नागपञ्चमीको महत्त्व.......

trichandra pratiksyaत्रिचन्द्र प्रतीक्षा


 

नेपाली समाजमा नागलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ ।  नेपाली संस्कृतिमा मानिसको मात्र होइन, पशुपक्षी आदि जीवजन्तुको पनि सह–अस्तित्व स्वीकार गरिन्छ ।  हरेक वर्षको साउन शुक्लपक्ष पञ्चमीलाई हिन्दु धर्मालम्बीले नागपञ्चमीको रूपमा नागको प्रतिविम्ब (चित्र) लाई भित्तामा टाँसेर पूजा गर्ने गर्दछौँ, नागलाई पानी र वर्षाका देवताका रूपमा मानिन्छ ।  समयमा वर्षा होस् र बाढीबाट जनधनको हानि नहोस् भन्ने हेतुले नागको पूजा गरिन्छ ।  नागपञ्चमी मनाउनु हाम्रोजस्तो कृषिप्रधान देशका लागि सकारात्मक पक्ष पनि हो ।  
नागका अष्टकूल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने, आगो, सर्पको भय र विपत्ति हुँदैन भन्ने जनविश्वास रहिआएको पाइन्छ ।  पौराणिक कथनअनुसार नागपूजाको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा विभिन्न धार्मिक ग्रन्थमा लेखिएका आधार मान्दा राजा परिक्षितका छोरा जन्मेजयले गरेको सर्प यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक (जरत्कारु र मनासादेवी सुपुत्र) ले अनुरोध गरेपछि सर्प यज्ञ रोकियो र सम्पूर्ण नागहरूको उद्धार भएको दिन श्रावण शुक्लपञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणमा उल्लेख भएको पाइन्छ ।
 पौराणिक साहित्यमा नागजातिको सन्दर्भमा व्यापक परिचर्चा परेको छ ।  शेषनागले सम्पूर्ण पृथ्वीलाई धारण गरेको र भगवान् विष्णु क्षीरसागरमा शेष शैøयामा शयन गरेको कथन छ ।  भगवान् शिवजीले नागपूजा देवताका लागि पनि दुर्लभ पूजा भन्नुहुन्छ ।  यमुना नदीमा बसेर कालीनागले जल विषाक्त बनाएको र भगवान् श्रीकृष्णले कालीनागलाई दमन गरेको हरिवंश पुराणमा उल्लेख छ ।
अन्य पुराणमा पनि नागपूजाको विशेष उल्लेख गरिएको पाइन्छ ।  ‘नारद पुराण’ अनुसार नागपञ्चमीका दिन नागपूजा र नागहरूलाई दूधपान गराउनाले सर्पदंशबाट असामयिक मृत्युबाट बचाउ हुन्छ ।  ‘भविष्य पुराण’ मा पनि नागहरूको पूजाअर्चना गरी पर्यावरणलाई सन्तुलित राख्नुपर्ने कुराको चर्चा पाइन्छ भने ‘गरुड पुराण’ मा समेत पूजा गर्नाले सुख समृद्धि वृद्धि हुने भनिएको छ ।  
काठमाडौँ उपत्यकाको उत्पति नागजातिसँग जोडिएको मिथक पाइन्छ ।  ‘स्वयम्भू पुराण’ अनुसार काठमाडौँ उपत्यका जलमग्न रहेको समयमा नागजातिले शासन गर्दथे ।  विभिन्न लोक आख्यानअनुसार नागहरूलाई नै नेपालको प्रथम आदिवासी हुन् भनी मानिन्छ ।  हालको नागदहमा तक्षक, कुलिक र कर्कोटक नागको आश्रयस्थल थियो ।  चीनबाट आउनुभएका महा–मञ्जुश्रीले चोभारको पहाड (कच्छवाल पहाड) काटेर पानी बाहिर निकास गरे पछि सम्पूर्ण नागहरू पानीसँगै बगेर बाहिर गए ।  पछि काठमाडौँ उपत्यकाको रक्षाका लागि महा–मञ्जुश्रीले कर्कोटक नागलाई टौदहमा बस्ने आज्ञा दिए ।  मिथकअनुसार कर्कोटक नागराजका परिवार (श्रीमती) को आँखा दुखेको र एक जना ज्यापूले निको पारिदिएकोमा खुसी भएर हिरामोती नवरत्न जडित भोटो ज्यापूलाई उपहार दियो ।  एकदिन ज्यापूले खेतमा काम गर्दै गर्दा उक्त भोटो भूतले चोरेर लगेको जनश्रृति प्रचलित रहेको छ ।
यस्तै नागपञ्चमीका दिन ललितपुर धापाखेलको नागदहमा पनि ठूलो मेला लाग्ने गर्छ ।  एक लोक आख्यानअनुसार १६ वर्षीया किराँती युवती कुरूप भएकै कारण आफ्नो लोग्नेले छोडेका थिए ।  बरु यस्तो कुरूप अनुहार लिएर जिउनु भन्दा मर्नु नै निको ठानेर नागदहमा डुबेर मर्न लागेकी थिइन ।  सोही स्थानमा शिकार खेल्दै गरेको युवा किराँतले देखेर डुबेको युवतीलाई निकाल्दा सुन्दरीको रूपमा परिवर्तन भए ।  सो दिन नागपञ्चमी परेको हुनाले युवतीले नागदहको महŒव र महिमा बुझिन् ।  नागपञ्चमी दिन दहमा पूजा गर्न थलिन् ।  यही क्रमको निरन्तरताले आज मेला भर्न थालेको भनाइ रहेको पाइन्छ ।
भक्तपुरका बासिन्दा सिद्धपोखरीमा गएर नागपञ्चमी भव्यरूपमा मनाउने गर्छन् ।  एक लोक आख्यानअनुसार ठिमीका एक जना व्यापारी र तान्त्रिक साथी सिद्धपोखरीमा बसेर नागको बारेमा कुराकानी गरिरहेका थिए ।  सो कुरा नागले सुनेर रिसाउँदै तान्त्रिकलाई पोखरीभित्र आएर झगडा गर्न बोलाए ।  तान्त्रिक पनि के कम थियो र आफ्नो साथीलाई एक मुठ्ठी चामलमा मन्त्र फुकेर दिँदै भने ‘म पोखरीबाट निस्कने बेलामा नागको स्वरूपमा आउँछु र यो चामलले मलाई हिर्काउनु । ’ तान्त्रिक पोखरीभित्र गई नागलाई मारेर निस्कँदा साथीले चामलले हिर्काउनुपर्नेमा डरलाग्दो नागको स्वरूप देखेर तिनी ठिमीतिरै भाग्यो ।  यता तान्त्रिक साथी मान्छेको स्वरूपमा आउन नसकेर नागकै रूपमा सोही सिद्धपोखरीमा गएर बस्यो ।  भनिन्छ आजसम्म पनि ठिमीका मानिसहरू डराएर उक्त सिद्धपोखरीमा जाँदैनन् र भक्तपुरबासी सो तान्त्रिकव्यक्ति आजसम्म पनि नागकै रूपमा रहेको जनविश्वास गरिन्छ ।  नागपञ्चमीमा सो पोखरीमा गएर पूजाआजा गर्ने गर्छन् ।   
नागको सम्बन्धमा नेपाली समाजमा यस्ता विभिन्न किंवदन्ती प्रचलित रहेको पाइन्छ ।  नागलाई पानी पार्ने देवता, वातावरण सफा राख्ने प्राणीको रूपमा व्याख्या गरेको समेत देखिन्छ ।  भने शरीरमा घाउ, खटिरा आएमा कपासको नाग बनाई काठमाडौँको सुन्धारास्थित नागमन्दिर, शोभाभगवतीलगायत थुप्रै स्थानमा रहेका नागलाई पुज्ने परम्परा रहिआएको पाइन्छ ।  यसै अवसरमा नागको बासस्थान मानिएका टेकु दोभानको चिन्तामणि तीर्थ, चाँगु भक्तपुरको पुण्य तीर्थ, शङ्खमूलको शङ्कर तीर्थ, कोटेश्वरको शान्ति तीर्थ र सानेपाको राजतीर्थमा बज्रयानी बौद्ध परम्पराअनुसार विशेष पूजा समेत गर्ने चलन रहिआएको छ ।  यस दिनमा काठमाडौँ नक्सालस्थित नागपोखरी र चोभारस्थित टौदहमा विशेष मेला लाग्ने गर्छ ।
हिन्दु समाजमा नागलाई शिव र विष्णुका रूपमा पूजा गर्छन् ।  शिवले नागको माला लगाएका छन् र विष्णु जलमाथि शेषनागको शैøयामा फणाको छाता ओढी सुतेका हुन्छन् ।  यस्तै गणेशको एक हातमा पनि नागबाण छ ।  कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार भएको मानिन्छन् ।  कृष्णले बालककालमै कालीनागको दमन गरेको प्रसङ्ग प्रसिद्ध छ ।
 बौद्ध परम्पराअनुसार पनि बुद्ध जन्मनासाथ नन्द र उपनन्द नामक नागले उसको स्तुति गरेका थिए ।  बुद्धले ज्ञान प्राप्त गरेपछि केही समय बोधिवृक्षमुनि बस्दा उनको शिरमा नागराज पुलिन्दले छायाँ दिएको कथा बौद्ध परम्परामा भेटिन्छ ।  यस्तै जैन धर्मका सातौँ र २३सौं तीर्थङ्कर सुपाश्र्व र पश्र्वनाथको शिरमाथि सातवटा सर्पका टाउकाको छत्र बनाएर उनीहरूलाई नागसँग सम्बन्धित बनाएको देखिन्छ ।  मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला छ ।  यी प्रमाणबाट नागको महात्म्य बुझ्न सजिलो हुन्छ ।  भगवान् बुद्ध यस्तो प्राकृतिक पूजामा विश्वास नगर्ने भए पनि उहाँले भन्नुभएको छ– ‘नागको पूजा वन्दना गर्नाले सर्पबाट हुने भय हुँदैन, सर्पको विषले असर गर्दैन । ’
नागपूजाको परम्परा वैदिककालदेखि चल्दै आइरहेको छ ।  यसको अतिरिक्त सूर्योपासनाको प्राचीन परम्पराबाट पनि सर्पपूजाको प्राचीनताको ऐतिहासिकता प्रस्ट हुन्छ ।  ऋग्वेदमा सूर्य अहिको रूपमा वर्णित छ, त्यही सर्पोपासनाको रूपमा विश्वव्याप्त हुन गयो ।  सूर्य प्रतीक सर्पहरूको उपासनाको प्रसार विदेशसम्म पनि पुगेको थियो ।  अश्विनी कुमारहरू जस्तै रोमवासीहरूमा एसकुलपिपस देववैद्य मानिन्छ ।  मिश्रवासीहरूको हार्मिस, बेबिलोनियाको बेल आदि सबै सर्पका प्रतीक मानेर पूजा गरिन्छ ।  भनिन्छ कि विश्व विजेतब अलेक्जेण्डर नागवंशीय थिए ।  इजरायलका राज योथभले नागपूजाका लागि मन्दिरसमेत निर्माण गरेका थिए ।  एसिया माइनरका प्राचीन मुद्राहरूमा सर्पका आकृति अङ्कित गरिएका छन् ।  आठौँ शताब्दी ई.पू. देखि प्राप्त भएका (पञ्चमार्कड) आहत मुद्राहरूमा सर्पाकार आकृति पाइन्छ ।  इशाईहरूको धर्मग्रन्थ बाइबलको आरम्भमै आदम र ईभको कथामा सृष्टि रचनाको समय एउटा सर्प रुखमा टाँसिराखेको देखाइएको छ ।  यसरी सर्पोपासना एसिया, युरोप र दक्षिण अमेरिका देशसम्म फैलिएको कुरा इतिहासमा पाइन्छ ।  
वैज्ञानिक अध्ययन विश्लेषण गर्ने हो भने सर्पबाट हामीले अप्रत्यक्ष रूपमा भए पनि फाइदा लिइरहेका हुन्छौँ ।  सर्पहरूलाई हानिकारक ठान्नुको कारण तिनीहरूको टोकाइको डरले नै हो तर सर्पले डस्ने कार्य सितिमिती गरी हाल्दैनन् ।  तिनीहरू आफ्नो सुरक्षाको निमित्त मात्र टोक्ने गर्छन् ।  सर्पले डसी हालेको खण्डमा पनि सबै सर्प विषालु नहुने हुँदैनन् ।  विषालुभन्दा अति विषालु जातको सर्पको सङ्ख्या धेरै हुने नहुने हुँदा मृत्यु हुने सम्भावना पनि कम हुन्छ ।  यदि विषालु सर्प नै परेको खण्डमा पनि समयमै उपचार व्यवस्था हुन सकेमा बाँच्न सकिन्छ ।  विकसित देशमा सर्पहरूलाई पूर्ण संरक्षण दिइएको पाइन्छ ।  
धार्मिक र प्राकृतिक पर्यावरण बचाउनका लागि पनि सर्प मात्र होइन, पृथ्वीमा भएका कुनै पनि जीवजन्तुलाई संरक्षण गर्नु मानवजातिकै लागि चुनौतीको विषय भइसकेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना