चन्द्रग्रहणको ज्योतिषशास्त्रीय विश्लेषण

Purushottam bhattraiपुरुषोत्तम भट्टराई




 

ब्रह्माण्डीय पिण्डहरूमा अन्तर्निहित गतिस्थितिका कारण आकाशीय परिघटनाहरू हुने गर्छन् ।  यस्तै घटनाहरूमध्ये ग्रहण पनि एउटा आकाशीय घटना हो, जुन प्रकाशित र अप्रकाशित तीन पिण्डहरूका बीच हुने अन्योन्याश्रित सम्बन्धका कारण घटित हुन्छ ।  यद्यपि, पञ्च तारा ग्रहहरूमा पनि ग्रहण हुन्छ तर पनि पृथ्वीवासीमा त्यसको खासै असर नपर्ने हुँदा अनुसन्धाताहरूले पनि अन्य ग्रहहरूमा हुने ग्रहणबारे खासै गम्भीर अध्ययन गरेको पाइँदैन ।  मङ्गल, बुध, वृहस्पति, शुक्र र शनिलाई पञ्च तारा ग्रह भनिन्छ ।  
ग्रहपिण्डहरूमा हुने ग्रहणहरूमध्ये सूर्यग्रहणपछि चन्द्रग्रहणलाई नै खगोलशास्त्रीले बढी महŒवका साथ लिने गरेको देखिन्छ ।  चन्द्रविम्बको अध्ययन गर्न ग्रहण नलागेको समयमा पनि सम्भव हुन्छ तर अति तीक्ष्ण किरणहरूका कारण अन्य समयमा सूर्यविम्बको अध्ययन गर्ने काम असाध्यप्रायः हुन्छ ।  ग्रहणका समयमा केही सहज हुने हुँदा वर्षांैदेखि खगोलशास्त्रीहरूले सूर्यग्रहणको प्रतीक्षा गरिरहेका हुन्छन् ।  त्यसमाथि पनि खग्रास सूर्यग्रहणलाई त खगोलशास्त्रीहरू एउटा ज्यादै महŒवपूर्ण उपलब्धिका रूपमा लिन्छन् ।  यसो भए पनि चन्द्रग्रहण र सूर्यग्रहणका सम्बन्धमा एउटा रोचक तथ्य के छ भने वर्षमा चन्द्रग्रहणको भन्दा सूर्यग्रहणकै सम्भावना बढी हुन्छ ।  वर्षमा चारपटकसम्म सूर्यग्रहणको सम्भावना हुन्छ भने चन्द्रग्रहणको सम्भावना बढीमा तीनपटकमात्र हुन्छ ।  पृथ्वीको एकैठाउँबाट हेर्ने हो भनेमात्र सूर्यग्रहणभन्दा चन्द्रग्रहणको सम्भावना बढी देखिन्छ तर पृथ्वीभरमा हेर्दा सूर्यग्रहणकै सम्भावना बढी हुने गर्छ ।
चन्द्र–सूर्यग्रहणका विषयमा संसारभरि आ–आफ्ना संस्कृति र पुराकथाहरूमा अनेक किंबदन्तीहरू प्रचलित भए पनि वास्तविक तथ्य के हो भने सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण र सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण हुन्छ ।  यसरी प्रकाशित र अप्रकाशित तीन पिण्डको उपस्थितिमा हुने ग्रहणको स्पर्श–मोक्षका दिशा र ग्रहण लागेको समयको विविध पक्षका आधारमा पौरस्त्य ज्योतिषको संहिता भागमा सम्बन्धित क्षेत्रमा घट्ने शुभाशुभ फलहरूबारे निरूपण गरिएको पाइन्छ ।  त्यही संहिताशास्त्रका आधारमा विक्रम संवत् २०७४ सालको श्रावण शुक्ल पूर्णिमा (साउन २३ गते सोमवार) को चन्द्रग्रहणको शुभाशुभ पक्षको विवेचन यस लेखमा गरिएको छ ।  ग्रास परिमाणको हिसाबले थोरै विम्ब ग्रस्त हुने भए पनि उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन कर्म गरिने श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमाका दिन) को दिनमा परेकाले यो चन्द्रग्रहणले निकै चर्चा पायो, यतिसम्म कि नेपाली समाजमा जनैपूर्णिमा कुन दिन मनाउने ? नागपञ्चमीका दिनमा कि पूर्णिमाकै दिनमा ? वा अरू कुनै दिनमा ? भन्ने अनावश्यक बहस चलिरहँदा २३ गतेका दिन ग्रहणै लाग्दैन भन्ने वक्तव्यबाजीहरू समेत निस्कन पुगे ।  
चन्द्रग्रहणको कारण पृथ्वीको छायाँ हो ।  जब पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गर्छ, तब चन्द्रविम्बमा ग्रहण सुरु हुन्छ ।  सूर्यग्रहणमा चन्द्रमा सूर्यविम्बमा प्रविष्ट भएजस्तो देखिन्छ ।  यसै कारण चन्द्रग्रहणमा चन्द्रविम्बको पूर्व भागमा स्पर्श हुन्छ तर सूर्यग्रहणमा सूर्यविम्बको पश्चिम भागमा स्पर्श हुन्छ ।  
ज्योतिषशास्त्रअनुसार कल्पको आरम्भदेखि ६–६ महिनाको अवधिलाई भिन्नाभिन्नै पर्व संज्ञा दिइएको छ ।  यस्ता पर्व सातवटा हुन्छन् र तिनका अधिपति क्रमशः ब्रह्मा, चन्द्रमा, इन्द्र, कुवेर, वरुण अग्नि र यम मानिएका छन् ।  यसअनुसार वर्तमानमा ब्रह्म पर्व हुन्छ ।  ब्रह्म पर्वमा ग्रहण भएमा ब्राह्मणादि वर्ण र पशुपन्छीको वृद्धि, कल्याणको उदय, आरोग्यता र धान्यादि वस्तुको वृद्धि जस्ता शुभ फलहरू प्राप्त हुन्छन् ।  आग्नेय दिशाबाट प्रारम्भ भएको ग्रहण सैनिक, म्लेच्छ जाति एवम् अग्निजीवीका लागि कष्टकारक हुनेछ ।  साउन २१ गते शनिवार त्रयोदशी तिथिका दिन बिहान (१०ः४५ बजेतिर) सूर्यविम्बमा परिवेश देखिएकाले सैन्यसुरक्षाका क्षेत्रमा त्यसकोसमेत प्रभाव पर्ने कुरा संहिताशास्त्रको अध्ययनबाट देखिन्छ, यद्यपि वायुकृत परिवेशको न्यून फल हुने कुरा बताइएको पाइन्छ ।  मकर राशिमा चन्द्रमा हुँदा ग्रहण लाग्ने हुनाले सामुद्रिक जीव (माछा प्रभृत्ति जलचर प्राणी), राज्यका सल्लाहकार मन्त्री, सचिव, राजदूत, अधम काम गर्ने व्यक्तिहरू, मन्त्रविद्या र औषधिविद्याका ज्ञाताहरू, वृद्धहरू
(ज्येष्ठ नागरिक) एवम् आयुधजीवीहरूमा कष्ट बढाउनेछ ।  साउनमा लागेको ग्रहण हुनाले चीन, कम्बोडिया, कास्मिर, कुरुक्षेत्र (दिल्ली) तथा मध्यदेशवासीमा अशुभ फल प्राप्ति हुनेछ भने एक खुर भएका पशुहरू पीडित हुनेछन् ।  शारदीय धानको उब्जनी कमी हुनेछ ।  अन्यत्र सुवृष्टि भई उब्जनी राम्रो हुने हुनाले मानिस खुसी एवम् सुखी हुनेछन् ।  
ग्रहणको स्पर्श एवम् मोक्षका स्थितिका आधारमा सूर्य एवम् चन्द्रमाको दसप्रकारका ग्रास र दसप्रकारका मोक्ष हुन्छन् ।  ती दस स्पर्श र मोक्षका आधारमा ग्रहण लाग्ने क्षेत्रमा फरक–फरक फल प्राप्ति हुन्छन् ।  त्यसअनुसार चन्द्रग्रहण आग्नेय कोणबाट स्पर्श हुँदा सव्य ग्रास र इशानकोणबाट स्पर्श हुँदा अपसव्य ग्रास हुन्छ भने सूर्यग्रहणमा वायव्य कोणबाट स्पर्श हुँदा सव्य ग्रास र नैऋत्य कोणबाट ग्रास हुँदा अपसव्य ग्रास हुन्छ ।  साउन २३ गतेको चन्द्रग्रहणमा आग्नेय कोणबाट स्पर्श हुने हुनाले सव्य ग्रास हुनेछ ।  सव्य ग्रास हुँदा ग्रहण देखिने क्षेत्रमा अधिक वृष्टि हुनेछ तथा जनता भयरहित हुनेछन् ।  कतैकतै डुबानको समस्या देखिनेछ ।  ग्रास परिमाणलाई विचार गर्दा ग्रसन संज्ञक ग्रास हुनाले अति सम्पन्न देश र अति धनी व्यक्तिहरूको धन नाश हुनेछ ।  त्यस्तै, चन्द्रग्रहण नैर्ऋत्य कोणबाट मोक्ष हुनेछ ।  यो दक्षिणवायु नाम गरेको नाम गरेको मोक्ष हो र यसका कारण मानिसमा गुप्तरोग वा गुप्ताङ्गमा रोग बढ्नेछ भने वर्षा कमी हुनेछ ।  ग्रहण लाग्ने समयमा चन्द्रमालाई मङ्गल र सूर्यको सप्तम दृष्टि हुनेछ अर्थात् मकर राशिमा अवस्थित चन्द्रमालाई कर्कट राशिस्थित सूर्य र मङ्गलले देख्नेछन् ।  यस्तै ग्रस्त चन्द्रमामा शनिको तृतीय दृष्टि रहनेछ ।  विशेषतः मङ्गल र शनिको दृष्टि ग्रस्त चन्द्रमामा हुँदा युद्धभय, अग्निभय, अनावृष्टि, दूर्भिक्ष र तस्करजन्य भय वृद्धि हुने कुरा बताइएको छ ।  यसतर्पm सरकार र सर्वसाधारण सबै सचेत हुनु जरुरी छ ।  तर, ग्रस्त चन्द्रमामा वृहस्पतिको पञ्चम दृष्टिसमेत भएकाले ग्रहदृष्टिजन्य अशुभ फलहरू सबै शमन हुनेछन् ।
ग्रहणका समयमा ग्रहविम्बमा देखिने वर्णका आधारमा पनि पृथक–पृथक फल हुने कुरा प्राच्य ज्योतिषशास्त्रमा वर्णन गरिएको छ ।  वास्तवमा यी पृथक–पृथक वर्ण परावर्तित प्रकाशका कारण उत्पन्न हुन्छन् ।  सिद्धान्ततः सूर्य ग्रहणमा सूर्यविम्ब सधैँ कालो हुन्छ भने चन्द्रग्रहणमा स्वल्पग्रास हुँदा धूम्रवर्ण, अर्धग्रास हुँदा कृष्णवर्ण र सर्वग्रास हुँदा पिङ्गल वर्णको हुनेछ ।  अन्य पृथक–पृथक वर्ण भनेको छायाँमा देखिने वर्ण हो ।  २३ गतेको चन्द्रग्रहणमा नेपालबाट कृष्णवर्ण र पिङ्गलवर्णको दर्शन सम्भव छैन ।  ग्रहणको समयमा प्रायः बदली भई वृष्टि हुन्छ ।  झन् यसपालि त वर्षात्कै समय भएकाले पनि ग्रहण देखिने सम्भावना न्यून छ तर पनि देखिएको खण्डमा स्वल्पग्रास भएकाले धूम्रवर्णको देखिनेछ ।  धूम्रवर्ण हुँदा लोकमा कल्याणको सञ्चार र सुभिक्षको स्थिति तथा अल्पवृष्टि हुनेछ ।
माथि बताइएअनुसार ग्रहण लाग्ने, देखिने क्षेत्रमा
(समग्र देशमा) उपर्युक्त फलहरू हुने भए पनि हरेक व्यक्तिको राशीअनुसार पनि फरक–फरक फल प्राप्ति हुन्छ ।  जसअनुसार मेष, सिंह, वृश्चिक र मीन राशी भएकाहरूलाई शुभ फल प्राप्त हुनेछ भने बाँकी रहेका आठ राशीवाला मानिसलाई अशुभ फल प्राप्त हुनेछ ।  विशेषगरी श्रवण नक्षत्रमा चन्द्रमा हुँदा ग्रहण लाग्ने भएकाले श्रवण नक्षत्र र मकर राशी भएकाहरूलाई विशेष पीडा हुनेछ ।  
यद्यपि, ग्रहणजस्तो आकाशीय परिघटनालाई पृथ्वीमै बसीबसी गणना गरेर देखाउन सक्नुलाई ज्योतिषशास्त्रका विद्वान्हरूले चमत्कार भनेका छन् ।  धर्मशास्त्रमा त ग्रहण हुँदा सम्बन्धित विम्ब बसेको नक्षत्रलाई ग्रहणको ग्रासको (स्वल्प, अर्ध वा पूर्ण) स्थितिअनुसार एक महिनादेखि ६ महिनासम्मलाई शुभ कर्मका लागि निषेध गरिएको देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना