उपवास र यसका चमत्कारी आयाम

Arpana nepalअपर्णा नेपाल


 

सनातन धर्मपरम्परामा व्रत उपवासको महŒव रहिआएको छ ।  प्रत्येक पन्ध्र दिनमा आउने एकादशी उपवासको दिन हो ।  त्यसमा पनि विशेषतः चतुर्मास (आषाढ, श्रावण, भाद्र, आश्विन) का एकादशी खास मानिन्छन् ।  भदौ, असोजमा अन्य विभिन्न पर्व दिन पनि पर्छन् ।  यी उपवासे पर्वहरूको धार्मिक महŒव त छँदैछ, यसका स्वास्थ्यगत महŒव पनि कम उल्लेखनीय छैनन् ।  
हामी साउन र भदौलाई वर्षा– ऋतु भन्छौँ ।  वर्षा ऋतुमा विभिन्न कारणवश पाचनक्रिया असन्तुलित पनि हुन सक्छ ।  यसैले हाम्रा पूर्वजले यस ऋतुमा कतिपय खाद्य खान निषेध पनि गरेका छन् ।  पाचनका दृष्टिले सावधान रहनुपर्ने ऋतु मानिन्छ वर्षाऋतु ।  यसै ऋतुमा हाम्रा उपवासका दिन पनि बढी नै पर्छन् ।  श्रावण महिना भगवान् शिवको प्रिय महिना मानिन्छ ।  सनातन धर्मी रुद्राभिषेकको आयोजना पनि प्रायः यसै महिनामा गर्छन् ।  यस महिनाले महिलाको पहिरनमा पनि हरियो, पहेँलोको आभा थप्छ ।  कलरथेरापीका दृष्टिले यसका पनि स्वास्थ्यगत फाइदा छन् ।
साउनको सोमवार पनि व्रतालुका लागि पावन अवसर नै हो ।  यस अवसरमा विशेषतः महिला उपवास बसेर शिवोपासना गर्छन् ।  यस्तै अर्को विशेष दिन भाद्र शुक्ल प्रतिपदा र द्वितीया हो ।  अहिले शहर बजारमा दरखाने दिनकोे लोकप्रियता बढेर त्यसको रमझम अगाडि पछाडि समेत तन्कन थालेको छ ।  दर खाने दिन र त्यसको भोलिपल्टको दिन यसै पनि विशेष दिन हो ।  यस दिनलाई हामी हरितालिका तीज भन्छौँ ।  यस दिन महिला राता, पहेँला पोसाक पहिरेर पानी पनि नपिई भोकै शिव मन्दिरमा दर्शन गर्न पुग्छन् ।  काठमाडौँको पशुपति मन्दिरमा त यस दिन लाखौँ दर्शनार्थीको जमघट नै हुन्छ ।  
उल्लिखित धार्मिक परम्पराका कारण पनि उपवास भन्नेबित्तिकै हामी कुनै विशेष  चाडपर्वमा भोको बस्ने भनी ठान्छौँ ।  यथार्थ त्यति मात्र होइन ।  उपवासको उपचारात्मक उपयोगिता पनि छ ।  उपवासबाट शरीर शुद्ध, सफा र स्वच्छ बन्छ ।  स्वस्थ बन्छ ।  शरीर स्वस्थ बनेपछि मन पनि स्वस्थ बन्छ ।  पेट ठसाठस भरिएको बेला, मनमा अनेकौँ कुविचार आउन सक्छन् ।  दुर्दम्य वासनाहरूको अभिवृद्धि हुन सक्छ ।  विकृति झाङ्गिन सक्छन् ।  सधैँको बोझिलो पेट बोझिलो मनको कारक पनि बन्न सक्छ ।  
उपवासले पेटलाई विश्राम र आराम दिन्छ ।  पाचनश्रमबाट फुर्सत दिन्छ ।  त्यति बेला स्वभावतः हाम्रो चित्त शान्त हुन्छ ।  उच्च विचारमा एकाग्र हुन सकिन्छ ।  हाम्रो शरीर यन्त्रलाई पनि खाद्यपाचनको बोझबाट समय–समयमा विश्राम चाहिन्छ ।  उपवास त्यही  विश्राम हो र यो प्राकृतिक आवश्यकता नै हो ।  हामी जब बिरामी हुन्छौँ, हामीलाई प्राकृतिक रूपमा नै भोक लाग्दैन खान मन लाग्दैन ।  यो हाम्रो पाचन क्रियाले बाध्यात्मक रूपमा विश्राम खोजेको हो ।  यसरी उपवास हाम्रो स्वस्थ्यको प्रकृतिक आवश्यकता नै हो ।  उपवासका समय पानी भने यथासमय पिउनै पर्छ ।  पानी नपिउँदा ज्यान जोखिममा पर्न पनि सक्छ ।  
उपवासको प्रयोग आत्मविकास, एवम् व्यक्तित्व विकासका लागि पनि गरिन्छ ।  छिमेकी मुलुक भारतका राष्ट्रपिता महात्मा गान्धी बेला–बेला उपवास बसिरहनुहुन्थ्यो ।  गम्भीर समस्या आइपर्दा पनि प्रायः उपवास बस्नुहुन्थ्यो ।  यो देखेर उहाँका अनुयायीमध्येका एक व्यक्तिले एक दिन सोधे, “महात्मा जी, जब कुनै समस्या आइपर्छ तपाईं तुरुन्त उपवास सुरु गर्नुहुन्छ,
किन ?” यसको उत्तरमा महात्मा गान्धीले भन्नुभयो, “अहिसांको पुजारीका लागि समस्या समाधानको अन्तिम हतियार नै उपवास हो ।  जब सामान्य मानव बुद्धिले आफ्नो काम गर्दैन, तब उपवासबाट शोधित शरीरले प्रार्थना गर्दा चित्त शान्त हुन्छ र सूक्ष्मता एवम् सत्यतातिर उन्मुख हुन सकिन्छ ।  उपवासले सुतेको मन चित्तलाई उठाउन मद्दत गर्छ । ”  
उपवासबाट शरीर मन र आत्मासमेतका लागि लाभदायक हुने भएर नै उपवासलाई धर्मका सन्दर्भमा पनि महŒवपूर्ण स्थान दिइएको हो ।   
नवयुगका विश्वामित्रका रूपमा चर्चित उत्तराखण्ड भारतका सम्मानित पण्डित श्रीराम शर्मा आचार्यका अनुसार उपवासबाट (१) शरीर स्वच्छ बन्छ, आन्तरिक विकार बढारिन्छन् र शरीरमा सञ्चित रहेको विजातीय पदार्थको विष पखालिन्छ, (२) मन शुद्ध बन्छ ।  नैतिक आध्यात्मिक बुद्धि विवेक जागृत हुन्छ ।  
हामी आफ्नो स्वास्थ्यस्थिति अनुकूल निश्चित दिन उपवास बसेर हेरौँ,  पेयजल प्रशस्त पिऔँ, व्यायाम गरौँ, हामी शारीरिक, मानसिक विभिन्न विकारबाट मुक्त हुन सक्छौँ ।  हामीलाई स्वाभाविक भोक लाग्न थाल्छ ।  कलेजो, फोक्सो, मिर्गौला पेनक्रियाज मजबुत हुन थाल्छन् ।  कब्जियत रहँदैन ।  आलस्यपन हराउँछ ।  हामी जीवनमा नयाँपन अनुभव गर्न सक्छौँ ।  
शरीरमा पाचन र मल बिसर्जन प्रक्रिया उचित रीतिबाट चलिरहेको छ भने हामी रोगी हुनबाट जोगिन्छौँ ।   खाना बढी हुँदा हाम्रो पाचन प्रणालीले स्वाभाविक रूपले काम गर्न सक्दैन ।  यसलार्ई अतिरिक्त भार पर्न जान्छ ।  हाम्रो पाचन प्रणाली नै बिग्रन्छ र पच्न नसकेको खाद्यले शरीरमा रोग उत्पन्न गर्छ ।  यस्तो स्थितिमा सरल स्वाभाविक उपचार भनेको उपवास नै हो ।   
पशुहरू भोक नलागी खाँदैनन् ।  मांसाहारी पशु पनि आफ्नो शिकारबाट भोक नमरेसम्म मात्र खान्छन्, बाँकी त्यहीँ छाडिदिन्छन् ।  काँचुली फेर्ने बेलामा सर्प पनि कैयाँै हप्तासम्म पनि नखाई बस्छ ।  पाल्तु जनावर रोग लागेको बेलामा खाना ठ्याक्कै छाडिदिन्छन् ।  प्रकृतिले नै उनीहरूलाई उपवास गराउँछ र निरोगी बनाउँछ ।  
विशेषतः कब्जियत, रक्ताल्पता, ज्वरो, टाउको दुखाइ, जोर्नीको दुखाइ, अवसाद लगायतका रोगमा उपवास चिकित्सा लाभदायक हुन्छ ।  व्यवस्थित रूपमा समय–समयमा उपवास गर्ने मानिस कहिल्यै रोगी हुँदैन ।  महात्मा गान्धी भन्नुहुन्थ्यो, “ईश्वर र उपवासको आपसमा घनिष्ट सम्बन्ध छ ।  उपवासले मानिसमा दैवी सम्पदाको विकास गर्छ ।  उपवास आध्यात्मिक साधनाको प्रयोगमा एउटा चमत्कार हो । ”
हामी आवेग नियन्त्रण गर्न सकिरहेका छैनौँ भने  एक दिन उपवास बसौँ ।  यस्ता समयका लागि उपवास एकदमै आवश्यक छ ।  बरु शरीरको उपवासले मात्र पुग्दैन भने सँगसँगै मानसिक उपवास पनि गरौँ ।  उपवासका क्षणमा शरीरसँगै मनलाई पनि नियन्त्रणमा राख्न सकियो भने विचार संयम गर्न सकिन्छ ।  विचार संयमसहितको उपवासले जीवनमा चमत्कारी रूपमै सकारात्मक रूपान्तरण ल्याउन सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना