखिने न्यूरोड बूढो, रागि र जीर्ण भएको छ ।  यसबीचमा धवलशमशेर नेपालगञ्जमा मात्र सीमित रहेनन् ।  यसबीचमा धवलशमशेर दरबारिया भए ।  राप्रपाका नेता भए ।  सांसदका लागि लायक भए र अहिले उनै धवलशमशेर राप्रपाका एक मात्र मेयर भएका छन् मध्यपश्चिममा तर उनी अब मेयर मात्र होइनन्, पार्टीका केन्द्रीय नेता हुन् ।  पार्टी अध्यक्ष कमल थापाको आदेश पालक हुन् ।  यी हरफ लेखिरहँदा उनी नेपालगञ्जमा छैनन् ।  खोजेर पनि भेट्न पाइँदैन ।  किनकि, पार्टी बैठकका लागि उनी काठमाडौँ गएका छन् ।  उनले राजनीतिक रूप फेरे पनि, व्यक्तित्व बदले पनि नागरिकले उनलाई पुरानै हैसियत दिएका छन् ।  मेयर बनाएका छन् ।
उनी निर्वाचित भएको केही साता मात्र भएको छ ।  त्यसैले उनले के कति काम गरे भनेर मूल्याङ्कन गर्ने बेला भएको छैन ।  उनका योजना कति सुन्न लायक थिए र कति कार्यान्वयन प्रक्रियामा अघि बढे भनेर विश्लेषण गर्ने यो बेला पनि होइन तर दिनको लक्षण बिहानले देखाउँछ भन्ने गरिन्छ र कामकाजका हिसाबले उनको बिहान सुरु हुनै पाएको छैन ।  यतिबेला उनको योग्यता र क्षमतामा प्रश्न गर्नु उनीमाथिको अन्याय मात्रै ठहर्दैन, ठाडै उनको विरोधी भएको ठहर्छ ।
एक्काइसौँ शताब्दी पछिको पहिलो स्थानीय निर्वाचन भएर हुनुपर्छ, प्रायः हरेक उम्मेदवारले स्मार्ट सिटी र मेगा सिटीको कल्पना बेचेको छ र विजेतामध्ये पनि उही हो ।  उदाहरणका लागि राजधानी शहरका मेयर एक हुन् ।  शहरका नागरिकले पानी खान नपाएको बारे उनीहरू बेखबर छैनन् ।  सडकको दूर्दशाबारे ढलमा बालिका बगेर मरेपछि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने देश पनि हो ।  राजधानीका सडकमा रोपाइँ भएको पनि उनले सुने देखेकै छन् ।  मेटो रेल र मोनो रेलका सपना बेच्ने पनि उनी नै हुन् ।  यिनै मेयरले पहिलो बैठकमा नगरका विजेता जनप्रतिनिधिलाई मोबाइल सेट उपलब्ध गराउने निर्णय गराए ।  राजधानीका जनप्रतिनिधि कोही यस्ता पनि होलान्, जोसँग मोबाइल सेट
नहोस् ? उनले सामान्य सेटका लागि प्रति व्यक्ति तीस हजारका सेट उपलब्ध गराउने निर्णय गरे ।  यो सामान्यको अर्थ आइफोन नभएर सामसुङ भन्ने बुझ्न गाह्रो थिएन ।
यो व्यापक आलोचना खेपेका मेयरले अर्को निर्णग गराए, कर बढाउने ।  त्यो कर व्यापारी व्यवसायीका लागि थिएन, सामान्य नागरिकलाई प्रत्यक्ष असर पर्ने खालको रह्यो ।  गाडी पार्किङको शुल्क बढाए ।  राजधानीमा दादाहरूको स्वेच्छाचारी गाडी पार्किङ शुल्क उठाउने प्रवृत्तिविरुद्ध आवाज उठेपछि कहीँ पनि यो शुल्क नलिने व्यवस्था भएको थियो ।  घर कर र घर बहाल कर बढाइएको छ ।  राजधानीको महानगरका लागि स्रोतको अभाव हुने कुनै कारण नै छैन तर उनले आफ्नै स्रोत नभई कुनै सुविधा लिन नपाइने स्थानीय मन्त्रालयको निर्देशन पछि कर बढाउने निर्णय लिए ।  आफ्नो आम्दानीको स्रोत खोज्न उनले यस्तो निर्णय गरेका हुन् ।  
काठमाडौँका मेयरले पनि काम गर्न थालेको धेरै भएको छैन र आजै उनको आलोचना गर्नु उचित थिएन तर नागरिकले आफ्ना हितका लागि चुनेका प्रतिनिधिको सोच र मानसिकताले तिनै नागरिकलाई मारमा पारेको छ ।  उनले सुरुबाटै नागरिक विश्वास उठ्ने गरी कामको थालनी गरेका छन् ।  उनको बिहानीले मनोरेलको सपनालाई मनोरोगका रूपमा गाँज्ने खतरा बढाएको छ ।  काठमाडौँका मेयर धवलशमशेरको पुरानो पार्टीका उम्मेदवार हुन्, जसको भरपुर अनुभव गरेर धवलशमशेर आफ्नो पुरानो सोच र संस्कार अनुरूपकै पार्टीमा फर्केका छन् ।  उनले गर्नुपर्ने हजारौँ काममध्येको एउटा सानो नमुना मात्र हो, न्यूरोड क्षेत्र ।  के गर्नुपर्छ र के गरिहाल्नुपर्ने छ भन्ने योजना र कार्यक्रम बन्दै होलान् ।  यतिबेला हुलाकी सडकमा परेर निर्माण सुरु भएको बसपार्क जाने सडकको चौडाइका विषयमा नागरिक चासो बढेको छ ।  मापदण्डअनुसार नबनेको उनीहरूको आशङ्काले काममा अवरोध आउने खतरा उत्तिकै छ ।
अबको नागरिक २०५४ सालको छैन, न त २०६४ को जस्तो मात्रै छ ।  स्थानीय निकायको दोस्रो चुनाव हुँदा दलगत राजनीतिको आधा दशक मात्रै पूरा भएको थियो ।  २०६४ सालमा पनि नागरिक जनयुद्धको धङधङ्गीमा थिए ।  एउटा त्राशको वातावरण र आशाका त्यान्द्रा बाँकी थिए ।  अब डराउनुपर्ने शासक यो देशमा छैनन् ।  उनीहरूको अन्त्य भइसकेको छ ।  शासक छान्ने अधिकार नागरिकको हातमा आएको छ ।  त्यसैले जनप्रतिनिधिले गरेका हरेक गलत कामको तत्काल प्रतिरोध गर्ने तहमा नागरिक पुगेको छ ।  सूचना प्रविधिले गर्दा हरेक नागरिक सशक्तीकरण उन्मुख छ ।  
नेपालगञ्ज पश्चिमको ठूलो औद्योगिक नगर हो ।  विदेशीहरूले आफ्ना गतिविधि सञ्चालनको केन्द्र बनाएको यो नगरको मुहार फेर्न कुनै पहाड उठाउनुपर्ने अवस्था छैन ।  स्रोत र साधनको अभाव हुने अवस्था पनि छैन ।  केवल चाहिएको छ, जनप्रतिनिधिको इमानदारी ।  धवलशमशेरका लागि यो परीक्षा २०५४ भन्दा २०७४ फरक ढङ्गमा उभिएको छ ।  दुई दशकको अन्तरका नागरिक आकाङ्क्षा मात्र चुलिएको छैन, उनीहरूको चेतनाको स्तर पनि निकै माथि उठेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना