स्याङ्जाको कफी जापानमा


अर्जुन काफ्ले

स्याङ्जा, साउन २७ गते ।  ‘एक गाउँ एक उत्पादन’मा कफीले परिचित स्याङ्जामा उत्पादित कफी जापान निर्यात गरिएको छ ।  जिल्ला कफी व्यवसायी सङ्घ स्याङ्जाले यस वर्र्ष १० मेट्रिक टन ‘ग्रीनविन’ कफी जापान निर्यात गरेको हो ।  
यहाँ उत्पादित कफी जापानको नागोया सहरस्थित शान्ति  कफी कम्पनीलाई निर्यात गरिएको जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष फणिनारायण अर्यालले जानकारी दिनुभयो ।  
उहाँले नेपाली मूल्यअनुसार एक करोड रुपियाँ बराबरको कफी जापानमा निर्यात गरिएको बताउनुभयो ।  यहाँ उत्पादित ग्रीनविन कफी प्रतिकिलो एक हजार रुपियाँमा बिक्री भएको बताउँदै अर्यालले पार्चमेन्ट प्रतिकिलो छ सय रुपियाँमा बिक्री हुने गरेको बताउनुभयो ।  
यस वर्र्ष स्याङ्जामा ५२ मेट्रिक टन पार्च मेन्ट कफी उत्पादन भएको बताउँदै कफी व्यवस्थापक माया तिवारीले गत वर्र्षको तुलनामा यस वर्र्ष १२ मेट्रिक टन बढी उत्पादन भएको बताउनुभयो ।  स्याङ्जाको कफी उत्पादनमा गत वर्र्षको तुलनामा ३० प्रतिशतले वृद्धि हो ।  गत वर्र्ष ४० मेट्रिक टन पार्चमेन्ट कफी उत्पादन गर्दै एक करोड ६१ लाख ५० हजार रुपियाँ आम्दानी भएकोमा यस वर्र्ष दुई करोड ५० लाख रकम आन्दानी भएको हो ।  
जापान निर्यात भएको कफीबाहेकको बचत नेपालको पोखरा र काठमाडौँको बजारमा खपत हुने तिवारीले बताउनुभयो ।  अर्गानिक र निकै स्वादिलो भएका कारण स्याङ्जाको कफीको माग बढी हुने गरेको तिवारीले बताउनुभयो ।  उहाँले जापानमा नियमितरूपमा विगत ६÷७ वर्र्षदेखि कफी पठाउँदै आए पनि मागअनुरूप कफी उपलब्ध गराउन नसकेको बताउनुभयो ।  
किसानले कफीको बढ्दो मूल्य पाएसँगै स्याङ्जामा कफीको उत्पादनमा पनि वृद्धि भएको छ ।  यहाँ विगतको तुलनामा बर्सेनि कफीको उत्पादनमा कृषकको आकर्षण बढ्दो रहेको छ ।  पाखोबारी र वनजङ्गलभित्र पनि कफीको उत्पादन हुने र रोपेको दुई तीन वर्र्षमै फल दिने तथा बजार पाएपछि कफी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको हो ।  स्याङ्जामा २४९.६ मेट्रिक टन फ्रेसचेरी कफी सङ्कलन भएकोमा ५२ हजार मेट्रिक टन पार्चमेन्ट कफी बनेको होे ।   जिल्ला कफी व्यवसायी सङ्घ, सहकारी र व्यक्तिमार्फत स्याङ्जामा उत्पादित ती कफी सङ्कलन गरिएको हो ।  cofee
२०५६ सालदेखि व्यावसायिकरूपमा कफी खेती सुरु गरिएको स्याङ्जामा २७३ हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएको कफी व्यवसायी बोधराज अर्यालले बताउनुभयो ।  कफी उत्पादनमा अग्रणी पुतलीबजार नगरपालिका ११ का अर्यालले जग्गा भाडामा लिएर एक सय रोपनी जग्गामा कफी खेती गर्दै आउनुभएको छ ।  उहाँले कफीबाट वार्षिक २० लाख रुपियाँ बचत गर्ने गरेको बताउनुभयो ।  
उहाँ मात्र होइन, अर्जुनचौपारी गाउँपालिका–१ का फणिनारायण अर्याल, पुतलीबजार नगरपालिका ११ करेन्डाँडाका भूमिजंग केसी, बिरुवाका अनन्त वाग्ले, अर्जुनचौपारी–६ का बमबहादुर थापा, वालिङ नगरपालिकाका यामबहादुर गुरुङ, आरुखर्कका शिवप्रसाद सुवेदी जिल्लाको अग्रणी कफी व्यवसायीमा परिचित रहनुभएको छ ।  
कफी व्यवसायी सङ्घले चिया तथा कफी विकास बोर्डले तोकेको मूल्यभन्दा बढी मूल्य दिएका कारण पनि किसानको आकर्षण बढी देखिएको अध्यक्ष अर्यालको दाबी थियो ।  अर्यालले बोर्डले तोकेको मूल्यभन्दा जिल्लामा २० रुपियाा बढी दिएर सहकारीले कफी किसानलाई हौसला बढाएको बताउनुभयो ।  
यहाँका पुतलीबजार, वालिङ, भिरकोट नगरपाकिला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकाका कृषक कफी खेती व्यवसायमा सक्रिय रहेका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना