अन्न भण्डारका किसानको चीत्कार

Junar_babuजुनारबाबु बस्नेत

 

 

साउन मध्यमा पनि यो वर्ष तराईमा राम्रो पानी पर्न सकेको छैन ।  पानी नपर्दा अन्न भण्डार मानिने तराईमा पूरै रोपाइँ हुन सकेको छैन ।  पूर्वी र मध्य तराईमा ठाउँ हेरी ३० देखि ५० प्रतिशतसम्म रोपाइँ भएको छ ।  पूर्वी झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासम्म नै धान खेतीलाई पुग्ने गरी पानी परेको छैन ।  घर छेउछाउ पम्पसेट लगाएर कतिपयले करेसाबारी रोपाइँ गरे, गरिरहेका छन् तर ठूलो खेतीलाई जमिनमुनिको पानी तानेर सम्भव छैन ।  त्यस्तो पूर्वाधार पनि छैन ।  नहर भएका ठाउँमा केही सुविधा भए पनि नहरको पहुँच असाध्यै न्यून छ ।  पानी पर्ने आशमा समय बित्दैछ ।  सप्तरी र झापाका कतिपय ठाउँमा असारको मध्यमा बाढी नै आयो तर भोलिपल्टदेखि पानी परेन ।  त्यही बाढी अनि कतिपय झारझुर पानी पर्दा रोपाइँ गरिहाले पनि त्यसपछिको चर्को खडेरीले धानको गाँभो फैलनुभन्दा झार बढी पलाएको छ ।  किसानमा निराशा छाएको छ ।
समयमा पानी नपरेपछि रोपिएको धान हरियो होलाभन्दा झन्झनै पहेँलो भएको छ ।  खेतको रोपले माड पानी पाएको छैन ।  खेत पट्पटी फुटेको छ ।  धान रोप्नेको यो अवस्था छ भने नरोपेको झनै बिजोग ।  धानको बेर्ना छिप्पिएर ब्याडमै पहेँलिन थालेको छ ।  खेतमा धुलो उठ्दैछ ।  किसानका आँखा आकाशतिरै छन् ।  पानी पर्ला जस्तो हुन्छ ।  बादल पनि आकाशतिर उठ्छ तर पूर्वतिरबाट आएको हावाले उडाएर पानी भने कहिले पहाडी भेगतिर पु¥याउँछ अनि कहिले दक्षिणी भारतीय भूभागतिर ।  योपटक भारतीय भूमिमा जति दक्षिण गयो उति वर्षा ज्यादा भयो ।  अघिल्लो सप्ताहन्तमा अन्न भण्डार मानिने झापाका कतिपय ठाउँमा यो स्तम्भकार पुग्दा थाहा भयो किसानको चर्को पीडा ।  मनसुनमा आधारित खेती समयमा लगाउन नपाएपछि एक प्रकारको आतङ्क हुने नै भयो ।  तराईको अधिकांश भूभाग त वर्षको एकबाली त्यो पनि मनसुने खेतीमै निर्भर गर्ने खालको छ ।  जलस्रोतको धनी देशमा योभन्दा विडम्बना अरू के पो हुन्छ र ?
त्यसो त सरकारले कृषि क्षेत्रमा ठुल्ठूला र महŒवाकाङ्क्षी कार्यक्रम पनि नल्याएको होइन ।  कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ल्याएको छ ।  त्यही परियोजनामार्फत धान उत्पादन कार्यक्रम अगाडि बढाएको छ । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा झापाको बनियानी पुगेर भव्य कार्यक्रसँगै धानको सुपरजोन घोषणा गर्नुभएको थियो तर त्यही सुुपरजोनका किसान यतिबेला सुख्खाबाट सबैभन्दा बढी पीडित छन्, अत्तालिका छन् ।  बनियानीका किसान जयबहादुर कार्कीको भनाइ छ ‘धानको सुपरजोन त घोषणा भयो तर सिँचाइको व्यवस्था छैन, आकाशे पानी नपर्दा किसान आत्तिएका छन् । ’ पर्तिर मेची नदीमा पानी बगिरहेको छ र वर किसानको खेत पट्पटी फुटिरहेको छ ।  नदी बगिरहनु अनि खेत फुटिरहनुको ब्यथा कहिलेसम्म चल्ने हो ?
पूर्वी र मध्य तराईबाहेकका जिल्लामा भने त्यति धेरै सुख्खा छैन ।  देशभरको तथ्याङ्क हेर्ने हो भने पर्याप्त वर्षा हुन नसकेका कारण देशभर अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन सकेको छैन ।  मध्य तराईको पर्सादेखि पूर्वी झापासम्मको अवस्था जिल्लैपच्छिे फरक भएको कृषि विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।  कतै कम र कतै अलि बढीको हिसाब गर्ने हो भने पूर्वी र मध्य तराईमा औसतमा ५० प्रतिशतमात्र रोपाइँ हुन सकेको देखिएको छ ।  देशभरमा धान रोप्नयोग्य कुल १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमध्ये गत सातासम्ममा मुलुकभर १० लाख ६० हजार १३२ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको छ । अझै चार लाख ९२ हजार हेक्टर जमिनमा रोपाइँ हुन बाँकी छ ।  सिँचाइको व्यवस्था नभएको र आकाशे पानीमै निर्भर रहनुपर्ने कारणले बाँकी खेतमा रोपाइँ हुन नसकेको हो ।
झापा र मोरङलाई धानको भण्डार नै भने हुन्छ र यी दुवै जिल्ला ४० प्रतिशत हाराहारीमात्र रोपाइँ हुन सकेको छ ।  सुनसरीमा अलि बढी रोपाइँ भए पनि मध्यमधेशको अवस्था नाजुक छ ।  रौतहटमा ६५, बारा र पर्सामा ९०, सर्लाहीमा ४०, महोत्तरी ३०, धनुषा २५, मकवानपुर ८३, सिराहा २५ र सप्तरीमा ४० प्रतिशत रोपाइँ भएको छ भने चितवनमा ८० रोपाइँ भएको छ ।  मध्यतराईबाट पश्चिमतिर सदैै जाँदा अवस्थामा सुधार आएको छ ।  योपटक पूर्वी र मध्य तराईमाभन्दा चितवन पश्चिमतिर राम्रो वर्षा भयो ।  रोपाइँको अवस्थामा पनि सुधार आएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।  धान उत्पादन बढ्दा मुलुकको आर्थिक वृद्धिदर बढ्छ भने धानको उत्पादन घट्दा आर्थिक वृद्धिदर ह्वात्तै घट्छ ।  गत आर्थिक वर्ष २०७३।७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।  त्यसका लागि १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो ।  अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो धान उत्पादन भएकै कारण मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गत आर्थिक वर्षमा राम्रो भएको थियो ।  कुल गार्हस्थ्य उत्पानदनमा कृषि क्षेत्रको योगदान एकतिहाइ हाराहारी छ भने धानले कृषि क्षेत्रको जीडीपीमा २१ प्रतिशत धानेको छ ।  कुल जीडीपीमा भने धानको योगदान १२ प्रतिशत हाराहारी छ ।  धान राम्रो फलेकै कारण गत आर्थिक वर्षमा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिमा एक प्रतिशतभन्दा बढी योगदान रहेको छ ।  
किसानकाअनुसार धान रोपाइँ गर्ने समय खासमा असार १५ देखि साउन १५ सम्म अब्बल समय हो ।  साउन १५ देखि उता रोपेको धानमा क्रमशः उत्पादन ह्रास हुँदै जान्छ ।  त्यसो त पहाडी भेगमा धान रोपाइँ जेठदेखि नै आरम्भ हुन्छ ।  कर्णालीको जुम्ला, मुगुलगायतका जिल्लामा जेठमै रोपाइँ गरिन्छ ।  पहाडी भेगमा सिँचाइ राम्रो हुने क्षेत्रमा असार लाग्दैदेखि रोपाइँ सुरु हुन्छ ।  देशको धान उत्पादनमा झापादेखि पर्सासम्मले आधाभन्दा बढी धान्छ ।  त्यही अन्न भण्डार क्षेत्रमा अहिले धानको रोपाइँ हुन नसक्दा यो वर्ष धानको उत्पादन घट्ने खतरा बढको छ ।  धानको उत्पादन घट्दा राष्ट्रिय उत्पादनका लक्ष्यमा पनि प्रतिकूल असर पर्छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धिका लक्ष्य लिएको छ ।  त्यसका लागि कृषि उत्पादन राम्रो हुनुपर्छ तर मुख्य बाली धानको अवस्था नाजुक छ ।  नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । कुनै बेला नेपाल धान निर्यातका मुलुक थियो ।  अहिले राम्रो उत्पादन भएको वर्षमा पनि झण्डै १० लाख मेट्रिक टन धान अपुग हुन्छ ।  आयात गर्नुपर्छ ।  नेपालको कुल आयात निरन्तर उकालो लाग्दै गएको छ भने निर्यात तल झर्दैछ ।  व्यापार घाटा चुलिँदो छ ।  देशले बर्सेनि एक अर्ब रुपियाँभन्दा बढी त खाद्यान्न नै आयात गर्नुपर्छ ।  गाउँबस्तीबाट बिस्तारै युवा जनशक्ति विस्थापित हुँदैछ ।  विदेशिएको छ ।  कृषिमा काम गर्ने श्रमशक्तिको अभाव छ तर कृषिमा आकर्षण बढाउन सकिएन भने कुनै पनि सुपरजोन परियोजना सफल हुने अवस्था छैन ।
नयाँ कृषिमन्त्री रामकृष्ण यादव मधेशकै र किसानको छोरा हुनुहुन्छ ।  मन्त्री हुनासाथ खडेरी पीडित किसानलाई राहन तर्जुमा गर्न आदेश दिनुभएको छ ।  अझै १५ दिन पानी परेन भने मुख्य बाली धानको उत्पादन सोचेभन्दा पनि नाजुक हुनेछ ।  वैकल्पिक बालीका लागि नीति, कार्यक्रम र योजना बनाउनु जरुरी छ ।  तत्कालीन कार्यक्रम ल्याउन गृहकार्य जरुरी हुनेछ ।  दीर्घकालीन रूपमा त सिँचाइको व्यवस्था गनैपर्छ ।  दश÷बीस खर्ब रुपियाँका सिँचाइ दीर्घकालीन आयोजना बनाउनु अब ढिला गर्नुहुन्न ।  बामदेव गौतमले पश्चिममा बबई र सिक्टाजस्ता आयोजना बनाए पनि पूर्वी र मध्य तराईमा सिँचाइका लागि सिन्को भाँचिएको छैन ।  यो अवस्थाले भोलिको कृषि कतातिर जान्छ होला ? गम्भीर हुनैपर्ने भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना