अन्तर्घात गरे कारबाही गर्ने फोरमको चेतावनी

काठमाडौँ, साउन १४ गते ।  सङ्घीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा अन्तर्घात गरे पार्टीका नेता तथा कार्यकर्तालाई तत्कालै कारबाही गर्ने चेतावनी दिएको छ ।  असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको चुनावलाई लक्षित गरेर फोरमले यस्तो चेतावनी दिएको हो ।
दुई चरणमा भएको चुनावमा विभिन्न ठाउँमा पार्टीभित्र भएको अन्तर्घातका कारण निर्वाचनमा पराजय भोग्नु परेको निष्कर्ष निकाल्दै पार्टीले अन्तर्घात गर्नेलाई तत्काल पार्टीबाट निष्कासन गरी कारबाही गर्ने निर्णय गरेको हो ।  
पार्टीका सहमहासचिव अभिषेकप्रताप शाहले राजधानीमा तीन दिनदेखि जारी बैठकले चुनावको रणनीति तयारसमेत गरेको बताउनुभयो ।  स्थानीय तह तेस्रो चरणको चुनावका लागि टिकट वितरण गर्न प्रदेश २ का आठवटा जिल्लाका लागि फोरम नेपालले आठवटा कार्यदल गठन गरेको छ ।  ss foram
कार्यदलले जिल्लामा गएर अनुगमन गर्ने, प्रशिक्षण दिने, कार्यकर्ता तथा नेताको राय बुझ्ने अनि त्यसमध्ये उम्मेदवार चयन गरी केन्द्रमा पठाउनेछ ।  त्यसपछि मात्र केन्द्रले उम्मेदवार चयन गर्ने रणनीति पार्टीले लिएको नेता शाहले जानकारी दिनुभयो ।  यसपालि उम्मेदवारको चयन चाँडै गर्ने नीति पनि पार्टीले लिएको छ ।  उम्मेदवार चयनमा ढिलाइ गर्दा प्रचार प्रसार तथा रणनीति बनाउन ढिलो हुने भएकाले यसपटक उम्मेदवारको चयन चाँडै गर्ने शाहले जानकारी दिनुभयो ।  
बैठकको अन्तिम दिन पार्टी अध्यक्ष उपेन्द्र यादवले तेस्रो चरणको चुनावमा फोरम नेपाललाई पहिलो पार्टी बनाउने उद्देश्यका साथ तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।  विचार र सिद्धान्त मिल्ने पार्टीसँग चुनावमा तालमेल गर्ने रणनीति पनि फोरम नेपालले बनाएको छ ।
अध्यक्ष यादवले फोरम नेपाल सङ्घर्ष र आन्दोलनबाट जन्मेको पार्टी भएका हुनाले त्यसबाट डराउन नहुने धारणा राख्दै सडक र सदनबाट सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो ।  आफ्नो पार्टी मधेशी, आदिवासी जनजाति, शिल्पी, पिछडा वर्गको रक्षाका लागि जन्मेको दाबी गर्दै उहाँले समाजवादको स्थापना र प्राप्त सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र गणन्तन्त्र जस्ता उपलब्धिको रक्षा गर्न आफूहरू चुनावमा सहभागी भएको पनि स्पष्ट पार्नुभयो ।  बैठकमा पार्टीका महासचिव रणध्वज कन्दङवाङले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।  बैठकमा चुनाव सम्पन्न भइसकेको जिल्लाका अध्यक्षहरूले चुनावी परिणामबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।  
त्यसैगरी चुनाव हुन बाँकी रहेको ठाउँका अध्यक्षहरूले चुनावी रणनीतिबारे आआफ्ना धारणा राख्नुभएको थियो ।  साथै, बैठकले पार्टीमा प्रवेश गरेका तथा पार्टीसँग एकीकरण गरेर आएका दलका नेता तथा कार्यकर्तालाई पदीय जिम्मवारीसमेत सुम्पेको छ ।  केही दिनपहिले फोरम नेपालसँग पार्टी एकीकरण गर्नुभएकी सरिता गिरीलाई पार्टीको राजनीतिक समितिमा ल्याइएको छ ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना