बेला बित्यो, रोपाइँ भएन


शालिग्राम नेपाल

चितवन, साउन २५ गते । साउनको अन्तिम साता भइसक्दा पनि चितवनमा रोपाइँ सकिएको छैन । गएको वर्ष यसबेला रोपाइँ सकिएको चितवनमा यस वर्ष भने ८३ प्रतिशत मात्र रोपाइँ भएको छ ।
पश्चिम चितवनको हजाराँै हेक्टर जमिनमा अझै रोपाइँ हुन बाँकी छ । रोपाइँ हुने गरी जिल्लामा ठूलो पानी परेकै छैन । कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले भन्नुभयो, साउनको १५ गतेपछि रोपाइँ गरे त्यसले उत्पादन राम्रो दिँदैन, यस वर्ष धानको उत्पादन घट्ने निश्चित छ ।
आकासे पानी नपर्ने, नहरको पानी नपाउने भएपछि पश्चिम चितवनको शारदानगर, गुञ्जानगर, चनौलीलगायतको स्थानमा रोपाइँ हुनसकेको छैन । गुञ्जनगरका देवी पौडेलले भन्नुभयो– ‘‘रोपाइँ हुन्छ की भनेर कुरेका छौँ, पानी परेको छैन । रोपाइँ हुने गरी ठूलो पानी नपर्दा खेत बाँझै हुने भयो । ’’ जेनेरेटरबाट पानी तानेर केहीले रोपाइँ गरे पनि अधिकांशको जमिन बाँझो भएको कृषि विकास कार्यालयले जनाएको छ ।
पश्चिम चितवनका पार्वतीपुर, गीतानगर, शिवनगर, चनौली, मेघौली, मङ्गलपुर, फूलबारीलगायतका स्थानमा रोपाइँ हुनसकेको छैन । जमिन मुनिबाट पानी तानेर सिँचाइ गर्न मिल्नेहरूले रोपाइँ गरे पनि आकासे पानीमा भर पर्ने किसानको रोपाइँ हुन नसकेको कार्यालयका प्राविधिक सहायक लामिछानेले जानकारी दिनुभयो ।
साउनको पहिलो साता रोपाइँ गर्ने गरी राखेको बीउ बूढो भएको छ त्यस्तो बीउ रोप्दा फल राम्रो लाग्दैन ।
यहाँ चैते धानमा हर्दिनाथ १ र २, चैते २ र ४ लगाउने गरिन्छ । गएको वर्ष २२ हजार मेट्रिक टन धान फलेकोमा यस वर्ष २५ हजार मेट्रिक्टन फल्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । चैते धानको क्षेत्रफल यस वर्ष वृद्धि भएको छ तर धानले मूल्य नपाउँदा भने किसानलाई समस्या भएको छ । ropai_2
कार्यालयले पूर्वी, पश्चिम र माडी क्षेत्र गरी तीन स्थानमा धानखेती हुने गरी पकेट छुट्टाएको छ । पूर्वी क्षेत्रमा १२ हजार हेक्टर, माडीमा तीन हजार हेक्टर र पश्चिम चितवनमा १४ हजार हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । धान उत्पादन राम्रो भए पनि लागत अनुसारको मूल्य किसानले नपाएको गुनासो कार्यालयमा आउने गरेको जनाएको छ ।
यस वर्ष २९ हजार दुई सय हेक्टरमा धानखेतीको तयारी गरिएको छ । गएको वर्ष २९ हजार पाँच सय हेक्टरमा धानखेती भएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना