भरतपुर–१९ को मतदान शुक्रबार

शान्ता अधिकारी

चितवन, साउन १८ गते ।  मतपत्र च्यातिएपछि रोकिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान यही साउन २० गते शुक्रबार हुने भएको छ । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा मङ्गलबार अपराह्न भएको सर्वदलीय बैठकपछि मतदान मिति तय गरिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मतदान कहिले गराउने भन्ने विषयमा सोमबारदेखि नै छलफल सुरु गरेको थियो ।  त्यस क्रममा मङ्गलबार मुख्य निर्वाचन अधिकृत न्यौपाने सहितको टोलीले निर्वाचन हुने वडा नम्बर १९ को वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गरेको थियो ।  election_1
जिल्लाको सुरक्षा निकायसँग निरन्तर सम्पर्क र आन्तरिक छलफल गरिसकेको निर्वाचन कार्यालयले मङ्गलबार राजनीतिक दलहरू, भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारहरू र वडा नम्बर १९ का उम्मेदवार प्रतिनिधिसँग छलफल गरी मतदानको मिति तय गरेको हो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गम्भीर घिमिरेले साउन २० गते शुक्रबार मतदान गर्ने गरी राजनीतिक दलबीच सहमति भएको जानकारी दिनुभयो ।
यता मतदानको मिति तय हुँदै गर्दा उता राजनीतिक दलहरू रातारात चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  पुनः मतदान गर्न सर्वोच्चले निर्णय गरेसँगै राजनीतिक दलहरूले आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन गृहकार्य थालेका छन् ।  विशेषगरी भरतपुर महानगरको मेयर पद राजनीतिक दलहरूको केन्द्रबिन्दुमा छ ।  उपमेयर पद नेपाली काँग्रेसकी उम्मेदवार पार्वती शाहले जित्ने सुनिश्चित भइसकेको अवस्थामा काँग्रेस र नेकपा (माओवादी केन्द्र)की संयुक्त उम्मेदवार रेणु दाहाललाई जिताउन दुवै दल लागिपरेका छन् भने नेकपा (एमाले)ले आफ्ना दलका उम्मेदवार देवी ज्ञवालीलाई जिताउने अभियानमा कस्सिएको छ ।
नेकपा (एमाले) चितवनले वडा नम्बर १९ मा कसरी अघि बढ्ने भन्ने विषयमा बैठक बसेर निर्णय  गरिसकेको छ भने काँग्रेस र माओवादी केन्द्रको संयुक्त बैठक बसेर चुनावी रणनीति निर्माणमा जुटेको बताइन्छ ।  पुनः मतदानको निर्णय भएपछि नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसले संयुक्त अपिल प्रकाशित गरी केन्द्र तर्फबाट उक्त वडामा उम्मेदवार बनेका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूको नाम फिर्ता लिई काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको थियो भने काँग्रेसले पनि रेणु दाहालको पक्षमा मत माग्ने दुईपक्षीय सहमति समेतको अपिल सार्वजनिक गरिएकोे थियो ।
मतपत्र नष्ट
पुनः मतदान हुने वडा नम्बर १९ का मतपत्र मङ्गलबार आगो लगाएर नष्ट गरिएको छ ।  निर्वाचन आयोगबाट आएको निर्देशनअनुसार गत वैशाख ३१ गते मतदान गरिएको वडा नम्बर १९ का सबै मतपत्र आगो लगाएर नष्ट गरिएको सहायक निर्वाचन अधिकृत एवं प्रवक्ता गम्भीर घिमिरेले जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना