दुईदिनदेखि विद्युत् र टेलिफोन अवरुद्ध

गाईघाट (उदयपुर),  साउन २९ गते  । शुक्रबार बेलुकीदेखि आएको वर्षाले सुनसरीको इटहरीमा रहेको क्षेत्रीय टेलिकम सेवा कार्यालयको टावरमा गडबडी भएपछि उदयपुर जिल्लामा पनि दुईदिनदेखि मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन तथा मोबाइल सेवासमेत अवरुद्ध हुँदा स्थानीयवासी तथा पत्रकार सञ्चारकर्मीसमेत समाचार संकलन गर्नमा हैरानी पर्न थालेको उदयपुरका पत्रकार भक्तिविलास पोखरेलले बताउनुभयो ।

दुईदिनदेखि टेलिफोन सेवा सञ्चलन हुन नसक्दा तराईका केही जिल्ला र उदयपुरवासी टेलिफोन तथा मोबाइल सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासी बताउँछन् ।

आजदेखि टेलिकम सेवा सञ्चालन हुन सक्ने आफूहरुले जानकारी पाएको कुरा जिल्ला टेलिकम कार्यालय, गाईघाटले बताएको छ ।

यस्तै, निरन्तर वर्षाका कारण उदयपुर र सप्तरीको बीचमा पर्ने कद्माहा खोलामा आएको बाढीले विद्युत्को पोल ढालेकाले दुईदिनसम्म उदयपुरवासी अन्धकारमा बस्नुपरेको स्थानीयवासीले बताएका छन् ।

दुईदिनसम्म विद्युत् सञ्चालन हुन नसक्दा रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्नदेखि अन्य कुरासमेत ठप्प हुन पुगेको गाईघाटका राजकुमार कार्कीले बताउनुभयो ।

विद्युत्को पोल र तार मर्मत गर्ने काम भइरहेका कारण आजदेखि विद्युत् सञ्चालन हुनसक्ने अवस्था रहेको कुरा जिल्ला विद्युत् प्राधिकरण कार्यालय उदयपुरका प्रमुख अवधेशकुमार दुबेले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds