कृषिमा क्षति मूल्याङ्कनको तयारी


सुरेशकुमार यादव

काठमाडौँ, साउन ३० गते । देशैभरि आएको बाढी पहिरोले थुप्रै धनजन मात्र होइन कृषि पनि निक्कै नराम्ररी प्रभावित बनेको छ । मुख्य रोपाइँको समयमा राम्ररी पानि नपरेर चिन्तित बनेका  किसान धान रोपाइँको अन्तिम समयमा परेको अविरल वर्षापछि आएको बाढीले त्यसमा प्रत्यक्ष असर गरेको छ भने तरकारी खेती, खाद्यान्न, माछापालन, फलफूललगायतमा पनि व्यापक असर गरेको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि विभागमा आइतबार कृषि विकास मन्त्री रामकृष्ण यादवको उपस्थितिमा बसेको बैठकले देशैभरिको लागत सङ्कलन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न एउटा समिति गठन गरेका छ । आइतबार बेलुका पाँचबजे आएको प्रारम्भिक तथ्याङ्क अनुसार पूर्वाञ्चलमा १४ करोड मूल्य बराबरको तरकारी, फलफूलमा क्षति भएको छ भने तीन करोड रुपियाँ बराबरको माछापालनमा क्षति पुगेको छ । त्यस्तै भण्डारण गरिराखेको खाद्यान्नमा १२ करोड रुपियाँ बराबरको क्षति पुगेका छ । त्यस्तै, साढे दुई लाख हेक्टर धान खेतीमा क्षति पुगेको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले जानकारी गराउनुभयो । kamala mai nadi
उहाँले यो प्रारम्भिक तथ्याङ्क मात्र हो, जिल्लाहरूबाट तथ्याङ्क आउने क्रम जारी छ, मङ्गलबारसम्म मात्र यकिन तथ्याङ्क भन्न सकिने बताउनुभयो । धान रोपाइँ नयाँ भएका हुनाले भने ठूलो क्षति नहुने विज्ञहरूको भनाइ छ । जमेको पानी चाँडै हटेपछि धानमा खासै असर नहुने देखिन्छ, कार्कीले भन्नुभयो, धेरै दिनसम्म पानी जमिरह्यो भने त्यसले असर पार्न सक्छ तर आएको पानी तुरुन्तै गयो भने खासै क्षति नगर्ने विज्ञहरूको भनाइ छ । ’ सबभन्दा बढी असर तरकारी, माछा र फलफूलमा परेको बताउँदै उहाँले हालसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार झापामा तीन करोड, मोरङमा चार करोड, सिरहामा दुई करोड, सप्तरीमा दुई करोड रुपियाँ बराबरको क्षति भएको जानकारी गराउनुभयो ।
मन्त्री यादवको प्रत्यक्ष निगरानीमा रहने गरी देशैभरिको अवस्थाबारे जानकारी लिने र त्यसको प्रतिवेदन तयार गर्न मन्त्रालयको सचिव डा. सुरोज पोखरेलको संयोजकत्वमा नौ सदस्यीय एक समिति बनाएको छ । सो समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाउने छ र सातदिन भित्र क्षति पुगेको ठाउँ तथा किसानका लागि के के गर्न सकिन्छ त्यसको पनि प्रतिवेदन बुझाउनुपर्ने समितिको कार्यविधिमा उल्लेख छ ।
समितिको सदस्यहरूमा नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, योजना महाशाखाका सहसचिव, प्रशासन महाशाखाका सहसचिव, खाद्य सुरक्षा, कृषि व्यवसाय प्रबद्र्धन तथा वतावरण महाशाखा सहसचिव, नीति तथा अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखका सहसचिव, कृषि विभागका महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक रहनुभएको छ भने अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सो समितिमा सदस्य सचिवको रूपमा रहेको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी गराउनुभयो ।
मन्त्री यादवले आफूले मन्त्रालयका अन्य सबै कार्य छाडेर अहिले बाढी पहिरोमा परेकोलाई उद्धार तथा त्यसको क्षति सङ्कलनमा लाग्न निर्देशन दिएको बताउनुभयो । देशमा यस्तो विपद् आइपरेको छ, यसमा अवस्थामा मन्त्रालय मातहतका कुनै पनि निकाय चुप लागेर बस्नु हुँदैन सबैलाई आ–आफ्नो क्षेत्रमा खटेर त्यसको प्रतिवेदन मन्त्रालय स्तरीय समितिलाई जानकारी गराउन समेत निर्देशन दिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रमा भएको क्षति यकिन गरी किसानलाई के कसरी राहत दिन सकिन्छ त्यसको बारे पनि प्रतिवेदन आइसकेपछि योजना तयार हुने बताउँदै मन्त्री यादवले अहिलेलाई किसानलाई तत्काल के के राहत दिन सकिन्छ, त्यसका बारेमा डोनर एजेन्सीका प्रतिनिधिसँग पनि छलफल गरेको बताउनुभयो ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना