प्रतिकूलतामा अनुकूलताको खोजी

nirmal k acharya_1निर्मलकुृमार आचार्य

 

मुलुकमा राजनीतिक अन्योल अन्त्य भएको छैन । अस्थिरता, अनिश्चितता र अनिश्चिन्तताका काला बादल मडारिइरहेका छन् । ढिलै भए पनि संविधानसभाबाट संविधान बनेको त छ तर कार्यान्वयनको पाटो अझै सुस्पष्ट हुनसकेको छैन । स्थानीय तहकै निर्वाचन पूरा भएको छैन भने प्रदेश तथा केन्द्रको निर्वाचनका सम्बन्धमा रस्साकस्सी जारी नै छ ।
संविधानका मूलभूत पक्ष कार्यान्वयनमा नआउन्जेल विकास, निर्माणका कार्यले गति नलिनु अस्वाभाविक होइन । राजनीतिक आकाश छ्याङ्ग नरहेकैले स्वदेशी, विदेशी लगानी ओइरिनसकेको छैन । स्थानीय, प्रदेश तथा केन्द्र (सङ्घ)को निर्वाचन सम्पन्न नभएसम्म सङ्क्रमणकालको छायाले अँचेटिरहने भएकाले पनि नानाथरी शंका, आशंका र अविश्वासलाई निरन्तर मल, जल प्राप्त भइरहेको छ ।
राष्ट्रिय मूल गन्तव्य प्राप्त नहोउन्जेल एक सूत्रमा आबद्ध रहनुपर्ने राजनीतिक शक्ति आपसी निकटताको अभावले हाँस न बकुलाको चालमा रहेका छन् । त्यसमाथि, अन्तरदलीय घम्साघम्सी र टुटफुटको प्रकरणले खूब जगहँसाइ गरिरहेको छ ।
अकल्पनीय भूकम्पले थिलथिलो बनाएको मुलुक अहिले बाढी, पहिरोले तेस्र्याएको त्रासदी बेहोर्न विवश बनेको छ । बर्खाभरि भिजेर र हिउँदभरि कठ्याङ्ग्रिएर ज्यान धानिरहेका पीडितले यतिखेर पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप झेलिरहनुपरेको छ ।
यस्ता कैयन प्रतिकूलता सतहमै तैरिरहेकाले ढुक्क हुने वातावरणको अभाव रहेको ठम्याउन कसैलाई अप्ठेरो पर्ने स्थिति छैन । जतिसुकै प्रतिकूल परिस्थिति भए पनि यसैमा अनुकूलताको खोजी गरिनु अहिलेको आवश्यकता हो । भनिन्छ, बर्सात्मा सबै चरा आश्रय खोज्छन् तर बाज चाहिँ बर्खाबाट जोगिन बादलभन्दा मााथि उड्छ ।
प्रतिकूलतामै आफ्नो वास्तविक शक्ति, प्रतिभा, आँट, धैर्य, उत्साहको ज्ञान हुन्छ । यस अर्थमा प्रतिकूलतालाई आफ्नो सामथ्र्य जाँच्ने कसीका रूपमा पनि लिन सकिन्छ । प्रतिकूलताको अग्निमा तातेर र घनको चोट सहेर फलाम भाँडा र सुन गहना बन्ने कुरो चखिलो मात्र छैन, घतलाग्दो पनि छ ।
प्रतिकूलतामा अनुकूलताको खोजी नगर्ने हो भने विडम्बनाको भासबाट मुक्तिको कथा केवल व्यथामा परिणत हुनेछ । प्रतिकूलतामा हरेक नेतृŒवले स्वशक्ति पहिचान गर्नु प्राथमिक दायिŒव बनेको छ । मुलुकमा भएका सबै शक्ति एक भई अग्रसर हुने हो भने प्रतिकूलता अनुकूलतामा परिणत हुन बेर लाग्ने छैन । कतै पढेको महाभारतको एक प्रसंग यतिखेर उद्धरणीय बनेको छ । धर्मराज भनी कहलाएका युधिष्ठिर धर्मबलमा कम थिएनन्, हजार हात्तीको बल भएका बाहुबली भीम कम्ताका थिएनन्, शस्त्रबलमा अर्जुन अद्वितीय थिए, तैपनि जुवामा हारेपछि द्रोपदीको चीरहरणका बखत शिर निहुराएर बसे तर त्यस प्रतिकूलतामा पनि द्रोपदीले शुरुमा आफ्नै बलले सारीको रक्षा गरिन् भने पछि कृष्णको सहयोग लिइन् । यी तिनै पाण्डव हुन्, जसले पछि चर्को प्रतिकूलतामा आफ्नो शक्तिको पहिचान गरी बलशाली मानिएको कौरव पक्षलाई परास्त गरे ।
पाण्डवका लागि कौरवलाई हराउनु मात्रै महाभारतको विषय थियो तर यहाँ चुनौतीका अनेक महाभारत रहेका छन् । सबैभन्दा अधिक चुनौती संविधान कार्यान्वयनको छ । असन्तुष्ट पक्षलाई कसरी समेट्ने ? सामान्य कुरो होइन । विकास, निर्माणका कामलाई कसरी अघि बढाउने ? विशाल दुई छिमेकी भारत र चीनसँग के कसरी सम्बन्ध विस्तार गर्दै बढ्ने र तिनका सहयोग कसरी निरन्तर पाइरहने ? मुलुकलाई पछ्यौटेपनबाट यथाशीघ्र मुक्त गर्न के कस्ता कदम बढाउने ? आदि पक्ष ज्वलन्त रहेका छन् ।
प्रतिकूलताका माझ अनुकूलताका लक्षण पनि नरहेका होइनन् । असन्तुष्ट मधेशकेन्द्रित दललाई सन्तोषको लालीपप दिन सर्वदलीय सहमति भएको छ । व्यवस्थापिका संसद्मा लामो समयदेखि विचाराधीन संविधान संशोधनको प्रस्तावसम्बन्धी प्रक्रिया अघि बढाउन प्रतिपक्षी दल नेकपा (एमाले) सहमत भएको छ । कुनै हालतमा संशोधन प्रस्ताव संसद्मा प्रस्तुत हुन नदिने अडानमा रहेको एमाले सहमतिमा आउनु र गाँठो फुकाउन अग्रसर रहनु अनुकूल वातावरण सिर्जनाका लागि उल्लेख्य पक्ष बनेको छ । पारित भए पनि नभए पनि त्यसलाई स्वीकार्ने दिशामा राजपा, नेपाल लचक रहनु अर्को अनुकूलताको पाटो हो ।
अनुकूल बन्दै गइरहेको वातावरणले आगामी असोज २ गते प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सुसम्पन्न गराउनेमा सन्देह रहोइन । आउँदो मङ्सिर महिनाभित्रै संवैधानिक व्यवस्थाअनुसार सबै निर्वाचन सम्पन्न गर्ने तयारी रहनु पनि प्रतिकूलतामाझ अनुकूलताको मेलोमेसो मिलाउने उपायका रूपमा लिन सकिन्छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एउटै चरणमा गर्न सकिन्छ, सकिँदैन ? विशद चर्चा, परिचर्चा भइरहेका छन् । यसलाई पनि अनुकूलताका लागि सकारात्मक पहल मान्न सकिन्छ ।
मुलुक बाढीपहिरोले दुखित बनेको बेलामा तात्कालिक उद्धार र राहतको कति महŒव हुन्छ भनिरहनु परोइन । यतातिर विभिन्न तह र तप्का सक्रिय रहेको पाइए पनि समुचित हिसाबमा काम कुरो नभइरहेको छर्लङ्गै छ । यस्ता घटना हुनासाथ खटिइहाल्ने संयन्त्र बनाउनेतिर सरकारी निकायले मात्रै होइन, गैरसरकारी संस्थाले पनि सोच, सक्रियता बढाउनुपर्ने देखिन्छ । राजनीतिक दलका भ्रातृ, भगिनी संस्थाको भूमिका पनि यतातिर रहनैपर्छ । राहत सामग्री वितरण गरिँदा कतै खातै खात, कतै पुर्पुरामा हातको स्थिति रहनुहुँदैन नै ।
मुलुकलाई बाढीले हरेक वर्ष ठूलो घाउ दिँदै आएको छ । बाढीपीडितले राहत नपाएका उदाहरण पनि कम छैनन् । क्षतिपूर्ति नपाएका कोशीपीडितका दुर्दशा भनीसाध्य छैन । शारदा ब्यारेज, कोशी ब्यारेज, लक्ष्मणपुर बाँध, रसियावाल खुर्दलोटन बाँध, सिरहा बाँध, खाँडो बाँध, महलीसागर बाँध आदिले हरेक साल नेपाली जनधनको ठूलो नोक्सानी पु¥याउँदै आएका छन् । भारतले एकपक्षीय हिसाबमा बनाएका बाँध, तटबन्ध, सडकका कारण नेपाली भूमि बढी नै डुबानमा पर्ने र जन, धनको नोकसानी हुने गरेको कुरो कुनै नौलो होइन । तैपनि, अन्तर्राष्ट्रिय कानुन तथा प्रतिबद्धताविपरीत बनाइएका यस्ता बाँध आदि संरचना हटाउनेतर्फ सक्रियता नबढ्दा स्थानीयजन क्रुद्ध हुनु स्वाभाविक हो ।
भारतीय बाँधका कारण नेपालमा परेका मर्का र पीडालाई कूटनीतिक तबरमा राखी, आवश्यक क्षतिपूर्तिसहित समाधानको बाटो निकाल्नुपर्नेमा कतै विमति देखिँदैन । यस्तो प्रतिकूलतामाझ पनि अनुकूलताको लक्षण पनि रहेको छ । नेपाल भारतबीच यस्ता पक्षमा पनि समाधानका उपाय खोजिनु पर्छ । सबै छिमेकीलाई चिढ्याएर भारतले दुनियामा ओजस्विताको परिचय दिन सम्भव छैन । त्यसैले पनि छिमेकीसित सुसम्बन्ध कायम गर्न भारतीय पहल आवश्यक छ । सीमाको विषय होस् वा बाँध, तटबन्धका सन्दर्भ होऊन्, वार्ता, संवादलाई सेतु बनाई मित्रताको सुदूर यात्रामा लम्कनु दुवै मुलुकका लागि श्रेयष्कर पथ बनेको छ । कालापानी, सुस्ता, लिपुलेक जस्ता क्षेत्रका सम्बन्धमा पनि सदैव विवाद रहनु उचित होइन । सीमाविवाद लम्ब्याइरहनुको कुनै तुक छैन ।
छिमेकीप्रतिको परम्परागत सङ्कुचित नीति त्याग्नुपर्ने सुझाव भारतीय कूटनीतिज्ञ तथा वरिष्ठ राजनीतिज्ञहरूले नै दिइरहेको परिपे्रक्ष्यमा आउँदा दिनमा फरक लक्षण देखिने आशा राख्न सकिन्छ । भुइँचालोले शोकार्त बनाएको नेपालमाथि नाकाबन्दीको चुकुल कसिँदा त्यसबाट कोही कसैको भलो नभएको यथार्थलाई ठन्डा दिमागले मनन गर्नैपर्छ । शान्ति, स्थिरता, लोकतन्त्र र विकासको बाटामा अग्रसर हुन खोजेको नेपाललाई उदार हृदयसाथ सघाएर भारतले आत्मीयताको चिनारी दिनसक्ने लक्षण देखिँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनसक्ने खबरलाई अनुकूलताका लागि शुभ संकेतका रूपमा लिनसकिन्छ ।
अभिन्न मित्रका रूपमा रहेको चीन नेपालका हरेक विकास, निर्माण, उद्यम, व्यापार तथा उत्थानका बाटामा सहयोगी हुनु र अझ सघाउन उद्यत रहनु अनुकूलतम वातावरण बन्दै गएको वस्तुस्थिति हो । उत्तरतिरका सबैजसो नाका खुलाउनेतिर प्रयास हुनसके यसले न केवल नेपालका हरेक क्षेत्रलाई उत्ति नै प्रगतिमार्गमा लम्काउने निश्चित छ । भारत होस् वा चीन दुवैका विकास अभियान र मित्रताबाट नेपालले अनेक लाभ हासिल गर्नसक्छ । यस दिशामा दुवै देशप्रति राम्रो सम्बन्ध कायम राख्दै मुलुक र मुलुकवासीको सर्वोत्तम हित गर्नु वर्तमान आवश्यकता बनेको छ । भारत र चीनबीच जे जस्तो प्रतिकूलता रहेको भएता पनि त्यसभित्रबाट अनुकूलताको खोजी गर्नु र शान्ति, सहमति र सहकार्यको सन्देश दिनसक्नु बौद्धभूमि नेपालका लागि अपरिहार्य कदम बनेको छ ।
मूलतः देशभित्रको सवाल होस् वा बाहिरको, प्रतिकूलतामा पनि अनुकूलताको खोजी गर्ने र तदनुकूल राष्ट्रिय सहमति, सहकार्य र एकता जुटाई बढ्ने हो भने सर्वथा सुखद एवं सार्थक परिणाम हात लाग्नेछ ।

प्रकाशित मिति: २०७४/५/२

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना