हरियो चियाको ‘कालो’ कथा

राजु शिवा

इलाम, साउन ११ गते ।  इलाम भन्ने बितिक्कै सुने÷जानेका सबैको मस्तिष्कमा हरियो चियाको बुट्टा याद आउँछ ।  अझ इलाम आउने मौका पाएकाले हरियो चियाबारीमा पत्ती टिपिरहेका मजदुरसँग तस्बिर लिन छुटाउँदैनन् ।
इलामको हर्कटे हुँदै कन्यामको नागबेली कालोपत्रे सडक दायाँ–बायाँ हुँदै हुइँकिने गाडीमा चढेकाले ओर्लिएर चियाका बुटा समातेर फोटो खिचाउने धोको पूरा गर्न नपाए पनि डोको बोकेर डाँडाभरी हरियोपत्ती टिपिरहेका मजदुरको लस्कर देख्दा अलौकिक आनन्द लिन्छन् ।  चिसो हावामा मन्त्रमुग्ध हरियोपत्ती टिपिरहेका मजदुर देख्दा धेरैका मनमा उनीहरू कति सुखी भन्ने कुरा मनमा बढ्छ ।  उसो त हरियाली डाँडामा चियामा हात चलाइरहेका बालक, युवादेखि प्रौढसम्मका कामदार देख्दा उनीहरूको जीवन पनि हरियो चिया जस्तै हराभरा होला भन्ने लख काट्नु अस्वभाविक होइन । Tea Farmer Photo
तर, इलाम भन्ने बितिक्कै डाँडाभरी फैलिएको हरियाली चिया बगान आँखामा आए पनि चिया बगानमा रात–दिन खटिने, मजदुर, बगानका किसानको जीवनमा भने चियाले हरियाली ल्याउन सकेको छैन ।  
देखाइ र भोगाइको कथा बुझ्न केही दिन मजदुर र किसानसँगै उठबस गर्नुपर्छ ।  जसबाट थाहा हुन्छ, हरियो चियाभित्रको कालो कथा ।
इलाम जिर्मलेका गोविन्द पौडेल अहिले आफ्नो बारीको चियाको बुटा उखेलेर उत्तीस, मलातोको बिरुवा रोपिरहनु भएको छ ।  दुनियाँदारले चिनेको चिया फ्याँकेर उत्तीसको बिरुवा रोपिरहेको देख्दा घुमघामका लागि इलाम आउने धेरैले गोविन्दलाई ‘मुर्ख मान्छे’ समेत भन्न पछि परेनन् ।  उसो त उत्पादन दिइरहेको चियाको बुटा उखेलेर अन्य रूखको विरुवा लगाउन गोविन्दको रहर नभई बाध्यता हो ।  २० वर्षदेखि हरियोपत्तीको भाऊ नबढ्नु तर, उत्पादन खर्च भने बर्सेनि बढ्न थालेपछि चिया फ्याँकेर विरुवा रोप्न थालेको गोविन्द बताउनुहुन्छ ।  सबैभन्दा उत्तम ‘ए’ ग्रेडको हरियोपत्ती ३२ रुपियाँमा कारखानाले किन्ने जानकारी दिँदै गोविन्द पौडेलले भन्नुभयो, एक किलो चिया टिप्दा मजदूरले १० रुपियाँ ज्याला लिने र बाँकी २० रुपियाँले वर्षभरको लगानी उठाउँदैन अनि कसरी गर्नु चिया खेती ?
जिर्मलेका गोविन्द पौडेल मात्र होइन इलामका धेरै किसान अहिले चिया खेतीबाट लगानी नै उठ्न छोडेपछि चिया मासेर बिरुवा र तरकारी खेतीमा फर्कन थालेका छन् ।  कारखानाले अर्गानिक उत्पादन खोज्ने तर सरकारले किसानलाई अर्गानिक मल, विषादी पर्याप्त दिन नसक्दा उत्पादन बर्सेनि घटिरहेको किसान बताउँछन् ।
यो त भयो इलाममा आफ्नै चिया बगान भएका किसानको गुनासो ।  बिहान झिसमिसेदेखि साँझसम्म चिया बगानमै बिताउने मजदुरको समस्या झन टिठलाग्दो छ ।  चिया बगान मालिक र कारखाना सञ्चालकले एक किलो हरियोपत्ती टिपेको १० रुपियाँ दिने गरेका छन् ।  एउटा मजदुरले दिनभरमा अधिकतम १० किलोसम्म पत्ती टिप्न सक्छन् ।  यसो गर्दा मजदुरको दिनभरको कमाइ सय रुपियाँ हुन्छ ।  बजारमा सामानको भाऊ बढेर छोइनसक्नु भएको बताउँदै कन्यामकी नर्वदा निरौला भन्नुहुन्छ, दिनभरको कमाइले एक पोका तेल मात्र आउँछ ।  कसरी जीवन चल्छ ?
भारतीय लगानीकर्ताले पूर्वका धेरैजसो कारखाना सञ्चालन गर्न थालेको र सबै कारखानामा समान भाउ कायम गरेपछि चिया खेती हेर्दा मात्र हरियाली रहेको किसानको गुनासो छ ।  किसान र मजदुर मात्र होइन कारखाना सञ्चालक पनि आफू समस्यामा रहेको बताउँछन् ।  कन्यामस्थित मङ्गल चिया कारखानाका सञ्चालक सुजन थापा यो वर्ष हरियोपत्ती कम पलाएको र क्षमता अनुसारको हरियोपत्ती नआएको बताउँदै भन्नुहुन्छ, गुणस्तरीय चिया उत्पादन गर्न र अन्तर्राष्ट्रिय बजारमा पु¥याउन समस्या छ ।  हामीले पनि राम्रो आम्दानी गरे त मजदुरलाई पनि केहि राहत दिन सक्छौं ।  कारखाना चलाउन नै समस्या छ ।  सरकारले चिया किसान, मजदुरको समस्या समाधान गर्न सरकार उदासीन भएको आरोप लगाउँदै जिर्मलेका गोविन्द पौडेल भन्नुहुन्छ, चिया त पर्यटकलाई फोटो खिच्नकै लागि मात्र हुने भो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना