पशुपालनमा महिला आकर्षण

नेपालगञ्ज, साउन १०  गते ।  पछिल्लो समय बजारको सहज पहुँच, पशुपालन व्यवसायमा सरकारी अनुदानमा वृद्धि, घाँसको खेती विस्तार, बीमाको व्यवस्थाले गर्दा बाँकेमा पशुपालनतर्फ महिलाको आकर्षण बढेको छ ।  
जिल्ला पशु सेवा कार्यालयका अनुसार व्यावसायिक पशुपालनमा लागेका महिलाले मासिक २० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गरिरहेका छन् ।  
जानकी गाउँपालिका–३, इन्द्रपुरकी टिना थापाले यही पेसाबाट महिला आत्मनिर्भर बन्दैगएको बताउनुभयो ।  उहाँले डेढ वर्षदेखि गाउँमै रुकुमेली गाई फार्म सञ्चालन गर्नुभएको छ ।  आफ्नै व्यवसाय सञ्चालनले आत्म सन्तुष्टि र मनग्य आम्दानी भएको छ, थापाले भन्नुभयो, पशुपालनका लागि नयाँ प्रविधिको विकास, कम परिश्रममा राम्रो आम्दानी र बजारको सुनिश्चितता भएपछि आकर्षण बढ्दैगएको हो ।  फार्ममा पाँच उन्नत जातका गाई पालिरहेकी थापाले मासिक ३० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।  sarda sharma
कोहलपुर–१,२ चप्परगौडीकी ३२ वर्षीया शारदा शर्माको सिर्जनशील गाई फार्ममा १५ मध्ये छ दुहुना गाई छन् ।  उहाँको फार्मबाट करिब ६० लिटर दूध उत्पादन हुन्छ ।  उहाँले गाईपालनबाटै मासिक ७० हजार रुपियाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।  
खर्च कटाएर महिनामा ४० देखि ६० हजार रुपियाँसम्म बचत हुने गरेको उहाँको भनाइ छ ।  स्नातकोत्तर गर्दै गरेकी शर्माले पुख्र्यौली व्यवसायलाई व्यावसायिक बनाएर बाँसगढीमा दुई बिघा र कोहलपुरमा १० धुर जग्गा र घडेरी जोडिसकेको बताउनुभयो ।  फार्मका लागि चाहिने घाँसका लागि उहाँले दुई बिघा जग्गा भाडामा लिनुभएको छ ।
घरको सबै खर्च र दुई भाईको पढाइ खर्च यहीँ आम्दानीले धानेको छ ।  वार्षिक छ लाख रुपियाँसम्म आम्दानी हुने उहाँले सुनाउनुभयो ।  स्नातक तह उत्तीर्णपछि विभिन्न स्थानबाट जागिरका लागि बोलाइए पनि व्यावसायिक पशुपालनको रहर सानैदेखि भएकाले कतै गइँन, शर्माले भन्नुभयो, दूधका लागि बजारको समस्या नभएकाले र घरका सबैजना फार्मकै काममा लाग्दा काम गर्न सजिलो भएको छ ।  
यहाँ उत्पादित दूध नजिकैको पसल र डेरीमा खपत हुन्छ ।  उहाँ नेतृत्वको फार्मलाई बाबु, आमा र दुई बुहारीले सघाइरहेका छन् ।  उहाँले जागिरभन्दा आफ्नै व्यवसायले सन्तुष्टि दिइरहेको जनाउनुभयो ।
त्यस्तै चिसापानी–९ की मीना मल्ल, खजुराकी तुलसा खरेल, फत्तेपुरकी गङ्गा शाह, रझेनाकी रमिला थापा, खजुराकै विमला डाँगी, बेलभारकी गीताकुमारी मौर्यले पशुपालनमार्फत राम्रो आम्दानी गरिरहनुभएको छ ।  
जिल्ला पशु सेवा कार्यालयले पशुपालनमा आकर्षण बढाउन घाँसको बीउ वितरण, बेर्नामा अनुदान, कृत्रिम गर्भाधान, पशु बीमा, खोप सेवालगायतका सेवा दिइरहेको जनाएको छ ।  सो कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीले जिल्लाभर एक सयभन्दा बढी महिलाले व्यावसायिक पशुपालन गरेर मनग्य आम्दानी गरिरहेको बताउनुभयो ।  
डा. केसीका अनुसार पशुपालन व्यवसायलाई वातावरणमैत्री बनाउन चालू आवमा १० वटा फार्मलाई एक÷एक लाखका दरले अनुदान वितरण गरिएको छ ।  फार्मलाई डालेघाँसको प्लान्टेसनयुक्त बनाउन, वातावरणमैत्री गोठ निर्माण गर्न र तापक्रममैत्री बनाउन अनुदान वितरण गरिएको हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना