पाको उमेर : आफैँलाई भारी

Puru risalपुरु रिसाल

 


नेपालीमा एउटा भनाइ छ– एउटी आमाले १० वटा छोराछोरी पाल्न सक्छिन् तर १० वटा छोराछोरीले बाबु वा आमा पाल्न सक्दैनन् । यसको अर्थ आर्थिक अवस्थाले होइन, यतिखेर विकसित हुँदै गएको परिस्थिति र प्रवृत्तिको कारण हो । किन छोराछोरीले बूढा बाबु–आमालाई हेरचाह गर्न सक्दैनन् त ? यसका अनेक कारण छन्– पहिलो कुरा युग बिस्तारै व्यक्तिवादी हुँदै गएको छ, म र मेरा सन्तानप्रति मात्र मेरो दायित्व हो भन्ने धारणा विकसित हुँदै जानु । दोस्रो, शहरी परिवेशमा श्रीमान् श्रीमती दुवै काममा जाँदा केटाकेटीलाई स्कुलको जिम्मा लगाउनु तर बूढा
बाबु आमालाई समय दिन नसक्नु । तेस्रो, ग्रामीण परिवेशजस्तो सानो कमाई सानै खर्चले धान्न नसकिने हुँदा बूढाबूढीका लागि गरिएको खर्चलाई अनुत्पादक मान्नु । पहिले आफू बुहारी हुँदा सासुले बुहारीमाथि देखाएको सासुपनबाट दिक्क भएका बुहारीले आफ्नो हैकम घरमा भएपछि प्रतिशोधको धारणा बनाउनु । चौँथो, बूढाबूढीका लागि औषधोपचार गर्नुपर्दा अतिरिक्त खर्च लाग्नु, जसलाई आफ्नो आम्दानीले धान्न नसक्नु । यस्ता अरू पनि कतिपय कारण छन्, जहाँ युवा पुस्ताले आफ्नो अघिल्लो पुस्तालाई बोझको रूपमा लिने गर्छन् । यसका कोही छैनन् भनेर छोराछोरीले नै बाबुआमालाई वृद्धाश्रमको जिम्मा लगाएका उदाहरण प्रशस्त छन् । यो समस्या नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय हो । ‘ओल्ड एज होम’ मा कैयौँ बूढाबूढी भेटिन्छन्, जसका छोराछोरी राम्रै आम्दानी गरिरहेका हुन्छन् तर घरमा हेरचाह गर्ने जनशक्तिको अभावले गर्दा ‘ओल्ड एज होम’ मा राख्नुभन्दा अर्को उपाय छैन । वर्षमा एक पल्ट छोरो भेट्न आउँदा गौरव ठान्छन् । समयको सन्देश हो यो ।
इजरायलमा नेपालीहरू केयर गिभर अर्थात् हेरचाह गर्ने जनशक्तिको रूपमा लगिएका छन् । पैसाका लागि विदेशी आमा बाबुको स्याहार सम्भार गर्न जानेको लर्काे छ तर पैसा नपाइने हुँदा आफ्ना पूर्वजको सेवा गर्ने धेरैलाई इच्छा छैन केही अपवाद छाडेर । आमा बाबुले पैसा जोगाएर राखेका छन् भने त्यसको लोभमा देखावटी सेवा गरेका हुन्छन्, भित्रभित्रै कहिले जाने हुन् भनी सराप्दै रहन्छन् । उमेरले नेटो काट्दै गए पछि बूढाबूढीमा अनौठो स्वभाव विकसित हुँदै जान्छ र आफ्नोसँगै बसेको परिवारले जति नै राम्रो गरे पनि चित्त बुझाउँदैनन् । बाहिरबाट एकछिन भेट्न आएको मानिसले लोलोपोतो गर्छन्, त्यसैमा मख्ख परेर आफ्नाको कुरा काट्न थाल्छन् ।
निश्चय नै, समयसापेक्ष ज्येष्ठ नागरिक अपडेट हुन सक्दैनन्, प्राविधिक विकासमा उनीहरूको सक्रिय सहभागिता रहन सक्दैन । त्यसै भएर सेवाको उमेर निर्धारण गरिएको हुन्छ । सरकारी सेवामा ५८ वर्षको अवधि निर्धारण गरिएको छ भने सुरक्षासँग सम्बन्धित निकायको आ–आफ्नै नियमअनुसार अवकाशको व्यवस्था गरिएको छ । कारण के हो भने– त्यसपछिको समयमा उसले अपेक्षाअनुसारको सेवा दिन सक्दैनन्, शारीरिक र मानसिक क्षमता घट्दै गएको हुन्छ तर पहिले निर्धारण गरिएको उमेरको अवधि कम्ती हो कि भन्ने चर्चा चल्न थालेको छ । मान्छेको सरदर आयु बढ्दै गएको सन्दर्भमा सेवाबाट अवकाशको उमेर पनि बढाउने हो कि ?
हामी कहाँ एउटा भनाइ छ– आमाबाबु पाल्ने प्रश्न गर्दै भनिन्छ फलाना वा फलानीलाई कुन छोराले पालेको छ हँ ? पाल्ने भन्ने भनाइले आश्रित भन्ने बुझाउँछ । सानो छँदा केटाकेटी आमाबाबुमा आश्रित हुन्छन्, यो बेग्लै कुरा हो तर प्रौढहरूलाई पालेको भन्नुभन्दा सँगै बसेको धारणा राख्दा राम्रो हुने थियो । संस्कृतमा ‘मातृ देवो भवः पितृ देवो भवः’ अर्थात् आमाबाबुलाई देउतासरह सम्मान गर भनेको छ । समयले परिवर्तन ल्याउने रहेछ, सोचाइमा परिवर्तन यी बूढाबूढीलाई सँगै राख्दा निकै घाटा पो भयो
हँ ? व्यावसायिक सोचाइको लक्षण हो– आमा बाबुको हेरचाह पनि नाफा र नोक्सानमा तुलना गर्ने । केही समययता व्यक्तिवादी सोचले व्यापकता पाउँदै गएको छ । व्यक्तिवादी फाइदा र बेफाइदाका बारेमा मात्रै बढी सजग हुने प्रवृत्तिको विकास भएको छ । यसले गर्दा परिवारमा पनि दाजुभाइमध्ये बाबु आमाको हेरचाह कसले गर्ने भन्ने समस्या उत्पन्न भएको छ । अङ्ग्रेजीको भनाइ ‘प्रयोग गर अनि फ्याँक’ लाई नयाँ पुस्ताले व्यवहारमै देखाएको छ । उदाहरणका लागि मध्यम वर्गीय परिवारका युवा पुस्ता पढ्ने निहुँमा विदेश जान्छन् । त्यहाँ उनीहरूको विवाह भएपछि सन्तान जन्मदाको पहिलो चरणमा स्याहार सुसार गर्नेको जरुरत पर्छ, अनि नेपालबाट सासु वा आमालाई झिकाउँछन् । ती आमा वर्ग पनि छोरा वा छोरीले बोलाए भनेर घिरौँला जत्रो नाक पारेर जान्छन् । जब केटाकेटी ५–६ महिनाको हुन्छ, उनीहरूलाई डेकेयर सेन्टरमा राखेपछि आमा–सासु वर्ग घाँडो हुन्छन्, हेलाको मात्रा बढ्दै जान्छ । उनीहरू निन्याउरो मुख लगाउँदै फर्कन्छन् ।
एक प्रकारले यो पनि मान्यजन प्रतिको अपहेलना नै मान्नुपर्छ । कैयौँ सुत्केरी स्याहारेर फर्केका आमा सासुले यो गुनासो गरेका छन् । भलै यो केही समयको कुरा हो जतिखेरसम्म आमावर्ग आफ्नै बलबुताले काम गर्न सक्छन् बोलाइन्छन् । यहाँ त त्यस्ता बूढाबूढीको कुरा गरिएको हो, जो आम्दानी गर्ने त के पकाएर खान सक्ने अवस्थाबाट समेत उकालो लागि सकेका छन् । यता शहरी जीवन आफ्नै प्रकारले बदलिएको छ । साना नानीहरू स्कुल जान्छन्, उनीहरूका आमा बाबु अफिस भ्याउन पुग्छन्, घरमा बूढाबूढी मात्र रहन्छन् । दिउँसो के खाने, कसले दिने यो पिरलो दरिलो छ । यतिलाई अपहेलना भन्न मिल्दैन । न कमाइ खान पाइँदैन, एउटाको कमाइले पुग्दैन अनि दम्पती नै काममा जान्छन्, बूढाबूढीको हेरचाह पुग्दैन । यो बाध्यताको उपज हो । अर्का एकथरि हुन्छन्, आमाबाबुको सम्पत्ति अर्थात् घरजग्गा पmकाइफुल्याई आफ्नो नाममा ल्याउँछन्, अनि शुरु हुन्छ निरन्तर हेलाको श्रृङ्खला । यो सबै परिवारमा लागू हुन्छ भन्ने होइन । कतिपय अपवाद पनि हुन्छन् ।
प्रत्येकको घर आँगनमा पुगेर सरकारले केही गर्न सक्दैन तर कानुनी संरक्षणतर्फ भने केही गर्न सकिन्छ । त्यसैले सरकारले कमाइको १० प्रतिशत आमाबाबुको नाममा छुट्याउनुपर्ने कानुन ल्याएर संरक्षणतर्फ केही गर्न लागे जस्तो छ । समयसापेक्ष कानुन परिमार्जन गर्दै जानुपर्छ । समान उमेर अवस्थाका ज्येष्ठ नागरिकलाई केही राहत हुने प्रक्रिया “जेष्ठ नागरिक आवास गृह” पनि हो । ठाउँ–ठाउँमा यस्ता आवास निर्माण गर्ने, कमाइको १० प्रतिशत सन्तानबाट असुल उपर गर्ने र नपुग रकम सरकारले व्यहोर्ने हो भने विखण्डित हुँदै गएको परिवारिक परम्परामा ज्येष्ठ नागरिकले केही राहत पाउँथे कि ? बजेट वक्तव्यमा सरकारले यस्ता अवधारणा उल्लेख गर्ने गरेको छ, कार्यान्वयन छैन । बरु निजी क्षेत्रबाट यस्ता प्रयासको थालनी भएको छ । चीनमा पनि बाबुआमाको हेरचाह कानुनतः अनिवार्य गरिएको छ– हामी पनि गर्न सक्छौँ कि ?

 

प्रकाशित मिति २०७४/५/३

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना