लुम्बिनी, धर्मयात्राको प्रथम गन्तव्य

gautam bir_1डा. गौतमवीर वज्राचार्य

 

बुद्धशासनको विस्तारका लागि जम्बुुद्विप भित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ठ सघाएका थिए । बुद्ध परिनिर्वाणको तीनसय वर्ष बितिसक्दा सम्म पनि उनको शासनलाई सघाउने राजाहरू प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच मौर्य वंशको राजा बिन्दुशारको छोराको रूपमा ई.पू. ३०४ मा अशोकको जन्म भएको थियो । माताको सन्दर्भमा कँही रानी धर्मा तः कहीँ शुभद्राङ्गी नाम उल्लेख गरिएको छ । अशोकको कुल परम्पराका गुरु आजीवक सम्प्रदायका जनसान साधु थिए । विद्रोहीहरूको पकड रहेको विदिशा नगरको उज्जैनमा १८ वर्षको उमेरमा नै राज्यपालको कथित जिम्मेवारी उनलाई दिइएको थियो । यसैबीच अशोकको विवाह ई.पू. २८६ मा वेसनगरका शाक्यकुमारी महादेवीसँग हुनपुग्यो । शाक्यकुमारीको तर्फबाट भिक्षु महेन्द्रको र भिक्षुणी संघमित्राको जन्म भएको थियो । एक भन्दा बढी रानीहरू भएका अशोकको कारुवाकी ÷चारुवाकी नामकी एक रानी पनि छन् । ती नै रानीको तर्फबाट चारुमती नामकी छोरी जन्मेकी होलिन् । जसको जीवन गाथा नेपालसँग जोडिन पुगेको छ ।
सम्राट अशोक बौद्ध नै थिए
सम्राट अशोक शाक्यकुलीन रानी महादेवीका कारण कलिंगयुद्ध पूर्व नै बौद्ध उपासक बनिसकेका थिए । तथापि सामरिक हिसाबले अति नै महत्व बोकेको उडिसाको राजधानी कलिंग माथि उनको गरुड दृष्ट्रि भने कायम नै थियो । सम्राटले ई.पू.२६२ मा भीषणयुद्ध छेड्दै अन्ततः कलिंग बिजय गरी छाडे । तर यस पटकको युद्धविजय सम्राटका लागि सुखकर बन्न सकेन, युद्ध विजय दुःखको कारण बने । बेचैन र पश्चात्तापले बिस्तारै उनको मानसिकतालाई भित्रभित्रै जीर्ण बनाउन थाले । यसो तः निग्रोघ नामका श्रामणेरले (भिक्षु) सम्राट अशोकको आक्रान्त मनलाई शान्त पारेका केही कथनहरू पनि छन् । चिनियाँ यात्री ह्वेनसाङको बुझाइमा सम्राटको हृदय परिवर्तन गरी शान्ति र करुणामयी बनाउने कार्यमा भिक्षु उपगुप्तले भूमिका खेलेका थिए । भिक्षु मोग्गली पुत्रतिस्सको प्रभावमा परी सम्राट अशोक पक्का बौद्ध बन्न पुगेको कथनहरू पनि कहिँ कहिँ उल्लेख भएका छन् । यीमध्ये जो भएता पनि बुद्ध धर्मको वास्तविक अवबोध भए पश्चात् उनले ई.पू. २६२ मा शस्त्र परित्याग गर्न पुगेको देखिन्छ । चण्डाशोक उपनामबाट चिनिने सम्राट, शस्त्र परित्याग उप्रान्त भारतीय इतिहासमा धम्माशोक नामले चिनिन पुगे । धम्माशोकपछिको अशोकले अब राज्य विस्तार होइन, धर्म विस्तारमा आफूलाई समर्पित गरे । अन्ततः भगवान् बुद्धको धर्म विस्तारमा दिएको योगदानलाई कदर गर्दै भारतवर्षको इतिहासमा उनी महान् सम्राटको रूपमा चिनिन पुगे । हत्याहिंशाबाट विमुख हँुदै शस्त्रपरित्याग गरेको त्यस दिनलाई धर्ममाथिको विजय उत्सवका रूपमा बौद्धहरूले मान्ने गरिआएका छन् । सो शस्त्रपरित्याग दिवस नेपालमा पनि मान्ने प्रचलन रहेको छ । नेपाली पात्रो अनुसार विजया दशमीका दिनमा नै सम्राटले शस्त्रपरित्याग गरेका थिए ।
सम्राट अशोकको पहिलो गन्तव्य
“चत्तारिमानि, आनन्द, सद्धस्स कुलपुत्तस्स दस्सनीयानि संवेजनीयानी ठानानी । कतमानि चत्तारि, इध तथागतो जातो, ति, आनन्द, सद्धस्स कुलपुत्तस्स दस्सनीयं संवेजनीयं । ...आनन्द ! श्रद्धालु कुलपुत्रहरूका निमित्त तथागत उत्पन्न भएको स्थान(लुम्बिनी) दर्शनीय संवेजनीय स्थान हुनेछ । ” वस्तुतः बुद्धको यी नै वाक्यले सम्राटलाई धर्मयात्रा गर्ने प्रेरणा जागेको थियो । तथापि कलिंग विजयबाट विरक्तिएका सम्राटको धर्मयात्रा राज्याभिषेकको दशौं वर्षपछि मात्र भएको उल्लेख छ । उनको धर्मयात्रा बुद्धको सम्बोधिमार्गलाई विस्तार गर्ने लक्ष्यसहित भएको थियो । भनिन्छ, यस्तो धर्मयात्रामा सम्राटलाई शासन सुखभन्दा अतिरिक्त सुख प्राप्त हुने गर्दथ्यो । जसको वर्णन शहवाजगढीको आठौं शिलालेखमा परेको छ । यसो त शिलालेखमा परेको “ निक्रमि सबोधि । तेनद धंमयत्र । ” को अथ्याईमा केही इतिहासकारहरू भारतको बिहार राज्यको बुद्धगया सम्राटको धर्मयात्राको प्रथम गन्तव्य ठान्नेहरू पनि छन् । तर यसको सहजै पुष्टि गर्ने आधारहरू प्राप्त भएका छैनन् । बुद्धगयास्थित अशोकस्तम्भ अभिलेख विहीन मौन मुद्रामा उभिएको छ । तर ती नै सम्राटले लुम्बिनी उपस्थितिमा ठूलो गौरवको महसुस गरे । अभिलेखद्वारा बुद्ध जन्मथलोको बारे सबैमा सुसूचित समेट गरिदिए । यसर्थ, शहवाजगढीको आठौं शिलालेखको वाक्यांश ...“निक्रमि सबोधिले बुद्धगया धर्मयात्राको प्रथम प्रस्थान बिन्दु ठानीहाल्नु सान्दर्भिक देखिँदैन । बरु यसको अथ्र्याइले बुद्धको ज्ञानमार्गतर्फ सम्राटले देखाएको अग्रसरतालाई बोध गराउँछ । .“अथ स्थबिरोपगुप्तो राजानमशोकं सर्वप्रथमेन लुम्बिनीवनं प्रवेशयित्वा” जस्ता दिबयावदान साहित्यको कथन र शिलालेखको “निक्रमि सबोधि । तेनद धंमयत्र । ” वाक्यांशलाई सम्योजन गरी हेरिँदा सम्राट अशोकको धर्मयात्राको पहिलो गन्तव्य लुम्बिनी भएको स्पष्टतः बुझ्न सकिन्छ ।
सम्राट अशोक राजदरवारका पदाधिकारी, सैनिकगणको दलबल सहित धर्मयात्राको सिलसिलामा भदन्त उपगुप्तको अगुवाइमा सर्वप्रथम लुम्बिनीमा आइपुगेका थिए । यसका अतिरिक्त ती नै उपगुप्तले “अस्मिन महाराज प्रदेशे भगवान जातः” भनी सांकेतिकशिला देखाउँदै तथागतको जन्म भएको स्थान समेतको किटान गरिदिएका थिए । सांकेतिकशिला माथि श्रद्धासुमन व्यक्त गरेका सम्राट अशोकले धर्मयात्राको चिरस्मरण तथा तथागतको जन्म पहिचानका लागि स्तम्भ ठध्याएका थिए । ऐतिहाँसिक प्रमाणका लागि “हिद भगवं जातेति ” र “ हिद बुधे जाते सक्य मुनी ति” वाक्य समेत स्तम्भमा लेख्न लगाए । यसरी एकै स्तम्भको दुई दुई स्थानमा बुद्धको जन्मका बारेमा उल्लेख गरिनु र अर्कोतर्फ साहित्यले “अथ स्थबिरोपगुप्तो राजानमशोकं सर्वप्रथमेन लुम्बिनीवनं प्रवेशयित्वा” वाक्यांश उल्लेख गरिनुले सम्राटको पहिलो धर्मयात्राको सुरुबाट राज्याभिषेकको दशौं वर्षमा लुम्बिनीबाट भएकोतर्फ संकेत गर्दछ । राज्याभिषेकको बीस वर्षको उपलक्ष्यमा द्वोस्रो पटक लुम्बिनीको आगमनमा मात्र उनले अभिलेख सहित स्तम्भ गाढ्न लगाएका थिए । यसो त राज्याभिषेकको चौधौँ वर्षको अवसरमा सम्राटले निग्लीहवामा कोणागमन बुद्ध र गोटिहवामा क्रकुछन्द बुद्धको नाममा अघि नै रहेको स्तुपालाई आकारमा दुईगुना बढाइसकेको थियो । यसर्थ राज्याभिषेकको बीसवर्षमा लुम्बिनी दर्शनमा पुगेका सम्राटले निग्लीहवा र गोटिहवाको पनि दर्शन गर्न पुगेका थिए । यस पटकको दर्शनमा ती तीनै स्थानमा अभिलेखसहित स्तम्भ ठड्याउन लगाएका थिए । हाल गोटिहवाको स्तम्भ अभिलेखीय भाग देख्नमा नआएता पनि निग्लीहवाको झँै ३० फिट अग्लो सिंह मूर्ति सहितको स्तम्भ अभिलेखलाई ह्वेनसाङले देखेका थिए । वस्तुतः स्तम्भको अलावा ती क्षेत्रमा उपलब्ध भएका आधार सामग्रीलाई हेरियो भने सम्राट अशोकको लुम्बिनी यात्रा एक भन्दा बढी पटक भएको सहजै अनुमान लगाउन सकिन्छ ।
बुद्ध जन्मथलो प्रतिको आस्था
लुम्बिनी महत्वपूर्ण धार्मिक केन्द्रको रूपमा बुद्धको परिनिर्वाणको लगत्तै स्थापित हुन पुगेको थियो । तथापि हाल देख्नमा आएका अधिकांश भौतिक संरचनाको निमार्ण कार्य सम्राट अशोकको कार्यकालमा भएको देखिन्छ । सम्राटका लागि लुम्बिनीको दर्शन गर्न पाउनु र भौतिक पूर्वाधारको निर्माणमा सघाउन पाउनु गर्वको विषय थियो । लुम्बिनीमा धर्मयात्राको पहिलो गन्तव्य बनाएका सम्राट अशोकले बुद्ध जन्मउत्सव वैशाख पूर्णिमाका दिन त्यहाँ स्तम्भ ठड्याउन लगाएका थिए । फलतः एकै शिलास्तम्भको दुई स्थानमा हिद बुधे जाते सक्य मुनी ति र हिद भगवं जाते ति लुंमिनिगामे उल्लेख गरिनुको पछाडि यही कारण थियो । अर्कोतर्फ दुनियाले बुद्ध जन्मथलोलाई राम्ररी चिनुन् भन्ने सम्राटको उद्देश्य थियो । अशोकले सारनाथ, बुद्धगया, कुशिनगरको पनि यात्रा गरेका थिए । तर त्यहाँ रहेको स्तम्भमा त्यस स्थानको पहिचान तथा आफ्नो उपस्थितिको संकेत समेत दिइएको देखिँदैन । लुम्बिनी स्तम्भ एउटामा मात्र स्थान विशेषको महत्वका बारेमा चर्चा गरिएको छ ।
यसो त सम्राटले एक लाख सुवर्ण मुद्रा लुम्बिनीमा स्तम्भ ठड्याउन पाउँदा खुसी भइ स्थानीयहरूलाई दानमा दिइएको दिव्यावदानमा उल्लेख गरिएको छ । यी यस्ता साना विषयलाई उनले स्तम्भ लेखमा उल्लेख गर्नु आवश्यक ठानिएन । यसका अतिरिक्त कपिलवस्तु क्षेत्रमा रहेको क्रकुच्छन्द र कनक मुनि बुद्धको जन्मथलोमा स्तम्भ ठड्याएका थिए । तर यस कार्यमा दान दिइएका प्रसंग उल्लेख भएका छैनन् । तथापि यी यस्ता संरचनाको निर्माणले सम्राटको सबै बुद्धहरूप्रति समान आस्था भएकोतर्फ प्रतिबिम्बित गर्दछ । वस्तुतः नेपालभित्र तीन फरक फरक स्थानबाट प्राप्त भएका स्तम्भहरू एकै प्रकारको चुनारको ढुङ्गा प्रयोग गरी चमकदार बनाइएको छ । ती स्तम्भहरूको प्रकृति हेरिँदा विशिष्ट कलाकारको एउटा समूहद्वारा तयार पारिएको देखिन्छ । त्यस क्षेत्रको भौतिक निर्माणकार्यलाई हेरिँदा सम्राटको लुम्बिनी बसाइ लामो रहेको अनुमान गर्न सकिन्छ ।
हाल देख्नमा आएको मायादेवी मन्दिरलाई केन्द्रबिन्दु बनाई हेरिँदा पूर्वतर्फको विशाल चतुष्कोण (चारपाटे) स्तूपा लगायत दक्षिण पूर्वतर्फको चतुष्कोण स्तूपा सम्राट अशोकले निर्माण गरेको देखिन्छ । मन्दिरको दक्षिण अर्थात् पोखरीको दक्षिणपूर्वमा रहेको विहारका भग्नावशेषका अतिरिक्त मध्यमा रहेको मायादेवीको इँटाको मन्दिर, मायादेवी मन्दिरको पँैतीस फिट उत्तरमा रहेको विभिन्न आकारका स्तूपाहरू तथा इनार आदिको निर्माण कार्य सम्राट अशोकले गरेको देखिन आउँछ । यसै संरचनाको भग्न अवशेष माथि कुशानकालमा पुनः अर्को संरचना निर्माण गरिदिनाले सम्राटका कार्यहरू धेरै मात्रामा दबिन पुगेका देखिन्छन् । यसको अतिरिक्त स्तम्भको ५० फिट दक्षिण–पश्चिममा रहेको ठूलो आकारको स्तूपा पनि अशोकद्वारा निर्माण गरिएको उत्खनन् प्रतिवेदनमा उल्लेख छ । मायादेवी मन्दिरबाट अन्दाजी पाँच फिटको उत्तरमा रहेको चारपाते मौर्यकालीन स्तूपा पनि अशोकले नै बनाउन लगाएको पुरातìवविद्हरूको बुझाइ छ । यसका अतिरिक्त कपिलवस्तु क्षेत्रमा रहेको क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र कनकमुनि बुद्धको जन्मथलो निग्लीहवामा स्तम्भहरू ठड्याउनु साथ साथै शाक्यमुनि बुद्धको पहिलो कपिलवस्तु आगमनमा विश्राम गरेको स्थान कुडानको निग्रोधाराम बिहार, दश हजार भन्दा बढी शाक्यहरूलाई सँघार गरेको सगरहवा क्षेत्रमा पनि सम्राटले थुप्रै भौतिक संरचनाहरू बनाउन लगाएका थिए । सोको बारेमा फाहियान र ह्वेनसाङले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेका छन् । लुम्बिनी विकास कोषको असक्षम कार्यशैलीको कारण यद्यपि त्यस क्षेत्रको वैज्ञानिक उत्खनन् कार्य हुनसकेको छैन ।
लुम्बिनी क्षेत्रभित्र देख्नमा आएका अधिकांश भौतिक संरचनाहरू समयको गतिसँगै अतिवादीहरूका कारणले विनाश हुन थालेको देखिन्छ । उत्खनन्को सिलसिलामा तल्लो सतहमा भेटिएका अधिकांश पुराताìिवक अवशेषहरू अशोक कालीन नै रहेका छन् । सम्राटको अवशान पछि पछिल्ला कालखण्डमा एक माथि अर्को संरचनाहरू पनि निर्माण गर्न थालिएको थियो । जसका कारण उत्खनन्को सिलसिलामा मौर्य काल पछिका अन्य भौतिक संरचनाहरू पनि फेला पार्न थाले । तथापि गोटिहवा, निग्लीहवा, निग्रोधाराम, सगरहवा क्षेत्र लगायत लुम्बिनी शालोद्यानमा विद्यमान स्तम्भ लगायतका अन्य भौतिक संरचनाको दृश्यले सम्राट अशोकको बुद्धधर्म प्रतिको आस्था र श्रद्धालाई प्रतिबिम्बित गरिराखेको छ । यस मध्येमा उनले एकै शिलास्तम्भको दुई स्थानमा “हिद बुधे जाते सक्य मुनी ति” र “हिद भगवं जाते ति लुंमिनिगामे” जस्ता वाक्य उल्लेख गरिदिनु र साहित्यले पनि “अथ स्थबिरोपगुप्तो राजानमशोकं सर्वप्रथमेन लुम्बिनीवनं प्रवेशयित्वा” वाक्यांश बोलिदिनुले लुम्बिनी–सम्राट अशोकको निक्रमि सम्बोधि लाई पूर्णतः चरितार्थ गरिदिएको बुझ्न सकिन्छ ।

 

प्रकाशित मिति २०७४/५/३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना