भ्रष्टाचारले थला परेको पाकिस्तानको राजनीति

Ram prashadरामप्रसाद आचार्य


 

भ्रष्टाचार प्रकरणले पाकिस्तानको राजनीति फेरि थलापरेको छ ।  पनामा पेपर्स प्रकरणलाई लिएर त्यहाँको सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि प्रधानमन्त्री नवाज सरिफले राजीनामा दिएसँग राजनीतिले अर्कै मोड लिएको छ ।  पाकिस्तान स्वतन्त्र मुलुक बनेयताको सात दशकको इतिहासमा एकपटकमात्र सरकार र संसद्ले पूर्ण कार्यकाल सम्पन्न ग¥यो अरू समय अस्थिरता, अल्पकार्यकाल, सैन्य शासनमै बित्यो ।  यसैकारण पाकिस्तानको प्रजातन्त्रको जग बलियो बन्न सकेन ।  राजनीतिक दल, नेता र नेतृत्वले सही ढङ्गले काम गर्न नपाउँदा अस्थिर राजनीति नै पाकिस्तानको विशेषता बन्न पुगेको छ ।  
दुई वर्षअघि सन् २०१५ मा पनामा पेपर्स प्रकरणमा सरिफ र उहाँको परिवारको नाम मुछियो ।  विदेशमा अवैध रूपमा कारोबार गरी कर छलेको र भ्रष्टाचार गरेको भन्ने आरोपमा गठित छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझायो ।  सोही प्रतिवेदनका आधारमा सरिफविरुद्ध कारबाहीको माग गर्दै पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभयो ।  इजाज हसन, एजाज अफजल, सइद सोख, असिफ सइद खोसा र गुलजार अहमद सम्मिलित पाँच सदस्यीय सर्वोच्चको संयुक्त इजलासले सरिफलाई सार्वजनिक पदमा बस्न अयोग्य भन्दै दोषी ठहर ग¥यो ।  अदालतले सरिफलगायत उहाँकी छोरी मर्यम, ज्वाईं सफदर, अर्थमन्त्री इसाक दरलगायत थुप्रै पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउनुपर्ने निर्देश गरेको छ ।  अदालतको फैसलालगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका सरिफको सांसद पदमात्रै होइन, राजनीतिक भविष्यसमेत धरापमा परेको छ ।  एउटा राजनीतिक नेताका लागि योभन्दा दुःखद घटना अरू के हुन सक्छ ? यो प्रकरणले सरिफको राजनीतिक भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ ।  
पञ्जावका सफल उद्योगपति सरिफ सन् १९७० को दशकमा राजनीतिमा लाग्नुभयो ।  सन् १९८० को दशकदेखि नै उहाँमाथि भ्रष्टाचारको आरोप लाग्यो तर उहाँले ती आरोप अस्वीकार गर्दै आउनुभएको छ ।  सरिफ तीन–तीनपटकसम्म मुलुकको प्रधानमन्त्री बन्नुभयो तर सफल प्रधानमन्त्री बन्न सक्नुभएन ।  सन् १९९० मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएका उहाँले तीन वर्षमै पद त्याग्नुप¥यो ।  दोस्रोपटक सन् १९९७ मा प्रधानमन्त्री बन्नुभएका सरिफ सन् १९९९ मा सैन्य ‘कू’ गरी पर्वेज मुसर्रफले सत्ता हातमा लिएपछि मृत्युदण्डको सजायसम्म सुनाइयो ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट व्यापक दबाब परेपछि मृत्युदण्डको मुखबाट जोगिनुभयो र आठ वर्ष निर्वासनमा जानुभयो ।  साउदी अरबमा निर्वासनमा जानुभएका उहाँ सन् २००८ मा स्वदेश फर्कनुभयो र फेरि राजनीतिमा सक्रिय हुनुभयो ।  सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले सन् २०१३ को संसदीय आमनिर्वाचनमा बहुमत ल्याएपछि उहाँ तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो ।  तेस्रो कार्यकालमा उहाँले तालिवान विद्रोहीसित वार्ता गर्नेदेखि लिएर भारतसँगको सम्बन्ध सुधारका लागि प्रयास गर्नुभयो तर सफल हुनुभएन ।  अन्ततः कार्यकाल पूरा नगर्दै भ्रष्टाचार प्रकरणले राजनीतिबाटै हात धुनुपर्ने अवस्था सिर्जना भयो ।  यो प्रकरणले आगामी वर्ष हुने संसदीय आमनिर्वाचनमा उहाँको पार्टीलाई धक्का लाग्न सक्ने सम्भावना बढ्दै छ ।  
सरिफले राजीनामा दिएपछि सत्तारूढ दल पाकिस्तान म्ुस्लिम लिग नवाजले पूर्वपेट्रोलियममन्त्री साहिद खकान अब्बासीलाई अन्तरिम प्रधानमन्त्री रूपमा प्रस्तुत ग¥यो ।  त्यहाँको ३४२ सदस्यीय संसद्मा उहाँ २२१ मत ल्याएर प्रधानमन्त्री निर्वाचित हुनुभयो ।  उहाँ अन्तरिम प्रधानमन्त्रीमात्रै हो ।  उहाँलाई प्रतिस्थापन गर्न सत्तारूढ दलले सरिफका भाइ साहवाज सरिफलाई ल्याउने भएको छ ।  हाल पञ्जाव प्रान्तका गभर्नर रहनुभएका उहाँ प्रधानमन्त्री बन्न उपनिर्वाचन जित्नुपर्छ, त्यसका लागि कम्तीमा पनि डेढ महिना लाग्न सक्छ ।  
तत्काल काम चलाउन निर्वाचित गरिनुभएका प्रधानमन्त्री अब्बासले आफूलाई पदको लोभ नभएका बताउनुभएको छ ।  उहाँले आफू जति दिन कुर्चीमा बसे पनि देश र जनतको पक्षमा काम गर्ने र मुलुकलाई सही मार्गमा लैजाने दाबी गर्नुभएको छ ।  तर, उहाँलाई पनि काम गर्न सजिलो छैन ।  अस्तव्यस्त अवस्थामा रहेको मुलुक आन्तरिक र बाह्य दुवै कारणले गम्भीर मोडमा छ ।  कमजोर शान्ति सुरक्षा, राहत नपाएका सर्वसाधारण जनता, अनियन्त्रित भ्रष्टाचार, छिमेकी भारतसँग झन् चिसिएको सम्बन्ध, मौका खोजिरहेको सैनिक नेतृत्व, कठोर बन्दै गएको न्यायालय, बढ्दो आतङ्कवादी गतिविधिजस्ता यावत् समस्यासँग जुध्नुपर्ने चुनौतीबीच आउनुभएका अब्बासीले जनविश्वास जित्न निकै मिहिनेत गर्नुपर्ने अवस्था छ ।  संसद्मा प्रमुख विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी (जसले यसअघिको संसदीय आमनिर्वाचनमा बहुमत ल्याएर इतिहासमै पहिलोपटक पूर्ण कार्यकाल सरकार चलायो) सँग मिलेर काम गर्नुपर्ने बेला आएकाले पनि अब्बासले लचिलो नीति लिनुपर्ने भएको छ ।  सत्तारूढ दल र प्रमुख विपक्षी दलबीच राष्ट्रिय हित र जनसरोकारका विषयमा साझा सहमति हुन सकेन साथै अस्वस्थ प्रतिस्पर्धा भयो, बेमेल भयो भने प्रजातन्त्रकै भविष्य खतरामा पर्न सक्छ किनभने राजनीतिक दलहरू कमजोर भएकै अवसरमा सैनिक विद्रोह गरी सत्ता हातमा लिने इतिहास छ ।  राजनीतिक दलहरूप्रति न्यायालय र सैन्य नेतृत्व कठोर बन्ने अवस्था अन्त्य नभएकाले प्रजातन्त्र जोगाउन दलहरू मिल्नुको विकल्प छैन ।
आन्तरिक राजनीति परिपक्व नभएको पाकिस्तानले छिमेकी भारतसँग सम्बन्ध सुधार गर्नै सकेन ।  सन् १९४७ मा बेलायती उपनिवेशबाट भारतको मुक्तिसँगै चरम जातीय र धार्मिक हिंसाबीच टुक्रिएको यो मुलुकले ७० वर्षको इतिहासमा भारतसँगै तीनवटा युद्ध लडेको छ ।  दुवै देशबीच शत्रुवत् व्यवहार छ ।  भारतबाट पाकिस्तान टुक्रिनेक्रममा भएको जातीय तथा धार्मिक नरसंहारमा १० लाखभन्दा बढी मानिस मारिए, एक करोड २० लाखभन्दा बढी मानिस शरणार्थी बने ।  सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश टुक्रियो ।  यस घटनमा पनि ठूलो नरसंहार भयोे ।  करिब ३० लाख मानिसको ज्यान गयो ।  पाकिस्तान टुक्र्याउन भारतले खेल खेल्यो भन्दै पाकिस्तानले आरोप लगाउँदै आएको छ ।  अविश्वास कतिसम्म छ भने नयाँदिल्ली र इस्लामावादबीचको दूरी ७०० किलोमिटर पनि छैन तर सिधा हवाई उडानसम्म छैन ।  दुवै मु्ुलुक क्रिकेटप्रेमी छन् तर आपसमा भारत र पाकिस्तानमा क्रिकेटसम्म खेल्दैनन् ।  विश्वकै लामो भूराजनीतिक तनाव झेलिरहेका यी दुवै मुुलुकका लागि कास्मिर विवाद नै सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ ।  दक्षिण एसियाका ठूला र आणविक शक्ति सम्पन्न यी दुई मुलुकबीचको द्वन्द्वले दक्षिण एसियाको क्षेत्रीय सुरक्षा र शान्ति कमजोर भएको छ ।  
पाकिस्तानको राजनीतिक अस्थिरता, भरपर्दो र स्थायी सरकार बन्न नसकेकै कारण भारतसँगको विवादित विषयमा घनीभूत वार्ता र छलफल नै गर्न सकेन ।  परिणामतः समस्या झन्झन् जटिल र कठिन बन्दै छन् ।  एक–अर्काप्रति चर्को अविश्वास छ ।  आतङ्कवादी समस्याबाट दुवै मुलुक पीडित छन् ।  आरोप एक–अर्काप्रति लक्षित हुन्छ ।  पछिल्लो केही वर्षयता पाकिस्तानमा राजनीतिक नेतृत्वका रूपमा आशा गरिएका बेनजिर भुट्टोको हत्या र नवाज सरिफको निगमनसँगै राजनीतिक निराशा बढाएको छ ।  यस्तो सङ्कटका बेला प्रमुख राजनीतिक दलहरूले भरपर्दो राजनीतिक नेतृत्वको विकास गर्न सकेनन् र जनतामा दलहरूप्रतिको आस्था, विश्वास घट्दै गयो भने राजनीति दुर्घटना जान सक्छ ।  
१९ करोड ३० लाख जनसङ्ख्या र सात लाख ९६ हजार ९५ वर्गकिलोमिटर क्षेत्रफल रहेको मुसलमान बाहुल्य मुलुक पाकिस्तानलाई आज भरपर्दो राजनीतिक नेतृत्व चाहिएको छ ।  राजनीतिक नेतृत्व विकासका लागि सक्षम राजनीतिक दलहरूमा प्रजातान्त्रिक अभ्यास, संस्कार, पारदर्शिता, अनुशासन र भ्रष्टाचारमुक्त हुन जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना