भरतपुर महानगरपालिकाको प्रमुखमा दाहाल र उपप्रमुखमा शाह विजयी

वसन्त पराजुली/शान्ता अधिकारी

भरतपुर, साउन २२ गते ।  भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल निर्वाचित हुनुभएको छ ।  शनिबार राति सकिएको मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस गठबन्धनकी उम्मेदवार दाहाल नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतअन्तरले हराउँदै विजयी हुनुभएको हो ।  
महानगरपालिकाको प्रमुखमा निर्वाचित दाहाल पहिलो महिला हुनुहुन्छ ।  देशभरिका छवटा महानगरपालिकामध्ये वीरगन्जमा निर्वाचन हुन बाँकी छ भने अन्य पाँच महानगरपालिकाको प्रमुखमा पुरुष उम्मेदवार विजयी हुनुभएको छ ।  दाहालले ४३ हजार १२७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको छ ।  राप्रपाका बद्री तिमिल्सिनाले छ हजार ८४२ मत पाउनुभएको छ ।
यस्तै उपप्रमुखमा काँग्रेस–माओवादी केन्द्र गठबन्धनकै पार्वती शाह ठकुरी विजयी हुनुभएको छ ।  उहाँ आफ्ना निकटतम प्रतिस्पर्धी एमालेकी दिव्या शर्मा आचार्यलाई भारी मत अन्तरले पराजित गर्दै  उपप्रमुखमा विजयी हुनुभएको हो ।  उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नुभएको छ भने आचार्यले ३९ हजार ५२५ मत प्राप्त गर्नुभएको छ ।  renu dahal
प्रमुखमा निर्वाचित रेणु माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी माहिली छोरी हुनुहुन्छ ।  परिवारमा श्रीमान्, ससुरा, छोरी र छोरा रहेकी रेणुका श्रीमान् अर्जुन पाठक व्यापार गर्नुहुन्छ ।  २०३४ असार २२ मा जन्मनुभएकी रेणु ०४६ सालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।  माओवादी महिला सङ्गठनकी महासचिव हुनुभएकी रेणु अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।  उहाँले काठमाडाँै जिल्लामा बसेर पार्टीको कामसमेत गरिसक्नुभएको छ ।  
समानुपातिक तर्फबाट २०६४ सालमा पहिलो संविधानसभा सदस्य बन्नुभएका दाहाल २०७० सालको निर्वाचनमा भने काठमाडौँ–१ बाट पराजित हुनुभएको थियो ।  नेकपा माओवादीले २०५२ सालमा जनयुद्धको तयारी गर्दै गर्दा रेणु चितवनस्थित मामाघरमा बसेर कक्षा १० मा पढ्नुहुन्थ्यो ।  प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएकी रेणुले भारतमा बसेर अखिल नेपाल भारतीय सङ्गठनमा समेत काम गर्नुभएको छ ।  
दाहाल विकट क्षेत्र सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा बसेर द्वन्द्वकालमा पार्टी सङ्गठन गर्नुभएका व्यक्ति हुनुहुन्छ ।  साविक शिवनगर हालको भरतपुर महानगरपालिका–१४ निवासी दाहाल २०५१ सालमा पार्टीमा प्रवेश गरी २०५२ सालदेखि भूमिगत राजनीतिमा लाग्नुभएको थियो ।  
निर्वाचित भएलगत्तै प्रमुख दाहालले गोरखापत्रसँग कुराकानी गर्दै भरतपुरको विकास र समृद्धिमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो । “केन्द्रीय स्रोत र साधनलाई यहाँको स्थानीय स्रोत र साधनसँग जोडेर मैले भरतपुरलाई एउटा नमुना शहर बनाउने जुन प्रण गरेको छु , त्यो पूरा गर्नेछु”, उहाँले थप्नुभयो, “भरतपुरलाई नमुना विकाससहितको वैकल्पिक राजधानी बनाउने मेरो लक्ष्य पूरा गरेरै छाड्नेछु । ”
यस्तै उपप्रमुख शाह नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष हुनुहुन्छ ।  नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी शाह नेपाल तरुण दलको केन्द्रीय महासचिवसमेत हुनुभयो । उहाँले आफ्नो निर्वाचन घोषणापत्रअनुसार अगाडि बढ्ने बताउनुभयो ।  
“म एउटा दलबाट उम्मेदवार बनेर निर्वाचित भएको छु, अब मैले अघि सारेको घोषणापत्रअनुसार विकासनिर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो ।  भरतपुरको आर्थिक समृद्धि नै आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो ।  
भरतपुरमा पहिलो चरणअन्तर्गत जेठ ३१ गते नै निर्वाचन भए पनि वडा नं. १९ मा ९० मत च्यातिएपछि यसको नतिजा आउन ढिला भएको हो ।  भरतपुर–१९ मा पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णय र त्यो निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि शुक्रबार १९ नम्बर वडाको पुनः मतदान सम्पन्न भएसँगै भरतपुर महानगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको छ ।  
निर्वाचनअनुसार भरतपुर–१९ मा वडा अध्यक्षमा काँग्रेसका कर्णबहादुर गुरुङ र २० मा काँग्रेसकै मणिराम तामाङ प्यानलसहित निर्वाचित हुनुभएको छ ।  २९ वटा वडा रहेको भरतपुरमा १४ वटा वडा अध्यक्ष एमाले, १२ वटा वडा अध्यक्ष काँग्रेस र तीनवटा वडा अध्यक्ष माओवादी केन्द्रले जितेको छ ।  मेयर र उपमेयरमा विजय हात परेसँगै काँग्रेस–माओवादी केन्द्र गठबन्धनले महानगरपालिकामा स्पष्ट बहुमत हात पारेको छ ।  
भरतपुुर महानगरपालिकामा रहेको एक लाख ५० हजार मतमा एक लाख १२ हजार ७१८ मत यो निर्वाचनमा खसेको थियो ।  


उत्कृष्ट शहर बनाउँछु : दाहाल

भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभयो, कस्तो महसुस गर्नुभएको छ ?
यो जितलाई मैले जिम्मेवारीका रूपमा लिएको छु ।  भरतपुर महानगरवासीले मलाई विश्वास गरेर पहिलो मेयर बनाउनुभएको छ ।  जनताले जुन ढङ्गको ममता मप्रति दर्शाउनुभयो, यो म कहिल्यै बिर्सनेछैन ।  यसलाई मैले भरतपुर महानगरवासीकै जितका रूपमा लिएको छु ।  यो  विजयले भरतपुरलाई उत्कृष्ट शहर बनाउने आत्मविश्वास बढेको छ ।  

चुनावका बेला दलगत प्रतिस्पर्धामा तपाईंहरूबीच तिक्तता भएका होलान् ।  प्रतिपक्षीलाई पनि कसरी सँगै लिएर जानुहुन्छ ?
हेर्नुस्, चुनावमा जित्ने एक जनाले हो ।  अब त्यसमा मलाई महानगरवासीले विश्वास गर्नुभयो ।  मैले अब मलाई मत दिने र नदिने भनेर छुट्याएर हेर्नेछैन ।  दलगत चुनावमा एउटा दल (माओवादी केन्द्र)बाट उम्मेदबार बनेँ, अर्को दल (काँग्रेस)ले मलाई समर्थन ग¥यो ।  अब म चुनाव जितेपछि सबै दलको भएँ ।  
मसँगै चुनावमा सहभागी हुनुभएका देवीजीलगायत अन्य उमेदवारको पनि कुरा लिएर म महानगरको विकासमा अगाडि बढ्नेछु ।   

भरतपुर महानगरपालिकाको विकासमा के के काम गर्नुहुन्छ ?
चितवन आफैँमा ७६औँ जिल्ला हो ।  यहाँको जनसमुदाय सचेत छ ।  सुन्दर नगरी भरतपुरको विकास र समृद्धिमा मेरो ध्यान केन्द्रित गर्नेछु ।  केन्द्रीय स्रोत र साधनसँग जोडेर मैले भरतपुरलाई एउटा नमुना शहर बनाउने जुन प्रण गरेको छु, त्यो पूरा गर्नेछु ।  भरतपुरलाई नमुना विकाससहित वैकल्पिक राजधानी बनाउनेछु ।  यस्तै भरतपुरलाई व्यवस्थित शहरीकरण गराउँदै महानगरमा मेट्रो रेल, भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा गराउनेछु ।  
भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउँदै महानगरभित्र आफ्नै नगर अस्पताल बनाउने मेरो प्रतिबद्धता पूरा गर्नेछु ।  
पर्यटन विकासलाई टेवा पु¥याउन चितवन देखिने भ्यु टावर, आधुनिक मनोरञ्जन पार्क, हरेक वडामा बालबगैँचा र उद्यान निर्माणमा जोड दिनेछु ।  
सार्वजनिक सडकहरू कालोपत्रे गरिनेछन् ।  महानगरपालिकामा भित्री र बाहिरी चक्रपथ निर्माण गरिनेछ ।  सडक, भौतिक पूर्वाधार महानगरको सापेक्षताअनुसार विकास गर्दै लगिनेछ ।  
नारायणी र राप्तीको तटबन्ध गरी उकास भएको जमिन प्रयोगमा ल्याइनेछ ।  यो विकासनिर्माणमा मैले सम्पूर्ण भरतपुरवासीको सहयोगको अपेक्षा पनि गरेको छु ।  

अन्त्यमा महानगरवासीलाई केही भन्न चाहनुहुन्छ ?
सर्वप्रथम सम्पूर्ण नगरवासीलाई धन्यवाद दिन चाहन्छु ।  तपाईंहरूले मतदान गरेर हामीलाई जिताउनुभयो ।  त्यो मतलाई हामी  खेर जान दिनेछैनौँ ।   महानगरको विकासमा नगरवासीसँगै मिलेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु ।   
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना