निष्ठा र सदाचारका पर्याय

lokesh dhakal_1लोकेश ढकाल

 

राजनेता बीपी कोइरालाको ३५ औं स्मृति दिवस साउन ६ आउनु भन्दामा ठीक ८ दिन अगाडि असार २९ गते बीपी कोइरालाका एक सच्चा अनुयायी, नेपाली काँग्रेसका स्थापनाकालीन नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा दुःखद् निधन भयो ।  पार्टीमा सरल, निष्ठा, त्याग र सदाचारी आचरण एवं व्यवहारले पार्टीभित्र मात्र होइन सिङ्गो नेपाली राजनीतिमा छुट्टै पहिचान र व्यक्तित्व बनाउन सफल गान्धीवादी नेता रामहरि जोशीको निधनले लगभग पार्टीको स्थापनाकालीन (नेतृत्व तहको) पुस्ताको पनि अन्त्य भएको छ ।  
रामहरि जोशी ०३ (२५र २६ जनवरी १९४७) सालमा कलकत्तामा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह आदिको अगुवाइमा नेपाली राष्ट्रिय काँगे्रस स्थापनाको समुद्घाटन समारोह भइरहँदा सँगै हुनुहुन्थ्यो र करिव १५० जनाको उपस्थितिमा भएको समारोहमा भरखर कलेज पढ्दै गरेको विद्यार्थी भएका कारण नेपाली काँग्रेसको संस्थापनाकालीन केन्द्रीय समितिमा नरहे पनि उहाँ काँग्रेसको संस्थापकमध्येमै हुनुहुन्थ्यो ।  त्यस बेलाको पार्टी स्थापनाको पहिलो केन्द्रीय समितिमा रहेका नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पार्टीमा विचार कार्यशैलीप्रति असन्तुष्ट हुँदै भारी मन लिएर काँग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभयो तर रामहरि जोशी आफ्ना सबै विमति, पीडा, अपमानहरूलाई सहेर पार्टीका पछिल्ला अव्यवस्था र दुरवस्थाको साक्षी हुँदै सिङ्गो राजनीतिक जीवन काँग्रेसमै बिताएर संसारलाई छोडेर जानुभयो ।  
निश्चय नै नेपाली काँग्रेस पार्टीमा मात्र होइन, सिङ्गो नेपाली राजनीतिमा अहिले विचार, सिद्धान्त, र निष्ठाको राजनीति मर्दै गएको छ, निष्ठा, इमानदार र सदाचारको राजनीतिको उपहास भइरहेको छ ।  राजनीति केवल विचार र सिद्धान्तविहीन सत्ता खेलमा रूपान्तरित भएको छ ।  सत्ताका अगाडि मूल्य, मान्यता र आदर्श गौण भएको छ ।  राजनीतिमा डनवाद र धनवाद हावी छ ।  नेपालको यस्तो बाटो बिराएको, बरालिएको राजनीतिको भिडमा पनि रामहरि जोशी निष्ठा, सदाचार र इमानदार राजनीतिको सगरमाथा भएर बस्नु भएको थियो ।  
प्रजातान्त्रिक मूल्य–मान्यतालाई बोकेर निरन्तर सदाचार र निष्ठाको बाटोमा हिँडेका रामहरि जोशीको कटु अनुभवको अभिव्यक्ति  “टु गुड इज नो गुड ।  धेरै असल हुनु पनि राम्रो होइन ।  धेरै सोझो हुने मान्छे र जङ्गलको रुख दुवैलाई हानिकारक छ । ” चाणक्य नीतिको शैलीमा दिनुभएको अभिव्यक्तिले काँग्रेस भित्रको मात्र होइन सिङ्गो नेपाली राजनीतिको दशालाई राम्रैसँग उजागर गरेको छ ।  
०४८ को संसदीय निर्वाचन जितेर मन्त्री समेत हुनु भएका रामहरि जोशी इमानदार र सरल भएकै कारण राजनीतिमा पटक पटक पराजय भोग्नु भएको छ ।  ०४८ पछिका संसदीय निर्वाचन र काँग्रेसको महाधिवेशनमा सदाचार र इमानदार राजनीति गरेकै कारण रामहरि जोशी निर्वाचनमा पराजित हुनु भएको होइन, विचार सिद्धान्त, निष्ठा, सदाचार र इमानदारीको राजनीति देशबाट पराजित भएको कारणले रामहरि पराजित भए, हजारौँ रामहरिहरू पराजित भइरहेका छन् ।  माथिको उहाँको त्यो रोचक एवं घोचक मार्मिक अभिव्यक्ति उहाँको जीवन भोगाइको निचोड हो, पीडाको अभिव्यक्ति हो ।  तर उहाँ त्यो पीडादायी मार्गमा निरन्तर हिँडिरहनु भयो, मूल्य, मान्यता र आदर्शको जगमा उभिएर राजनीति गर्दा सदा पराजय भोगे पनि उहाँ राजनीतिबाट विचलित कहिल्यै हुनु भएन, कहिल्यै निराश हुनुभएन ।  विचार, सिद्धान्त र निष्ठाको राजनीतिमा पहाड जस्तै सधैँ स्थिर रहनुभयो ।  त्यसैले त उहाँ सिङ्गो नेपाली राजनीतिमा सदा विजयी भइरहनु भयो ।  
केही महिना अगाडि मात्र काँगे्रस नेता लक्ष्मण घिमिरेका साथ काँग्रेसका भेट्रान नेता जोशीको हाल खबर बुझ्न उहाँको निवासमा पुगेका थियौँ ।  भेटघाट र छलफल गर्दा उहाँ देशको राजनीतिक अवस्थाबाट निकै चिन्तित भएको पाएका थियौँ ।  उहाँले करिब ७ दशक अगाडि कलकत्तामा काँग्रेस पार्टी स्थापना हुँदाको त्यो ऐतिहासिक क्षणको स्मरण गर्दै एउटा सपना देखेर राजनीतिमा लागेका थियौँ, पञ्चायतको विरुद्ध सङ्घर्ष गर्दा पनि त्यही सपनाले अभिप्रेरित गरेको थियो तर ०४६ सालको सफल राजनीतिक परिवर्तन पछि काँग्रेस ढङ्गसँग हिँड्न नसक्दा काँग्रेसमा बेथिति बस्यो, त्यसबाट देशको राजनीति नै दिशाहीन हुन पुग्यो भनेर भावुक हुँदै चिन्ता प्रकट गर्नुभएको थियो ।  
आज बीपी कोइरालाको ३५ औँ स्मृति दिवस मनाइरहँदा, जुन ढङ्गबाट व्यापक स्तरमा कार्यक्रमहरू आयोजना गरेर बीपीलाई काँग्रेसले सम्झन्थ्यो यसपटक काँग्रेसले सिद्धान्त, दर्शन र विचारले मात्र होइन व्यवहारले पनि बीपीलाई बिर्सिएको प्रतित भएको छ ।  दुई चरणमा हालै सम्पन्न निर्वाचन तहको निर्वाचनमा दोस्रो भएर पराजयको पीडाबाट छटपटाइरहेको काँग्रेस, बीपी विचार र दर्शनबाट विचलित भएको काँग्रेसले जीवन छँदै त रामहरिलाई खोजी गरेन भने सात दशक लामो राजनीतिक जीवनमा उहाँले अपनाएको इमानदारी, निष्ठा, सदाचार जस्ता सकारात्मक गुणहरूबाट उहाँको निधन पछि काँग्रेसीहरूले सिक्नेछ, त्यसलाई पछ्याउनेछ भनेर विश्वस्त हुने ठाउँ छैन ।    
सर्लाहीको मलंगवामा १९८२ सालमा जन्मनु भएका रामहरि जोशीको प्रारम्भिक स्तरको शिक्षा गाउँकै पाठशालामा सकेपछि माध्यमिक तहको शिक्षा सीमा पारी भारतको सानो शहर सीतामढीमा भयो ।  काशी हिन्दू विश्वविद्यालयबाट साइन्समा इण्टर, कलकत्ता विश्वविद्यालयबाट बी.एस्सी. पूरा गरेका रामहरि जोशी, विद्यार्थी जीवनमा नै अहिंसावादी गान्धीको नेतृत्वमा भारतमा भएको स्वतन्त्रता आन्दोलनबाट प्रभावित हुनु भएको थियो ।  काशी विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीय, भारतीय दर्शनका प्रख्यात विद्वान् डा. सर्वपल्ली राधाकृष्णन, भारतका नोबेल पुरस्कार विजेता वैज्ञानिक डा.सी.बी.रमण, समाजवादका प्रकाण्ड विद्वान् आचार्य नरेन्द्र देव आदिका प्रवचन र विचारबाट अभिप्रेरित हुँदै सिङ्गो राजनीतिक जीवनमा विचार, चिन्तनको बाटो समाउनुभयो, सदाचारको बाटो हिँड्नु भयो ।  
रामहरि जोशी कोरा राजनीतिकर्मी मात्र होइनन्, उहाँ समाज सुधारक, विकासका अभियन्ता, साहित्यप्रेमी पनि त्यत्तिकै हुनुहुन्थ्यो ।  राणा कालमा देशमा लेखन स्वतन्त्रता नभएको बखत भारतमा स्वनिर्वासनमा रहेका महाकवि लक्ष्मीप्रसाद देवकोटासँग उहाँका निकै प्रसङ्ग छन् ।
रामहरि जोशीको जीवनबाट उहाँ नास्तिक भएको भेटिन्न तर हिन्दू धर्मको भद्दा आडम्बरको भने उहाँ सँधै विरोधी हुनुहुन्थ्यो ।  दोस्रो विश्वयुद्ध चलिरहेको बेला थियो ।  उहाँ काशी विश्वविद्यालयमा पढ्दै गर्दा बङ्गालमा ठूलो अनिकाल परेको थियो, जसमा लाखौँ मानिस खान नपाएर मरेमा थिए ।  त्यसै बेला शंकराचार्य करपात्रीजीले गंगाजीको तटमा ठूलो यज्ञ आयोजना गरेका थिए ।  जोशी आफ्ना कलेजका सहपाठीहरूका साथ साँझ गंगाजीको तटमा यज्ञभूमि हेर्न पुग्नु भयो ।  यज्ञ भूमि निकै भव्यसँग सजाइएको थियो ।  युवा विद्यार्थीहरूलाई लाग्यो–  एकातिर बङ्गालमा अनिकाल लागेर लाखौँ मानिस खान नपाएर मरिरहेका छन् तर त्यहाँ यज्ञका नाममा ठूलो परिणाममा अन्न र लाखौँ रुपियाँ धन राशि खर्च गरिएको छ ।  त्यस बेला जोशीलाई लागेको थियो– ‘युवकहरूलाई धर्मप्रति आस्था र रुचि नहुनुको एउटा मुख्य कारण धर्मगुरुहरूको यस्तै आडम्बरपूर्ण आचरणले गर्दा नै हो । ’
नेपाली काँग्रेसका नेताहरूको जीवन शैली र पार्टी सञ्चालन गर्ने तरिकाबाट दिक्क भएका रामहरि जोशीले पार्टीको ०५४ सालमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनमा आफू पराजित हुन्छु भन्ने जान्दाजान्दै पनि नेपाली काँग्रेसका पावरब्राण्ड नेता गिरिजाप्रसाद कोइरालाको विरुद्ध सभापति पदमा उमेदवारी दिनु भएको थियो ।  उहाँको यो उमेदवारी एक प्रकारले उहाँको शालीन विद्रोह थियो, नेताहरूलाई ढङ्गसँग पार्टी चलाउ है भन्ने शिष्ट चेतावनी थियो ।  रामहरि जोशी जस्ता हजारौँ निष्ठावान कार्यकर्ताको यस्तै शिष्ट चेतावनी वा खबरदारीलाई नेताहरूले बेवास्ता गर्दा वा बेलैमा बुझ्ने प्रयास नगर्दा आज सिङ्गो देशको राजनीति डरलाग्दो चुनौतीको डिलमा पुगेको छ, स्वयं रामहरि जोशीले जीवन बिताएको नेपाली काँग्रेस पार्टी अहिलेको यो दुर्दशापूर्ण हविगत भोग्न विवश छ ।  
रामहरि जोशीले आफ्नो ९२ वर्ष जीवनमा नेपाली काँग्रेस जति वर्षको भयो त्यति नै काँग्रेसमा बिताए ।  उनी देशमा प्रजातन्त्र सुदृढ होस्, देशको राष्ट्रियता बलियो होस्, जनताले स्वाभिमानका साथ सुख र समृद्धिका साथ जीवन पाउन भनेर नै पढ्दापढ्दै राजनीतिमा सरिक हुनुभयो, सिङ्गो जीवन राजनीति र जनताको सेवा समर्पित गर्नुभयो ।  उहाँले ७० वर्ष राजनीतिमा जीवन बिताउँदा समेत प्रजातन्त्र सुदृढ भएको, देशको राष्ट्रियता बलियो एवं सुरक्षित भएको र नेपाली जनता समृद्ध भएको देख्न पाउनु भएन ।  यो एक्लो रामहरिको दुःखद् पक्ष होइन यो आम नेपाली जनता र सिङ्गो देशको नै दुःखदायी पक्ष हो ।
सदाचार, निष्ठा र इमानदारीका पर्याय रामहरि जोशीको जीवनबाट वर्तमान पुस्ताले थोरै मात्र सिक्न सक्यो, राजनीतिलाई भष्टाचार, दुराचार र व्यभिचारबाट बचाउँदै सदाचार र निष्ठाको मार्ग हिँडाउन सक्यो र देशको राजनीतिलाई थोरै भए पनि सुधार गर्न सक्यो भने वर्तमान पुस्ताले रामहरि जोशीलाई सम्झिएको वा सम्मान गरेको ठहरिनेछ ।  आशा गरौँ डनवाद र धनवाद हावी हँुदै पथभ्रष्ट हुँदै गएको वर्तमान नेपाली राजनीतिलाई बचाएर रामहरि जोशीले कल्पना गरेको इमानदारी, सदाचार र निष्ठाको राजनीति गर्न वर्तमान पुस्ता अग्रसर हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना