लुम्बिनीमा पर्यटक बढे


लक्ष्मण पौडेल

भैरहवा, साउन १५ गते ।  सन् २०१७ को ६ महिनामा ७३ हजार ७६४ तेस्रो मुलुकका पर्यटक स्थलमार्गको बेलहिया नाका हँुदै नेपाल भ्रमणमा आएका छन् ।  यो नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटक (भारतबाहेक)को यो सङ्ख्या हाल सम्मकै उच्च हो ।  बेलहियास्थित अध्यागमन कार्यालयका नायव सुब्बा पुकार श्रेष्ठका अनुसार भारतीय पर्यटकको सङ्ख्या पनि बढिरहेको छ ।  
कार्यालयका अनुसार सन् २०१७ को जनवरीमा १० हजार २७६, फेब्रुअरीमा २६ हजार २७७, मार्चमा २८ हजार ४५३, अप्रिलमा छ हजार ४१४, मेमा एक हजार ३८८ र जुनमा ९५६ तेस्रो मुलुकका पर्यटक यो नाका हँुदै नेपाल भित्रिएका हुन् ।
सो अवधिमा सबैभन्दा बढी श्रीलङ्काबाट १९ हजार ३७५ जना, थाइल्यान्डबाट १९ हजार २७९, म्यान्मार (बर्मा)बाट १६ हजार ४०३, दक्षिण कोरियाबाट तीन हजार २०१, चीनबाट तीन हजार २०१ लगायत ६० भन्दा बढी देशबाट पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।  यो नाका हुँदै भ्रमणमा आउने पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो ।  त्यसपछि काठमाडौँ, चितवन, पोखरा, मुस्ताङ लगायतका पर्यटकीय गन्तव्यमा जाने गरेका छन् ।
बौद्ध धर्मावलम्बी पर्यटक प्रायः लुम्बिनी भ्रमण गरेर फिर्ता जाने गरेका छन् भने युरोपेली, पूर्वी एसिया, आसियान लगायत अन्य मुलुकका पर्यटक लुम्बिनीसहित अन्य पर्यटकीय क्षेत्रमा जानेगरेको पर्यटन व्यवसायी तथा सिद्धार्थ एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्ट्स (साट्टा) लुम्बिनी च्याप्टरका पूर्व अध्यक्ष सञ्जय बजिमयले बताउनुभयो ।  बजिमयका अनुसार तेस्रो मुलुकका पर्यटकसँंगै भारतीय पर्यटक पनि विगतभन्दा अधिक आइरहेका छन् ।  
यो नाका हुँदै आउने भारतीय पर्यटकको मुख्य गन्तव्य पोखरा, मुक्तिनाथ, काठमाडौँ रहेका छन् भने लुम्बिनी पनि जानेगरेका छन् ।  केही भारतीय नजिकका सहर पाल्पा, तानसेनसम्म गएर रात बिताई फर्कने गर्छन् ।  गर्मी समयमा धेरै भारतीय पर्यटक गर्मी छल्न नेपालको पहाडी जिल्ला पुग्नेगरेका छन् ।  Lumbini


‘सेम डे टुरिस्ट’ धेरै
स्थल मार्गबाट पर्यटक आउने क्रम अत्यधिक बढे पनि पर्यटन व्यवसायीले खासै लाभ भने लिन सकेका छैनन् ।  धेरै पर्यटक ‘सेम डे टुरिस्ट’का आउनेगरेका  छन् ।  
जुन दिन भ्रमण आयो त्यही दिन फर्कने पर्यटक (सेम डे टुरिस्ट) बढिरहेको र उनीहरूको बसाई अवधि लम्ब्याउने खालका कुनै पर्यटकीय प्याकेज हुन नसक्दा व्यवसायीले फाइदा लिन नसकेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।  
नेपाल भ्रमणमा आउन चाहने पर्यटकमध्ये दक्षिण एसियाली र चिनियाँका लागि पहिलोपटक भ्रमणमा आउँदा प्रवेशाज्ञा शुल्क नलाग्ने व्यवस्था छ ।  प्रवेशाज्ञा निःशुल्क भए पनि त्यसको फाइदा सरकारले लिन सकेको छैन ।


ओझेलमा सुत्केरी मार्ग
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि बुद्ध जीवनीमा आधारित नयाँ गन्तव्य बनाई गतवर्ष सार्वजनिक गरिए पनि प्रचारप्रसार नहँुदा ओझेलमा परेको छ ।  
बुद्धको जन्म भएको स्थान लुम्बिनीबाट आमा मायादेवीले आफ्नो राजदरबार तिलौराकोट दरबार कपिलवस्तु लिएर गएको मार्गलाई मायादेवी सुत्केरी मार्गका रूपमा पहिचान गरी नयाँँ गन्तव्यका रूपमा गतवर्ष प्रस्तुत गरिएको थियो ।  बुद्ध सर्किट डट कम तथा हिमेक्स नेपालका अध्यक्ष एवम् पर्यटन व्यवसायी विक्रम पाण्डेले लामो समयको अनुसन्धानपछि यो नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गर्नुभएको हो ।  
मेरो आफ्नै पहलमा पुरातत्वविद्को सहयोगमा लामो प्रयासपछि यो मार्ग पहिचान गरी गतवर्ष पहिलोपटक मे १५ का दिन लुम्बिनीबाट विश्व शान्ति द्वीपको ज्योति यही मार्गबाट कपिलवस्तु लगेर शुभारम्भ गरिए पनि प्रचारप्रसार तथा उक्त मार्गको प्रवद्र्धन नहुँदा ओझेलमा परेको छ – लुम्बिनी विकास कोषका सद्भावना दूतसमेत रहनुभएका पाण्डेले भन्नुभयो ।  
लुम्बिनी र कपिलवस्तु शाक्य राज्यभित्र लुकेर बसेका पुरातात्विक सम्पदालाई प्रकाशमा ल्याउने काम मात्र आफूहरूले गरेको चर्चा गर्दै अब यसको प्रचारप्रसार सबैले मिलेर गर्नुपर्नेमा पाण्डेले जोड दिनुभयो ।
मायादेवी भर्खर जन्मिएको सिद्धार्थ गौतमलाई बोकेर लुम्बिनीबाट पडेरिया, सिसानिया, दोहनी, अरौराकोट, निग्लिहवा, तिलौरा गाउँ हुँदै आफ्नो तिलौराकोट दरबार फर्केको बाटो नै मायादेवी सुत्केरी बाटो हो ।  मायादेवी सुत्केरी मार्ग (पदयात्रा मार्ग)ले लुम्बिनीलाई कपिलवस्तुसँग अझै नजिकैबाट जोड्न नयाँ पर्यटन मार्गका रूपमा प्रचारित भई लुम्बिनी क्षेत्रको पर्यटन विकासको प्रवद्र्धन गर्न थप टेवा पुग्दछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना