बृहस्पतिको सार्वकालिक शिक्षा

kamal rijalकमल रिजाल

 

वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा देवगुरु बृहस्पति पनि बिर्सनै नसकिने नाम हो ।  यसो त उनी वैदिक ऋषिभन्दा पनि बढी वैदिक देवता हुन् ।  उनलाई देवताको पङ्क्तिमा राखेर उपासना गरिएको प्रसङ्ग वेद, पुराणादि ग्रन्थमा प्रशस्तै भेटिन्छन् ।  ऋग्वेदमै कतिपय मन्त्र यस्ता भेटिन्छन्, जसको उपास्यदेव यिनै देवगुरु बृहस्पति नै मानिएका छन् तर वैदिक मन्त्रद्रष्टा ऋषिमण्डलीमा समेत उनको स्थान अति सम्मानजनक अवस्था भेटिएका छन् ।  खासगरी ऋग्वेद दशौँ मण्डलको ७१ औँ सूक्त उनै देवगुरु बृहस्पतिद्वारा साक्षात्कार गरिएका मन्त्रहरूको सँगालो मानिन्छ ।  आफ्नै प्रज्ञा शक्तिलाई इष्टदेवता मानेर गाइएको यस सूक्तमा कुल ११ वटा मन्त्र छन् ।  यी मन्त्रहरू मार्फत उनले जुन किसिमको वाक्चातुर्य र मेधाशक्ति प्रदर्शन गरेका छन् त्यसलाई वैदिक ऋषिमुनिले सदैव बन्दना र प्रशंसा गरिरहेका छन् ।  
अद्वितीय प्रतिभाका धनी बृहस्पतिका यस बाहेक अर्थात् बृहस्पतिबाहेक देवगुरु, आचार्य, वाचस्पति आदि अन्य नाम पनि छन् ।  उनी महान् वैदिक वैज्ञानिक अङ्गीराका पुत्र हुन् ।  उनको आमाको नाम श्रद्धा हो तर कतैकतै स्मृति उल्लेख भएको पनि भेटिन्छ ।  महर्षि अङ्गिराका बृहस्पति, उतथ्य र संवरण गरी तीन भाइ छोरा थिए ।  यीमध्ये उनी जेठा हुन् ।  उनी मात्र होइन उनका छोरा भरद्वाजको समेत वेद, पुराणदिमा उत्तिकै महìवपूर्ण स्थान छ ।  आचार्य बृहस्पति जुन मात्रामा दया, माया, मैत्री, करुणा र परोपकारका खानी मानिएका छन् त्यत्तिकै मात्रामा धैर्य, साहस, शान्ति, सद्भावको सङ्गमसमेत देखिएका छन् ।  मीठो बोलीवचन र मिलनसार व्यवहार त उनको मूलभूत विशेषता नै मानिन्छ ।  प्रज्ञाशक्तिकै कारण उनी धर्मशास्त्र विशारद र नीतिशास्त्र निपुण त यसै पनि मानिएकै छन् ।  सात बार र नवग्रहमा समेत आफ्नो स्थान सुरक्षित गर्न भ्याएका छन् ।  
आचार्य बृहस्पतिको व्यक्तित्व जति सौम्य र शान्त देखिन्छ त्यति नै उनको स्वभाव सहृदयी र सहिष्णुसमेत पाइएका छन् ।  इतिहास र पुराणादि ग्रन्थमा उल्लेख भएअनुसार उनले आपद, विपद्का बेला जति देवतालाई सघाएका छन् त्यति नै समय र परिस्थितिअनुसार यक्ष, असुर, नाग, गन्धर्व, किन्नर आदिलाई समेत सहयोग पु¥याएका छन् ।  सदैव मङ्गल सूचक र माङ्गल्य प्रदायक समेत रहँदै आएका यी महर्षि अभ्यूदय र समग्र कल्याणको कारक समेत ठानिएका छन् ।  उनका अनुसार मधुर भाषण र मन्द मुस्कानमा जुन किसिमको शक्ति र सामथ्र्य लुकेको हुन्छ त्यस्तो शक्ति र सामथ्र्य संसारमा अन्यत्र कतै पनि पाउन सकिन्न ।  उनी संसार बनाउने र चलाउने भनेको धर्मले नै हो भन्ने गर्थे र सबैलाई सदैव यतैतर्फ प्रवृत्त हुन उत्प्रेरित गर्दथे ।  धर्मलाई चिनाउने र देखाउने पनि उनका आफ्नै खाले चिन्तन, तर्क र सिद्धान्त रहेका छन् ।  उनका अनुसार धर्मको विशिष्ट स्वरूप त्यहीं प्रकट हुन्छ, जहाँ अरूको जस्तो व्यवहार आफूलाई मन पर्दैैन त्यस्तो व्यवहार अरूमाथि पनि गर्ने गरिएको छैन वा हुँदैन ।   
कल्याण धर्मशास्त्राङ्कमा उल्लेख भएअनुसार आचार्य बृहस्पति हमेशा धर्ममा रहनुपर्छ भन्ने गर्थे र धर्मले नै खानुपर्छ मान्यता राख्ने गर्थे ।  उनका यसैलाई केन्द्रमा राखेर लेखिएको बृहस्पति स्मृति नामक एउटा विशिष्ट आध्यात्मिक ग्रन्थसमेत फेला परेको छ ।  कुल ८१ वटा मात्र श्लोक रहेको यो ग्रन्थ कलेवरको दृष्टिले जति सूक्ष्म देखिन्छ विशेषताको दृष्टिले त्यति नै विशिष्ट र विशाल रहेको छ ।  धर्मको लक्षण र विशेषताबारे सूत्रात्मकरूपमा विवेचन भएको यस ग्रन्थमा उनले विशेष गरी दानको महìवमा जोड दिएका छन् ।  उनका अनुसार दान अनेक किसिमका हुन्छन् ।  विद्याको पनि हुन सक्छ, बुद्धिको पनि हुन सक्छ ।  समयको पनि हुन सक्छ, शक्ति, सामथ्र्य र सद्भावको पनि हुन सक्छ ।  निस्वार्थभावले परोपकार तथा परहितका लागि गरिएको सबै कार्य र दिइएका सबै चीज दान नै हुन् र सबैको महìव आ–आफ्नो स्थानमा उत्तिकै हुन्छ ।  तिनमा पनि विशेषगरी भन्नुपर्दा भूमिदान, विद्यादान र गोदान विशेष महìवका मानिएका छन् ।  संसारमा यी तीन चीज बराबरको दान अरू हुनै सक्दैन ।  
आचार्य बृहस्पतिका अनुसार भूमिदान गर्नु विशेष पुण्यको काम हो भने अर्काको भूमि खोसेर लिनु त्यति नै ठूलो पापको काम पनि हो ।  उनले आफ्ना स्मृति ग्रन्थमा भनेका छन्–अर्काको भूमि खोसेर उपभोग गरिएको पाप हजारौँ वर्षसम्म आँशुले धोए पनि पखालिन्न ।  अन्य पापको प्रायश्चित्त हुन सक्छन् तर भूमि खोसेर लिएको पापको प्रायश्चित्त नै हुँदैन ।  त्यस्ताले रौरवादि नरकमा समेत स्थान नपाउने भएकाले उनीहरूले अनन्तकालसम्म प्रेतवायु बनेर अनन्तमा भड्किरहनुपर्छ ।  उनको धर्मसम्बन्धी यस अवधारणा हिजोको समाजमा के कति सान्दर्भिक थियो त्यो त उनै जानून तर आजको समयमा भने निकै सान्दर्भिक मात्र होइन उपयोगीसमेत देखिएको छ ।  अलिकति मात्र भए पनि अर्काको भूमि वा सिमानामा आधिपत्य जमाउन पाउनुलाई नै परम पुरुषार्थ ठान्नेहरूले यसबाट अलिकति मात्र पाठ सिके भने पनि धेरै नै हुनेछ ।  
उनले आफ्ना स्मृति ग्रन्थमा कुवा, तलाउ खनाउनु, देवालय, पौशाला, गौशाला, धर्मशाला, मठ, मन्दिर, विद्यालय, अनाथालय, चिकित्सालय, बाटो, घाटो, पुल, पुलेसा बनाउनु, वृक्षारोपण गर्नु तथा बगैँचा लगाउनु आदि पूर्तधर्मलाई पनि उत्तिकै स्थान दिएका छन् ।  उनका अनुसार लोकोपकार र जनहित गर्ने भएकाले यस्ता कार्य गर्नेहरूले आफ्नो वरत्र र परत्र सुधार्ने काम मात्र गर्दैनन् पितृहरूलाई उद्धार गर्ने कामसमेत गरिरहेका हुन्छन् ।  उनले इष्ट कर्मको साथै पूर्तधर्मको माध्यमबाट धर्मलाई जसरी व्यावहारिक रूप दिने काम गरेका छन् त्यो समेत हिजोभन्दा आज थप महìवको हुन पुगेको छ भन्न कत्ति हिचकिचाउनु पर्दैन ।  
कुशलवक्ता, नीतिनैपुन्य, सत्वसम्पन्न, धर्मनीतिका सम्यक ज्ञाता, वाणी, बुद्धि र ज्ञानका अधिष्ठाता आदि विभिन्न विशेषणले युक्त मानिएका बृहस्पतिले नीतिशास्त्रमा समेत उत्तिकै ध्यान दिएका छन् ।  कल्याण नीतिसार अङ्कमा उल्लेख भएअनुसार सृष्टिको क्रममा ब्रह्माजीले जुन नीतिशास्त्र प्रतिपादन गरेका थिए त्यसलाई भगवान शङ्करले संक्षिप्त पारी थप व्यावहारिक बनाउने काम गरेका थिए ।  पछि यसलाई देवराज इन्द्रले समेत थप संक्षेपीकरणको प्रयास गरेका थिए भने त्यसैलाई आचार्य बृहस्पतिले देश, काल तथा मानवीय शक्ति र स्वभावलाई मनन गरी अरू संक्षिप्त पारी थप व्यावहारिक स्वरूप दिने काम गरेका थिए ।  भनिन्छ, उनले संक्षेपीकरण गरेपछि सो नीतिशास्त्रको स्वरूप कुल तीन हजार अध्यायमा सीमित हुन पुगेको थियो ।  हाल यस ग्रन्थको सिङ्गो स्वरूप त फेला पर्दैन तर उनका नीति वचन भने अहिले पनि इतिहास र पुराणदि ग्रन्थमा प्रशस्तै पाइन्छ ।  खासगरी महाभारत, बृहस्पतिस्मृति तथा गरुडपुराण आदिमा त्यसको सार भेटिन्छ ।  गरुणपुराण आचारकाण्डको १०८ देखि ११४ तकको सात अध्यायको करिब एक हजार श्लोकमा जुन नीतिसम्बन्धी विवेचन भएको छ त्यसलाई विद्वान्ले बृहस्पति नीतिकै अवशेष मानेका छन् ।  
हाल यस्ता महान् ज्ञानी, ध्यानी र सन्त व्यक्तित्वका धनी आचार्य बृहस्पतिको भौतिक शरीर त हामी माझ छैन तर उनको आध्यात्मिक र आधिदैविक स्वरूपले भने सात वार र नवग्रहको पङ्क्तिमा रहेर अहिले पनि हामी माझ उपस्थिति देखाउँदै आएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना