बाढी, पहिरोको सकस

kp gautamके.पी. गौतम


 

 

गत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा पहिरो र बाढीले जनधनको ठूलो क्षति गरिरहेको छ ।  तराई क्षेत्रका बस्ती–फाँट डुबानमा परेका छन् ।  मानवीय क्षति ब्यहोर्नुपरेको छ ।  कैयौँ व्यक्ति बेपत्ता भएका छन् भने हजारौँ विस्थापित भएका छन् ।  सडक, यातायात मात्र होइन हवाई यातायातसमेतमा अवरोध आएको छ ।  कतिपय विमानस्थल जलमग्न भएर विमान सञ्चालन हुन सकेका छैनन् ।  यस स्थितिमा तत्काल राहत र उद्धारका काम थालिहाल्नुपर्ने प्रमुख दायित्व सरकारसँगै सबै पक्षको हो ।  मन्त्रिपरिषद्ले पीडितलाई राहतसम्बन्धी निर्णय गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका प्रमुख निकायलाई तत्परताका साथ राहत उद्धार कार्य अगाडि बढाउन निर्देशन दिए पनि त्यो प्रभावकारी हुन सकेको देखिँदैन ।  स्थलगत उपाय नगरेर जहाज र हेलिकप्टर चल्न नसकेको कारण देखाई उद्धार राहतमा विलम्ब गर्नु लाचारीमात्र हो ।  
यस्ता विपत्तिका बेला प्रधानमन्त्री र मन्त्रीहरूले केन्द्रमा बसेर निर्देशन दिने मात्र गर्नुले पीडितको समस्या निदान हुँदैन ।  प्रधानमन्त्री, गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर पीडितलाई राहत र सान्त्वना दिँदा पीडितको मनोबल बढ्छ ।  साथै सम्बन्धित निकायको सक्रियता बढेर राहत कार्य प्रभावकारी बन्न सक्छ ।  उद्दार र राहत कार्यलाई कर्मकाण्डी बनाइनु हुँदैन ।
हालको प्राकृतिक प्रकोपबाट क्षेत्र २ नं. प्रदेश सर्वाधिक सङ्कटग्रस्त बनेको छ ।  आगामी असोज २ मा निर्वाचन हुने यो क्षेत्रमा आफ्नो प्रभाव भएको दाबी गर्ने राजनीतिक दल राहत उद्धार कार्यमा सक्रिय हुनु आवश्यक छ ।  यसो त केही दलले पीडित जनताको उद्धार र राहतका लागि टोली परिचालनको निर्णय गरी कायर्यकर्तालाई खटाएका छन् पनि तर ती दलका नेता पीडित क्षेत्रमा पुगेको देखिन्न ।  झन् आफूलाई मधेशवादी भन्ने दलका नेता आफ्नो क्षेत्र डुबानमा पर्दा, मतदाताको विचल्ली हुँदा काठमाडौँमै बसेर सत्ता राजनीतिको टन्टोमै दिन बिताएको देखिन्छ ।  जनताप्रति ती नेताहरूको दायित्व केही हुँदैन र ? के सरकारले राहत दिएन भनेर नारा लगाउने मात्र तिनको जिम्मेवारी हो र ? आपतको बेला सङ्कटग्रस्त जनतासम्म पुगेर राहत र उद्धारमा नजुट्ने हो भने त्यस्ता दल र नेताहरूले आसन्न चुनावमा ठूलै क्षति उठाउन बेर लाग्दैन ।  पीडितहरूका घाउमा मलम लगाउन खटेर नै जनताको माया कमाउन सकिन्छ भन्ने हेक्का रहोस् ।  
तराईको डुबान समस्या सदाको समस्या बनेको छ ।  यो प्राकृतिक भन्दा पनि मानव सिर्जित छ ।  तराईमा भारतसँगको सीमावर्ती क्षेत्रमा कोशी, गण्डकी, लक्ष्मणपुरजस्ता ठूलाठूला बाँध, अग्ला सडक र तटबन्ध बनाइएको हुँदा पनि नेपालतर्फका गाउँ बस्ती डुबानमा पर्ने गरेका छन् ।  पानीको बहाव प्राकृतिक हुन्छ तर त्यो थुनिदिएपछि अप्राकृतिक असर देखाउँछ उसले ।  नेपालको पानी नेपाली भूमिमै थुनिएको छ तर त्यो नेपालका तर्फबाट होइन, भारतीय संरचनाका कारण ।  कोशी गण्डकी सम्झैतामा नेपाल चुकेको थियो तर लक्ष्मणपुर, खुर्दलोटन लगायतका दशगजे पर्खाल भारतीय हैकमका नमुना बनेका छन् ।  आफ्नाो हितानुकूल सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सन्धिविपरीत बनाइएका संरचनाका कारण तराईका २६ जिल्लाका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेको विज्ञले बताउने गरेका छन् ।  
नेपालले औपचारिक रूपमै सीमा क्षेत्रमा भारतले बाँधेका बाँधलगायतका संरचनाका कारण नेपाल पीडित बनेकोले समस्याको समाधान गर्न भारतसँग पटकपटक प्रस्ताव राख्ने गरेको सुनिन्छ तर समस्या सम्बोधन भएको छैन ।  बरु समस्या थपिने गरेको छ ।  यसपटक परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालका लागि भारतीय राजदूतलाई ‘तराईमा अधिकांश स्थानमा डुबानमा परी जनजीवन प्रभावित भएकोले थप क्षति हुन नदिन आग्रह गर्नुभयो ।  यो भनाइले बुझाउँछ– यो डुबान समस्या भारतकै कारण सिर्जित हो भन्ने नेपाल सरकारको ठम्याइ छ ।  
परराष्ट्रमन्त्रीको आग्रहपछि भारतीय राजदूतले कोशी बाँधका ढोका खोल्न पहल भइरहेको जवाफ दिए पनि धेरै क्षतिपछिमात्र बाँधका ढोका क्रमशः खोलिँदै गएका खबर आए ।  अझ विडम्बना त कतिपय सरकारका जिम्मेवार व्यक्तित्व र तराईकै जान्ने बुझ्नहरूले बाँधका ढोका खोल्न भारतलाई दबाब दिनु सट्टा बिहारको चिन्ता गरे र प्राविधिक रूपमा बाँधका ढोका एकैपटक खोल्न नमिल्ने सफाइ दिँदै सामाजिक सञ्जालमा लेखे ।  आफ्नो भूमि, जनताभन्दा सीमापारिको चिन्ता बढी देखियो !
यो डुबान समस्या त्यही दिन शुरु भएको थियो जुन दिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल भारत सम्बन्ध अत्यन्त अमूल्य रहेको बताउनुभएको थियो ।  ‘खेला सीमानाका कारण जनस्तरको सम्पर्कले आपसी सम्बन्धको गहिराइ र गहनतालाई चित्रित गरेको बताउँदै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवधारणा ‘सबैको साथ सबैको विकास’ बाट नेपाली उत्साही नबनेको बताउनुभएको थियो ।  तर यही दिनको वर्षका कारण आएको बाढी सीामावर्ती क्षेत्रमा थुनिएर नेपाली र नेपाली पुरिनुप¥यो ! छिमेकी भारतको विकास त भएको होला तर त्यकासका कारण नेपाल प्रताडित हुनुप¥यो ।  कतिसम्म भने नेपाल र नेपाली डुबे, बगेको प्रति भारतीय पक्ष संवेदनशील बन्न सकेन ।  नत्र त कोशीबाँध लगायत अरू तटबन्ध, सडकका ढोकाहरू तत्काल खोलिने थिए ।  छिमेकीलाई दुःखमा पारेर आपूm मात्र सुरक्षित हुन खोज्ने प्रवृत्ति मानवीय र शिष्ट हुनै सक्दैन ।  बाढी दुवै मुलुकको साझा समस्या हो ।  बाढी बगेर जाने भारततर्फ नै हो ।  त्यसैले प्राकृतिक रूपमै जलनिकास व्यवस्थित गरी दुवैतर्फको क्षति रोक्ने सम्भावित उपायहरूको खोजी नेपाल–भारत दुवैतर्फबाट हुनु आवश्यक छ ।  यस निम्ति नेपालतर्फबाट विशेष पहल हुनु आवश्यक छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका अवसरमा भारतनिर्मित संरचनाका कारण सिर्जित डुबान समस्या समाधानका लागि तत्काल पानीको प्राकृतिक निकासका उपाय अवलम्बन गर्ने बन्दोबस्त मिताउने गरी छलफलको षिय बनाउनु आवश्यक देखिएको छ ।  आफ्नो मुलुक र जनताको हित निम्ति जायज ठहरिने कुरामा भारतले के भन्ला वा रिसाउला भन्ने हीनभावना राखिनु हुँदैन ।  
तत्काललाई राष्ट्रिय विपत्तिको बेला सत्तापक्ष, प्रतिपक्ष, सामाजिक सङ्घसंस्था सबैले हातेमालो गरेर जनताका जिउधनको सुरक्षाका निम्ति एकताबद्ध हुने संस्कार देखाउनुपर्छ ।  बाढी पहिरोजस्ता समस्या प्राकृतिक घटना हुन् तर यिनबाट हुने क्षति न्यूनीकरणका उपायहरू अवलम्बन गर्न सकिन्छ ।  डुबान क्षेत्रका बस्तीलाई स्थानान्तरण गर्न, पहिरो मुनिका गाउँलाई अन्यत्र सार्न प्रभावकारी रूपमा लागिनुपर्छ ।  यी पीडितको हविगत पनि भूकम्पपीडितको जस्तो नबनोस् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना