गठबन्धन–‘गिफ्ट’

 bashant prkashवसन्तप्रकाश उपाध्याय


 

विश्व परिवेशले ‘फ्रेन्डसिप–डे’ मनाइरहेका बखत नेपाली काँग्रेस र माओवादी केन्द्रका ‘भरतपुर–विजेता’ हरू विजयी ¥यालीमा थिए ।  कांँग्रेस–माओवादी गठबन्धनमा रेणु र पार्वतीबीच विभेद त थिएन नै, उल्टो यसपटक कांँग्रेसको चारतारे झण्डासँग हँसिया–हथौडाको ‘सिलाइ’ पनि देखियो ।  चितवनको प्रचण्ड गर्मीमा दुवै पार्टीका कार्यकर्ता ‘वृक्ष–छहारी’ मा रमिरहेका थिए ।  
लामो–बहस र पृथक्तनाव जन्माएको थियो यसपटक भरतपुरले ।  पहिलोपटक महानगरपालिका बनेको भरतपुरमा खासगरी नेपाली काँग्रेसका कार्यकर्ता महानायक बन्ने कि महाखलनायक ठहरिने ? दोधारमा थिए ।  काँग्रेस वर्चस्वको यस क्षेत्रले यसैकारण धेरै किसिमका वादविवाद र बहस जन्माएको थियो ।  अपितु ती प्रसङ्ग नारायणी नदीमा बगे र बगाइए ।  मुलुकले महानगर क्षेत्रमा दुर्लभ रूपमा महिला मेयर–उपमेयर पायो ।
बोझिलो र दुरुह विगत थियो काँग्रेस र माओवादीबीच ।  नेपाली काँग्रेसका सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विगतमा अनेकन माग राखेर जनमोर्चाको स्वरूप माओवादीमा परिवर्तित भएको थियो ।  चरम असहमति र राजनीतिक खिचातानीबीच दुई धु्रवको विमतिमा कहिले माओवादीले काँग्रेसतिर ‘नाल’ तेस्र्यायो त कुनै बखत यी दुई पार्टी एकअर्काकोे आमुन्ने–सामुन्ने रहे ।  मिल्नै नसक्ने वारि–पारिको नियतिलाई २०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनरूपी ‘पुल’ ले सहकार्यको बाटोमा लग्यो ।  गणतन्त्रदेखि धर्मनिरपेक्षताको कहिल्यै ‘जय’ नगरेको काँग्रेस ‘जनै’ फुकालेर पिर्कामा बस्यो ।  अनि कुनै दिन पनि संसदीय संस्कारको ‘आचमनी’ नगरेको माओवादीले समावेशीको ‘गायत्री’ जप्यो ।  
निश्चित थियो– राजनीतिक दर्शनमा थोरै लचकता र सम्झौता गरेपछि, एकदिन दलीय हठता र मूढता त्यागिने प्रसङ्ग ।  आकाशे नीलो सुटमा बालुवाटार प्रवेश गरेका प्रचण्डले जसै दौरा–सुरुवालमा सजिएका गिरिजाबाबुसँग ‘हात’ मिलाएका थिए, त्यसै दिनदेखि नौलो थिएन– समाजवादी लन्च र साम्यवादी डिनरबीच विभेद नहुने सन्दर्भ ।  राज्य आवश्यकताभन्दा दलीय गठजोडका कारण त्यसपछि क्रमशः क्रमशः
स्वीकारिएको हो– सहमति, सहकार्य र एकताका नारा ।  
भन्ने कुरा धेरै भन्न नमिल्ला राजनेता र राजनीतिले तर मुलुकमा जुन दिनदेखि हामीले समावेशी संस्कृतिमा ‘न्वारान’ ग¥यौँ, त्यही दिनबाट हामीले नस्वीकारीकन धर छैन एकअर्काको अस्तित्व ।  त्यसमाथि हामीले संवैधानिक व्यवस्था नै यस्तो गरेका छौँ– जहाँ अब वर्षौंवर्ष यही मिलजुलीको राजनीति हावी हुनेछ ।  हामीले चाहेर–नचाहेर पनि ‘गठबन्धन’ को यात्रा र मात्रालाई बोक्नैपर्ने छ ।  
वास्तवमा धेरै अतिशयोक्ति कुुरा भए यसबीचमा ।  नेपाली काँग्रेस पार्टी र यसको नेतृृत्वले लिएको बाटो र पाटोमाथि कार्यकर्ता तहदेखि नेताहरूले समेत जानेर–नजानेर चर्को टिप्पणी गरे ।  नेपाली काँग्रेस पार्टी जसको नेतृत्वमा मुलुकको वर्तमान संविधान जारी भयो र गरियो, त्यसको महŒवबोध गरिएन ।  सानेपा–संस्कृतिले तेह्रौँ महाधिवेशन ताका ‘सुशील–नेतृत्वमा संविधान जारी भएको’ गर्व त ग¥यो तर त्यसपछिको कार्यभार र कार्यनीतिलाई बिस्र्यो ।  
त्यसपछि ओली नेतृत्वमा सरकार बन्यो ।  त्यस सरकारको अवधिभर संविधान कार्यान्वयनको तहमा कुनै प्रगति भएन ।  ‘बालुवाटार–सिंहदरबार’ को मिटिङ गर्दागर्दै दिन बिते ।  ओली सरकारले सहमति, सहकार्य र एकताको मूल मार्ग र मर्म बिस्र्यो ।  दलहरूबीच मतैक्यता नहुँदा बरु राष्ट्रवादको सहायक गोरेटो र घोडेटोमा ‘विमतिका टाँकी’ फुलाइए ।  दलहरूबीच क्षेत्रीय, जातीय र भेगीय राजनीतिका निरर्थक बहस र विमतिले ठाउँ पायो ।  
यहीँनेर नेपाली काँग्रेस र यसका कार्यकर्ता एवम् नेताहरूले बुझ्नु जरुरी छ, मुलुक राष्ट्रवादको चर्को प्रलाप र प्रशस्तिबीच ‘कम्युनिष्ट–गठजोड’ को यात्रा उन्मुख थियो ।  काँग्रेस नेतृत्वले थोरै चुक गरेको भए त्यतिखेर ‘हँसिया–हथौडा’ को सामूहिक झण्डाको नाममा काँग्रेसको रुखले ‘प्रचण्ड–सूर्य’ को ताप बेहोर्नुपर्ने थियो ।  मुलुकमा सबैले देखेको, बुझेको र भोगेकै सत्य हो– यहाँ एउटा ठूलो तह र तप्का छन् जो जीवनपर्यन्त जुनसुकै झण्डा पनि उचाल्छन् तर किमार्थ उनीहरूले चारतारे झण्डा मन पराउँदैनन् ।  
हो, यसैकारण र यही तथ्यबोध गरेर नेपाली काँग्रेस नेतृत्वले दिएको हो, मुलुकलाई माओवादी–काँग्रेस गठबन्धनको ‘गिफ्ट’ ।  सरसर्ती हेर्दा माओवादी–काँग्रेस गठबन्धन धेरैका लागि अनौठो र अप्राकृतिक लाग्छ तर स्थानीय तह निकायको दुई चरणको निर्वाचनसम्मको परिणामलाई हेर्ने हो भने वर्तमान गठबन्धन नबनाइएको भए काँग्रेसलाई कुन रूपले घाटा हुने रहेछ ? त्यो सहजै अनुमान गर्न सकिन्छ ।  त्यति मात्र होइन, काँगे्रस–माओवादी गठबन्धनको ‘गिफ्ट’ स्वरूप नै माओवादीका प्रचण्ड नेतृत्वले स्थानीय तहमा पहिलो चरणको निर्वाचन गराउन सम्भव भएको हो ।  
हेर्दा देखिँदैन, अथवा परिणाम देखिए पनि त्यसलाई राजनीतिक बजारमा प्रचारप्रसार गर्न सक्दैनन् वर्तमान गठबन्धनको समीकरणले ।  अन्यथा मुलुकमा हट्दै गएको लोडसेडिङ, आर्थिक सूचकाङ्कमा भएको सुखद वृद्धि, घटेको मूल्यवृद्धि लगायत सुशासनमा देखिएको उत्साहप्रद अवस्था पनि वर्तमान गठबन्धनकै ‘गिफ्ट’ हो ।  त्यति मात्र होइन, प्रचण्ड नेतृत्वको सरकारपछि काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले जे र जसरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन गरायो, त्यसलाई पनि यस क्षण सम्झनैपर्छ ।  
त्यति मात्र होइन, वर्तमान संविधान जारी भएदेखि चर्को विमति र विग्रह जनाइरहेको तराई–मधेश केन्द्रित राजनीतिक दलसमेत वर्तमान गठबन्धनसँग घनीभूत छलफलबीच निकास खोजिरहेका छन् ।  वर्तमान गठबन्धनले तराई–मधेशका मागलाई ‘भूगोल र छाला’ को आरोपमा पहिलेझैँ ‘हेय–भाव’ राखेको छैन ।  गठबन्धनमा रहेका दलमध्ये नेपाली काँग्रेस पार्टीको हकमा त यसको आधारभूमि र मेरुदण्ड नै तराई–मधेश क्षेत्र हो ।  काँग्रेसका थुप्रै नेतालाई हेर्ने हो भने उनीहरूले रहरमा ‘कालापिला’ हालेर पान मात्रै खाँदैनन्, अपितु सदाझैँ भेट र भाषणमा ‘मैथिली–भोजपुरी’ बोल्छन् ।  
वर्तमान गठबन्धन–समीकरणको उपस्थिति संसद्मा जुन रूपले उल्लेख्य छ, उसैगरी यसले सरकार निर्माण क्रममा पनि ‘पीन ड्रप साइलेन्स’ का बीच ‘सरकार फैलावट’ गरेको छ ।  सत्तासीन आतुरता र वैयक्तिक स्वार्थसिद्धिमा देउवा नेतृत्वले मनपर्दी नियुक्ति र मनोनयन गरेको छैन ।  अहिलेसम्म जे–जति ठाउँमा जे–जस्ता व्यक्ति चयन भएका छन्, त्यसले जहीँतहीँ ‘राइट म्यान–राइट च्वाइस’ को अवधारणालाई प्रष्ट्याइरहेको छ ।  सत्तासँग गाँसिदा कतिपय मान्छेले पुरानो–विरासत र अहिलेको ‘भागबण्डा–मनोवृत्ति’ लाई अँगालिने अनुमान गरेका थिए ।  त्योभन्दा नितान्त भिन्न र ‘स्वर्णिम’ तवरबाट व्यक्ति चयन गरिएका छन् ।  
गठबन्धन संस्कृति भन्नासाथ त्यहाँ भिन्न–भिन्न पात्र र प्रवृत्ति समाविष्ट हुनुका साथै छुट्टाछुट्टै राजनीतिक दर्शन, आदर्श र सिद्धान्त हुन्छन् भन्ने हामीले बिर्सनुहुँदैन ।  हामीकहाँ राजनीतिक दलहरू कति छिटो मिल्छन् र कति चाँडै छुट्टिन्छन् भन्ने हेर्न टाढा जानुपर्दैन ।  राप्रपाको पछिल्लो विघटनदेखि राजपामा देखिएको उतारचढावलाई नै हेरे पुग्छ ।  यस्तो सङ्कीर्ण र दुरुह मनोवृत्तिबीच वर्तमान गठबन्धन जे र जसरी दिगो बन्ने यात्रामा उन्मुख भएको छ, त्यसले अल्पकालीन अर्थमा धेरै बहस जन्माए पनि दीर्घकालीन रूपमा मुलुकलाई छुट्टै दिशा प्रदान गर्ने छ ।  कहीँ–कतै हेर्दा एकाध जित्ने हारेका होलान् या कुनै ठाउँमा जमानत जफत हुनेले ‘पगरी’ पाएका होलान् ।  त्यसमाथि कोही कसैले पनि दुखेसो गर्नु जरुरी छैन ।  मूलतः यतिखेर वर्तमानको गठबन्धन–संरचनाले जसरी मुलुकलाई राजनीतिक संवेगका बीच चलायमान गराइरहेछ, त्यसले हामीमा विद्यमान ‘लेउ–मानसिकता’ लाई हटाउने काम गरेको छ ।  यो नै सबैभन्दा ठूलो उपलब्धि हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना