जलवायु परिवर्तनबाट सिर्जित समस्या



सुदर्शन अधिकारी

 

 

समयको अन्तरालमा पृथ्वीको वायुमण्डलको तापक्रम हावाको बहाव र वर्षात्मा हुने घटबढका कारण पृथ्वीको कुनै भागमा मौसममा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । पृथ्वीको वायुमण्डल नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यास मिलेर बनेको हुन्छ । यीमध्ये कुनै ग्यासमा बढी ताप सञ्चित गरेर राख्ने क्षमता हुन्छ भने कुनैमा कम मात्रै, यसका कारण माथि उल्लेख गरिएका नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड ग्यासको मात्रा बढ्ने वा अनुपातमा परिवर्तन आउने हुन्छ । यसो भएमा वायुमण्डलमा रहेको ग्यासमा पनि परिवर्तन हुन्छ । पछिल्लो तथ्याङ्कअुनसार पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, कार्बनमनोअक्साइड, मिथेन जस्ता ग्यासको मात्रा बढ्दै गएको देखिन्छ । यी ग्यासले पृथ्वीबाट अन्तरीक्षमा फिर्ता हुने विकिरणलाई अवरुद्ध गर्छन् ।
अर्को शब्दमा बुझ्नुपर्दा यी ग्यासले केही विकीरणलाई आफैँले सोसेर राख्छन् भने केही पृथ्वीतिर फर्काइदिन्छन्, जसले गर्दा पृथ्वीले प्राप्त गर्ने सौय विकीरणभन्दा अन्तरीक्षमा फिर्ता जाने विकीरण कम हुन्छ । यसै प्रक्रियाले गर्दा पृथ्वीको वायुमण्डलको ताफक्रम बिस्तारै बढ्दै गएको छ । अध्ययनअनुसार हरेक वर्ष पृथ्वीको तापक्रम ०.०६ डिग्रीको दरले बढ्दै गएको छ । तापक्रमको वृद्धिले पृथ्वीको ध्रुवीय क्षेत्रको हिउँ पग्लने क्रममा वृद्धि भएको छ । यसले गर्दा समुद्रको पानीको तापक्रम बढ्न गई समुद्रको पानीको आयतनलाई बढाएको छ ।
यसैकारणले समुद्री तटको भूमि र बस्तीलाई असर पु¥याएको छ । हिमाली भागमा तापक्रम वृद्धिकै कारणले हिउँ पग्लने क्रममा वृद्धि आएको छ । यसबाट पृथ्वीमा पानीको सन्तुलन बिग्रन गई सबै प्राणीको जीवनमा नकारात्मक असर पर्दै गएको देखिन्छ । समुद्री तहको पानीको तापक्रम बढेकोले उक्त क्षेत्रको जैविक विविधतामा ह्रास आई त्यहाँको जीवजन्तुमा नकारात्मक असर परिरहेको छ । वायुमण्डलको तापक्रम बढ्नाले मौसमअनुसार फुल्ने फूलहरू साबिकभन्दा अगाडि नै फुल्न थालेका छन् । वसन्त ऋतुमा चराहरूले चाँडै अण्डा पार्न र चल्ला कोरल्न थालेका छन् । यसबाट तिनीहरूको खाद्य चक्रमा असर परिरहेको छ ।
जसका कारण सिङ्गो पारिस्थितिक प्रणाली नै जोखिममा पर्न सक्ने खतरालाई बढाएको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्न जाँदा समथर तथा गर्मी स्थानमा मात्र पाइने झिँगा लामखुट्टे जस्ता रोगवाहक कीरा ती उच्च स्थानमा पुग्न थालेकाले उच्च हिमाली भेगमा समेत रोगको महामारी फैलिने क्रम बढेर गएको छ । कृषि तथा पशुपालन क्षेत्रमा नयाँ–नयाँ वनस्पति र कीराको प्रकोपले नकारात्मक असर परेको र अझै त्यस्ता असर बढ्न सक्ने सम्भावना देखिन्छ । होचो तथा न्यानो भूभागमा हुने जैविक विविधताको बासस्थान बिस्तारै उच्च तथा चिसो क्षेत्रमा स्थानान्तरण हुँदै गएको छ ।
जलवायु परिवर्तनकै कारणले हिमाली क्षेत्रको जैविक विविधताको बासस्थानमा प्रतिकूल प्रभावका कारण लोप हुने अवस्थामा पुगेका छन् । पृथ्वीको तापक्रमले औसत वर्षामा परिवर्तन ल्याएको छ । भूमध्य क्षेत्रमा वर्षाको मात्रा घटेको छ भने ध्रुवीय क्षेत्रमा वर्षाको मात्रा बढेको छ । यसले गर्दा भूमध्य रेखीय भूभागमा सुख्खा र खडेरीले नकारात्मक असर देखाएको छ । उच्च पहाडी क्षेत्रमा बाढी एवम् पहिरोको जोखिम बढाएको छ, जुन गम्भीर चिन्ताको विषय बनेको छ । त्यस्तै समयमा वर्षा नहुने त कहिले ढिलो वर्षा शुरु भई छिट्टै सकिने अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिको कारण मानव जीवन चक्रमा नकारात्मक प्रभाव पर्न गएको छ ।
जलवायु परिवर्तन हुुनुका पछाडि मानवको अविवेकीपन नै मुख्य कारण हो । तसर्थ, यस समस्याको निराकरणका लागि मानवबाट पहल हुनुपर्छ । तीव्र रूपमा हुँदै गएको जलवायु परिवर्तनलाई कम गर्न तथा परिवर्तित जलवायुमा सहज ढङ्गले बाँच्न सक्ने वातावरण बनाउन मुख्यतः हाल वायुमण्डलमा रहेको हरितगृह ग्यासको मात्रामा कमी ल्याउनुपर्छ भने जलवायु परिवर्तनले ल्याएका असरलाई कम गरी त्यसबाट जनजीवनमा आइपर्ने विपत्ति न्यून गरी जीवन पद्धतिलाई सहज बनाउनुपर्ने छ । हरित गृह प्रभाव कम गर्न वायुमण्डलको तापक्रम वृद्धि गराउने पेट्रोलियम पदार्थ एवम् कोइलाजन्य ऊर्जाको प्रयोगलाई कम गर्नुपर्छ ।
त्यस्तै वनको संरक्षण र सम्बद्र्धन गरी नाङ्गा जमिनमा वृक्षरोपणद्वारा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा कम गर्न गम्भीरताका साथ लाग्नुपर्छ । वायुमण्डलको हरित प्रभावलाई कम गरी जलवायुमा सन्तुलन ल्याउन एउटा देशको एक्लो प्रयासले मात्र सम्भव छैन, यसका लागि सारा विश्व नै होस् प्रतिबद्धताका साथ लाग्नुपर्छ । पहिलो प्राथमिकता भूक्षय कम गर्न बाढी पहिरोमा नियन्त्रण गर्नका लागि वृक्षारोपण गर्ने तथा जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने विपत्तिबारे जनचेतना अभिवृद्धि गरी सुरक्षाको पूर्व तयारीमा जोड दिनुपर्छ । दोस्रो राज्यले जलवायु परिवर्तनलाई न्यून गर्न राज्यका तर्फबाट अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन नगर्ने हो भने यो समस्याले विकराल स्वरूप लिँदै जानेछ । केही वर्ष अगाडि विश्वको ध्यान जलवायु परिवर्तनबाट सिर्जित समस्यातर्फ केन्द्रित गर्नका लागि सगरमाथाको आधार शिविरको कालापत्थर भन्ने स्थानमा मन्त्रिपरिषद्को बैठक गरेको थियो । मूलतः कार्बन उत्पादन गर्ने ठूला र औद्योगिक राष्ट्रले गर्दा जलवायु परिवर्तन तीव्र रूपमा भइरहेको छ परिणाम हाम्रो राष्ट्रले भोग्नुपरिरहेको छ ।

 

प्रकाशित मिति: २०७४/५/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना