विश्वसम्पदा सूचीमा योग्य बुढानीलकण्ठ

shyam rimal_1श्याम रिमाल

 

काठमाडौँ उपत्यकाका थुप्रै धार्मिकस्थलमध्ये बुढानीलकण्ठ पनि महìवपूर्ण  मानिन्छ ।  उत्तरी भागमा शिवपुरीको फेदीमा रहेको यो स्थल शैव, वैष्णव र बौद्ध धर्मावलम्बीका आस्थाको स्थल हो ।  साबिकका कपन, चुनीखेल, महाँकाल, खड्गा भद्रकाली, चपली र विष्णु  बुढानीलकण्ठ गाविस मिलाएर  बुढानीलकण्ठ नगरपालिका बनाइएको छ जुन तिनै जलशायी बुढानीलकण्ठबाट नामकरण भएको हो ।  ...“लिच्छविकालदेखि ऐतिहासिक सम्पदामा धनी मानिँदै आएको काठमाडौँ महानगरपालिकामा पर्ने राजधानीको मध्यभागमा अवस्थित प्राचीन ऐतिहासिकस्थल विशालनगरको विशेष महìव छ ।  विशालनगर राज्यको राजधानी हाँडीगाउँ थियो । ... हिमवत्खण्डअनुसार सो राज्य बुढानीलकण्ठदेखि दक्षिणमा शङ्खमूलसम्म फैलिएको थियो । ...त्यस समय विशालनगर राज्यमा उनान्सय हजार (९९,०००) घरहरू थिए । ”(डा यज्ञनाथ आचार्य, ‘हाँडीगाउँ ः एक परिचय’, समुन्द्रमन विद्या प्रतिष्ठान, काठमाडौँ, २०६९) ।  बुढानीलकण्ठबाट ल्याइएको राजकुलोको भग्नावशेष केही वर्षअघिसम्म हाँडीगाउँमा पाउन सकिन्थ्यो ।   त्यहाँ एक बाटाको नाम राजकुलो पनि राखिएको छ ।  बुढानीलकण्ठ क्षेत्रमा खन्दा अहिले पनि कहीँ पुराना इँटा र कहीँ प्राचीन मूर्तिहरू पाउन सकिन्छ ।  
लिच्छविकालीन चौथो–पाँचौँ शताब्दीका प्रस्तरमूर्तिमा कामपा–७, सिफलस्थित भण्डारेश्वरको एकमुखे मूर्ति र सातौँ शताब्दीका उल्लेखनीय मूर्तिमा कामपा–४, विशालनगर, चण्डोलस्थित धूम्रबराह, ललितपुर, चपत टोल इलाननीस्थित चौथो–पाँचौँ शताब्दीको बुद्धमूर्ति, पाँचौँ शताब्दीको लाजिम्पाटमा भेटिएको, पशुपति त्रिगङ्गाको खेतमा पाइएको र चाँगुनारायण स्थानका  विष्णुविक्रान्त वामनका मूर्ति, पशुपति, पाँचौँ–छैटौँ शताब्दीको जयवागेश्वरीमा रहेको चतुर्मुखी ब्रह्मा, छैटौँ–सातौँ शताब्दीको हनुमानढोकाभित्रको सुन्दरीचोकको कालियदमनको मूर्ति, काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका, शिवपुरीको फेदमा रहेको एउटै विशाल प्रस्तरमा कुँदिएको जलशायी नारायणको, ललितपुर, यम्पी महाविहारको पद्मपाणि लोकेश्वरका मूर्ति आदि छन् ।  
अंशुवर्मापछि राजगद्दीमा ध्रुवदेव(शासनको अधिकार जिष्णुगुप्तमा) र उनीपछि भीमार्जुनदेव(अधिकार विष्णुगुप्तमा) बसे ।  भीमार्जुनदेव र विष्णुगुप्तको यङ्गालहिटीको अभिलेखमा मूर्ति बनाउन आवश्यक पर्ने ढुङ्गा दक्षिणकोलीग्रामबाट ल्याइएको उल्लेख छ (गौतमवज्र बज्राचार्य, प्राचीन मूर्तिकलाको विषयमा, पूर्णिमा वर्ष १ अङ्क ३) । ... “आधिकारिक गोपाल वंशावलीबाट प्रमाणित काठमाडौँको सदरमुकाम(मुख्य ठाउँ) हनुमानढोकाबाट १० किलोमिटर ३ कोष उत्तरमा तीस फिटको अतिसुन्दर पाषाणमूर्ति लिच्छविकालको राजा विष्णु गुप्तले लिच्छवि संवत् ६४ मा निर्माण गराएका हुन् भन्ने ताम्रपत्र शिलापत्रमा प्रमाणित भएको छ ।  विक्रम संवत् ६३३ लिच्छवि संवत्मा जोडेपछि विक्रम संवत् ६९७ मा यो प्रस्तरमूर्ति निर्मित भएको हो भन्ने प्रमाणित हुन्छ । ”(बुढानीलकण्ठ वरपरका  देवदेवीस्थल र योगी–तपस्वीहरूको परिचय, नरप्रसाद धिताल, सीताराम धिताल, २०५९)। अंशुवर्माको राज्यकाल विसंको सातौँ आठौँ शताब्दीमा भएकाले मूर्ति पनि सोही समयमा बनेको स्पष्ट हुन्छ ।   
बुढानीलकण्ठको प्रस्तरमूर्ति बाइस फिट लम्बाई र १२ फिट चौडाको छ ।  नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्काे मूर्ति छैन ।  “नारायण अर्थात् विष्णु क्षीर सागरमा रहेको कल्पना गरिएको सो मूर्ति शेषनागका पाशमा शय्या गरी शेषनागकै एघार शिरबाट सुरक्षित भई शङ्ख, चक्र, गदा र पद्म  हातमा बोकेर परमानन्द र शान्त स्वरूप प्रस्फुरित भइरहेको  देखिन्छ । ”(नेपाली कलाको रूपरेखा ः प्राचीन र मध्यकालीन, सत्यमोहन जोशी, बुक आर्ट नेपाल, २०७३) हाल सो ठाउँलाई नारायणस्थान पनि भनिन्छ ।  लिच्छविकालमा यसको नाम नरसिंहस्थान र  थथुरीद्रङ्ग पनि थियो ।  वर्तमान काठमाडौँ शहरको दक्षिणी भाग अर्थात् आजभोलिको चिंकमुगल, ओमबहाल, लगन, यङ्गाल, मजिपाट, जैसीदेवल, ब्रह्मटोल आदि प्रदेश त्यतिबेला दक्षिणकोलीग्राम नामले चिनिन्थ्यो ।  यो कुरा त्यस भेकमा पाइएका लिच्छवि अभिलेखहरूले जनाउँछन् ।  काठमाडौँको दक्षिणी भागको पुछारमा रहेको चन्द्रगिरि (पहाड) को फेदीमा पर्ने मच्छेनारायणस्थानदेखि यङ्गालहिटीसम्मका अभिलेखमा त्यतातिरको प्रदेशलाई बुझाउन दक्षिणकोलीग्राम भन्ने गरेको पाइन्छ (डा साफल्य अमात्य, ‘काठमाडौँ नगरायण’, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, विसं २०५३)। रमाइलो कुरो, ढुङ्गा ल्याइएको दक्षिणकोलीग्रामका जनताप्रति खुसी भएर सरकारले उनीहरूलाई कल्ली, बाजु र पाउजेबबाहेक  अरु गहना लगाउन स्वीकृति दिएको थियो ।  
युनेस्कोको विश्वसम्पदा सूचीमा रहेका नेपालका स्थानमा काठमाडौँ, हनुमानढोका, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, बौद्धनाथ, चाँगुनारायण, स्वयम्भूनाथ, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय  निकुञ्ज हुन् ।  विश्व सम्पदास्थल हुनाका लागि सांस्कृतिक वा प्राकृतिक रूपमा अत्युत्तम मानवीय कलाको प्रतिनिधि गरेको हुनुपर्ने, कुनै समयमा वास्तुकला, प्रविधि, स्मारक कला, नगरयोजना वा भूदृश्यको डिजाइनको विकासमा महìवपूर्ण मानवीय मूल्यको मोडको प्रदर्शन गरेको हुनुपर्ने, कुनै एक सभ्यताको अद्भूत प्रमाण हुनुपर्ने, मानव चरणको उल्लेखनीय उदाहरण हुनुपर्ने, कुनै एक संस्कृतिको प्रतिनिधित्व गर्ने परम्परागत मानवबस्ती, जमिन वा समुद्रको प्रयोगको असाधारण उदाहरण हुनुपर्ने, सर्वाेत्कृष्ट प्राकृतिक घटना वा अति सुन्दर प्राकृतिक सौन्दर्यले युक्त हुनुपर्ने, पृथ्वीको इतिहासमा मुख्य चरणको प्रतिनिधित्व गरेको हुनुपर्ने, विकासको चरणमा पर्यावरणीय वा जैविक प्रक्रियाको प्रतिनिधित्व गरेको हुनुपर्ने र  महìवपूर्ण प्राकृतिक बासस्थान हुनुपर्ने तोकिएको छ ।  यीमध्ये   एक आधार भए पुग्छ ।  यी आधारहरू बेलाबेला परिवर्तन भइरहन्छन् पनि ।
आदरस्वरूप वृद्ध वा बुढानीलकण्ठ भनिएका बुढानीलकण्ठलाई  विष्णु, शिव र बुद्धका रूपमा लिई  हिन्दू र बौद्ध दुवैले उत्तिकै आदर गर्छन् ।  एक हातमा कमलको साटो विगुत लिएकाले नीलकण्ठ भनिएको हो ।  समुद्रमन्थनपछि कालकूट विष पिएका शिव डाह शान्त पार्न हिँड्दा यहीँ आइपुगी विष्णुको आह्वान गरी लडे भन्ने भनाइले मूर्तिलाई महादेवका रूपमा पनि लिइएको छ ।  बौद्धहरूले उनलाई प्रथम बुद्ध विपस्वीका रूपमा लिई श्रद्धा गर्छन् ।  निधारभन्दा  अलिमाथि मुकुटमा बुद्धको मूर्ति पनि कुँदिएको छ ।  
 मिथकै मिथक
धर्ममा जतिसुकै आस्था भए पनि इतिहासलाई नै प्रामाणिक मान्नेहरू थुपैैै्र छन् ।  पुराण र इतिहास भिन्दै कुरा हुन् ।  तैपनि बुढानीलकण्ठबारे अध्ययन गर्दा थुपै्र कथा, किंवदन्ती र मिथक पाठकले पाउँछ, जस्तै–
–द्वापर युगमा शिवपुरी नगरको राज्यमा सूर्यकेतु नाम गरेका धर्मात्मा राजाले राज्य गर्थे ।   उनी हरेक पर्वमा बद्री र केदारको दर्शन गरेर मात्र अन्न ग्रहण  गर्थे ।  उमेर ढल्कँदै गएपछि एकदिन उनले  बद्री र केदारलाई आफू बुढो हँुदै गएको र  त्यहाँसम्म जान नसक्ने भएकाले एकै ठाउँ बस्न गरेको आग्रहलाई स्वीकार्दै बद्री र केदार एकै रूप भई अर्थात् शिव र विष्णु एकै बुढानीलकण्ठका रूपमा उक्त स्थानमा विराजमान भएको भन्ने किंवदन्ती छ ।  उक्त मूर्तिका लागि भीमसेनले नागार्जुनबाट विशाल शिला ल्याए र  विश्वकर्माले एकै रातमा उक्त मूर्ति बनाए ।  
–कलियुगमा काठमाडौँ जलैजलले भरिएको थियो र चोभारमा चीनबाट आएका मञ्जुश्रीले जल निकासा गरेपछि सो स्थान बस्ती बस्नयोग्य भयो ।  सोही स्थानमा नीलकण्ठ नाम गरेका एक किसानले खेत खन्ने क्रममा रगत बगेको देखेपछि डराई घर गई सुत्दा सपनामा हरिहर आई आफू उत्पन्न हुनका लागि रगत आएको, यसमा पाप नलाग्ने र भगवान् त्यहाँ रहेको सम्पूर्ण लोकलाई बताउन आज्ञा हुँदा किसानले भोलिपल्ट सबैलाई बोलाई हेर्दा विशाल मूर्ति फेला प¥यो ।   उक्त मूर्तिको नाक र दाहिने हातको बूढी औंलामा किसानले खन्दा लागेको चोट देखिन्छ ।  भगवान्ले आफ्नो नाम उक्त किसानको नामले परिचित हुनेछ भनी दिएको वरदानका कारण नीलकण्ठको नाम अपभ्रंश भई बुढानीलकण्ठ रहन गएको हो ।
–यो पुण्यस्थलमा जो मनुष्य आएर दर्शन गर्छ, उसले बद्री केदार गएसरीको पुण्य प्राप्त गर्छ, बैकुण्ठबास हुनेछ ।  
–असार महिनामा पर्ने हरिशयनी एकादशीमा शयन गरेका भगवान् विष्णु  निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विश्वासकै कारण यसदिन त्यस ठाउँमा मेला लाग्ने गरेको हो ।
–राजा प्रताप मल्लले नारायणस्थानसम्म आउन गाह्रो मानेर हनुमानढोका दरबार परिसरमा बुढानीलकण्ठको मूर्ति बनाइराखे ।  त्यसपछि सपनामा एकपल्ट बुढानीलकण्ठले अबदेखि तिमी र तिम्रा सन्तान मकहाँ नआउनू, आएमा अनिष्ट हुन्छ भनी बताएकाले राजा र राजपरिवार बुढानीलकण्ठ मन्दिर जाँदैनथे ।  उनले हनुमानढोकामा नारायण पोखरी बनाई बुढानीलकण्ठ मन्दिर बनाउन लगाएका थिए ।  बालाजु बाइसधारामा पनि बुढानीलकण्ठको सानो मन्दिर छ जहाँ राजपरिवारले  दर्शन गर्थे ।  अहिले गणतन्त्र नेपालका राष्ट्रपतिहरू पनि सोही परम्परा मानेर बुढानीलकण्ठ गएका छैनन् ।   
–तिमी पनि विष्णु, म पनि विष्णु भएकाले भेटघाट गर्न नमिल्ने भनी बुढानीलकण्ठले राजाहरूलाई सपनामा भनेकाले राजाहरू त्यहाँ नगएका हुन् ।   
–छयालीस सालमा बाग्मती अञ्चलाधीशले त्यहाँको पीपलको रुख काट्न आदेश दिई काट्दा राजतन्त्रलाई धक्का पुग्यो ।  
विसं २०७१ चैत २६ देखि ७२ वैशाख १ गतेसम्म प्रथम बुढानीलकण्ठ महोत्सवको उद्देश्य पनि बुढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा राख्न लगाउने थियो तर बुढानीलकण्ठलाई सो सूचीमा राख्न आवश्यक आधार हामीले युनेस्कोसमक्ष राख्न सक्नुपर्छ ।  दक्षिण एसियाकै पहिलो नगर भई विशालनगर हाँडीगाउँ राजधानी भएको बुढानीलकण्ठ–शङ्खमूलसम्म फैलिएको राज्य नेपाली नगर सभ्यताको उद्गमस्थल पनि हो ।  वाग्मती नदी बगी वाग्मती सभ्यता सुरु भएको स्थल वाग्द्वार, विष्णुमतीको उद्गम विष्णुपादुका, सपनतीर्थ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, शिवपुरी,  विपश्यना ध्यान केन्द्र, अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ(इस्कोन) आदि जस्ता स्थल र सङ्घसंस्था यही क्षेत्रमा हुनुले विश्वसम्पदा सूचीमा बुढानीलकण्ठलाई पार्न सकिने आधार भेटिन्छ ।  मूर्तिको प्राचीनता, भव्यता, अलौकिकता र नाप(लम्बाई–चौडा परिमाण) पनि विश्वका अन्य मूर्तिसँग तुलना गरी निक्र्याेल गर्नु आवश्यक छ ।  विश्वमा दुर्लभ भनिएको यो मूर्ति अनुपम हुनसक्छ, त्यसका लागि अध्ययन गर्नु जरुरी छ ।   अझ १३७ वर्ष बाँचेका शिवपुरी बाबा र सयभन्दा बढी बाँचेका खप्तड स्वामी, स्वामी चन्द्रेशले पनि यस क्षेत्रलाई आश्रयस्थल बनेकाले यसले अझ महìव पाउँछ ।  नवगठित बुढानीलकण्ठ नगरपालिकाको नयाँ नेतृत्व, संस्कृति मन्त्रालय र यस क्षेत्रका बुद्धिजीवीले सम्पदा सूचीमा पार्न पहल गर्नुपर्छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको निवास पनि यही क्षेत्र भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस सम्भावनालाई मूर्त रूप दिन अझ मिहिनेत गर्छ भन्ने विश्वास गर्न सकिन्छ ।  





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना