स्वाइन फ्लु भ्रम र यथार्थ

स्वाइन फ्लुले एकपटक फेरि नेपालीलाई त्रसित पारेको छ ।  कहिले बर्ड फ्लु त कहिले स्वाइन फ्लु, यी इन्फ्लुएन्जा सङ्क्रमण मानिसलाई जहिले पनि चुनौती हुने गरेका छन् ।  विगत सय वर्षको इतिहासमा इन्फ्लुएन्जाले पटकपटक मानिसको सातो खाएको छ र करोडौँ मानिसको ज्यान पनि लिएको छ ।  अहिले नेपालमा देखिएको स्वाइन फ्लु सङ्क्रमण प्रभावका हिसाबले कडा खालको देखिन्छ ।  कडा किन देखियो त्यो अनुसन्धानको पाटो हो ।  यसमा स्वाइन फ्लु भाइरसको जेनेटिक जाँच हुन बाँकी नै छ ।  आठ महिनायता स्वाइन फ्लुले आठदेखि १० जनाको मृत्यु भएको बताइए पनि परीक्षणबाट सात जना मात्र स्वाइन फ्लुको सङ्क्रमणबाट मरेको पुष्टि भएको छ ।  swine flu
सरुवा रोग तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य स्वाइन फ्लु (एच–१ एन–१)ले एक महिनायता यस रोगको सङ्क्रमण बढी देखिएको तर मानिस जागरुक हुनेभन्दा पनि आत्तिने गरेकाले समस्या भएको बताउनुहुन्छ ।  उहाँका अनुसार यस रोगको उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस गरिएको औषधि पर्याप्त मात्रामा उपलब्ध छ ।  भाइरस सङ्क्रमणका विषयमा धेरै समय देखिका अनुभवी वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे अहिले सङ्क्रमण बढी पैmलिएको र प्रभाव कडा देखिएकाले भाइरसको जेनेटिक जाँच आवश्यक रहेको ठान्नुहुन्छ ।  हरेक वर्ष भाइरसको कोषमा उत्परिवर्तन आएर नयाँ नश्ल आउँछ । यसको जाँच गरिनुपर्छ तर नेपालमा जेनेटिक परीक्षण गर्ने प्रविधि नभएकाले यसमा केही समय लाग्ने डा. पाण्डे बताउनुहुन्छ ।  स्वाइन फ्लुले नै ग्रसित भएका मानिसमा अलि कडा खालको निमोनिया देखिनु चिन्ताको विषय भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सलट्यान्ट माइक्रोबायोलोजिस्ट विष्णुप्रसाद उपाध्याय पनि रोगको रोकथाम, जनचेतना पैmलाउनेभन्दा पनि डराउने कार्य यहाँ बढी हुने भएकाले समस्या थपिने बताउनुहुन्छ ।  
स्वाइन फ्लुको उपचार
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा टामी फ्लु नामको औषधि नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा उपलब्ध छ ।  स्वाइन फ्लुको उपचारमा यो प्रभावकारी औषधि सस्तो र भरपर्दो छ ।  उपाध्यायका अनुसार सङ्क्रमण भएको ४८ घण्टाभित्र यो औषधि बिरामीलाई दिइयो भने त्यसको प्रभावकारिता ९० प्रतिशत हुन्छ ।  ७२ घण्टाभित्र दिएमा पनि ७० देखि ८० प्रतिशत प्रभावकारी हुने भनाइ उहाँको छ ।  तर यो औषधि खुवाउनु पहिले रोग निदान गर्नु जरुरी छ ।  जाँचबाट स्वाइन फ्लु भएको यकिन गरेपछि मात्र टामी फ्लु औषधि खान दिनुपर्छ ।  अन्यथा यसको दुष्प्रभाव पर्छ र अन्य खालको रुघाखोकी पनि गम्भीर भइदिन्छ ।  
माइक्रोबायोलोजिस्ट उपाध्याय भन्नुहुन्छ– हाम्रो यहाँ विडम्बना छ, अहिले त रुघाखोकी लाग्यो कि त्यसको जाँच नगरी लक्षणका आधारमा स्वाइन फ्लु लाग्यो भनेर औषधि खुवाइदिने जस्तो कार्य भइरहेको छ । यसले समस्या बढाउँछ मात्र ।  यसैले स्वाइन फ्लु भए नभएको पक्का नहुन्जेल जथाभावी औषधि नखुवाउन उहाँको सुझाव छ ।  उपाध्याय भन्नुहुन्छ– हामीकहाँ त सामान्य समस्यामा पनि बहुऔषधीय उपचार पद्धति हावी भएको देखिन्छ । यसले कसैलाई राम्रो गर्दैन । पहिले रोग पत्ता लगाउने अनि मात्र त्यसको उपचारमा आवश्यक पर्ने मात्र औषधि दिनुपर्छ ।  इन्फ्लुएन्जाको अनुसन्धानमा वषौँदेखि सक्रिय मानिसलाई बेवास्ता गरेर रोगसँग असम्बन्धित मानिसले उपचार गर्ने र वकालत गर्ने जस्तो विडम्बना पनि नेपालमा मौलाएकाले रोग सम्बन्धी जनचेतना जगाउने विषयमा समस्या भएको देख्नुहुन्छ उहाँ ।  अर्काेतर्फ इन्फ्लुएन्जाको सङ्क्रमण जसै बढ्दै जान्छ औषधिको व्यापार पनि फस्टाउँछ ।  इन्फ्लुएन्जा सङ्क्रमणका लागि भनेर चीनबाट लुकाइछिपाइ खोप ल्याउने गरिएको जानकारी दिँदै डा. पाण्डे भरपर्दो खोप नुहँदा रोग झनै बलियो भएर जान्छ भन्नुहुन्छ ।  तपाईंले भरपर्दो खोप लगाउनु भएन भने रोगसँग लड्ने तपाईंको शक्ति कमजोर त पर्छ नै तपाई भ्रममा पनि पर्नुहुन्छ । सुरक्षित छु भन्ने ठान्दा रोगले सङ्क्रमण गरेर थला पारिदिन्छ । हामी खोप न हो भनेर आपूm खुसी औषधि पसलमा गएर खोप किन्छौँ र लगाउँछौँ, यसो गर्नुहुन्न –डा. पाण्डेको भनाइ छ ।  सामान्य रुघा लाग्दासमेत एन्टिबायोटिक्स खान दिने चिकित्सकीय परम्परा यहाँ छ ।  इन्फ्लुएन्जाको सङ्क्रमण भएमा पहिले त एन्टिभाइरल औषधि नै खाने हो पछि गएर ब्याक्टेरियाले सङ्क्रमण गर्नसक्ने भएकाले आवश्यकता हेरेर मात्र दोस्रो चरणमा एन्टिबायोटिक्स खानुपर्ने सुझाव डा. पाण्डेको छ ।  स्वाइन फ्लुको उपचारका लागि नेपालमा उपलब्ध र प्रचलित औषधि टामी फ्लु नै हो ।  जुन सरकारी अस्पतालमा उपलब्ध छ ।  निजी क्षेत्रका अस्पतालले कुन प्रणालीले स्वाइन फ्लुको उपचार गरिरहेका छन् त्यो विचारणीय छ ।  डा. आचार्यले दिएको जानकारी अनुसार स्वाइन फ्लुको उपचारका लागि भनेर कुनै पनि निजी अस्पतालले अहिलेसम्म सरकारी निकायमा टामी फ्लु माग गरेका छैनन् ।  
डा. आचार्यले उनीहरूले बेग्लै किसिमले उपचार गरिरहेको हुनसक्छ, वयोधामा एक जनाले स्वाइन फ्लुबाट ज्यान गुमाएको कुरा आएको छ । उनीहरूले हामी कहाँबाट औषधि लिएर गएका छैनन् भन्नुभयो ।  स्वाइन फ्लुको उपचार राम्रोसँग कहाँ हुन्छ र कहाँ त्यसको औषधि उपलब्ध छ भन्ने जानकारी नभएर हो या विश्वास र अविश्वासको भुमरीमा परेर हो स्वाइन फ्लुको उपचारका लागि बिरामी निजी अस्पतालमा दौडिरहेका छन् तर सो रोगको उपचार गर्ने सम्बन्धित अस्पताल काठमाडौँको टेकूमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन फ्लुका एक जना बिरामी पनि भर्ना भएका छैनन् ।
के हो ? इन्फ्लुएन्जा
इन्फ्लुएन्जा भाइरसका विभिन्न स्वरूपले मानव सभ्यतालाई चुनौती दिनेगरेको छ र यसमा पशुमा हुने रोगको मान्छेमा ‘अनुकूलता’ले सिर्जित अवस्था डरलाग्दो छ । सन् १९१८ को वसन्त ऋतुमा स्पेनमा पैmलिन सुरु गरेको इन्फ्लुएन्जाले म्याड्रिडका बासिन्दा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित हुन थाले ।  पछि महामारीको रूप लिन थाल्यो र केही महिनामै भटाभट मान्छे मर्न थाले ।  स्पेनिस इन्फ्लुएन्जा भनिएको यस रोगले विश्वमा करिब १० करोड व्यक्तिको ज्यान लियो ।  चिन्ताजनक कुरा के छ भने आजसम्म पनि इन्फ्लुएन्जाका भाइरसको नश्ल (स्ट्रेन) परिवर्तन जारी छ ।  पशुका भाइरस मान्छेमा सङ्क्रमण गर्नेगरी अनुकूल भएका छन् ।  
आठ वर्षयता विस्तार भइरहेको स्वाइन फ्लु इन्फ्लुएन्जाको एक स्वरूप हो ।  जुन सुँगुरमा हुने इन्फ्लुएन्जा भाइरसको नश्ल परिवर्तन भई मान्छेमा सङ्क्रमण गर्नसक्ने गरी विकसित भएको छ ।  स्वाइन फ्लुको भाइरस पनि सन् १९१८ को स्पेनिस फ्लु झैँ ‘एन–१ एच–१’ प्रकृतिको छ ।  स्वाइन फ्लुबाट चर्चित भए पनि कसैले यसलाई मेक्सिकन फ्लु, कसैले साउथ अमेरिकन फ्लु भनेका छन् त विश्व स्वास्थ्य सङ्गठनले इन्फ्लुएन्जा ए÷एच–१ एन–१ भन्ने गरेको छ ।  मेक्सिकोबाट सन् २००९ मा सुरु भएको स्वाइन फ्लुबाट अहिलेसम्म मृत्युदर धेरै नदेखिए पनि यस भाइरसको उत्परिवर्तन (म्युटेसन) भएर नयाँ नश्ल आयो भने स्थिति भयावह हुने निश्चित छ ।  
स्वाइन फ्लुको तुलनामा बर्ड फ्लुले ज्यान लिने सम्भावना बढी हुन्छ तर स्वाइन फ्लुको भाइरस मान्छेबाट मान्छेमा सोझै सर्छ भने बर्ड फ्लुको भाइरस पक्षीबाट मान्छेमा सर्नेगर्छ ।  त्यसैले मान्छेबाट मान्छेमा सर्ने भएकै कारण स्वाइन फ्लुसँग विश्व बढी त्रसित भएको छ ।  स्वाइन फ्लु एक प्रकारको इन्फ्लुएन्जा अर्थात् रुघाखोकी हो ।  रुघाखोकीको भाइरस फरक फरक हुने भएकाले भाइरसको प्रकृति अनुरूप रोगको जटिलता हुनेगर्छ ।  स्वाइन फ्लुको भाइरस सुँगुर र मान्छेमा हुने एक प्रकारको भाइरसको संयोजनबाट बनेको छ ।  सुँगुरलाई रुघा लगाउने भाइरस र मान्छेमा हुने रुघाको भाइरसका जेनेटिक गुणको संयोजन भएर नयाँ नश्लको भाइरस मेक्सिकोमा उत्पन्न भएको थियो ।  जुन स्वाइन फ्लुका नामले परिचित भयो ।  अहिलेको स्वाइन फ्लु भाइरसको मारक क्षमता धेरै छैन तर इतिहासका घटनाक्रमलाई हेर्दा लापरबाही गर्ने अवस्था छैन ।  
मौसमी इन्फ्लुएन्जा अर्थात् सामान्य रुघाखोकीभन्दा स्वाइन फ्लुको लक्षण अलि फरक छ तर स्वाइन फ्लुका सबैजसो रोगीमा विशिष्ट लक्षण पाइएको छ ।  खोकी लाग्ने र ज्वरो आउने तथा शरीर चिलाउने लक्षण स्वाइन फ्लुले देखाउँछ ।  कसैकसैलाई झाडापखाला पनि लाग्ने र घाँटी खस्खसाउने हुनसक्छ ।  इन्फ्लुएन्जा भाइरससँग जुझ्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । पाका मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले उनीहरूलाई रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ ।  त्यसैले स्वाइन फ्लुबाट बच्न आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाएर सुरक्षित रहन केही उपाय विशेषज्ञले सुझाएका छन् ः
-   निदाएमा हाम्रो शरीर ताजा हुन्छ ।  त्यसैले प्रत्येक राति अँध्यारोमा औसत आठ घण्टा सुत्ने गर्नुपर्छ ।
-    चिनी वा गुलियो खाएमा केही समयलाई प्रतिरक्षा प्रणाली खल्बलिन्छ ।  रोगसँग लड्ने रगतका सेता रक्तकोष चिनीको कारण कमजोर बन्छन् ।  
-    मान्छेले आफैँ भिटामिन ‘सी’ उत्पादन गर्न सक्दैन ।  भिटामिन ‘सी’ले रुघासँग जुझ्न धेरै सहयोग गर्छ ।  अमिला फलपूmलमा पर्याप्त भिटामिन ‘सी’ पाइन्छ ।  भिटामिन ‘ए’ले पनि फाइदा गर्छ तर विटा क्यारोटिन खानुहुँदैन ।  त्यस्तै जिङ्कले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।  
-    हाम्रो आन्द्रामा कैयौँ प्रकारका हितकारी ब्याक्टेरिया रहेका हुन्छन् । प्रतिरक्षा प्रणालीमा यिनीहरूको भूमिका रहन्छ ।  आन्द्रामा लिम्फेटिक तन्तु हुन्छ ।  जसलाई हितकारी ब्याक्टेरियाले सहयोग पु¥याउँछन् । यी ब्याक्टेरियालाई सामान्य भाषामा प्रोबायोटिक्स भनिन्छ ।  अचेल प्रोबायोटिक्स भएको दही पनि पाइन्छ ।  

– उमेश ओझा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना