भैरहवा विमानस्थल विस्तार ठेक्का रद्द गर्ने अन्तिम चेतावनी


लक्ष्मण पौडेल

भैरहवा, साउन २४ गते ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सीभील एभिएसन कम्पनीलाई विमानस्थल आयोजनाले ठेक्का रद्द गर्ने अन्तिम चेतावनी दिएको छ ।
चिनियाँ कम्पनीले सन्तोषजनक रूपमा निर्माण कार्य गर्न नसकेका कारण कम्पनीलाई अन्तिमपटक चेतावनी दिँदै सुधारका लागि दुई महिनाको अवधि दिइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिनुभयो ।
उहाँले दुई महिनामा सन्तोषजनक काम गर्न नसके निर्माण कम्पनीसँग ठेक्का रद्द गरिने बताउनुभयो ।  साथै उहाँले विकल्पको रूपमा विमानस्थल निर्माणको लागि अर्को टेण्डर प्रक्रियाका कागजपत्रहरूसमेत तयार भइरहेको बताउनुभयो ।
‘निर्माण कम्पनीले सन्तोषजनक काम गर्नसकेको छैन, जसका कारण हामीले उसलाई राम्रो काम गर्नका लागि दुई महिनाको समय दिएका छौँ’–आयोजना प्रमुख शर्माले भन्नुभयो– ‘यदि उसले दुई महिनामा पनि राम्रो गर्न सकेन भने हामीले ठेक्का रद्द गरेर अर्को टेण्डर प्रक्रियामा जान्छौँ । ’
  उहाँले निर्माण कम्पनीले आर्थिक कारण देखाउँदै काम गर्न नसकेको बताउनुभयो ।  मासिक छ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा पछिल्लो समयमा चिनियाँ कम्पनीले एक प्रतिशतभन्दा कम दरले मात्र काम गरिररहेको आयोजनाले जनाएको छ ।  विमानस्थलमा रन वे र टर्मिनल भवनको काम भइरहेको छ ।  अहिले विमानस्थलको करिब ३० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।
  विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीले नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रा.लि.लाई जिम्मा दिएको थियो ।  यी दुवै कम्पनीबीच रकम लेनदेनको विषयमा विवाद भएपछि विगत पाँच महिनादेखि चिनियाँ कम्पनी आफैंले विमानस्थलको निर्माण कार्य गर्दै आएको छ । bhairawa
  २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनीले छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँमा ग्लोबल टेन्डरबाट सन् २०१८ जुलाई महिनासम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।  
एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भएको हो ।  निर्माण कम्पनीले काममा गरेको ढिलाइका कारण अब विमानस्थल समयमै सम्पन्न नहुने देखिएको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना