महर्षि बुध र वेद विज्ञान

kamal rijalकमल रिजाल


 

सात वारका साथै नवग्रहमा समेत एक एक स्थानको प्रतिनिधित्व गर्दैै आएका बुध वैदिक मन्त्रद्रष्टा ऋषिमा पनि पर्छन् ।  यसो त उनको चर्चा वेदमा भन्दा इतिहास र पुराणमा बढी भएको पाइन्छ तर वैदिक संहिताहरूले पनि उनको प्रशस्तिमा उत्तिकै स्थान दिएका छन् ।  यस अर्थमा भन्नुपर्दा उनलाई वेद पुराणादि सबै क्षेत्रमा उभ्याउन सक्ने केही विशिष्ट महर्षिको पङ्क्तिमा राखेर सम्बोधन गर्नु मनासिव देखिन्छ ।  खासगरी ऋग्वेद पाँचौं मण्डलको प्रथम, छैटौं मण्डलको ५८ औँ र दशौँ मण्डलको १०१ औँ सूक्त उनै महिर्षि बुधद्वारा साक्षात्कार गरिएका मन्त्रको सँगालो मानिन्छ ।  क्रमशः अग्नि, इन्द्राग्नि र विश्वेदेवा ऋत्विगणको प्रशस्तिमा गाइएका यी सूक्तहरूमा कुल २८ वटा मन्त्र छन् ।  यी मन्त्रहरू मार्फत महर्षि बुधले ज्ञान र विज्ञानको क्षेत्रमा जुन किसिमले ज्ञान प्रवाह गरेका छन् त्यसप्रति सारा विश्वसमाज ऋणी रहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।  
उपरोक्तानुसार महर्षि बुधले ऋग्वेद छैटौं मण्डलको ५८ औँ सूक्तको तेस्रो मन्त्रमा अन्तरिक्ष विज्ञानको क्षेत्रमा जुन किसिमको विषयवस्तु उल्लेख गरेका छन् त्यसलाई आजको अन्तरिक्ष विज्ञानको क्षेत्रमा एक किसिमले कोषे ढुङ्गाकै रूपमा लिन सकिन्छ ।  भनिरहनु परोइन आधुनिक अन्तरिक्ष वैज्ञानिक अन्तरिक्षमा जलाशयको सामान्य आधारसम्म छ कि छैन भन्ने विषयमा प्रस्ट हुन सकिरहेका छैनन् तर महर्षि बुधले भने अन्तरिक्षमा विशाल समुद्रको उपस्थिति रहेको आशय व्यक्त गरेका मात्र छैनन् नौका विहारको प्रशस्त सम्भावना औंल्याएका छन् ।  यसबाहेक पञ्चम मण्डलको प्रथम सूक्तको ११ औँ मन्त्रमा जुन तरिकाले अग्नि आदि देवताद्वारा सुगम तरिकाले हिँडिने अन्तरिक्ष मार्गको चर्चा गरेका छन् त्यसलाई यसैभित्र राखेर हेर्न सकिन्छ ।  
त्यसैगरी, दशौँमण्डलको १०१ औँ सूक्तमा कृषि विज्ञान र कृषि प्रविधिसम्बन्धी जेजति चर्चा भएका छन् तिनमा समेत आधुनिक कृषि प्रविधि र प्रणालीको बीज भण्डारको रूपमा लिन सकिने प्रशस्तै आधार फेला पर्छन् ।  यस सूक्तका प्रायः सबै मन्त्र कृषि प्रविधि, कृषि प्रणाली र कृषि विज्ञानसित सम्बन्धित देखिन्छ ।  यहाँ के कस्तो जमिनमा के कस्तो खेती फस्टाउन सक्छ र तिनलाई कुन समयमा के कसरी रोप्नुपर्छ भन्ने कुराको सम्यक दिग्दर्शन गर्ने प्रयास भएका मात्र छैनन् तिनको स्याहार, सुसार र सिंचाई प्रणालीमा के कस्तो प्रक्रिया अपनाउनुपर्छ भन्ने कुरालाई समेत प्रस्ट पार्ने प्रयास भएको पाइन्छ ।  महर्षि बुधकाअनुसार त्यही नै कुशल किसान मानिन्छ जसले कृषि प्रविधिमा अत्यावश्यक मानिएको हलो, जुवा, निर्माण, बलिष्ठ गोरुको खोजी तथा तिनका बस्ने खाने स्थान आदिमा समुचित ध्यान दिन सकेको छ ।  
यसबाहेक स्मृतिशास्त्रमा समेत महर्षि बुधको उत्तिकै दखल रहेको पाइन्छ ।  यस सम्बन्धमा बुधस्मृति नामक उनको छुट्टै ग्रन्थ भेटिएको छ ।  करिब ४० वटा सूत्र रहेको यो गन्थ कलेवरको हिसाबले जति सानो देखिएको छ महìवको हिसाबले त्यति नै ठूलो पाइएको छ ।  वेद, वेदाङ्ग, धर्म, दर्शन, श्रौत्रसूत्र, गृहसूत्र, धर्मसूत्र र राजधर्मशास्त्र आदि यावत पक्षको सूत्रात्मकरूपमा विवेचन भएको यस ग्रन्थमा विवाह, व्रतबन्ध आदि संस्कार र यज्ञ अनुष्ठान आदि संस्कृतिगत विधालाई सम्यक चर्चा गर्ने प्रयास भएको छ ।  उनले यज्ञ अनुष्ठानमा विशेष गरी द्रव्यशुद्धिमा जोड दिएका छन् ।  उनकाअनुसार वैदिक यज्ञ अनुष्ठान भनेका त्यस्ता कार्य हुन्, जसले यजमानलाई धर्म, अर्थ, काम र मोक्ष चारै किसिमको पुरुषार्थ सिद्ध गराउन सक्छ तर यज्ञ भनेर मात्र हुँदैन ।  यसका लागि स्थान, साधन, सामग्री, मन्त्र, भाव, मन र वचन शुद्धिमा निकै सशर्त हुनुपर्छ ।  अन्यथा यज्ञ अनुष्ठान साधन र समय वरवादीको स्रोतबाहेक केही हुने छैनन् ।  
पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार शान्ति र सदाचारलार्ई जीवनको पर्यायवाचक नै बनाएका महर्षि बुध दया माया, मैत्री, करुणा तथा परहित र परोपकार आदि विशेष गुणको खानी नै मानिएका छन् ।  असीम धैर्य र अदम्य साहसका पहरेदारका रूपमा रहेका यी महर्षि जति तेजस्वी र पराक्रमी देखिएका छन् त्यति नै दिव्यज्ञान र गुणले सम्पन्न तथा बुद्धि र विवेकको धनी मानिएका छन् ।  यसबाहेक उनी उत्कृष्ट बुद्धिका उन्नायक, सर्वकल्याण, निर्मल बुद्धि र सर्वमङ्कर्ता आदि विशेषणले सुसज्जित देखिएका छन् ।  उनी आफू पनि सदैव शौम्य स्वभावले प्रस्तुत हुने गर्छन् भने अन्यत्र पनि त्यस्तै  अवस्थाको कामना गर्छन् ।  सर्वकल्याण र सर्वमङ्गल त उनको जीवनको मूलभूत विशेषता नै मानिएको छ ।  यसैका लागि उनी वायुभन्दा तेज गतिका दशवटा घोडाद्वारा तानिएका अत्यन्त उज्वल र तेजोमय रथमा बसेर अहर्निश संसारको भ्रमण गर्दै आएका छन् ।  उनी धर्मशास्त्रमा त यसै पारङ्गत मानिएका छन् यसबाहेक नीशिशास्त्रमा समेत निपुण ठहरिएका छन् ।  हस्तिशास्त्र (हात्तीको उपयोग र उपचारसम्बन्धी शास्त्र) का विशेष ज्ञाता मानिएका यी महर्षि धन्वन्तरि, दिवोदास, अश्विनिकुमार, नकुल, सहदेव, यम, अगस्ति, च्यवन १६ जना आयुर्वेदशास्त्रका आदि आचार्यमध्येमा पर्छन् ।  सर्वसारतन्त्र नामक आयुर्वेदशास्त्रका बेजोड चिकित्सा ग्रन्थ उनकै अमोघ कृति मानिन्छ ।  
अत्रि गोत्रीय परिवारका सदस्य मानिने बुधको बाबुको नाम चन्द्रमा हो भने आमाको नाम तारा हो ।  त्यस्तै उनका पितामहमा महर्षि अत्रि मानिएका छन् भने प्रपितामहमा स्वयं ब्रह्माजी नै रहेका छन् ।  त्यति भएर पनि उनको जन्मवृतान्त भने त्यति सुखद रहेको पाइएको छैन ।  प्रथमतः उनको जन्म नै नाजायज तरिकाले भएको छ ।  दोस्रो कुरो उनले जन्मना साथै मातृवात्सल्यबाट विमुख हुनु परेको छ ।  कसैको नाजायज सन्तान हुनुमा उनको कुनै दोष छैन ।  तैपनि अरूले गरेका यस अनैतिक कार्यको मूल्य भने उनले चुक्ता गर्नु परेको छ ।  उनी चन्द्रमाको पुत्र भए पनि उनकी आमा तारा स्वयं भने चन्द्रमाको नभई उनका गुरु बृहस्पतिकी धर्मपत्नी हुन् ।  यिनै अभिसारिकाले पति बृहस्पतिको अनुपस्थितिमा चन्द्रमासित गर्भधारण गरी उनलाई जन्म दिएकी थिइन् ।  यसै विषयलाई लिएर एकपटक देवता र दानवबीच घमासाय युद्ध नै भएको छ, जुन पौराणिक इतिहासमा तारकामय युद्धको नामले परिचित छ ।   
यद्यपि ब्रह्माजीले छोरो चन्द्रमालाई नै जिम्मा लगाउने र आमा बृहस्पतिलाई नै फिर्ता दिने शर्तमा तत्काल युद्धलाई समाप्त पारेका थिए र यसबाट देवासुर दुवै पक्ष लाभान्वित भएका पनि थिए ।  सबैभन्दा ठूलो कुरो त कसैले पनि अनाहकमा ज्यान दिनु परेको थिएन तर उनले भने यस नियतिको क्रुर बलिवेदीमा मातृवात्सल्यलाई चढाउनु परेको त्यो ।  उनलार्ई एक्लै छाडेर निष्ठुरी आमा त यसै पनि बृहस्पतिसित लहसिन पुगेकी थिइन् ल्याइतेपट्टिका छोरा भएकाले बाबु चन्द्रमाले पनि खासै ध्यान दिएका थिएनन् ।  यसै पनि आमा बिनाको सन्तानले कहाँ भाउ पाएका हुन्छन् र ।  तथापि हुने बिरुवाको चिल्लो पात भने जस्तो उनले तमाम समस्यासँग झेल्दै सानैदेखि आफूलाई यसरी खार्दै ल्याए कि उनलाई नवग्रहको पङ्क्तिमा राखेर सम्मान गर्न स्वयं ब्रह्माजी नै अघि सर्नुपरेको थियो ।  उनले जन्मतः चन्द्रमा र बृहस्पतिको जति नै हेलाको पात्र हुनुपरेको भए पनि कर्मतः तिनै बाबुहरूको समकक्षमा उभिन सफल भएका थिए ।  यस्ता अद्वितीय प्रतिभाका धनी महर्षि बुधको भौतिक शरीर त हामीले देखेका छैनौँ तर उनको आध्यात्मिकरूपले भने अहिले पनि नक्षत्रमण्डलमा रहेर संसारको गतिविधि नियन्त्रण गर्र्दै आएका छन् ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना