घरभित्रको सौन्दर्य बढाउने : बोन्साइ

 

sarashoti dhunganaसरस्वती ढुङ्गाना

 

बोन्साइलाई लघुवृक्ष वाटिका पनि भनिन्छ । यस कलाको सुरुवात् पन्ध्रौँ शताब्दीको अन्त्यतिर भएको हो । यसलाई सर्वप्रथम सुरुवात् गर्ने व्यक्ति प्रसिद्ध शिल्पकार लिओन बतिस्ता अल्बर्ट हुन् । उनले बोटविरुवालाई कुनै भाँडो वा पत्थरको गमलामा चिटिक्क सजाउने कलाको विकास गरे । जुन बोन्साइका नामले विश्वभरि चर्चित बन्न पुग्यो । उनले आफ्नो घरबाहिर ठाउँ नभए पनि घरिभित्र रहेको ठाउँमा हरियाली कायम गर्न सफल भएका थिए । उनले यसरी घरभित्र सीमित स्थानमा तयार गरेको लघु वृक्षवाटिका नै बोन्साइका रूपमा लोकप्रिय बन्न पुगेको हो ।
बोनसाइ बोन र साइ दुई शब्द मिलेर बनेको छ । यसको जन्म चीनबाट भएको मानिन्छ तर कतै जापानबाट पनि यस प्रकारको सजावट वा प्रविधिको विकास भएको भन्ने उल्लेख भएको पाइन्छ ।
यसबाट यो कला चिनियाँ वा जापानी वृक्ष सजावट कला होभन्दा अत्युक्ति नहोला । बोन भन्नाले कचौराजस्तो भाँडो र साइ भन्नाले वृक्षलाई बुझाउँछ । आज विश्वभरि नै बोन्साइ प्रविधिको व्यापकता बढेको छ । घर कार्यालय र महìवपूर्ण स्थलका कुनै पनि कुना, बरण्डा, छत वा कुनै पनि खाली स्थान जताततै यस प्रविधिको प्रयोग गरी हरियाली बढाउन सकिन्छ । कतिले त बोन्साइ गरेका फलफूलका बिरुवासमेत रोपेर समायानुकूल फलफूलको स्वादसमेत चाखेका छन् । बोन्साइ कलाबाट सजाइएको घर देख्दा लाग्छ प्रकृतिलाई कलात्मक रूपमा भाँडोमा सजाएर त्यसको सौन्दर्य लिन सकिन्छ ।
बोनसाइ कुनै पनि बिरुवाको तयार गर्न सकिन्छ । यो कला विश्वभरि नै दिनानुदिन उत्कृष्ट कलाका रूपमा फैलिएको छ । बोन्साइ तयार गर्दा त्यस बिरुवाको प्राकृतिक सौन्दर्यलाई सदैव ख्याल गर्नुपर्छ । बोन्साइ बनाउनका लागि बीउ वा कलमीको प्रयोग गर्न सकिन्छ । हिजोआज नर्सरीमा यस प्रकारका बिरुवाको ठूलो माग रहेको छ । आफ्नो इच्छा र रुचिअनुसारको बोन्साइ तयार गर्न सकिन्छ । सुन्दर बिरुवाको सुन्दर शैलीमा बोन्साइ तयार गर्न सकिन्छ । मुख्यतयाः बोन्साइलाई सामान्य सीधा आकारमा तयार गरिन्छ । यस प्रकारको बोन्साइलाई चोक्कन भनिन्छ । अलिकति तेर्सो झुकेको बोन्साइ कलालाई शाकन भनिन्छ । नुहिएको बोन्साई कलालाई केगाँई र झुम्म परेको बोन्साइ कलालाई काबुडाची भनिन्छ । यसैगरी, वर्गाकार शैलीमा तयार गरिएको बोन्साइलाई योस्पू भनिन्छ । कुनै पनि शैलीबाट तयार पारिएका बोन्साइले प्राकृतिक सौन्दर्य र वास्तविकतालाई जीवन्तरूपमा झल्काउँछ ।
हामी कुनै समिङ मल थियटर वा त्यस्तै कन्फरेन्स हलमा पुग्दा ठूल्ठूला वृक्षको पनि बोन्साइ गरेको देख्छौँ । ठूलाठूला वृक्षलाई कसरी ती गमलामा समायोजन गरियो त ? यो हामीलाई अचम्म लाग्न सक्छ तर यसमा अचम्म मान्नुपर्ने कुरा केही छैन । बोन्साइ तयार गर्दा वृक्षअनुसारको भाँडो वा गमला चयन गर्नुपर्छ । बोन्साइका लागि जल, माटो खनिज वा हावाको आवश्यकता पनि पूरा गर्नु पर्छ । बोन्साइ तयार गर्ने भाँडो पानी नजम्ने खालको हुनुपर्छ । गमला वा चट्टानबाट पनि बोन्साइ गर्ने भाँडो तयार गर्न सकिन्छ ।
बोन्साइ तयार गर्ने बोटबिरुवा काट्नका लागि कैँची, बिरुवा अड्याउने काठको लट्ठी, डोरी वा तारजस्ता सामानको आवश्यकता पर्दछ । प्रायः बोन्साइका लागि प्रयोग हुने बिरुवाले स्वयम् आनो आकार निर्धारण गर्छ तर यसको कटाइद्वारा हाँगाको आकार प्रकारमा डोरीले बाँधेर बदल्न सकिन्छ । आकार दिएपछि बोन्साइ भाँडोमा उक्त बिरुवालाई कहाँ राख्ने हो सोही ठाउँमा राख्नुपर्छ । बोन्साइको आकार सदा एउटै राख्ने हो भने त्यसलाई बेलाबेलामा काट्नु पर्छ । काटछाँट गरेपछि बिरुवालाई मल दिनुपर्छ । अधिकभन्दा अधिक मल बिरुवालाई एकै पटक दिनु हँुदैन । यसले बिरुवालाई हानि पु¥याउन सक्छ । बोन्साइ उष्ण हावापानीमा राम्रोसँग सप्रिन्छ । अन्य बिरुवालाई झैँ बोन्साइ गरिएका वृक्षलाई पनि स्वच्छ हावा, सूर्यको किरण र पानीका आवश्यकता पर्छ । यसलाई जमीनको सतहमा राख्नु हुँदैन । यदि जमिनको सतहमा राखियो भने गमला वा भाँडोका छिद्रबाट जरा जमिनमा पुग्छ । यदि बोन्साइ गरिएका बिरुवाको जरा जमिनमा पुग्यो भने त्यो बोन्साइको स्वरूपबाट भिन्नै स्वरूपमा पुग्ने भएकाले बोन्साइ गरिएका बोटलाई भुइँमा राख्न नमिल्ने भएर नै दुई तीन फिट अग्लो काठ फलामको टेबुल वा पत्थरमाथि राख्ने गरिन्छ । यसको सिँचाइ गर्दा पनि विशेष ध्यान दिनु आवश्यक छ । जब माटोको माथिल्लो भाग सुख्खा हुन थाल्छ तब बिहान वा साँझपख सूर्यको कम प्रकाश हुने समयमा बोन्साइलाई प्रशस्त पानी दिनुपर्छ । पानी दुई तीन दिनसम्म पनि सुकेन वा हटेन भने बोन्साइ भाँडोमा रहेको पानी हटाउनुपर्छ । नत्र बोन्साइ बिरुवा मर्न सक्छ । राम्रो हेरविचार गरेर बोन्साइलाई आफ्नो घरचोक, बरण्डा, कौसी वा कुनै पनि खाली ठाउँमा सजाएर भरपूर सौन्दर्य लिन सकिन्छ । हामीहरूले ठाउँको अभाव भयो भनेर चिन्ता लिनुपर्ने छैन । मानिसले कौसी खेती गरेर पनि आफ्नो परिवार पालेकै छन् । यसैले जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ हामीहरूले ठाउँको अभाव भयो भनेर चिन्ता गर्ने होइन । यस प्रविधिको प्रयोग गरेर थोरैभन्दा थोरै ठाउँमा पनि हामीले हरियाली कायम गर्न सक्छौँ । सुन्दर वातावरण कायम गर्न सक्छौँ ।

प्रकाशित मिति: २०७४/५/३

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना