भेनेजुयलामा समानान्तर सत्ता अभ्यासको खतरा

Ram prashad Acharyaरामप्रसाद आचार्य


ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामा संविधान पुनर्लेखन गर्न आउँदो आइतवार (जुलाई ३०) संविधानसभाको चुनाव हुँदै छ ।  राष्ट्रपति निकोलस मदुरोले त्यहाँका विपक्षी दलहरू र अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै संविधानसभाको चुनाव गराउन लाग्नुभएको हो ।  राष्ट्रपति मदुरोविरुद्ध हिंसात्मक आन्दोलन गरिरहेका विपक्षीहरूलाई अमेरिकाले समर्थन गरेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधानसभाको चुनाव गराए कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिनुभएको छ ।  उहाँले मदुरो निरङ्कुश तानाशाह बन्न खोजेको आरोप लगाउँदै विपक्षीहरूले चलाएको आन्दोलन प्रजातन्त्रका लागि भएको भनी त्यसको प्रशंसासमेत गर्नुभयो ।  तर, मदुुरोले भने आफू तानाशाह बन्ने कुनै सोच नभएको बताउँदै देश र जनताको समस्या लोकतान्त्रिक विधिअनुसार समाधान गर्न संविधान पुनर्लेखन गर्न संविधानसभाको चुनाव गराउन लागेको प्रस्ट पार्नुभयो ।  उहाँले विदेशीको उक्साहटमा लागेर विपक्षीहरूले मुलुक तहसनहस पार्न खोजेको आरोपसमेत लगाउनुभयो ।  
एक समयको शान्त र समृद्ध भेनेजुयला अहिले अशान्त छ ।  राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनले चलाएको आन्दोलन हिंसात्मक बनेपछि एक सयभन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् ।  आन्दोलन चर्कंदै गएपछि मुलुकमा आर्थिक र राजनीतिक सङ्कट झन् गहिरिँदै गएको छ ।  सरकार र विपक्षीबीच वार्ता हुन सकेको छैन ।  सरकारको वार्ता प्रस्तावलाई विपक्षीहरूले अस्वीकार गर्दै समानान्तर सत्ताको अभ्यास सुरु गरेका छन् ।  यो अभ्यासले मुलुकमा नयाँ सङ्कट ल्याउने देखिएको छ ।  राष्ट्रपतिको आग्रहलाई बेवास्ता गर्दै विपक्षीहरूले गतसाता अनौपचारिक जनमतसङ्ग्रह गराउनुका साथै नयाँ समानान्तर सरकार गठनदेखि नयाँ न्यायाधीश नियुक्तिसमेत गरी सरकारलाई चुनौती दिएका छन् ।  विपक्षीले गराएको जनमतसङ्ग्रहमा ७६ लाख मानिसले भाग लिएको र जनमत संविधानसभा चुनावको विपक्षमा रहेको दाबी गरिएको छ ।  राष्ट्रपति मदुरोले भने यसलाई औचित्यहीन भन्नुभएको छ ।  
विश्वकै ठूलो तेलको भण्डार रहेको यो मुलुकमाथि यतिखेर चरम आर्थिक तथा राजनीतिक सङ्कट आइलागेको छ ।  एक जमानामा पनि यो मुलुकले विपन्नता र चरम असमानता भोग्यो ।  तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको नेतृत्व एकाएक चर्चामा आयो ।  छोटो अवधिमा समानता र समृद्धिको शिखर चुम्यो ।  तर, चाभेजको अल्पायुमै निधनसँगै अहिले चरम हिंसा, अस्थिरता र अराजकताको सिकार बनेको छ यो मुलुक ।  यही अस्थिरमा खेल्दै छ विदेशी शक्ति ।  कतै यो मुलुक पनि सिरियाजस्तै अकल्पनीय द्वन्द्वमा फस्ने त होइन भनी आशङ्का गर्न थालिएको छ ।  
सक्षम, निडर र स्वाभिमानी नेता चाभेजको निधनपछि सत्ता सम्हाल्नुभएका वर्तमान राष्ट्रपति मदुरो घेराबन्दीमा पर्नुभएको छ ।  उहाँले चाहेर पनि काम गर्न सक्नुभएन ।  उहाँलाई विपक्षीहरूले असहयोग गरे भने आफ्नो पार्टी पनि कमजोर बन्यो ।  उहाँको युनाइटेड सोसलिस्ट पार्टीसहितको गठबन्धनले स्थानीय चुनाव जिते पनि संसदीय चुनाव जित्न सकेन ।  विपक्षी डेमोक्रेटिक युनिटी गठबन्धनले संसदीय चुनाव जितेर शक्तिशाली बन्यो ।  निर्वाचनले विपक्षीलाई बलियो बनायो ।  संसद् विपक्षीको कब्जामा भएकाले राष्ट्रपतिले चाहेर पनि सुधारका कार्यक्रम गर्न पाउनुभएन ।  विपक्षीहरूले विभिन्न बहाना बनाएर राष्ट्रपति हटाउन आन्दोलन सुरु गरे ।  आन्दोलन उग्र रूप लिँदै हिंसामा परिणत भएको छ ।  मदुरोले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने पक्षमा आन्दोलनकारी छन् तर उहाँ राजीनामा दिने पक्षमा हुनुहुन्न ।  आन्दोलनकारीको माग सम्बोधन हुनेगरी संविधानमा आवश्यक सुधार र परिमार्जन गर्न उहाँले आग्रह गर्नुभएको छ ।  त्यसैका लागि उहाँले संविधानसभाको चुनाव गराउन लाग्नुभएको हो ।  संविधानसभाको चुनावले राष्ट्रपतिलाई झन् बलियो बनाउने र विपक्षीले चलाएको आन्दोलन तुहिने खतरा देखेर नै विपक्षीहरूले यो चुनावको विरोध गरेका छन् ।  उनीहरूले संविधानसभाको चुनावमा भाग नलिने भन्दै बहिष्कार गर्न आह्वान गरेका छन् ।  
विपक्षीहरू समस्या समाधान गर्नभन्दा पनि जसरी पनि राष्ट्रपतिलाई हटाउने पक्षमा छन् ।  अमेरिका पनि मदुरोको विपक्षमा खुलेर लागेको छ ।  तर, राष्ट्रपति मदुरो भने विपक्षी र विदेशी दबाबसामु नझुक्ने अडान लिँदै संविधानसभाको चुनावमार्फत नयाँ जनादेश बटुल्ने पक्षमा देखिनुभएको छ ।  
चाभेजको सत्तामा उपराष्ट्रपति रहनुभएका मदुरोले उहाँको निधनपछि उत्तराधिकारीका रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभयो ।  लगत्तै भएको राष्ट्रपतीय निर्वाचनमा अत्यन्तै झिनो मतले प्रतिद्वन्द्वी हेनरिक केप्रिलेसलाई पराजित गरी निर्वाचित हुनुभएका उहाँले जनअपेक्षाअनुसार काम गर्न भने सक्नुभएन ।  चाभेजमा जस्तो नेतृत्व क्षमता मदुरोमा नभएकै कारण मुलुक फेरि लथालिङ्ग अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता बढेको छ ।  आर्थिक र राजनीतिक सङ्कट गहिरिँदै गएको छ ।  मुद्रास्फीति १०० प्रतिशत नाघेको छ भने बेरोजगारीदर ६५ प्रतिशतभन्दा माथि पुगेको छ ।  मुलुकको समस्या समाधान गर्ने भनी उहाँले आर्थिक सङ्कटकाल घोषणा गर्नुभयो तर समस्या समाधान हुने लक्षण देखिएन ।  
चाभेजमा नेतृत्व गर्ने क्षमता, आँट र साहसको समिश्रण थियो ।  मुलुक हाँक्ने नेता साँच्चिकै इमानदार र राष्ट्रप्रेमी भए छिट्टै समयमा मुलुकले आर्थिक समृद्धि चुम्न सक्छ भन्ने कुरा उहाँले प्रमाणित गरिदिनुभयो ।  उहाँकै कारण स्वदेशी नागरिकले मात्र होइन, छिमेकीहरूलाई समेत लाभ उठाए ।  असल नेताले भाषणले होइन काम गरेरै मुलुकको स्वरूप परिवर्तन गरिदिन सक्छन् ।  राजनीतिमा काम गर्ने आँट भए असम्भव भन्ने कुरा केही पनि हुँदैन ।  देश र जनताप्रति इमानदार नेता हुने हो भने मुलुककै शिर ठाडो हुने, विदेशीले हल्लाउन नसक्ने अवस्थाको अनुभूति गराइदिनुभयो चाभेजले ।  छोटो अवधिमा असल, राम्रो र स्वाभिमानी काम गर्नुभएका चाभेजलाई अहिले भेनेजुयलावासीले मात्र होइन, छिमेकीहरूले समेत सम्झिरहेका छन् ।  
५८ वर्षीय चाभेजको क्यान्सरका कारण सन् २०१३ को मार्च ५ मा निधन भयो ।  उहाँले लगातार १४ सम्म शान्तिपूर्ण ढङ्गले निर्वाचित सत्ता चलाई अस्थिर, गरिब, पिछडिएको र भ्रष्टाचारको दलदलमा फसेको मुलुकलाई समृद्ध बनाउनुभयो ।  माक्र्सवाद नारामा होइन सिर्जनात्मक प्रयोग गरेर व्यवहारमा देखाइदिनुभयो ।  
सधँै साम्राज्यवादी र विस्तारवादी नीतिविरुद्ध कठोर रूपमा प्रस्तुत हुने चाभेजले थिचिएका र दबिएका मुलुकहरूको पक्षमा आवाज उठाई ती मुलुकहरूलाई समेत आर्थिक सहयोग गर्ने उहाँ सारा ल्याटिन अमेरिकी मुलुकहरूकै नेता बन्नुभयो ।  राष्ट्रपति बनेपछि चाभेजले मुलुकको पुनःसंरचना गरी सामाजिक परिवर्तन र सुधारका लागि अर्बौं डलर खर्च गर्नुभयो ।  तेलेको धनी मुलुक भएर पनि असमान वितरण र मनपरीतन्त्रले गर्दा गरिब भएकाले तेल निर्यातको स्पष्ट नीति निर्माण गर्नुभयो ।  बजार मूल्यभन्दा सस्तोमा तेलको भाउ निर्धारण गरी वितरण गर्नुभयो ।  छिमेकी मुलुकहरूलाई सस्तोमा तेल निर्यात गर्नुभयो ।  हजारौँ एकड जमिन सुकुम्बासीलाई वितरण गरी भूमिहीन समस्या समाधान गरिदिनुभयो ।  अर्थतन्त्रमा भारी सुधार, उत्पादन र रोजगारी वृद्धि, गरिब तथा निमुखा जनताको जीवनस्तरमा व्यापक सुधारजस्ता कार्यक्रमले उहाँको लोकप्रियता निकै बढ्यो ।  त्यसैको फलस्वरूप उहाँले लगातार चुनाव जित्दै जानुभयो र मुलुकलाई राजनीतिक स्थायित्व दिनुभयो ।  गरिब तथा निमुखा बहुसङ्ख्यक जनताको हितमा थुप्रै रचनात्मक र सुधारात्मक काम गरेर जनतामाझ अत्यन्तै लोकप्रिय उहाँको १४ वर्षे शासनले लामो समयसम्म अस्थिर राजनीतिको सिकार बनेको भेनेजुयलालाई राजनीतिक स्थिरतामात्र प्रदान गरेन स्वतन्त्र, समृद्ध र स्वाभिमानी मुलुक पनि बनाइदियो ।
८ लाख ८१ हजार वर्गकिमि क्षेत्रफलमा फैलिएको, ३ करोड १० लाख जनसङ्ख्या रहेको जैविक विविधताले भरिपूर्ण सुन्दर यो मुलुक लामो समयसम्म स्पेनको अधीनमा रहन बाध्य भयो ।  सन् १५२२ मा स्पेनले अधीनमा लिएको यो मुलुक लामो सङ्घर्षपछि १८११ मा आंशिक स्वतन्त्र हुँदै सन् १८३० मा पूर्ण स्वतन्त्र भएको हो ।  त्यसपछि थुप्रै राजनीति उतारचढाव, तानाशाही सत्ता, सैनिक सत्ता, प्रजातान्त्रिक सत्ता, समाजवादी सत्ता भोगिसकेको यो मुलुकलाई अहिले सबैलाई मिलाउन सक्ने भरपर्दो नेतृत्व आवश्यक देखिएको छ ।  संसद्मा आफ्नो बहुमत नभएको अहिलेको अवस्थामा राष्ट्रपति मदुरोले विपक्षीहरूसँग सहकार्य गरी अगाडि बढ्नुपर्छ ।  विपक्षीहरूले पनि मुलुकको हितलाई सर्वोपरि राखी काम गर्नुपर्छ ।  राष्ट्रपतिलाई असहयोग गरी समानान्तर सत्ताको चलाउँदा यसले मुलुकमा ठूलो राजनीतिक दुर्घटना निम्त्याउन सक्ने सम्भावनाप्रति विपक्षी नेताहरू सचेत हुन जरुरी छ ।  



 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना