काँग्रेस माओवादी एकता

pradip nepalप्रदीप नेपाल

 

यतिबेला नेपाली काँग्रेस र माओवादी केन्द्र हनिमुनमा छन् ।  यो हनिमुन सुखद अनुभूतिका साथ चलिरहेको छ ।  दुवै पार्टीका अध्यक्ष एउटै स्वभावका छन् ।  दुवै पार्टी एक अर्कोको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका छन् ।  गएको निर्वाचनमा माओवादीका लागि रुख प्यारो भयो भने गोलो घेरा भित्रको हँसिया–हथौडा काँग्रेसको आफ्नो चिन्ह भयो ।  गएको निर्वाचनले यस्तो भान गरायो मानौं रुखको फेदमा हँसिया हथौडाको झन्डा गौरवका साथ टाँगिएको छ ।  यो घरभित्रको कुरो भयो ।
घर बाहिर पनि दुवै रहरलाग्दो हिसाबले मिलेका छन् ।  दुवैको अन्तर्राष्ट्रिय केन्द्र एउटै छ ।  दुवैको क्षेत्रीय केन्द्र पनि एउटै छ ।  पाठकलाई  यो अतिरन्जना लाग्न सक्छ तर सोसलिस्ट इन्टरनेशनलका महासचिवबाट ‘आफ्टर द डेथ अफ बीपी कोइराला एण्ड गणेशमान सिंह नेपाली काङ्ग्रेस इज नो मोर सोसलिस्ट’ (बीपी कोइराला र गणेशमान सिंहको निधनपछि नेपाली काँग्रेस समाजवादी रहेन । ) भनी बोलिएको वाक्य मैले आफ्नै कानले सुनेको थिएँ ।  यो सन् २००६ को कुरा हो ।  समाजवादी नरहेपछि काँग्रेस के हुन्छ ? पुँजीवादी ।  नेपालजस्तो मुलुकमा पुँजीवाद भ्रष्ट, सिद्धान्तहीन, गरीब मारा हुन्छ ।  नेपाली काँग्रेसको वर्तमान ठ्याक्कै यो चरित्रसँग मेल खान्छ ।
जहाँसम्म माओवादी केन्द्रको कुरा हो– त्यसको सिद्धान्त चिनिया सांस्कृतिक क्रान्तिको नयाँ जनवादी अधिनायकत्व हो ।  सांस्कृतिक क्रान्तिको नयाँ जनवादले धेरै देशका कम्युनिस्ट पार्टीलाई समाप्त पा¥यो ।  यथा, थाई कम्युनिस्ट पार्टी, मलय कम्युनिस्ट पार्टी, फिलिपिन्स कम्युनिस्ट पार्टी आदि ।  पेरुका गोन्जालेज नयाँ जनवादका अन्तर्राष्ट्रिय नेता हुन खोज्दै थिए ।  तर उनी पक्राउ परेपछि त्यो पेरु पनि कम्युनिस्ट पार्टीको बाह्रवर्षे खडेरीमा प¥यो ।  कम्बोडियामा नरसंहारको नमूना बन्यो नयाँ जनवादी अधिनायकत्वको सिद्धान्त बोकेको कम्युनिस्ट पार्टी ।  जुुन जुन देशका पार्टीले
सांस्कृतिक क्रान्तिकालीन नौलो जनवादलाई बेलैमा बाई बाई गरे, तिनले कम्युनिस्ट पार्टीलाई बचाए मात्र होइन– आन्दोलनलाई परिवर्तन र विजयको उचाइमा समेत पु¥याए ।  यथा, नेपालको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ।  यहाँनेर रोजा लक्जमबर्गको रुसी क्रान्तिको भविष्यबारे गरिएको टिप्पणीको सम्झना गर्नु उपयुक्त हुन्छ ।  उनले भनेकी थिइन्– रुसी कामरेडहरू यतिबेला भविष्यको चौबाटोमा उभिएका छन् ।  उनीहरू प्रजातान्त्रिक बाटोमा अघि बढ्छन् कि अधिनायकत्वतिर लाग्छन् – यसै मुद्दाले उनीहरूको भविष्य निर्धारण गर्छ ।  प्रजातान्त्रिक बाटो अवलम्बन गरे भने समाजवादले प्रगति गर्छ ।  अधिनायकत्वतिर लागे भने रुसी समाजवाद ध्वस्त हुन्छ ।  माओवादी केन्द्र अहिले यस्तै दोबाटोमा उभिएको छ ।  
म कुनै उपदेशक होइन, राजनीतिक भविष्यवेत्ता पनि होइन ।  अध्ययनले देखाएका तथ्य र तिनको निष्कर्ष नै मैले लेख्ने हो ।  केपी ओलीले हामीसँगै बसौँ भनेर अनुरोध गरे पनि प्रचण्डजी एमालेसँग मिल्नुहुन्न किनभने माक्र्सवादी कम्युनिस्ट पार्टीको सिद्धान्त, स्वतन्त्रताको पक्षपोषण हो भन्ने उहाँलाई थाहा छैन ।  लोकतान्त्रिक कम्युनिस्ट पार्टीलाई माओवादी केन्द्रले संशोधनवाद देख्छ ।  यसबाहेकका अप्ठ्यारा पनि छन् धेरै ।  माओवादीको राजनीतिको सार सत्ता राजनीति हो ।  उसले बोकेको सिद्धान्तका हिसाबमा यो सही पनि हो ।  ‘प्रतिक्रियावादी सत्ता ढाल, कम्युनिस्ट पार्टीको नेतृत्वमा संयुक्त मोर्चा गठन गरी जनताको सत्ता थापना गर, यही नै जनवादी अधिनायकत्व हो’ ।  यो अहिले पनि माओवादीको शासकीय सिद्धान्त हो ।  सिद्धान्त बाहिरको व्यवहारले पनि प्रचण्डजीलाई एमालेतिर आउन दिँदैन ।  राष्ट्रवादलाई अरुले जति सरापे पनि नेपाली राष्ट्रियताको मुद्दालाई नेकपा एमालेले कहिल्यै छाड्दैन ।  
यस्तो स्थितिमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच, तालमेल, सहकार्य र पार्टी एकता स्वभाविक हुन्छ ।  एमालेसँग नेकपा माओवादी केन्द्रको मिलाप हुनु भनेको नेपाली काँग्रेस र नेकपा एमाले मिल्नु जस्तै हो ।  त्यसैले नेकपा एमालेसँग मिल्नु पर्दा कम्तीमा पनि माओवादी केन्द्रका नेताहरूको सिद्धान्त र नेपाल राष्ट्रप्रतिको निष्ठा सार्वजनिक हुन पर्छ तर काँग्रेससँग मिल्दा माओवादीले केही गरिहनु पर्दैन ।  दुवै समाजवाद विरोधी भइसकेका छन् ।  अहिले समाजवादसँग काँग्रेस र माओवादी दुवैको दूरी पाटिन नसकिने गरी टाढिएको छ ।  नेपाली काँग्रेसमा शेरबहादुर देउवाको अनि नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व रहेसम्म, काँग्रेस माओवादी गठबन्धन कसैले तोड्न सक्दैन ।
मधेशी नेताहरूको हैसियत खस्किनुका पछिल्तिरको प्रमुख कारण पनि यही हो ।  लैनचौरमा बोलाएर ‘जनकपुरमा दश हजारको जुलुश  पनि निकाल्न नसक्ने’ भनेर हुँकेपछि मधेशी नेताहरूले काँग्रेस–माओवादीले आफ्नो दिल्लीतिरको हक खोसे भनेर बुझ्नुपर्ने थियो ।  तर तिनले बुझेनन् ।  मधेशी नेताहरूले बुझेनन् भनेरै होला, काङ्ग्रेसका नेता अमरेशकुमार सिंह मैदानमा उपस्थित भए ।  
नेपाली राजनीतिका सन्दर्भमा प्रतिस्पर्धी दलका रूपमा नेकपा एमाले र नेपाली काँग्रेस मात्र रहने छन् ।  समयक्रममा अरु सबै दल या त क्षेत्रीय या स्थानीय तहमा खुम्चिने छन् भने अहिलेका एक सिटे दलहरू इतिहास बन्ने छन् ।  सुन्दा नमिठो लागे पनि सबै पुँजीवादी मुलुकको नियति यही हो ।  त्यसैले भेडा भेडासँग, बाख्रा बाख्रासँग भएर पार्टीले आफ्नो अवस्थिति खोज्नु राम्रो हुन्छ ।  यो काम नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट आरम्भ भएको छ ।  मान्छेको चाहना एमाले र माओवादी मिलिदिए हुन्थ्यो भन्ने छ ।  कतिपय स्थानीय तहमा भोलि एमाले र माओवादीकै बीचमा एकता हुने सम्भावना पनि उत्तिकै प्रबल छ तर नेकपा माओवादी केन्द्रको वर्तमान नेतृत्व दक्षिण एसियाली  राजनीतिका कारण नेपाली काँग्रेसलाई छाड्न सक्ने अवस्थामा छैन ।  यदि त्यस्तो हुन्थ्यो केपी ओलीको नेतृत्वमा राम्ररी चलिरहेको सरकारको विघटनमा माओवादी केन्द्रको प्रमुख भूमिका हुने थिएन ।  
नेपाली राजनीतिमा एउटा अनौठो शब्दावली जन्मिएको छ–प्रवेशको लहर ।  यसका बारेमा मैले धेरै लेखिरहनु परोइन ।  एकजना भाइ भेट्न आएका थिए आफ्नो दाइको परिचय बोकेर ।  उनले मसँग अनुरोध गरेँ– हामी नेकपा एमालेमा प्रवेश गर्न चाहन्छौँ, सरले पहल गरिदिनु प¥यो ।  चिन्नु न जान्नुका ती भाइका लागि मैले कुनै पहल गर्ने कुरो भएन ।  मैले उनलाई भने – तपाईं आफ्नो जिल्ला जानुस्, प्रक्रिया त्यहीँबाट आरम्भ गर्नुस् ।  हाम्रो पार्टीमा प्रवेश गर्न जिल्लाबाटै पहल गर्नुपर्छ ।  भाइ जिल्ला गए होलान् प्रवेशका लागि भनेर पर्खिरहेको मैले तिनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष कामरेड पुष्पकमल दाहालबाट पार्टी प्रवेश गराउँदै गरेको देखेँ टेलिभिजनका पर्दामा ।  तिनले मसँग एमाले प्रवेशको अनुरोध गरेको र माओवादी केन्द्रको टीका लाएको बीचमा महिना दिन पनि टरेको थिएन ।  यति चाँडै एमालेको बहुदलीय जनवाद त्यागेर नौलो जनवादतिर जानेले पार्टीमा के योगदान दिन्छ ? अब ती भाइको एमाले वा माओवादी केन्द्रमा पार्टी प्रवेशको अर्थै के भयो र ?
वर्तमान पार्टीहरूको परिचयको आधारमा भन्ने हो भने नेपालमा चार प्रकारका पार्टी छन् ।  वामपन्थी समाजवादी, दक्षिणपन्थी पुँजीवादी, राजावादी र जातिवादी ।  राजावादी र जातिवादी पार्टी आधारभूत रूपमा दक्षिणपन्थी पुँजीवादी नै हुन् ।  भविष्यको राजनीतिक ध्रुवीकरण यसै आधारमा हुनेछ ।  यो ध्रुवीकरणको प्रतिस्पर्धामा नेकपा एमालेले दक्षिणपन्थी गठबन्धनलाई पराजित गरेर आपूmलाई श्रेष्ठ प्रमाणित गर्नु पर्नेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना