राजपामाथि चुनावमा भाग लिन दबाब


सुरेशकुमार यादव

काठमाडौँ, साउन २३ गते ।  असोज २ गते हुने स्थानीय तहको चुनावमा भाग लिन राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब परेको छ ।  
बबरमहलस्थित पार्टी कार्यालयमा चार दिनसम्म चलेको पदाधिकारी बैठकपछि आइतबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावमा भाग लिनुपर्ने दबाब परेको हो ।  बैठकको उद्घाटन सत्रमा हुँदै पार्टीका संयोजक महन्थ ठाकुरले सरकारले गरेको सहमतिअनुसार कुनै पनि माग पूरा नगरेकाले चुनावमा जान नहुने धारणा राख्नुभयो ।
‘चुनावमा भाग लिने कतिपय थुनामा छन्, अनि राजपा नेपाल कसरी चुनावमा जान्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
तर सोही दलका सह–अध्यक्ष हृदयश त्रिपाठीले प्रदेश – २ मा हुन गइरहेको स्थानीय तहको चुनावमा भाग लिन सुझाव दिनुभएको छ ।  चुनावको बहिष्कार तथा बिथोल्ने कार्यक्रम प्रभावकारी नहुने देखिएकाले चुनावमा भाग लिन सुझाव दिँदै उहाँले चुनावमा भाग नलिने हो भने चुनाव नै हुन नदिने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।  पार्टी गठन भएदेखि असन्तुष्ट रहनुभएका त्रिपाठीले पार्टीका अधिकांश बैठकमा अनुपस्थित रहँदै आउनुभएको थियो ।  आइतबारको बैठकमा आफ्नो कुरा राख्न उहाँ जानुभएको थियो ।
‘प्रदेश नम्बर १, ५ र ७ मा चुनाव हुँदा राजपा नेपालले न बहिष्कार न चुनावजस्तो भयो भन्दै त्यसैले असोज २ मा पनि त्यही अवस्था हुन्छ,’ उहाँले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘बहिष्कार गर्न नसक्नुभन्दा चुनावमा भाग लिनु नै राम्रो हो । ’RAJAPA
 ‘प्रदेश नम्बर ५ र ७ नम्बरमा राजपा नेपालले गरेको कार्यक्रम राज्यले बिथोलेपछि त्यहाँका जनता निराश छन् ।  अब चुनाव बहिष्कार गर्ने होइन चुनावमा भाग लिनुपर्छ’, त्रिपाठीले स्पष्ट गर्नुभयो ।  
अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि चुनावमा भाग लिन सुझाव दिनुभयो ।  राजपा नेपाल अहिले यस्तो अवस्थामा पुगेको छ कि चुनावमा भाग लिँदा पनि राम्रो, नलिँदा पनि राम्रो, त्यसैले साउन २४ गतेभन्दा पहिले नै पार्टीले चुनावको विषयमा के गर्ने विषयमा टुङ्गो लगाउनुपर्ने सुझाव दिनुभयो ।  
उहाँले चुनाव रोक्न सकिएन भने बहिष्कार गर्नुको कुनै अर्थ रहँदैन र चुनाव रोक्ने क्षमता छैन भने चुनावमा जाँदा नै राम्रो हुन्छ भन्नुभयो ।  
राजपा नेपालमा अध्यक्ष मण्डल नै सर्वसत्तावादी भएको छ, अरू पदाधिकारीहरूको कुनै भूमिका नै नरहको उल्लेख गर्दै उहाँहरूले यस विधानले कुनै पनि हालतमा पार्टीअगाडि बढ्न नसक्ने धारणा राख्नुभएको थियो ।  पार्टीका अध्यक्ष मण्डलको क्रियाकलापका कारण पार्टीका कार्यकर्ताहरू निराश रहेको बताउँदै उहाँहरूले एकीकरणपछि जति उत्साह थियो, त्यति अहिले नरहेको टिप्पणी गर्नुभयो ।  
उहाँहरू असन्तुष्टिपछि ध्यक्ष मण्डलका सदस्यहरूले धारणा राख्नुभएको थियो ।  अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र राजकिशोर यादवले पार्टीको विधान अपूरो रहेको स्वीकार गर्दै त्यसलाई सबैको सल्लाह र सुझावमा व्यापक संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।  हतारमा पार्टी दर्ता गराउनु थियो त्यही भएर यस्तो विधान आएको स्वीकार गर्दै अध्यक्ष मण्डलका सदस्य यादवले यसलाई पुर्नलेखन नै गर्नुपरे गर्ने धारणा राख्नुभएको थियो ।  तर, यथास्थितिमा राजपा नेपाल चुनावमा नजाने धारणा राख्नुभएको थियो ।  बैठक मङ्गलबारसम्म चल्नेछ ।  राजपा नेपालको केन्द्रीय कार्यसमिति ८१५ जनाको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना