विश्वव्यापी राष्ट्रियताको लहर

pradip nepalप्रदीप नेपाल

 

नेपालमा राष्ट्रियतालाई बुझ्ने राजनीतिक नेताहरूको अकाल छ ।  समस्या अध्ययनमा छ ।  हाम्रा कुनै पनि नेताहरू नयाँ नयाँ विषयको अध्ययन गर्दैनन् ।  उनीहरू आपूmलाई सर्वज्ञानी ठान्दछन् ।  नेपालमा त उनीहरू भन्दा जान्ने कोही छैनन् भन्ने भ्रममा उनीहरू बाँचिरहेका हुन्छन् ।  त्यसैले नेपालमा सल्लाहकार, बढीमा शक्तिशाली स्वकीय सचिव मात्र हुन्छ ।  तर ऊ कुनै हिसाबमा पनि सल्लाहकार हुन पाउँदैन ।
गएको हप्ता मैले चैतन्य मिश्रको माक्र्सवादसम्बन्धी एउटा टिप्पणी पढेँ ।  नेपालका सबै कम्युनिस्ट पार्टीका नेताहरूले मनोयोगका साथ पढ्नु पर्ने लेख हो त्यो ।  म त्यसको समीक्षा या व्याख्यातिर जान्न ।  त्यसले मभित्र सलबलाएका प्रश्नको उत्तरतिर जान चाहन्छु ।  
पहिलो हो– चिनिया क्रान्तिको चरित्र ।  मिश्रजीका अनुसार माओत्सेतुङको नेतृत्वमा लडिएका नयाँ जनवादी क्रान्ति र जापान विरोधी प्रतिरोध युद्धको चरित्र राष्ट्रिय पुँजीवादी थियो ।  निष्कर्ष तर्कसङ्गत छ ।  आठ थान अन्तर्राष्ट्रिय साम्राज्यवादी मुलुकले बाँडिचुँडी खाएको मुलुकको मुक्तिको जिम्मेदारी बोकेको थियो चीनको कम्युनिस्ट पार्टीले ।  साम्राज्यवाद विरोधी क्रान्तिको चरित्र स्वाभाविक रूपले राष्ट्रिय हुन्छ ।  माओत्सेतुङले चीनको क्रान्तिलाई  नयाँ जनवादी भन्नुभएको हो भन्ने ज्ञान नेपालका सबै कम्युनिस्ट नेताहरूमा छ ।  जापानी आक्रमण विरोधी प्रतिरोध युद्धमा चिनिया कम्युनिस्ट पार्टीले कुओमिन्ताङको हातबाट राष्ट्रवादको झण्डा खोसेरै चीनलाई मुक्त गरेको हो ।  साम्राज्यवादी उत्पीडनको शिकार भएका मुलुकहरूमा नौलो जनवादी क्रान्तिको कार्यक्रम बन्नु त्यसैले स्वभाविक हो ।  अहिलेको ‘एक चीन’ को नारामा साम्राज्यवादी थिचोमिचोप्रतिको विरोध छ ।  त्यसैले साम्राज्यवादी दबाब समग्रमा समाप्त नभइन्जेलसम्म ‘एक चीन’ को नारामा चिनिया राष्ट्रवाद बाँचिरहनेछ ।
तर नेपाल कहिल्यै कसैको उपनिवेश भएन ।  ब्रिटिश–भारतको स्थापनादेखि त्यसको दमन, थिचोमिचो र षडयन्त्रको शिकार भएको हो नेपाल ।  कसैले पनि नेपाललाई आफ्नो उपनिवेश बनाउन सकेनन् ।  यस्तो मुलुकमा नयाँ जनवादी क्रान्तिको नारालाई जस्ताको तस्तै आयात गर्ने काम सही थिएन ।  नेपालका नेताहरूले आफ्नो राष्ट्रिय चरित्रको विश्लेषण गरेर नेपाली क्रान्तिको कार्यक्रम बनाउनु पर्ने थियो ।  कुनै पनि साम्राज्यवादी मुलुकको उपनिवेश नरहेको हुनाले नेपालको राष्ट्रिय अन्तरविरोध आन्तरिक रह्यो सधैँभरि ।  नेपाली जनताले आफ्नै शासकका विरुद्ध लड्नु प¥यो जहिले पनि ।  यति कुरो बुझ्न नेपालको कम्युनिस्ट आन्दोलनलाई चार दशक लाग्यो ।  नेपाल कम्युनिस्ट पार्टीले पचासको दशकमा मुलुक सुहाउँदो एउटा कार्यक्रम ल्यायो ।  त्यो थियो जनताको बहुदलीय जनवाद ।  नेपालको राष्ट्रिय चरित्रसँग जोडिएर आएको हुनाले यसले व्यापक समर्थन पनि पायो र छोटो समयमै बहुदलीय जनवाद नेपाली राजनीति मात्र होइन, नेपाली जनतामा पनि स्थापित भयो ।  जनताको बहुदलीय जनवादको व्यावहारिक अभिव्यक्ति थियो ०५१–५२ को नेकपा (एमाले) ले ल्याएको लोकप्रिय कार्यक्रम ।
सारमा राष्ट्रवाद पुँजीवाद नै हो ।  बीसौं शताब्दी अन्तिम दशकमा सोभियत सङ्घलाई ढाल्ने पनि त्यही राष्ट्रवाद थियो ।  सोभियत सङ्घको पतनपछि केही समय पुँजीवाद केही काल आरामले बस्यो ।  तर त्यो आराम धेरै दिन रमाउन पाएन ।  पुँजीवाद फेरि संकटमा परेपछि पछिल्लो पटक यूरोपबाटै राष्ट्रवादको पुनरोदय भयो ।  सुन्दर युगोस्लाभिया गरा गराको असुन्दर मुलुक हुनु, पुरानो संकटबाट बच्न बनाइएको यूरोपियन संसद्बाट बेलायत बाहिरिनु, स्वयं बेलायतबाट स्कटल्याण्डले विदा माग्नु, जस्ता सबै कामकारबाही त्यही राष्ट्रवादसँग जोडिएका छन् ।
राष्ट्रवादको झण्डा बोकेर पुँजीवाद पछिल्लो पटकको सङ्कटबाट पार पाउने कोसिस गरिरहेछ ।  चर्का कम्युनिस्टहरू भन्छन्, लडेपछि धुलो टक्टक्याउँदै उठ्ने र फेरि सङ्घर्षमा जुट्ने ।  कम्युनिस्टमा त्यस्तो तागत कहिल्यै देखिएन ।  सोभियत समाजवाद ढलेपछि गल्र्याम गुर्लुम ढलेको समाजवाद कतै उठ्न सकेन ।  तर संकटमा परेको पुँजीवाद पटक पटक बौरिएको छ कहिले सामान्य सुधारका काम गरेर त कहिले हिंसा र मारकाटको हतियार उठाएर ।  
यता हाम्रो दक्षिण एसियामा पनि बेलायतले रोपेको विषवृक्ष पछिल्लो समयमा त्यही राष्ट्रवादको जालोमा बेरिएको छ ।  बेलायतले एकताबद्ध बनाएको ब्रिटिश–इण्डिया यतिबेला अफगानिस्तान, बर्मा, पाकिस्तान, बाङ्लादेशमा विभाजित भइसकेको छ ।  काश्मिर त टाउको दुखाइ छँदै थियो ।  सांस्कृतिक रूपमा भारतमा द्रविड सभ्यताको पुनरोदयको चर्चा पनि हुन थालेको रहेछ ।  आफ्नो हितका लागि बङ्गालले केन्द्रीय सत्ताको विरोध गरिरहेको छ भने बङ्गाल भित्र गैरबङगालीलाई मार्ने र सिध्याउने काममा त्यो उत्तिकै चर्को रूपमा लागेको छ ।  सोचको हिसाबले नरेन्द्र मोदी र ममता बेनर्जी एउटै हुन् ।  त्यसैले बङ्गाल सरकारले सिक्किम राज्य र गोर्खाल्याण्डका विरुद्ध लगाएको नाकाबन्दी बङ्गाली राष्ट्रवादको हिंसाजन्य काम हो ।  भारतमा मौलाएको अधिकार प्राप्तिको यो लडाइँ पनि राष्ट्रवादकै नारामा वेष्टित छ ।
अब आफ्नै कुरामा लागौँ ।  भारत छ र नेपाली राष्ट्रवाद छ ।  भारतको थिचोमिचो र सीमा स्तम्भ भत्काउँदै नेपालतिर सार्ने, नेपालकै जमिनमा भन्सार, सुरक्षा चौकी बनाउने कामले नेपालको राष्ट्रवादलाई पुष्ट बनाउने काममा मलजल गरिरहेको छ ।  अन्धआलोचकद्वारा भारत कसमर्थक भनिने नेपाली काँग्रेस सिद्धान्तकार बीपी कोइराला समेत भारतीय अपमान र थिचोमिचोका कारण राष्ट्रिय मेलमिलापको नारा बोकेर नेपाल फर्किएका थिए  ।  बीपी कोइराला हदैसम्म कम्युनिस्ट विरोधी भएको हुनाले, कम्युनिस्ट नेताहरूले राष्ट्रिय मेलमिलापलाई राजा काँग्रेस गठनबन्धन भनेका हुन् ।  कम्युनिस्टहरूको सन्दर्भमा यो निष्कर्ष सही थियो ।  तर बीपी कोइराला बाहेकका काँग्रेसले पनि राष्ट्रिय मेलमिलाप कम्युनिस्ट विरोधी राजा–काँग्रेस  बीचको एकता थियो भनी बुझ्नु चाहिँ गलत थियो ।  यथार्थमा त्यो भारतका कारण खतरामा परेको राष्ट्र बचाउने बीपी कोइरालाको सुझबुझ सहितको राष्ट्रवादी निर्णय थियो ।
नेपालको श्रुति इतिहास छ हजार वर्षसम्म पुगेको पाएको छु मैैले ।  ककेशसबाट मानसरोबरको फेरो मार्दै आजको कर्णाली प्रवेश गरेका खसहरू नै नेपालका आदिवासी हुन् ।  ती खसहरू जातविहीन थिए ।  विधर्मी थिए ।  तिनीहरू ईश्वरको निराकार अवस्थितिमा विश्वास गर्थे ।  तिनीहरू मष्टोपूजक थिए ।  तिनीहरू कूलपुजक थिए ।  ती खसहरू कर्णालीबाट नेपाल भरि फैलिँदै गए गढवालदेखि आसामसम्म ।  त्यसको तीन हजार वर्षपछि बल्ल वेदको सम्पादन गरियो ।  वेद जन्मिदासम्म पृथ्वी ठीक ठाउँमा थियो ।  त्यसपछिका कर्मकाण्डीहरूले वेदलाई अस्पृश्य संस्कृत साहित्य बनाउने अपराध गरे ।  तिनैले स्वर्ग जन्माए, नर्क जन्माए, तेत्तीस कोटी देवी देवता जन्माए ।  
वेदमा विष्णु भगवान्को अस्तित्व छैन ।  ब्रह्मा चटकीको रूपमा उपस्थित छन् ।  तर कर्मकाण्डीले तिनलाई सृष्टिकर्ता बनाइदिए ।  कान्यकुब्जी ब्राह्मणहरूको आगमन पछि नेपालको इतिहास विस्तारै दक्षिणतिर सर्न थाल्यो ।  तिनै ब्राह्मणहरू गुरु पुरोहित भएर राजकीय सत्ता उपभोग गर्न थाले ।  विस्तारै आदिवासी खश बाहुनहरू ओझेलमा पर्न थाले ।  नेपालको किंवदन्ती इतिहास लेखनको पनि थालनी भयो ।  ने मुनि त्यतिबेलै जन्माइएका हुन् ।  
इतिहास जे होस्, त्यसको व्याख्या, पुनव्र्याख्या हुँदै जाला ।  खोज अनुसन्धानले नयाँ नयाँ तथ्यहरूको उपहार पनि देला ।  तर कुन कुरालाई सबैले स्वीकार्नु पर्छ भने आप्रवासीहरूको मुलुक भनी परिभाषित गरिएको संयुक्त राज्य अमेरिका, विश्वको सबैभन्दा विशाल प्रजातन्त्र भनिएको भारत जस्ता मुलुकहरू समेतले राष्ट्रवादलाई मूल नारा बनाएको वर्तमानमा दुई अरब पचास करोड जनसंख्याको चेपुवामा अवस्थित नेपालसँग राष्ट्रवाद बाहेकको अर्को कुनै नारा छैन आपूmलाई बचाउने ।  पहिले पहिले काँग्रेसले मात्रै विरोध गथ्र्यो राष्ट्रियताको ।  अहिले त माओवादी केन्द्र पनि ‘एमालेको अन्धराष्ट्रवादी अडान’ बाट पिरिन थालेछ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना