जलवायु परिवर्तन र वातावरणीय सुरक्षा

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’

 

वातावरण कुनै एक पुस्ताले उपभोग गरेर तिरस्कार गर्ने क्षणिक उपभोग्य वस्तु होइन रहेछ । प्रदूषण, जलवायु परिवर्तनजस्ता समस्याले तमाम पृथ्वीवासी सजीव प्राणीको अस्तित्वमा प्रहार गरिरहेको छ । सिङ्गो पृथ्वी ‘प्लास्टिकको ग्रह’ का नामले चिनिन थालेको भयानक पीडा छ । आज समुद्री सतहमाथि उठ्दै गएको विश्वव्यापी समस्या र तथ्यप्रति विश्व समुदायले सचेत बन्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तनको असरमा विश्वको चौथो सङ्कटापन्न मुलुक बन्दै गर्दा कतै खडेरीले बाली लगाउन नसकेका पीडा त कतै बाढी, पहिरोको भय हरेक वर्ष छ । धाँजाधाँजा भएर फुटेको जमिनले सुकेको धानको बिउलाई हुर्काउने सामथ्र्य गुमाइसकेका दृश्य कति हृदयविदारक होलान् ।
स्वच्छ प्रकृतिको सिरानीमा सुन्दर स्वस्थ जीवनरथ हाँक्न चाहने मानिसले रोगको कारणलाई आफैँले जन्माउँछ, प्रकृति स्वच्छताको पुख्र्यौली इतिहासमा स्वार्थको ओढनी ओढाएर प्राणी अस्तित्व सङ्कटको चक्रब्यूह आफैँले रच्दोरहेछ । वैज्ञानिक बस्ती व्यवस्थापनको साटो भद्रगोल सहरका गल्ली मात्र नभई लगभग हरेक खुला सडक दुर्र्गिन्धत र सौन्दर्यहीन लाग्छन् । मन्दिरमा स्वच्छ भई पूजाअर्चना गर्ने तर प्रसादका टपरी, फलोफूलो या प्लास्टिकजन्य फोहोर छेउमा मिल्काउने संस्कारबाट हामी कहाँ उम्केका छौँ र ! गाउँका स्वच्छ पाखा पखेरीमा थोत्रा, पुराना जुत्ताचप्पल, प्लास्टिकले अलिअलि विस्तारवादी नीति लिएर दौडिँदै गर्दा पाटी, वनभोज या शुभ–अशुभ कार्यमा सर्वश्रेष्ठ प्राणी मानिसले प्रकृतिका गर्भमा फोहोर पदार्थ फाल्नुलाई मन सानो पार्दैन । न त खुला दिसामुक्त क्षेत्रमा मानवीय स्वभावको प्रस्तुति झल्किन्छ । सिसा, टिनजन्य अपाच्य पदार्थलाई विना हिच्किचाहट मिल्काउने आधुनिक आडम्बरमा गमक्क पर्ने मानिसले आफूलाई प्रकृति विध्वंसक हुँ भन्न त कहाँ रुचाउँछ र ।
हाम्रो सनातन संस्कारले सिकाएको वृक्षारोपण, प्रकृति संरक्षण तथा प्रकृति पूजादेखि आजका पढाइने विषयमा राखिएका विषयलाई आज व्यवहारमा उतार्नु आवश्यक छ । विकास र परिवर्तनका नाममा कृत्रिमताको ढोल मात्र पिटेमा पुस्तौँ पुस्ताले प्रकृतिको सजाय भोग्नुपर्ने कुरामा बोधगम्य हुनु अपरिहार्य ठहर्छ । वर्तमान सन्दर्भमा वायु, भूमि, ध्वनि र जलप्रदूषणको मुस्लोले मुलुकका लाखौँ मानव शरीरका अङ्गप्रत्यङ्ग मक्काउँदै छ । सिङ्गो देश, कुना–कन्दरा आज विक्षिप्त बन्दै छन् । संसारको दौलतले किन्न नसकिने मानव जीवनलाई स्वच्छ वातावरणको आवश्यकता छ भन्ने जान्दाजान्दै सौता भिœयाएर अनादिकालदेखि मानिसले प्रकृतिका हक र अधिकारमा अत्याचार गर्न छोडेको छैन ।
राजधानीजस्ता सुविधा, रोजगार, शिक्षा या त अवसरका आशाले आकर्षित हुने विकसित सहरमा बाटोघाटो हेर्दा सास फेर्न गाह्रो, अर्कोतिर महँगीको चटारो । वर्षाद्ले सास फेर्ने बाटो बनाउँदै गए हिलाम्मे हुनैपर्छ, वर्षाद् रोकिएको केही घण्टामै उस्तै धुलाम्मे सहरवासीका स्वस्थतामै सङ्कटका लप्काले हिर्काइरहेका छन् । तब त काठमाडौँलाई धुलमाडौँ, डस्टमाडौँको उपनाम मिलिरहन्छ । ठूलो बोर्डमा या घरका भित्तामा ‘यहाँ फोहोर फाल्नेलाई ५००० । – जरिवाना दिलाइनेछ’ भनी लेखिएको हुन्छ तर कसैको आँखा छलेर वा रात–साँझको मौका छोप्दै बस्तीका सुगन्धित मानिसले फोहोरको पोको झ्यालबाहिर मिल्काइएका तथ्य खोज्न टाढा जानै पर्दैन । विकासले विनाश नहोस् भन्ने भावना र प्रतिक्रियाका उद्गारले स्थान ओगटिरहेका छन् तर यो आवश्यकतामा खुसीको प्रतिक्षा जोडिएको छ । बढ्दो असचेत तथा अव्यवस्थित शहरीकरण र औद्योगीकरण, परम्परागत इँटाभट्टा तथा कोइला प्रयोग, पुराना सवारी साधनलगायत धुवाँ प्रदायक कारखनाबाट निर्लज्ज फ्याँकिएका प्रदूषणका डङ्गुरले प्रकृति धमिलिँदो छ ।
दीर्घकालीन समस्यालाई ध्यानमा राखेर हरेक बस्ती व्यवस्थापन गर्ने चुनौतीसँग जागरणको प्रवाह होस् । कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गरी कुहिने फोहोरबाट प्राङ्गारिक मल तयार पारेर कृषकले करेसाबारीमा रमाउन पाउन् । फोहोरबाट बिजुली उत्पादन गर्ने विषयमा गाँसिएको रोजगार तथा प्रदूषण सुव्यवस्थापनको दोहोरो फाइदासँग वैज्ञानिक र दीर्घकालीन योजना कार्यान्वयन होऊन् । नकुहिने कतिपय पुनः प्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आयआर्जन र रोजगारको दोहोरो फाइदा लिन सकिने सम्भावना छन् । निसङ्कोच, गाडीभित्रबाट फोहोर फ्याँक्नेले सजायको कठघारामा उभिनुपर्ने अनि गाडीमा फोहोरका टोकरीले स्थान पाउने नियमले अब कागजमा अड्कनुहुन्न । एउटा स्वस्थ व्यक्तिलाई छ वटा रूखले दिने अक्सिजनको आवश्यकता पर्छ । वातावरणीय संरक्षणको गम्भीर पक्षसँग पर्यटकीय गन्तव्यले नातो गाँसेको राजधानीको शोभा र सौन्दर्यमा दुर्गन्धित शहरको उपनाम गाँसिइरहेको दुखेसो छ । शरीरमा अत्तर छर्केर मुखमा माक्ससम्म लगाउने सभ्यता बनाएका हामीले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने विषयमा एकाकार हुन नसकेको सत्यलाई सिद्धान्तका पानामा अड्काउनु मूर्खता हुनेछ ।
बागमती, विष्णुमतीलगायत सडक सरसफाइको एकता कार्यक्रमका सराहनीय सुकार्यमा जुटेकालाई सम्मान गर्न प्रकृति लाचार बन्छ, अवश्य । राजधानीमा चक्रपथ सफाइ अभियानसँग नातो गाँसेर घर, टोल सफाइ गरेमा नदी स्वच्छ रहने सुन्दर भावलाई सराहना गर्नैपर्छ । प्रकृति संरक्षणमा वृक्षारोपण, वातावरण तथा वन व्यवस्थापनका हरेक तह तप्काले जाग्ने कार्य ढिलो भइसकेको प्रतीत हुँदैछ । अल्पकालीन तथा दीर्घकालीन योजनासँग एकताको नातो गाँसेर पर्यावरणीय स्वच्छताको महायज्ञमा सचेत नागरिक अवश्य होमिन्छ । थोत्रा सवारी साधनलाई बिदाइको सिन्दुर पहराएर वैज्ञानिक यातायातका व्यवस्थापनका योजनासँग राहतको रङ गाँसिन्छ । फोहोरका टोकरीले कुना कन्दरामा भिक्षादान माग्न थालुन्, दीर्घकालीन वैज्ञानिक बस्ती व्यवस्थापनको नीतिले जिउन पाओस् अब । कुहिने र नकुहिने फोहोरबाट पैसा फल्दै गर्दा ‘फोहोरबाट मोहर’ भन्ने भावसँगै किसानले प्राङ्गारिक मललाई कोठेबारीमा घोप्ट्याओस् । कोही फोहोरबाटै बिजुली उत्पादनमा जुटुन् वैज्ञानिक र दीर्घकालीन प्रदूषण नियन्त्रण र रोजगारको दुई हातका लड्डु फलोस्– नेपाल आमाका आग्रहस्वर गुञ्जिरहेकै छन् । पुनः प्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आयआर्जन र रोजगारको दोहोरो फाइदाका सम्भावना तड्पिरहेका छन् सभ्यता सिक्न लालायित मानव बस्ती ।
यसर्थ प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध गर्ने तर प्लास्टिक उद्योगको विकल्पसँग सरलीकरण हुन नसकेका दृष्टान्तसँग हाम्रा प्रयत्न फितला साबित बनिदिन्छन् । दिनानुदिन बालबच्चाका कलिला मुटुले स्वच्छ वायु फोक्सोमा प्रवाहित गर्ने अधिकार निमोठिँदै छन् । १४ प्रतिशत क्यान्सर रोगीले मृत्युकै बाटो रोज्नु परेको अनि फोक्सोजन्य रोग, टाउको दुख्ने, खोकीजन्य अल्पकालीन तथा दीर्घकालीन रोगले सताउने, खाना रुचि नहुने, बान्ता हुने, वाक्वाकी लाग्नेजस्ता सरुवा तथा नसर्ने रोगका असर देखिएका र भोग्दै गरिएका तथ्यलाई सञ्चार माध्यमद्वारा सचेतनाका लागि पस्किरहिएकै छन् । कतिपय अपरिचित रोगसँगै नाक, कान, घाँटी, मुटु, नसा, फोक्सोजस्ता अति संवेदनशील अङ्गमा प्रदूषणको प्रत्यक्ष प्रहार हुने चिकित्सकको मतले नेपाल आमाको परेली ओभाउन पाएको छैन । विषादीले सजिसजाउ बासी तरकारीका साथमा दूषित पानीको थप परिकारको फलस्वरूप हस्पिटलका लेखा शाखामा मोटो रकमको कारोबार बढिरहन्छ ।
अतः गरिखाने भाँडो बनाएर कालोधन बटुल्ने नीच सोचमा होइन, सम्पूर्ण प्राणीको अस्तित्व बचाउका लागि प्राकृतिक संरक्षण, सन्तुलन, सम्बद्र्धन तथा विकास रक्षासँगै फोहोरलाई मोहोरमा बदल्न सक्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना