पत्रकारका सम्मानमा हुलाक टिकट

Shriramsingh basnetश्रीरामसिंह बस्नेत




 

 

नेपालमा सन् १८८१ देखि अहिलेसम्म गरी १३६ वर्षको अवधिमा विविध विषयका करिब १२५० किसिमका हुलाक टिकट जारी भइसकेका छन् ।  तिनमा नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुराताŒिवक, प्राकृतिकलगायतका महŒवपूर्ण वियषवस्तुलाई हुलाक टिकटमा चित्रण गरी विश्वसँग परिचित गराउन उच्च प्राथमिकता दिइएको छ भने राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गर्ने शहीद, विभूति, राष्ट्राध्यक्ष, साहित्यकार, कलाकार आदि व्यक्तित्वको सम्मानमा उनीहरूका मुहार चित्राङ्कित संस्मरणात्मक हुलाक टिकट प्रकाशित गरी ती व्यक्तित्वको सम्मान गर्ने र नयाँ पुस्तालाई उनीहरूसँग परिचित गराउने गरिएको छ ।  
मोतीराम भट्ट – नेपाली भाषा र साहित्यमा मोतीराम भट्टको अत्यन्तै विशिष्ट योगदान छ ।  जम्मा ३० वर्षको अल्पजीवनमा उनले देशका लागि जति कालजयी काम गरे त्यति काम अरूले ९० वर्षको दीर्घजीवनमा पनि गर्न कठिन हुन्छ ।  मूलतः साहित्यकार र भाषासेवीका रूपमा चिनिएका भट्टले नेपाली भाषामा पत्रकारिताको जग बसाल्ने ऐतिहासिक कामसमेत गरेका थिए ।  नेपालमा राणा शासनको दबदबा चलिरहेको अवस्थामा शिक्षा आर्जनका लागि भारतको बनारसमा रहेका युवक भट्टले वि.सं. १९५० मा रामकृष्ण बर्माको सहयोगमा बनारसबाटै ‘गोर्खा भारत जीवन’ नामक मासिक पत्रिका प्रकाशित गरे ।  नेपाली भाषामा प्रकाशित त्यो नै सबैभन्दा पहिलो पत्रिका थियो ।  त्यतिखेरसम्म नेपालभित्रैबाट नेपाली पत्रिका प्रकाशित गर्ने आँट कसैले गरेका थिएनन्, यद्यपि, मुद्रण प्रविधि काठमाडौँमा भित्रिसकेको थियो ।  ‘गोर्खा भारत जीवन’ को प्रकाशनले काठमाडौँका केही बौद्धिक वर्गलाई पत्रिका प्रकाशन गर्न उत्प्रेरित ग¥यो ।  फलस्वरूप वि.सं. १९५५ मा काठमाडौँबाट नरदेव पाण्डेको सक्रियतामा ‘सुधासागर’ नामक साहित्यिक पत्रिका प्रकाशित भयो ।  त्यो नेपालभित्रबाट प्रकाशित पहिलो पत्रिका थियो ।  काठमाडौँको ठहिंटी टोलस्थित पशुपति प्रेसमा छापिएको ‘सुधासागर’ मा मोतीरामको प्रेरणाले ठूलो योगदान गरेको थियो ।  यसरी नेपाली भाषी पत्रकारिताको जग बसाल्नमा मोतीराम भट्टको ऐतिहासिक योगदान रहन गएको छ ।  ‘युवक कवि’ को उपाधि पाएका उनको संस्मरणमा हुलाक सेवा विभागले सन् १९६२ अगस्ट ३० मा हुलाक टिकट जारी गरेको छ ।  
जयपृथ्वीबहादुर सिंह – बौद्धिक व्यक्तित्वहरूको अत्यन्तै भयावह खडेरी रहेको राणकालीन नेपालका केही सीमित बौद्धिक प्रतिभामध्येका एक थिए– जयपृथ्वीबहादुर सिंह ।  उनले नेपाली भाषा, साहित्य, शिक्षा, कूटनीति, मानवअधिकारलगायत पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका छन् ।  विशेषगरी वि.सं. १९५८ देखि प्रकशित हुन थालेको नेपालको मात्र नभई दक्षिण एसियाकै ज्येष्ठ पत्रिकामध्ये एक मानिने ‘गोर्खापत्र’ को सम्पादन र व्यवस्थापनमा उनको ठूलो योगदान रहेको थियो ।  नाताले श्री ३ चन्द्रशमशेरका ज्वाइँ पर्ने यी बझाङ्गी रजौटा बहुआयामिक प्रतिभाका धनी र एक अत्यन्तै सिर्जनशील युवा थिए ।  उनको सिर्जनशीलता अनुदार राणाशासकका लागि पाच्य भएन ।  गोर्खापत्रलाई उनी स्वतन्त्र पत्रकारिताको मान्यताअनुसार सञ्चालन गर्न चाहन्थे तर चन्द्रशमशेरलाई त्यो मान्य भएन र उनलाई गोर्खापत्रको जिम्मेवारीबाट हटाइयो  ।  जे होस् नेपालको पत्रकारिताको इतिहास उनको योगदानको चर्चाविना अधुरो मानिन्छ ।  उनको सम्मानमा सन् १९८० अप्रिल १३ मा हुलाक टिकट जारी गरिएको छ ।  
बालकृष्ण सम – मुख्यतः नेपाली नाटक लेखन तथा अभिनय र चित्रकलामासमेत आफ्नो विलक्षण प्रतिभाका कारण नेपाली बौद्धिक जगत्मा सम्मानित रहेका बालकृष्ण समले कुनै बेला पत्रकारको गहन भूमिका पनि निर्वाह गरेको तथ्य आजका नयाँ पुस्ताका पत्रकारलाई जानकारी नहुन सक्छ ।  राणा शासनकालमै जन्मेर त्यहीकालमा कहिले टाक्सिदै कहिले उक्सिदै जीवन धानिरहेको देशको एकमात्र अखबार गोरखापत्रलाई हरहालतमा जीवन्त राख्न योगदान गर्ने धेरै महान् व्यक्तित्वमध्ये सम पनि पर्छन् ।  उनले पनि गोरखापत्र सम्पादनको गहन अभिभारा सम्हालेका थिए ।  पुराना कागजपत्र जोगाएर राख्ने चलन नभएको हुँदा अति सुन्दर अक्षरका धनी समजीले गोरखापत्रका लागि सम्पादन गरेका र लेखेका विशेषत लेखरचना र सम्पादकीयका मूलप्रति अहिले देख्ने सौभाग्य पाइँदैन ।  
सिद्धिचरण श्रेष्ठ – नेपाली साहित्यिक जगत्मा ‘युगकवि’ को उपाधिबाट सुपरिचित कवि सिद्धिचरणले समयको मागअनुसार पत्रकारको भूमिका पनि निर्वाह गरेका थिए भन्ने ऐतिहासिक तथ्य धेरैलाई थाहा नहुन सक्छ तर १०४ वर्षे निरङ्कुश राणाशासन अन्त्य भएको २४ घण्टा पनि बित्न नपाउँदै नेपाली जनतालाई दैनिक अखबारी पत्रकारितासँग परिचित गराउने श्रेय उनै युगकविलाई जान्छ ।  २००७ साल फागुन ७ गते राजा त्रिभुवनद्वारा नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक घोषणा भएको भोलिपल्टै अर्थात् २००७ फागुन ८ गते काठमाडौँबाट ‘आवाज’ नामक दैनिक अखबार प्रकाशित भयो ।  यसअघिसम्म साप्ताहिक, अर्धसाप्ताहिक, मासिक रूपमा मात्र पत्रपत्रिका प्रकाशित हुने गरेको नेपालमा सिद्धिचरणको सम्पादनमा प्रकाशित ‘आवाज’ नेपालको पत्रकारिताको इतिहासमा पहिलो दैनिक अखबार थियो ।  प्रजातन्त्रको पहिलो सूर्योदयसँगै उदाएको ‘आवाज’ प्रजातन्त्रप्रति अपार जनउत्साहको प्रतीक थियो ।  
ऋद्धिबहादुर मल्ल – नेपालको साहित्यिक पत्रकारिता क्षेत्रमा ऋद्धिबहादुर मल्लको विशिष्ठ योगदान रहेको छ ।  पत्रिकाको नाममा साप्ताहिक गोर्खापत्र मात्र जेनतेन प्रकाशित भइरहेको त्यो युगमा ‘शारदा’ को प्रकाशन एक साहसिक र युगान्तकारी कदम थियो ।  वि.सं. १९९१ फागुनदेखि प्रकाशित मासिक साहित्यिक पत्रिका ‘शारदा’ १०४ वर्षे राणाशासन कालमा प्रकाशित जम्मा १२ वटा पत्रिकामध्ये तेस्रो थियो ।  पहिलो ‘सुधासागर’ र दोस्रो ‘गोर्खापत्र’ पछिको ‘शारदा’ को सम्पादक तथा प्रकाशक सुब्बा ऋद्धिबहादुर मल्ल थिए ।  ‘गोर्खापत्र’ को प्रकाशन प्रारम्भ भएको ३३ वर्षपछि मात्रै कुनै नयाँ पत्रिका प्रकाशन गर्न उनी सफल भएका थिए ।  देश, विदेशका साहित्यमा विशेष अभिरुची भएका मल्लले ‘शारदा’ को माध्यमबाट कविशिरोमणि लेखनाथ, युगकवि सिद्धिचरण, महाकवि लक्ष्मीप्रसाद, नाट्य सम्राट बालकृष्ण समलगायत धेरै साहित्यिक प्रतिभाका रचनालाई जनसमक्ष पु¥याए ।  
 हृदयचन्द्रसिंह प्रधान – नेपाली साहित्यमा आख्यानकारका रूपमा सम्मानित स्थान बनाएका प्रधान एक सक्रिय पत्रकार पनि थिए ।  मुख्यतः २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालमा नयाँ रचनात्मक काम गर्न उर्लिएको जनलहरमा प्रधान एक अलग पहिचान भएका सक्रिय युवक थिए ।  नेपाली साहित्यिक क्षेत्रमा उनको सक्रियता विशेषस्तरको छँदै थियो भने नेवारी भाषाको उत्थानमा पनि उनी समर्पित थिए ।  यसै क्रममा उनले २०१४ जेठ १५ देखि काठमाडौँबाट प्रकाशित ‘पासा’ (अर्थात् साथी) नामक नेवारी दैनिक पत्रिकाको सम्पादक भएर नेवारी भाषा पत्रकारितालाई अघि बढाउन अग्रणी भूमिका खेले ।  प्रजातन्त्र स्थापना भएपछि प्राप्त खुला वातावरणमा नेपालमा प्रचलित विभिन्न भाषाका गतिविधि अघि बढे ।  
गोपालदास श्रेष्ठ – नेपालको पत्रकारिता क्षेत्रमा श्रद्धापूर्वक नाम लिइने व्यक्तित्व हुन्– गोपालदास श्रेष्ठ ।  प्रजातन्त्र स्थापना पछिको स्वतन्त्र वातावरणमा आफ्नो सिर्जनशीलतालाई उजागर गर्न समर्थ व्यक्तित्व गोपालदासको नेपालमा पत्रकारिताको संस्थागत विकासमा निकै उच्च योगदान रहेको पाइन्छ ।  मुख्यतः नेपालमा अङ्गे्रजी भाषाको पत्रकारिताको विकास गर्न र यसको माध्यमबाट विशेषगरी वैदेशिक समुदायबीच नेपाललाई परिचित गराउन उनको सराहनीय भूमिका रहेको थियो ।  वि.सं. २०१३ मा गोपालदासको सम्पादन तथा प्रकाशनमा काठमाडौँबाट प्रकाशित ‘दि कमनर’ नेपालबाट प्रकाशित पहिलो अङ्ग्रेजी दैनिक अखबार हो ।  यद्यपि, नेपालमा अङ्ग्रेजी पत्रकारिताको प्रारम्भ भने २०१० सालमा प्रकाशित ‘नेपाल गार्जियन’ मासिक पत्रिकाबाट भएको थियो ।  अङ्ग्रेजी भाषाका पाठक नगण्य मात्रामा रहेको समयमा पनि अङ्ग्रेजी दैनिक पत्रिका प्रकाशन गर्नु कम साहसिक काम थिएन ।  
गोविन्द वियोगी – नेपालको पत्रकारिता पञ्चायतकालमा दुई धारमा विभाजित थियो– एक धार निर्दलीय पञ्चायती व्यवस्थाको पक्षधर थियो भने अर्को धार त्यसको विरोधी ।  त्यो पञ्चायती व्यवस्था विरोधी धारको पत्रकारिता गर्ने पत्रकारमा अग्रपङ्क्तिमा थिए वरिष्ठ पत्रकार गोविन्द वियोगी ।  उनको पत्रिका ‘मातृभूमि’ साप्ताहिक वामपन्थी विचारलाई समर्थन गर्ने एक लोकप्रिय पत्रिका थियो ।  पञ्चायती शासन व्यवस्थामा अनेकौँ कष्ट र दबाबसँग जुधेर उनले पत्रकारितालाई निरन्तरता दिएका थिए ।  यसअघि उनले ‘लोकदूत’, ‘जनदूत’ नामका साप्ताहिक पत्रिका पनि सञ्चालन गरेका थिए ।  नेपालका पत्रकारलाई सङ्गठित गरी प्रेस स्वतन्त्रतासहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनाका लागि वातावरण निर्माण गर्न नेपाल पत्रकार सङ्घको नेतृत्व पनि वियोगीले बहन गरे ।  नेपालको पत्रकारितामा बेग्लै स्थान बनाएका वरिष्ठ पत्रकार वियोगीको संस्मरणमा हुलाक सेवा विभागले सन् २००९ नोभेम्बर २ मा टिकट जारी गरेको छ ।  
कृष्ण सेन इच्छुक – क्रान्तिकारी विचारधाराका कलमजीवी ‘इच्छुक’ एक साहित्यकारकासाथै सुपरिचित पत्रकार पनि थिए ।  उनले ‘जनदिशा’ दैनिक, ‘जनादेश’ साप्ताहिक, ‘कलम’ त्रैमासिकका साथै ‘महिमा’, ‘योजना’, ‘पृष्ठभूमि’ समेतमा गरी लामो समय पत्रकारिता क्षेत्रमा योगदान गरे ।  तत्कालीन सत्ता विरोधी विचार र आस्थाका कारण क्रुरतापूर्वक उनको प्राणहरण गरियो ।  नेपालको दशवर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष र राज्य पक्ष दुवैले कैयौँ निहत्थालाई आफ्नो नियन्त्रणमा लिई निर्मम यातना दिएर ज्यान लिएका थिए ।  त्यसैमध्ये प्राणहरणमा पारिएका एक बुद्धिजीवी पत्रकार एवम् साहित्यकार हुन् इच्छुक ।  
भैरव अर्याल – हास्य व्यङ्ग्य लेखकका रूपमा ख्याती कमाएका भैरव अर्याल एक कुशल पत्रकार पनि थिए ।  उनले आफ्नो छोटो जीवनको मुख्य ऊर्जाशील समय गोरखापत्र दैनिकको सम्पादनकार्यमा बिताए ।  आफ्नो कलममार्फत सामाजिक, राजनीतिक विकृति, विसङ्गति माथि चोटिलो व्यङ्ग्य गर्न अत्यन्तै सिपालु उनले किन हो ४० वर्षको छोटो आयुमै आफ्नै स्वइच्छाले आफ्नो जीवनको भारी बिसाए ।  उनको प्रतिभाको सम्मानस्वरूप हुलाक सेवा विभागले उन्मुक्त हाँसो हाँसिरहेको उनको मुहार चित्र अङ्कित टिकट सन् २०१० डिसेम्बर १ मा जनसमक्ष ल्याएको छ ।  
 साधना अधिकारी – साधना प्रधान अधिकारी मूलतः वामपन्थी नेतृ हुन् र नेपाली महिलाका अधिकारका लागि उनले गरेको सङ्घर्षको ऐतिहासिक महŒव छ ।  यसै सिलसिलामा उनले पत्रकारितालाई समेत आफ्नो सङ्घर्षको माध्यम बनाएकी थिइन् ।  यसरी उनी नेपालकी प्रथम महिला पत्रकारका रूपमा समेत सम्मानित हुन पुगेकी छिन् ।  उनको संस्मरणमा सन् २०१० डिसेम्बर ९ मा हुलाक टिकट प्रचलनमा ल्याइएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना