ट्राफिक व्यवस्थापनका उपाय

madhav regmiमाधव रेग्मी

 


सार्वजनिक यातायात हामी सबैको साझा उपयोग र सरोकारको विषय हो । यातायातको क्षेत्रमा भएको विकाससँगै नयाँ–नयाँ चुनौती र जटिलता थपिँदै गएका छन् । समग्र मुलुकको सार्वजनिक यातायातको अवस्था र यात्रुले प्राप्त गरिरहेको यातायात सेवा सन्तोषप्रद छैन । यातायात सेवा गुणस्तरीय, व्यवस्थित र यात्रुमैत्री हुन नसक्दा दैनिकजसो सवारी दुर्घटना भई मानवीय र भौतिक क्षति हुने क्रम बढ्दो छ । त्यसमाथि पनि मुलुककै राजधानी काठमाडौँको यातायात सेवा र ट्राफिक व्यवस्थापनको अवस्था अत्यन्त नाजुक रहेको छ । सार्वजनिक तथा निजी सवारी साधनको अत्यधिक चापले यात्रुले दैनिक रूपमा कठिनाइ व्यहोर्नुपरेको छ ।
पछिल्लो समय राजधानीको ट्राफिक व्यवस्थापनका लागि सरकार तथा ट्राफिक प्रहरीले केही सकारात्मक प्रयास शुरु गरेका छन् । तथापि, यातायात सेवा गुणस्तरीय हुन अझ धेरै सुधार गर्न बाँकी छ । यस्तो अवस्थामा राजधानीको सार्वजनिक यातायातको अवस्थामा सुधार र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ध्यान दिनुपर्ने कुराका के कस्ता हुन सक्छन् त भन्ने बारेमा प्रस्तुत लेखमा चर्चा गरिएको छ ।
सडक वृद्धि एवम् विस्तार ः
राजधानीमा आजभन्दा करिब १५ वर्ष अघिभन्दा जनसङ्ख्या तथा सवारी साधनको सङ्ख्यामा गुणात्मक रूपमा वृद्धि भएको छ । अर्थात् लगभग १५ वर्ष अघिसम्म यहाँको जनसङ्ख्या र सवारी साधनको चापलाई यहाँको बाटोघाटोले करिब–करिब थेग्न सक्ने अवस्थामा थियो तर यो बीचमा वृद्धि भएको जनसङ्ख्या तथा सवारी साधनको वृद्धिको अनुपातमा नयाँ बाटोघाटो थपिने क्रम शून्य प्रायः रह्यो । करिब १०÷१२ वर्ष अगाडि नै बाहिरी चक्रपथको आवश्यकता महसुस गरी निर्माण गरिने चर्चा चले पनि अहिलेसम्म त्यसले मूर्तरूप पाउन सकेको छैन । बागमती, विष्णुमतीलगायतका खोला छेउका कोरिडरको निर्माण र सञ्चालन अहिलेसम्म व्यवस्थित र पूर्ण रूपमा हुन सकेको छैन । कतिपय स्थानमा वैकल्पिक बाटोको रूपमा हेरिएको यस्ता कोरिडरको निर्माणमा भएको ढिलासुस्ती अत्यन्त खेदजनक छ । यदि योजना मुताबिक बाहिरी चक्रपथ वा खोला छेउका कोरिडरलगायत आवश्यकता अनुसारको थप बाटोघाटोको निर्माण सम्पन्न भइसकेको भए उपत्यकाको ट्राफिक अवस्था सायद यति भयाभह हुने थिएन ।
केही वर्ष अघिदेखि राजधानीबाट शुरु भएको सडक विस्तार कार्य अहिले देशव्यापी भएको छ, जुन अत्यन्त सकारात्मक पक्ष हो । दोहोरो गाडी पनि आवतजावत गर्न नमिल्ने साँघुरो सडक तथा सवारी आवागमन व्यस्त रहने सडक विस्तार गरेर आवागमनलाई सहज बनाउने प्रयास सराहनीय छ । तथापि, कतिपय स्थानमा सडक विस्तारका क्रममा व्यक्तिको घर, जग्गा पर्ने भएकाले त्यसको उचित क्षतिपूर्ति दिएर मात्र सडक विस्तार गरिनुपर्छ भन्ने आवाज उठिरहेको छ, जुन माग आफैँमा जायज छ तर बढ्दो ट्राफिक चापलाई मध्यनजर गरी यसलाई सहज तुल्याउन बाटो विस्तारको अभियान भने रोकिनु हुन्न । तसर्थ, सडकको सङ्ख्यामा आवश्यकता अनुसारको वृद्धि र विस्तार राजधानीको ट्राफिक व्यवस्थापन गर्ने प्रमुख आधारका रूपमा मान्न सकिन्छ ।
व्यवस्थित र सफा बाटो ः
वास्तवमा राजधानीको धुलो, मैलो अनि बाटोभर भएका खाल्डाखुल्डीले हामी सबैको सभ्यतालाई जिस्काइरहेको भान हुन्छ । यति अव्यवस्थित र जीर्ण बाटोघाटो भएको ठाउँलाई देशको राजधानी तथा महानगर भन्न हामी बाध्य छौँ । त्यतिमात्र नभएर सवारी आवागमन हुने बाटोमा बिजुली तथा टेलिफोनका पोल एवम् तार निर्माण सामग्री, पसल, व्यवसाय आदि यत्रतत्र देखिन्छ । यस्ता कुराले सहरको सौन्र्यता र वातावरण मात्र बिगारेको छैन, सवारी आवागमनमा समेत कठिनाइ उत्पन्न गरेको छ । त्यस कारण, व्यवस्थित र सफा बाटोघाटोविना ट्राफिक सहज सम्भव देखिँदैन ।
अनिवार्य सडकपेटी ः
राजधानीका अधिकांश बाटोमा सडकपेटी नै छैन । भएको स्थानमा पनि धेरै जसो ठाउँमा व्यवस्थित र उपयोग गर्न योग्य छैन । साइकल चलाएर हिँड्ने मिल्ने सडकपेटी त झन् मुस्किलले भेटिएला । राजधानीजस्तो स्थानमा आपाङ्गमैत्री सडक तथा सडकपेटी अनिवार्य रूपमा हुनुपर्नेमा त्यो त कल्पना बाहिरको विषयजस्तो भएको छ । यसरी सडकपेटीको अभावमा पैदलयात्री तथा साइकलयात्री मुख्य सडकबाटै हिँड्न पर्ने बाध्यता छ । यसले गर्दा पैदलयात्री, साइकलयात्री तथा अन्य सम्पूर्ण सवारी साधन सबै एउटै बाटोबाट आवागमन गर्नु पर्दा ट्राफिक जाम बढ्नुका साथै दुर्घटना पनि हुने गरेको छ । स्वास्थ्य तथा वातावरणीय हिसाबका साथै मूल सडकमा आवागमनको चाप सन्तुलित राखी पैदलयात्री तथा साइकलयात्रीलाई प्रवद्र्धन गर्न सडकपेटी अनिवार्य रूपमा हुनु आवश्यक छ ।
पर्याप्त ट्राफिक सङ्केत ः
जापान सरकारको सहयोगमा निर्माण भएको ट्राफिक लाइट अहिले पूर्णतया बिग्रेको छ । अरूले सहयोग गरिदिएको प्रविधि बिगे्रको वर्षौं भइसक्दा पनि त्यसको मर्मत गरी सञ्चालन नहुनु अत्यन्त लज्जास्पद विषय हो । परिणामत ट्राफिक व्यवस्थापन पूर्णतया मानवीय प्रणालीमा निर्भर हुने विश्वको कमैै राजधानीमध्ये काठमाडौँ परेको छ । यसले गर्दा ट्राफिक प्रहरी तथा यात्रु दुवैलाई असुविधा भएको छ । भएका ट्राफिक लाइटको पुनः सञ्चालनका साथै थप ट्राफिक लाइटको व्यवस्था र आवश्यकता अनुसारको ट्राफिक सङ्केत पनि स्पष्ट देखिने गरी निर्माण गर्नु त्यत्तिकै आवश्यक छ ।
ठूला सवारी साधनलाई प्रोत्साहन ः
हामी सबैलाई थाहा भएको कुरा हो कि राजधानीमा चल्ने स–साना आकारका माइक्रो तथा भ्यानहरूले बाटोमा बढी स्थान ओगटी अनावश्यक रूपमा ट्राफिक जाम सिर्जना गरिरहेका छन् । यसैले यस्ता साना सवारी साधनलाई विस्थापन गरी साझा यातायातजस्ता ठूला सवारी साधनको प्रयोग गर्न सकेमा सवारी चाप र अनावश्यक ट्राफिक जामलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ । यतिमात्र होइन मोटरसाइकल, गाडीजस्ता व्यक्तिगत सवारी साधनका प्रयोगकर्तालाई पनि सार्वजनिक सवारी साधन प्रयोग गर्न प्रोत्साहन गर्ने गरी यातायात प्रणालीको विकास र विस्तार गरिनु आवश्यक छ । विकसित देशमा समेत यात्रुले व्यक्तिगत सवारी साधनको प्रयोगभन्दा सार्वजनिक सवारी साधनको प्रयोग बढी गर्छन् । अनियन्त्रित ट्राफिक जामको समस्या समाधान गर्ने सबैभन्दा उपयुक्त र दिगो माध्यम भनेकै सार्वजनिक सवारी साधनको अधिकतम प्रयोग हो । यसका लागि अहिले भनिने गरेको रेलमार्ग वा मेट्रो रेलको अवधारणाले मूर्तरूप पाउनु आवश्यक छ ।
पर्याप्त पार्किङ ः
राजधानीमा अहिले व्यवस्थित सार्वजनिक पार्किङ स्थल लगभग छैन भन्दा हुने अवस्था छ । केही डिर्पाटमेन्टल स्टोरमा रहेका निजी प्रयोजनयुक्त सीमित पार्किङबाहेक सुरक्षित सार्वजनिक पार्किङ स्थल छैन । यसले गर्दा सवारी साधन अव्यवस्थित रूपमा बाटोको छेउमै वा जहाँ पायो त्यहीँ पार्किङ गर्न बाध्य हुनुपर्ने अवस्था छ । जसका कारण ट्राफिक व्यवस्थापनमा थप समस्या पैदा भएको छ । उपयुक्त पार्किङस्थलका अभावमा सवारी साधन प्रयोगकर्ताले आफूले चाहेको ठाउँमा गएर गर्नुपर्ने काम गर्न नसक्ने अवस्था छ । त्यसैले, सुरक्षित, व्यवस्थित र फराकिलो पार्किङ स्थलको ठाउँ–ठाउँमा व्यस्था गरिनु ट्राफिक व्यवस्थापन र यात्रुको सुविधा दुवै दृष्टिकोणले अत्यन्त महŒवपूर्ण छ ।
प्रतिक्षालय ः
राजधानीको ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रतिक्षालय आवश्यक छ भन्ने कुरामा कमैको ध्यान गएको पाइन्छ । प्रतिक्षालयका अभावमा यात्रुहरू सडकको छेउमै वा सडकपेटी भर झुम्मिएर तथा घामपानी र धुलो खाएर लामो समयसम्म सवारी साधन कुरिरहनुपरेको देखिन्छ । यसले गर्दा पैदलयात्रु तथा सवारी साधनको आवागमनमा अवरोध पुगिरहेको हुन्छ । तसर्थ, यात्रुको सहजताका लागि व्यवस्थित प्रतिक्षालयको निर्माण हुनु जरुरी छ ।
चुस्त ट्राफिक व्यवस्थापन प्रणाली ः
ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्नुको अर्को कारण चुस्त ट्राफिक प्रणालीको अभाव पनि हो । उदाहरणका लागि सवारी साधन जतासुकै रोकेर यात्रु ओराल्न वा राख्न पाइन्न तर उक्त प्रयोजनका लागि ट्राफिक सङ्केतसहितको पर्याप्त स्थान छुट्याइएको पनि पाइँदैन । सवारी साधनले आफ्नो लेनमा मात्र रही सवारी अनुशासनको नियम पालन गर्नुपर्ने हुन्छ तर धेरैजसो स्थानमा लेन विभाजन सङ्केत नै हुन्न । बाटोको दायाँ वा बायाँ मोड निषेध गरिएको हुन्छ तर निषेध सङ्केतचिह्न स्पष्ट देखिने गरी राखिएको हुन्न । जहाँ पायो त्यहीँबाट बाटो काट्न हुन्न तर पर्याप्त जेब्रा कसिङ पनि त हुन्न । त्यस कारण ट्राफिक नियम कडाइँका साथ लागू गरिनुअघि ट्राफिक व्यवस्थापनका यस्ता आवश्यक प्रणाली वा यात्रुमैत्री सङ्केतको प्रयोग यथोचित मात्रामा छ कि छैन भनेर ध्यान दिनु त्यत्तिकै अनिवार्य छ ।
समयानुकूल ट्राफिक नियम ः
ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि समयानुकूल नयाँ नियम लागू गर्दै गइरहेको पनि छ । बढ्दो ध्वनि प्रदूषण र यात्रुको हितलाई समेत ध्यानमा राखेर गत जेठ १६ गतेदेखि उपत्यकामा हर्न निषेधित क्षेत्र घोषणा हुनु सकारात्मक छ । तथापि, यसको अझै प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने देखिएको छ । उपत्यकामा मानिसलाई नै थर्काएर चर्को आवाज निकालेर हुँइकिने, विशेषगरी साइलेन्सररहित मोटरबाइकजस्ता सवारी साधनको प्रयोगमा पूर्णतः निषेध गर्न पनि प्रहरीको ध्यान जानु आवश्यक छ । केही वर्ष अघिदेखि शुरु भएको मापसे परीक्षण धेरै हदसम्म सफल पनि भएको छ । तथापि, मापसेविरुद्धको कारबाही भने अरू ट्राफिक नियम उल्लङ्घन सरह सामान्य मात्र रहेको छ । कतिपय देशमा मापसे गरेर अरूलाई ठक्कर दिई क्षति पु¥याएमा अपराधसरह कानुनी कारबाही गर्ने व्यवस्था छ । हामीकहाँ पनि मापसेका कारण हुने दुर्घटनालाई अक्ष्यम्य अपराध मान्ने गरी नियम कानुनको परिमार्जन गरिनु आवश्यक छ । यसका साथै ट्राफिक नियम समयानुकूल, उपयुक्त र प्रभावकारी छ कि छैन भन्ने कुरामा ध्यान दिइनुपर्छ ।
समान प्राथमिकता ः
बाटो सबैको साझा हो अनि एक्काइसौँ शताब्दीका मानिस सबै समान छन् । कुनै व्यक्ति काम, आवश्यकता र अवसरका कारण केही समय विशिष्ट कहलिएको हुन सक्छ तर उ पनि अरू मानिससरह समान नै हो । त्यसैले सार्वजनिक बाटोमा सवारी साधन प्रयोग गर्दा सबैले समान प्राथमिकता पाउने व्यवस्था लागू हुनु जरुरी छ । हामीकहाँ प्रधानमन्त्री, मन्त्रीलगायत तथाकथित विशिष्ट व्यक्तिले बाटोमा हिँड्ने हजारौँ अरूको चाहिँ काम नै नभएको र आफ्नो चाहिँ अत्यावश्यक काम भएको जसरी चर्को आवाजमा साइरन बजाउँदै, सर्वसाधारण यात्रुलाई थर्काउँदै जबरजस्ती गाडीमा हुँइकिने प्रवृत्ति छ, जुन पूर्णतया गलत, असमान र अव्यावहारिक छ । केही समयअघि मात्र भारतमा यसरी विशिष्ट व्यक्तिको गाडीमा प्रयोग गरिने साइरन हटाउने नियम लागू भएको यहाँ सान्दर्भिक हुन आउँछ । त्यसैगरी हामीले सञ्चार माध्यमा सुनेका वा देखेका छौँ कि युरोपजस्तो विकसित देशका प्रधानमन्त्री, मन्त्रीहरू आमनागरिकसरह नै सामान्य रूपमा नियमपूर्वक सडकको प्रयोग गर्छन् ।
समन्वयात्मक रूपमा गुणस्तरीय काम ः
ट्राफिक अस्तव्यस्त हुनुको अर्को प्रमुख कारण सडकसँग सम्बन्धित कार्य गर्दा समन्वयात्मक तवरले कार्य नहुनु पनि हो । उदाहरणका लागि आज बाटो पीच हुन्छ, त्यसको हप्ता दिन नपुग्दै त्यो बाटो खानेपानी, सडक वा सञ्चार संस्थान आदिले खन्ने, खोतल्ने काम शुरु हुन्छ । अनि त्यसरी खनेको बाटो नबनाई छोडिन्छ । यतिमात्र होइन बाटो निर्माण भएको महिना दिन नपुग्दै सडक बिग्रिने, खाल्डाखुल्डी पर्ने गरेको पनि प्रसस्तै भेटिन्छ । अनावश्यक आर्थिक लाभका लागि गुणस्तरहीन कार्य गर्दा यस्तो हुने कुरा सबैलाई विदितै छ । यसले गर्दा एकातिर राज्यकोषको चरम दुरूपयोग त हुन्छ नै अर्कोतिर खराब बाटोका कारण सवारी साधन आवागमनमा पनि कठिनाइ उत्पन्न हुने गर्छ । यसो हुनुको कारण सडक, सञ्चार, खानेपानीलगायतका निकायबीच आपसमा समन्वयको अभावमा गैरजिम्मेवार ढङ्गले कार्य गर्नु हो । त्यस कारण, यी निकायले आपसमा समन्वय गरी काम गरेमा बाटो खन्नु, खोतल्नु पर्ने सबै काम सडक निर्माण अगाडि नै सकिनुका साथै बाटो पनि टिकाउ हुन जान्छ ।
सेवा प्रवाहको अनुगमन ः
सार्वजनिक यातायातले यात्रुलाई प्रदान गरेको सेवा सुविधका बारेमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गर्ने, यात्रुका गुनासो सुन्ने र तद्अनुरूप आवश्यक सुधारका कार्यक्रम लागू गर्दै जानु जरुरी छ । अनुगमनबाट प्राप्त समस्या र जानकारीका आधारमा ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिलगायत आमयात्रुमैत्री सेवा प्रदान गर्ने वातावरणका लागि नियम कानुनको कडाइँका साथ पालनासँगै सम्बन्धित सरोकारवाला निकायसँग मिलेर कार्य गर्नु वाञ्छनीय देखिन्छ ।
अन्तमा, ट्राफिक व्यवस्थापनको जिम्मा सरकार र ट्राफिक प्रहरीको मात्र नभएर आमयात्रुको पनि हो । बाटो हामी सबैको साझा हो र यसको उपयोग सबैले समान रूपमा गर्न पाउनुपर्छ भन्ने कुरा आत्मसात् गरी ट्राफिक नियम पालना गर्नु हामी सबैको कर्तव्य हो । यसो हुन सकेमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन गई अनावश्यक ट्राफिकजाम, अकल्पनीय दुर्घटना र जनधनको क्षतिजस्ता कुरामा न्यूनीकरण हुन जान्छ ।

 

प्रकाशित मिति: २०७४/५/३

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना