एक वर्षमै थपिए २४ लाख ग्राहक


विश्वास रेग्मी

काठमाडौँ, साउन २४ गते ।  सरकारी लगानीको नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको सङ्ख्या एक वर्षमै २४ लाखले बढेको छ ।  टेलिकमको तथ्याङ्क अनुसार गतवर्षको असार मसान्तदेखि यस वर्षको जेठ मसान्तसम्म २४ लाख २७ हजार ८९६ जना ग्राहक थपिएका छन् ।  योसँगै जेठसम्म टेलिकमको सेवा प्रयोग गर्नेको सङ्ख्या कुल एक करोड ७४ लाख ४२ हजार ९२२ पुगेको छ ।  यो सङ्ख्या अघिल्लो वर्षको असार मसान्तसम्म एक करोड ५० लाख १५ हजार २६ रहेको थियो ।  Nepal-Telecom-Logo
विगत चार वर्षको टेलिकमको तथ्याङ्क अनुसार यस अवधिमा करिब ७० लाख ग्राहक थप भएका छन् ।  चार वर्षअघि अर्थात् २०७१ असार मसान्तसम्म टेलिकमको कुल ग्राहक सङ्ख्या एक करोड नौ लाख चार हजार ४६२ थियो ।  त्यस यताका चार वर्षमा प्रत्येक वर्ष औषत २० लाखले ग्राहक थपिंदै गएको कम्पनीको तथ्याङ्क छ ।  
विशेष गरी टेलिकमले उपलब्ध गराउँदै आएको जीएसएम मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदा समग्र ग्राहक आधारमै वृद्धि आएको देखिएको छ ।  विगत एक वर्षको तुलनामा मात्रै टेलिकमका २३ लाख ६६ हजार ९४७ जना मोबाइल प्रयोगकर्ता थप भएका छन् ।  योसँगै टेलिकमको जीएसएम ग्राहक सङ्ख्या पनि एक करोड ५१ लख ६६ हजार ८५ पुगेको छ ।  जुन अघिल्लो वर्षको टेलिकमका ग्राहकमध्ये जीएसएम मोबाइल प्रयोगकर्ता जेठ मसान्तसम्म एक करोड ५१ लाख ६६ हजार ८५ पुगेका छन् ।  यो सङ्ख्या अघिल्लो वर्षको असार मसान्तसम्म एक करोड २७ लाख ९९ हजार १३८ थियो ।  
टेलिकमले उपलब्ध गराउँदै आएको सीडीएमए र फिक्स्ड लाइन प्रयोगकर्ताको सङ्ख्यामा भने खासै वृद्धि भएको देखिँदैन ।  विगत एक वर्षको अवधिमा ५२ हजार ५७७ जना ग्राहक थप भई जेठसम्म टेलिकमका सीडीएमए प्रयोगकर्ता १५ लाख ९४ हजार ८४६ पुगेका छन् ।  त्यस्तै यस अवधिमा आठ हजार ३७२ जना थपिएसँगै टेलिकमका कुल फिक्स्ड लाइन प्रयोगकर्ता छ लाख ८१ हजार ३९९ पुगेको छ ।  नेपालमा फिक्स्ड लाइन सेवा उपलब्ध गराउने टेलिकम एउटा मात्र सेवा प्रदायक हो ।  कम्पनीले हालै फिक्स्ड लाइनमा प्रयोग हुँदै आएका पुराना स्वीचिङ उपकरणलाई आइपीमा आधारित उपकरणले प्रतिस्थापनको काम पनि सुरु गरेको छ ।  
डेटामा पनि सुधार
एक वर्षको अवधिमा टेलिकमको डेटा प्रयोगकर्ता करिब आठ लाखले बढेका छन् ।  टेलिकमको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म कुल डेटा प्रयोगकर्ता ८३ लाख ९५ हजार ६७० पुगेको छ ।  डेटा प्रयोगकर्ता पछिल्लो समय टेलिकमको आम्दानीका महìवपूर्ण आधार बन्न थालेका छन् ।  विगत चार वर्षको अवधिमा करिब ३७ लाख डेटा प्रयोगकर्ता थपिएको कम्पनीले जनाएको छ ।  टेलिकमले मोबाइल डेटासहित फिक्स्ड लाइनमा आधारित एडीएसएल, चौथो पुस्ताको वाइम्याक्स र फाइबरमा आधारित एफटीटीएचमार्फत इण्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।  कम्पनीले गत पुष महिनादेखि नेपालमै पहिलोपटक फोरजी सेवा पनि सञ्चालनमा ल्याएको छ ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना