खाल्डोमाण्डू, तालमाण्डू, बेहालमाण्डू, काठमाण्डू !

Badri p dahal बद्रीप्रसाद दाहाल



 

नेपाली भाषा वाङ्मयका प्रथम कवि गनिएका भानुभक्त बूढाले तनहूँदेखि दश दिन लगाएर एघार नम्बरको बसमा आई काठमाडौँ टेक्नेबित्तिकै हालको वाक्वाक्मती, सिस्नुमती र धुकुचावती बन्न पुगेका नदीहरूको बाढीलाई जित्दै काव्य भेल ल्याएका थिए रे ।  रसिक बूढा न
ठहरिए ! यो ठाउँको रमणीय दृश्य देखेर मन्त्रमुग्ध हुँदै सुन्दरीजलको झर्ना नै माथ गर्दै कविताका अर्ना नचाए छन् ।  बालाजुलाई त पृथ्वी तलको स्वर्ग भनेर भावनामा छँटाउँदै हामीलाई त मजैले ढँटाइदिएछन् बा ? अहिलेको तालमाण्डू वा खाल्टोमाण्डूलाई अलकापुरी, कान्तिपुरी र शान्तिपुरीको विशेषणमा मजैले सिङ्गारपटार पनि गरेछन् ।  अनि साडीले कुर्कुच्चै ढाकी लामो बाहुले चौबन्दीमा स्तन मण्डल नाभिपटल छोपेर अलि–अलि मुख देखाउँदै हिँड्ने नवयौवनाहरूको लहलहाउँदो चमचमाउँदो बैँसबाट मोहित हुँदै ‘चपला–अबलाहरू एक सुरमा ।  गुनकेशरीको फूल ली शिरमा । । हिड्न्या सखी लीकन ओरिपरि ।  अलकापुरी कान्तिपुरी नगरी । ।’ भनेर निकै हिट खाले काव्यवाँणले त्राण दिएछन् विनोदी बूढाले ।  
 यतिखेरका सबानग्न, साँढेनग्न, पौनेनग्न र कथाले माघेमा बजे नग्नसम्म हुने कामिनीहरूलाई भेटेका भए त पाठकको ब्रह्मचर्यमा समेत धावा बोल्न सक्ने सिर्जना दिन्थे होलान् भानुले ।  अझ वान पिसधारी मिसका पारदर्शी अधोवस्त्रमा मानचित्रै खुलस्त बनाउने पहिरन देखेका भए चरम श्रृङ्गार रसमा साउने भेल नै उराल्थे होलान् काव्यमा ।    बूढाका महाहिट खाले यस्ता कविता पढेर आधुनिक भनेका पच्छिमा दुनियाँले त भानुभक्तका परारतिर यहाँ ढलाइएका सालिक उता लगेर पूजा गरी राख्न पनि सक्थे होलान् कि ?
अब लागौँ कान्तिपुरीतिर ।  विष्णुका सहस्र नामलाई पनि माथ गरेर काठमाडौँले नयाँ कीर्तिमान कायम गरेको देख्दा गिनिज बुकसमेत नाम लेख्ने ठाउँ नपाई अलजिल्ल छ भनेर यमलोकका दूतहरूले भूतसित कुरा गरे रे ।  यो रिपोर्टको टिपोट केही अलपत्रकारहरूको तातो न्यूज हो ।  राम जाने उनीहरूले संवाद सुनेर भने वा स्वैर कल्पनामा उडन्ते गफ दोचारे ।  असङ्ख्य खाल्डा, अराजक ढल, असङ्ख्य गन्धा पोखरी र सडके भलमा मनग्गे एम्बुस थापेर अत्युत्तम महानगरको यात्रा गरिरहेको छ नेमुनिको भूमि काठमाडौँ ।  मेघा महासिटी, स्मार्ट महत्तर सिटी वा स्याटलाइट महामहत्तर सिटी ऐरे खैरे नगरसमेत बन्ने हल्लामा जनता रल्याइरहेको बतासे परिवेशमा यो ऐतिहासिक महानगरी ग्रेट, सुपर, वेष्ट वा कस्तो महासिटी बन्ने हो यसको जिम्मा यहाँका ढुकुरे छातीका अगुवालाई नै जिम्मा लगाउन बेस हुन्छ ।  नेपाल, काठमाण्डू, क्याटमाण्डू, अमरावती, अलकापुरी, देवनगरी, कलानगरी, देवपुरी, शिवपत्तन, हुँदै हाल आएर धुलोमाण्डू, धुँवामाण्डू, हिलोमाण्डू, खाल्टोमाण्डू, डोबिल्कामाण्डू, परखालमाण्डू, तस्करमाण्डू, जाँडमाण्डू, प्लास्टिकमाण्डू, नगर वरवधूमाण्डू, भ्रष्टमाण्डू, गाँजा–चरेस र मानव तस्करमाण्डू, लूटमाण्डू, फूटमाण्डू, अन्तर्घात एवम् बहिर्घातमाण्डू, फोहोरमाण्डू  कति ‘माण्डू’
कति ?? हजार जिब्रा भएका शेष नाग र त्यही कोटिका यहाँका राजनीतिज्ञलाई नै अरू नाम भन्ने जिम्मा लगाउन दिँदा मान हुन्छ होला भनेर एक बूढा गुरु खुरुरुरु मुखारबिन्दको रेकर्डर खोल्दै थिए ।  विवाह, व्रतबन्ध, जन्मोत्सव र अन्य खुसीयालीका भोज, भतेर र गेटटुगेदरमा जाँदा ठाँटिएर गएको पहिरनमा सवारी साधनले सडके हिलोको पचाका ताकेर बिरूप बनाइदिँदा कैयौँ पटक रित्तै पेटमा फर्किन परेको पीरो अनुभव पनि छ कैयौँ भोजनभक्त स्वादे जिब्राका ।  फूटपाथे मनुवाका सडक यात्राका कथा व्यथापरक छन् ।  हिलो धुलो र जामले थाल खाम् कि भात खाम् बनाउँदा महानगरीय यात्रा गाईजात्रा, लाखेजात्रा र भक्कू नाचकै अर्को संस्करण बनिरहेको छ ।  
 कति विदेशी गोरालगायतका अरू खाले मोराहरूले त ‘एसियाको कोपरा र फिकदानी’ भनेर फूलदानी जस्तो राजधानीलाई क्षुद्रवाचक बनाए भनेर जगल्टा पाल्दै विदेशी घुमन्तेका गाइड् भई हिँड्ने ठिटाहरू लागूऔषधिको नशामा बर्बराउँदै  थिए ।  हिजोआज त काठमाण्डू फगत् ‘ डेरामाण्डू, कङ्क्रिटमाण्डू, घरमाण्डू’ बनेर अझ फिँजारिँदै छ ।  ‘घर–घरमा सिंहदर्बार भनून्  वा दुर्गम  गाउँलाई नगर, उपनगर’ मा बढोत्तरी गरुन् यो त झन्–झन् ‘डेरामाण्डू’ मा रूपान्तर हुँदै पानी, तेल, बत्तीदेखि पत्तीसम्म, पराइ देशबाटै झिकाइन्छ ।   देशका कमिसन खोर कर्मचारी र निर्माण व्यावसायीका झारा तिराइका पहिरे कच्चा बाटो पार गर्दै कहिले दैनिक उपभोग्य सामान आइपुग्ला ? को प्रतीक्षामा लाममा कोचाकोच हुनै व्यस्त छौँ हामी ।  यतिखेर स्थानीय सरकारको संवैधानिक सवाललाई बबाल बनाउन अधिकार सङ्कोचन गर्ने ऐन, कानुन र नियम ल्याउन सिंहदर्बारका चम्बू जम्बूहरू लागी परे भनेर कैयौँ पालिकापति पार्टी हेडक्वाटरतिर हाइकमानले नदेख्ने गरी धारे हात लगाएर खासखुस कराउँदै पनि छन् ।  ‘राजा महेन्द्रको विकेन्द्रीकरण, राजा वीरेन्द्रको गाउँफर्क, ०४८ पछिका पार्टी हाइकमानहरूको ग्रामीण स्वावलम्बन र आफ्नो गाउँ आफैँ बनाउँ’ अनि एकथरिको प्रजातान्त्रिक समाजवाद, अर्को मुखियाको बहुदलीय जनवाद र इतर जिम्हलहरूको जनताको जनवाद बिचल्लीमा रिँङेझैँ ‘घर–घरमा सिंहदर्बार’ भन्ने नाराले पनि अहिलेसम्मको आन्दोलनको स्पीरिटलाई नाङेगेझार पार्छ कि भन्ने शङ्काले लङ्का पिटेको छ धेरैको मनमा ।  
 सेलरोटीजस्तो बाहिरी चक्रपथ, रेलमार्ग र घर–घरमा ग्यास जोडिदिने लगायतका हावादारी गफमा फुक्का भएर उखानटुक्का बजार्ने राजनीतिका मुक्काबाजहरूले नमुना महानगरको स्वैर कल्पनामा कविताकै बाढी ल्याए तर पुनर्मूषीको भव भई थन्किए ।  बीस वर्षअधि मेलम्चीको पानीले महानगर धुने महायोजना आज पनि सडकभर खाल्डा खनेर पैदल यात्रुहरूलाई समाधिष्थ गर्न कसिएको कसियै छ गाँठे ? ढलको दुर्गन्धलाई सडकमा जिम्मा लगाइदिएर यात्रुहरूलाई मलमूत्रको बाढीमा रौरव यात्रा गराउँदै यमपुर पु¥याउने  कौरववृत्ति वृद्धि हुन रोकिएको छैन ।  दूरसञ्चार, सडकविभाग, खानेपानी र सहरी विकास कमिसनकै चक्करमा आफू–आफूबीच पाखुरा सुर्का सुर्कीको अस्वस्थ प्रतियोगितामा सामेल छन् भनी नाम नबताउने शर्तमा एक पाका इन्जिनियरले रहस्यको गियर कुरै कुरामा खोले बा ? कागजी बाघका बिम्ब कर्मचारी र जनताका डिम्ब भनिएका राजनीतिज्ञ भानुभक्तकै पालाका भोलिवादका अनुसमर्थक भए भन्ने
जनगुनासो चुलीमै छ ।  डा. गोविन्द केसीजस्ता निस्पृह व्यक्ति अनशन क्रान्तिको रुद्री र खडाङ्गमा एघारौँ पटकका कर्ता बन्न पुगेका छन् ।  सञ्चारमा प्रतिबद्धताको प्रचार गरी सम्झौतामा ल्याप्चे ठोकेर  व्यवहारमा कार्यान्वयनलाई तिरस्कार गर्ने ठूला मान्छे कहिल्यै असल हुने कसरत नगरेकै  परिणाम हो यो  ।  
 कला, साहित्य, सङ्गीत, पर्यटन एवम् पौराणिक नगरी, जो काष्ठको सुन्दर मण्डपमा आफ्नो तान्त्रिक र मान्त्रिक चामत्कारिकताको बिम्ब बोकेको छ ।  यस्तो अमरावती नगरी ‘मरावती’ वा रोगको खाल्टो र प्रदूषणको बीभत्स थल बनेर थरी–थरीका विकृत नाममा सम्बोधित हुन पुगेको छ ।  यी सबै क्षुद्र नाम र विशेषणबाट मुक्त हुन महानगरीय गुरुयोजना यथाशीघ्र युद्धस्तरमा एक्सनमार्फत जान अपरिहार्य छ ।  धुलोमाण्डू, धूवाँमाण्डू वा समग्रमा बदनाममाण्डू बनाउन हुँदैन काठमाण्डू ।  यसैले यहाँका निवासी, यतिखेरका राज्यशासन प्रशासनका अगुवा, समाजसेवी तथा प्राज्ञहरूमा सद्बुद्धि र सद्भाव मौलाउनै पर्छ ।  सबैले एकै स्वरमा भनौँ जय काठमाण्डू ! सबैको दिल–दिमागमा सहज भावमा घन्कियोस् हराभरा सुन्दर काठमाण्डू !!!

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना