पशुपक्षीको जोखिममा प्रमुख विमानस्थल

विश्वास रेग्मी

काठमाडौँ, साउन २९ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख आन्तरिक विमानस्थल पशुपक्षीको जोखिममा रहेको पाइएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलको अध्ययनपश्चात् हालै सार्वजनिक गरेको ‘वाइल्डलाइफ हजार्ड रिपोर्ट २०१७’ले यस्तो तथ्य बाहिर ल्याएको हो ।  प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पशुपक्षीबाट सबैभन्दा जोखिममा रहेको छ ।  त्यस्तै आन्तरिक विमानस्थलमध्ये नेपालगञ्ज, भैरहवा, विराटनगर र पोखरा तुलनात्मक रूपमा बढी जोखिमयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।  
प्रतिवेदनमा समेटिएको पाँच वर्ष (सन् २०११–२०१५)सम्मको तथ्याङ्कअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चरा, कुकुर र बाँदरले जोखिम निम्त्याउन सक्ने पाइएको छ ।  उक्त तथ्याङ्कअनुसार बिहानभन्दा दिउँसोको समयमा यो विमानस्थलमा चराको चहलपहल बढ्ने र त्यसले पनि समस्या ल्याउनसक्ने देखाइएको छ ।  अध्ययन अवधिसम्मका कुनै महिना दिउँसोको समयमा सात सयवटासम्म चरा विमानस्थलमा देखापरेको उल्लेख छ ।  त्यस्तै विमानस्थल परिसरमा पछिल्लो समयमा कुकुर र बाँदरको सङ्ख्या कम हुँदै गए पनि जोखिम भने कायमै रहेको प्रतिवेदनले जनाएको छ ।  विमानस्थल नजिकै आवासीय क्षेत्र, बगैँचा, रेस्टुराँ र मासु पसलबाट निस्कने वस्तुले पनि चराको उपस्थिति रहेको पाइएको छ ।  त्यस्तै बागमती र मनोहरा नदीको भिजेको बालुवाका कारण पनि चरा विमानस्थल आसपासमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।  bimansthal
कृषि क्षेत्र र नजिकै जङ्गल रहेकोले पनि नेपालगञ्ज विमानस्थलमा पशुपक्षीको जोखिम रहेको तथ्य प्रतिवेदनले ल्याएको छ ।  यस विमानस्थल आसपासमा ३६ प्रजातिका चरा र दुई किसिमका वन्यजन्तु रहेको तथ्यलाई प्रतिवेदनले आधार बनाएको छ ।  त्यस्तै अधिकांश कृषियोग्य जमिनले घेरिएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल आसपासमा २६ प्रजातिका चरा र छ प्रकारका जनावर पाइएको तथ्य रहेकोले यो विमानस्थल पनि जोखिममा रहेको जनाइएको छ ।  ३७ प्रजातिका चरा र सात प्रकारका जनावर ‘रेकर्ड’ गरिएको विराटनगर विमानस्थल र झाङ्गिदै गएका रूख बिरुवा तथा सीमा भित्रै जनावरको उपस्थितिले पोखरा विमानस्थल पनि जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।  सन् २०१२ सेप्टेम्बर १२ मा लुक्ला उडानको क्रममा  चिल ठोक्किदा त्रिभुवन विमानस्थलमा डोर्नियर विमान दुर्घटनामा परेर चालकदलका सदस्यसहित २० जनाको मृत्युभएको थियो ।  त्यसबाहेक पशुपक्षी ठोक्किएर जहाजको इन्जिन र अन्य प्रविधिक समस्याबाहेक मानवीय क्षति नभए पनि जोखिम भने कायमै रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना