बाढीपछि खाद्यान्नको विषय

नारायणश्री अधिकारी

 

नेपालमा हरेक वर्ष बाढीको ताण्डव धारावाहिक छ । बाढीसँगसँगै खाद्यान्न र तरकारीको अभाव, चरम मूल्य वृद्धि र लापर्बाही पनि जिउदै छ । कुनै वर्ष आएको बाढीले क्षति कम गरेको छ भने कुनैले बढी । तर बाढी र पहिरोको प्रकोप त अवश्य आउँछ, हरेक वर्ष । नेपालको भौगोलिक बनावटका कारण सानै बाढी र पहिरोले पनि ठूलो क्षति गरेर जाने गरेको तथ्य हामीले भोगिरहेका छौँ । सन् २०१४ मा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले पनि यस्तै मानवीय र भौतिक सम्पत्तिको निकै क्षति गरेको थियो ।
नेपालमा आउने बाढीले हरेक वर्ष विगतका वर्ष बिर्साउँछ । यो वर्ष कति बाढी आयो, कस्तो क्षति गरेर गयो भन्ने तथ्य आगामी वर्ष बिर्सने परिपाटीले हरेक वर्ष बाढीबाट हुने धनजनको क्षतिको मात्रा बढ्दैछ । बाढी आउँछ, मृतकका परिवारले राहत पाउँछन्, केही समयपछि राहतले चरम भोगिएको पीडालाई बिर्साउँछ । प्रकोपपछि पीडक दैनिक कार्यतर्फ लाग्छ, रोजीरोटीका लागि । सम्बन्धित निकाय पनि हरेक वर्ष बाढी आउँछ भन्ने विषयमा जानकार हुन्छन् । विभिन्न गोष्ठी, सभा आदिमा पूर्वतयारीका विषयमा तालिमहरू चलाउँछन् । बाढीबाट सुरक्षित हुने विषयमा हामी चनाखो छौँ भन्छन् तर जब मनसुन भित्रिएपछि बाढीका प्रकोपहरू बढ्दै जान्छन्, क्षति थपिँदै जान्छ । उनीहरू पूर्वतयारीको अलाप बिर्सन्छन्, तत्काल राहत र उद्धारमा सहभागी हुँदै आगामी वर्षका लागि सचेत हुने वचन दिन्छन् ।
हरेक वर्ष आउने यस्ता बाढीले वर्षे बालीअन्तर्गतका विभिन्न खेतीबालीहरू नष्ट पार्छ । समयमा पानी पर्दैन, बल्लतल्ल रोपाइँ ग¥यो, खडेरीले मार्छ । खडेरीबाट जोगिएको बाली बाढी–पहिरोजस्ता प्रकोपले नास गर्छ । नेपालका अधिकांश खेतीयोग्य भूभाग खोला, नदी वा खहरेका छेउछाउ हुन्छन् । किनभने पानी पटाउन सजिलो हुन्छ र अधिकांश सिञ्चन खोला वा नदीमा आधारित छ । नहर, कुला, पैनी आदिबाट सिँचाइको व्यवस्थापन उचित नहुँदा आकाशे पानीको भरमा पनि विगत केही वर्षदेखि हाम्रा खाद्यान्नहरू उत्पादन हुँदैछन् । सिँचाइको राम्रो व्यवस्था भएको भए अधिकाश खेतीयोग्य जमिन बाँझो बस्दैनथ्यो । यस वर्ष मात्रै पनि करिब ४० प्रतिशतभन्दा कम खेतमा रोपाइँ भएको बुझिन्छ ।
गत साता आएको बाढीले यस वर्ष लगाइएको कृषि बालीमाथि ठूलो प्रभाव पा¥यो । कृषि विकास मन्त्रालयका अनुसार कृषिमा ८ अर्ब ११ करोड नोक्सान भयो । त्यस्तै, पशुपालक किसानले पनि आपूmले पालेका चौपाय, कुखुरा, हाँस आदिबाट थुप्रै नोक्सान बेहोरेका छन् । अधिकांश तराईका भूभागमा लगाइएको धान खेती नष्ट भएको छ । हरेक वर्ष बाढीले गाँज्ने तराई क्षेत्र नेपालको अन्न भण्डार हो । वर्षा यामसँगै आउने बाढीले नेपालका पूर्वी र पश्चिमी तराई डुबानमा पर्छन् भने पहाडी भूभाग बाढी, पहिरोजस्तो प्रकोपबाट उच्च जोखिममा छन् । यस खाले प्रकोपले मानवीय क्षतिलाई हृदयविदारक घाउ बनाउँछ भने बाँच्नेका लागि पनि जीवन चलाउन कठिन परिस्थिति सिर्जना गर्छ । त्यसो त युवापिंढी बेरोजगारी खेप्न नसकेर विदेश पलायन हुन्छन्, भएको खेतबारी बाँझै छाड्छन् । त्यसमाथि पनि जनशक्ति जुटाएर दुःखपूर्वक गरिएको कृषि बालीलाई प्राकृतिक प्रकोपले निसाना बनाउँछ । सुरुमा खडेरी पर्छ, समयमा बाली लगाउँनै पाइन्न । त्यसपछि बल्लतल्ल थोरै पानी पर्छ, कृत्रिम सिँचाइको व्यवस्था गरेर बाली लगाइन्छ । लगाइएको बालीमध्ये धेरै पानी नपरेर खडेरीले सुकाउँछ । खडेरी काटेर जोगिएको बालीलाई अन्ततः अनिश्चित वर्षाले ल्याएको बाढीले सखाप पार्छ । यो वर्ष पनि त्यही भयो जुन नेपालमा निरन्तर भइरहेको छ । त्यसपछि खेती–किसानी गर्ने कृषकले जीवन कसरी गुजारा
चलाउने ? यो आमनेपालीको सबाल हो ।
यी र यस्तै प्रश्नहरूले आम सर्वसाधारणलाई गाँजेको छ । राज्य संयन्त्रले अलिकति चनाखो व्यवहार प्रदर्शन गर्ने हो भने यसखाले समस्याबाट केही त्राण पाउन सकिन्छ । तराई क्षेत्रका विभिन्न भूभागमा बनेका तटबन्धलाई व्यवस्थित र मर्यादित बनाउने, छिमेकी मुलुक भारतका समकक्षीसँग उनीहरूले निर्माण गरेका तटबन्धको व्यवस्थापनको विषयमा निरन्तर छलफल र सहयोगको वातावरण तयार गर्ने, डुबान वा बाढी प्रभावित क्षेत्रको पहिचान गरी आफ्ना जनतालाई सुरक्षित थातथलोको व्यवस्थामा चनाखो हुने, खेतीयोग्य जमिनमा कसरी वैज्ञानिक तरिकाबाट सिँचाइ सुविधा पु¥याउन सकिन्छ निरन्तर अभ्यासरत रहने आदि विषयमा राज्य जुझारु हुने हो भने बाढीबाट हुने खाद्यान्न क्षतिको मात्रा घटाउन सकिन्छ । यसो भयो भने आयातित बजारलाई निरुत्साहित गर्दै निर्यातमुखी व्यापारमा हाम्रो उत्पादन विदेशी भूमिमा धेरै पुग्छन् । यसतर्फ हामी सबैले सोच्नैपर्छ ।
बिचौलिया आतङ्क
खेती किसानी गर्ने सर्वसाधारणले आजभोलि बजार पाउँदैनन् । पाए भने पनि निकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिचौलियाका कारण । दुःख जति किसान गर्छ, उनीहरू सस्तोमा किनेर महँगोमा बेच्न पल्किएका छन् । बाढी पहिरोकै कारण राजधानीलगायत अन्य शहरी क्षेत्रमा तरकारी र खाद्यान्नको मूल्यले आकाश छुन्छ, हरेक वर्षा याममा । बिचौलियाहरू भन्छन्, बाढी पहिरोले गर्दा पर्याप्त आयात हुन सकेको छैन, आयात भए पनि महँगो आउँछ । तर उत्पादन गर्ने किसानले बजारको मूल्यभन्दा करिब ३ सय प्रतिशतभन्दा कम मूल्य पाउँछन् । दुःख गरेर किसानले उत्पादन गर्छ, पोल्टो भर्ने काम बिचौलियाले गर्छन् । हरेक वर्षझैँ यस वर्ष पनि तराईका भूभागमा बाढी आएको भन्दै बिचौलियाले तरकारी, फलपूmललगायत अन्य खाद्यान्न मूल्य ह्वात्तै बढाए । तरकारीमा झन्डै साढे २ सय प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । नियमनकारी संस्थाले जबसम्म बिचौलियालाई कारबाहीको घेरामा ल्याएर निमुखा किसानको उत्पादनलाई उचित बजार व्यवस्थापनको मार्ग प्रशस्त गर्दैन तबसम्म किसानप्रति न्याय हुँदैन, खाद्यान्नको अभावसँगै महँगी पनि चुलिँदै जान्छ ।
बाढी, पहिरोजस्ता प्रकोपबाट सुरक्षित हुँदै आफ्नो खेतीबालीलाई जोगाउन सरकार, नियमकारी निकाय, बुद्धिजीवी वर्ग र राजनीतिक तप्काले अग्रसरता देखाए मात्र बाढीबाट हुने खाद्यान्न अभावको चरणलाई छिर्न केही मद्दत पुग्छ । यसो गरे मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न पनि सकिन्छ । त्यसपछि माथि उल्लेखित प्रकोप पार गर्दै जोगाएको खाद्यान्नलाई उचित बजार व्यवस्थापन गरेर किसानप्रति न्याय दिने कामले खाद्यान्न अभावलाई केही कम गर्छ भने मूल्यवृद्धिको मार पनि घट्छ । अझ भन्ने हो भने उत्पादक र उपभोक्तासँग सीधा सम्पर्क हुने व्यवस्था जबसम्म गरिँदैन तबसम्म खाद्यान्न अभावले छोड्दैन । उत्पादक उत्साहित भएर उत्पादन बढायो र त्यसलाई उपभोक्ताले सहज तरिकाले उपभोग गर्न पायो भने उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुन्छन् र खाद्यान्न सङ्कटको बाटोमा केही तगारो लाग्छ । त्यसैले बाढी–पहिरोजस्ता प्रकोपको बहानामा अभाव, मूल्य वृद्धि र बिचौलियापनको अन्त्य गर्दै समृद्ध नेपालको परिकल्पना आवश्यक छ ।

 

प्रकाशित मिति: २०७४/५/४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना