देशैभर फोरजी पु¥याउँदै टेलिकम


विश्वास रेग्मी

काठमाडौँ, साउन १७ गते ।   नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने योजना अघि बढाएको छ ।  फोरजी विस्तारका लागि अधिकांश प्रक्रियागत काम पूरा भइसकेको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो ।  ‘काठमाडौँ र पोखरापछि अब देशैभर फोरजी सुविधा पु¥याउने योजना हाम्रो प्राथमिकतामा छ’ राजभण्डारीले भन्नुभयो, अबको दुई महिनाभित्र बोलपत्र आह्वानको प्रक्रिया पनि  पूरा हुन्छ ।  सञ्चालक समितिबाट समेत बोलपत्र आह्वानको टुङ्गो लागिसकेकाले विस्तारको योजना करिब ५० प्रतिशत पूरा भइसकेको उहाँको भनाइ छ ।  उहाँका अनुसार टेलिकमले पहिलो वर्षको अन्तरिम योजनाअन्तर्गत पोखरा र काठमाडौँमा फोरजीको प्रयोग बढाउने र पाँच वर्षे योजनाअन्तर्गत देशैभर थप बीटीएस टावर सञ्चालनमा ल्याई यसको पहुँच बढाउने तयारी अघि बढेको छ ।  4G
जिल्लागत रूपमा प्रयोगकर्ताको सङ्ख्याको समेत विश्लेषण गर्दै फोरजी नेटवर्क विस्तार हुने राजभण्डारीको भनाइ छ ।  टेलिकमले आर्थिक रूपमा पूर्ण पारदर्शी र कानुनी रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर योजनाअनुसार नै फोरजी विस्तारको प्रक्रियामा अघि बढिसकेको उहाँको दाबी छ ।  फोरजी सेवा सुरु गरेपछि यसअघि दैनिक १६ टीबी डाटा प्रयोग हुँदै आएकोमा अहिले दैनिक औसत २७ टीबी डाटा प्रयोग हुने थालेको पनि उहाँले जानकारी दिनुभयो ।  टेलिकमले गत पुस १७ गते नेपालमै पहिलोपटक काठमाडौँ उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो ।  नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्ष असोज १६ गते टेलिकमलाई १८ सय ब्याण्डमा प्रविधि तटस्थता अपनाएर पाँच मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सञ्चालनको अनुमति दिएको थियो ।  
‘फलब्याक’ कायम रहने
नेपाल टेलिकमले आफ्ना फोरजी प्रयोगकर्तालाई फोनमा कुराकानी गर्नुपर्ने अवस्थामा पुरानै टुजी र थ्रीजी नेटवर्कमा फर्किन सक्ने ‘फलब्याक’ सुविधा पनि कायम राख्ने भएको छ ।  यसको मतलब प्रयोगकर्ताले फोरजी नेटवर्क प्रयोग गरिरहेको अवस्थामा कल गर्नुपरेमा नेटवर्क स्वतः थ्रीजी अथवा टुजीमा रूपान्तरण हुन्छ ।  कम्पनीले पूर्ण रुपमा फोरजीको पहुँच नपुगेसम्म यस्तो सुविधा उपलब्ध गराइरहने जनाएको हो ।  देशैभर फोरजी नेटवर्कको पहुँच नभएसम्म यस किसिमको फलब्याक जारी रहने प्रबन्ध निर्देशक राजभण्डारीले जानकारी दिनुभयो ।  
टेलिकमले फोरजीको पहुँच विस्तारपछि प्रयोगकर्तालाई इन्टरनेटमा आधारित भ्वाइस सेवा (भीओएलटीई) पनि उपलब्ध गराउने योजना बनाएको राजभण्डारीले जानकारी दिनुभयो ।  ‘भीओएलटीई सुविधा प्रयोग गर्न सकिने मोबाइल सेट बजारमा प्रचुर रूपमा उपलब्ध भएपछि यस्तो सेवा पनि ग्राहकले प्रयोग गर्न पाउनेछन्’, उहाँले भन्नुभयो ।  
१५ अर्ब बढी नाफाको अनुमान
नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७३÷७४ मा कर पछि करिब १५ अर्ब ४२ करोड रुपियाँ नाफा आर्जन गर्ने अनुमान गरेको छ ।  सोमबार व्यवस्थापिका संसद्अन्तर्गतको सार्वजनिक लेखासमितिको बैठकमा प्रबन्ध निर्देशक राजभण्डारीले सो बराबरको नाफा हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।  टेलिकमको अपरिष्कृत तथ्याङ्कअनुसार गत आवको नौ महिनामा कर पछि ११ अर्ब २० करोड रुपियाँ आर्जन गर्न सफल भएको थियो ।  बैठकमा उहाँले ओभर दि टप (ओटीटी) सेवा प्रदायकका कारण विदेशबाट प्राप्त हुने कल केही घटे पनि अन्य विकल्पबाट नाफा बढाइने जानकारी दिनुभयो ।  त्यस्तै उहाँले आर्थिक वर्ष २०७२÷७३ मा ८०६ जना कर्मचारीलाई स्वेच्छिक अवकाशबापत करिब ६ अर्ब रुपियाँ खर्च भएको कारणले सो वर्ष नाफा केही घटेको स्पष्ट पार्नुभयो ।  त्यस्तै टेलिकमले गत आवमा कम्पनीको आम्दानी ४४ अर्ब ६८ करोड रुपियाँ र खर्च २३ अर्ब ७४ करोड रुपयाँ पुग्ने अनुमान गरेको छ ।  आव २०७२÷७३मा टेलिकमको खर्च करिब २६ अर्ब रुपियाँ पुगेको थियो ।  
वित्तीय अवस्था सुधार गर्न निर्देशन
व्यवस्थापिका संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय नेपाल टेलिकमको वित्तीय अवस्था कमजोर हुँदै गएकाले यसमा सुधार गर्न निर्देशन दिएको छ ।  सोमबार बसेको समितिको बैठकले लगानीको तुलनामा सेवा कमजोर रहेकाले वार्षिक, अर्धवार्षिक आर्थिक प्रतिवेदन पेस गर्न कम्पनीलाई निर्देशन दिएको हो ।  त्यस्तै फोरजी विस्तार ढिलाइ भएकाले यसको पहुँच बढाउने योजना पेस गर्न पनि समितिले निर्देशन दिएको छ ।  टेलिकमका जिम्मेवार पदाधिकारीको कार्यसम्पादन मूल्याङ्कन गर्न पनि समितिको निर्देशन छ ।  बैठकमा सहभागी अधिकांश सांसदले टेलिकमको गुणस्तर कमजोर रहेकाले तत्काल यसमा सुधार ल्याउँदै वित्तीय अवस्थासमेत सुदृढ बनाउन सुझाव दिनुभएको थियो ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना