विपत्ति न्यूनीकरणका स्थायी उपाय

dhanpati koiralaडा.धनपति कोइराला

 

 

हरेक वर्षझैँ यसवर्ष पनि वर्षा ऋतुको उत्कर्षसँगै महाजल प्रलयको स्थिति पैदा भएको छ । नेपालको आफ्नै आन्तरिक पक्ष, भूबनोट र हेपाहा चरित्रका कारण नेपालीले हरेक वर्ष प्राकृतिक कोपभाजन हुनु परिरहेको स्थिति छ । खासगरी जलप्रलयको स्थिति हिमालभन्दा पहाड र तराईमा बढ्ता छ । ती प्रलय केही टार्नै नसकिने प्रकृतिका हुने भए पनि कतिपय हामी आफैँबाट सिर्जित छन् । नेपालका सन्दर्भमा केही कारण यस्ता छन् ः
भूबनोट ः हाम्रो भूबनोट अत्यन्त नाजुक प्रकृतिको छ । पहाडमा जलवृष्टि हुनासाथ पैरो जान थाल्छ । त्यसमा पनि पहाडी क्षेत्र जुन समतलभन्दा अलिक भिरालो खालको छ । त्यहाँ वृक्ष, बुट्यान र वनस्पति मासेर खेती गर्ने, घर बनाउने र बसोबास गर्न थालेपछि त्यहाँको माटोलाई समाएर राख्ने वनस्पति र जराहरूको अभावमा हरेक वर्ष पहाडी माटोका स्खलन भइरहँदा त्यस्ता ठाउँमा बनेका घरगोठ र अन्य संरचनासहित पूरै गाउँ पैरोमा जाने गरेको जगजाहेर छ । त्यसमा दुई वर्र्ष अघि गएको महाभूकम्पले पहाड कतै पूरै चिरिएर, कतै धसिएर र कतै अनपेक्षित रूपमा अग्लिएजस्तै भएका छन् । पानी पर्नासाथ त्यस्ता ठाउँमा पानी भरिएर माटो गिलो भई पैरो जाँदा गाउँ शोकमग्न हुने क्रम जारी छ । अझ पहाडी इलाकामा बनाइएका बाटो र पुल निकै जीर्ण छन् । अवैज्ञानिक रूपमा पहरा काटेर बनाइएकाले सयौँ ठाउँमा पैरो गइरहेका छन् ।
भ्रष्टाचारः हरेक वर्ष बाटो र पुल बनाउने र मर्मत गर्ने, जल उत्पन्न प्रकोप नियन्त्रण गर्न बाँध बाँध्ने सिँचाइका निम्ति नहर बनाउनका लागि अर्बांै वर्ष विनियोजन हुने गरेको छ । तर, काम भएको हुँदैन बजेट कीर्ते बिल बनाएर नेतृत्वसहित कर्मचारीका खल्तीमा पुग्छ । वक्राहा नदी नियन्त्रण गर्न छुट्याएको रकम भ्रष्टाचार गरेको प्रमाणित भएपछि केही नेता जेल परेका थिए । यो एउटा प्रतिनिधि घटना मात्र हो । तिनको अकर्मण्य चरित्रका कारण कतै कमजोर संरचना, कतैसंरचना नै नबनाएर देश र जनतामाथि गद्दारी गर्ने परिपाटीका कारण प्राकृतिक विपत्तिबाट गुज्रिरहेको छ ।
राजनीतिक इच्छा शक्तिको अभाव ः
मजबुद भौतिक संरचना निर्माण नगर्ने, झारा टार्ने प्रवृत्ति, निर्माण सम्पन्न भएको महिना दिन नपुग्दै भत्कने, बाँध निर्माणमा उचित उपाय अवलम्बन नगर्ने, मर्मत सम्भारमा ध्यान नदिने, पटकपटक सचेत गराइरहे पनि त्यसको बेवास्ता गर्ने प्रवृत्ति, ठेकेदारसँग मिलिमतो गर्ने र कमिसनका आधारमा काम गराउनेजस्ता प्रवृत्तिकै कारण ससाना वृष्टिहरूमा पनि ठूला आपत्तिका घण्टी बज्ने गरेका छन् । यसको स्थायी उपाय खोज्नुभन्दा पनि राजनीतिक नेतृत्वले यसलाई सधैँ समस्या नै मानेको छैन ।
सुरक्षित स्थानमा स्थानान्तरणः
सरकारले भूकम्प पीडित, बाढीपहिरो पीडितलाई सुरक्षित स्थानमा राख्ने प्रबन्ध अझै गरेको छैन भने उच्च हिमाली भेग, विकट पहाडी क्षेत्र, पहिरोको जोखिमयुक्त क्षेत्र, सम्भावित बाढी र डुबानको क्षेत्र किटान गर्ने र तिनलाई त्यहाँ बसोबास गर्न नदिने, सट्टामा सुरक्षित स्थान उपलब्ध गराई उचित बसोबासको व्यवस्थापन गर्ने कार्यमा समेत चुकिरहेको छ । भूकम्पले धाँजा फाटेका स्थानमा नबस्न उर्दी जारी गरे पनि त्यसको विकल्प नदिँदा अहिले पनि मानिस त्यही बसोबास गर्न विवश छन् । उर्दी जारी गर्दैमा सरकारको दायित्व पूरा हुँदैन तापनि हरेक वर्ष यही फरमान आउँछ तर कार्यमा त्यसलाई लगिन्न ।
नदी सम्झौताः
आपूmलाई तल पारी कोशी, गण्डक, महाकाली आदि नदी सम्झौता गर्नाले हाम्रो मुलुकले ठूलो हानि नोक्सानी खप्नु परिरहेको छ । कोशी नदीको मुहान चतरादेखि पुलसम्म बाँधिएको बाँधकै कारण लाखौँ हेक्टर खेतीयोग्य भूमि उपयोगहीन मात्र भएको छैन । ती जग्गाका धनीका धनीपूर्जा धमिरा र माउले खान थालेको छ । जनताका नम्बरी जग्गामा बाँध निर्माण गर्ने भएकाले ती जग्गाको उचित क्षतिपूर्ति दिने सम्झौता भए पनि अझै त्यहाँका जनताले ती जग्गाको क्षतिपूर्ति पाएका छैनन् । उल्टै बाँकी जग्गा डुबानमा परी आहत मात्र पाइरहेका छन् । २०६६ सालमा सुनसरी जिल्लापट्टिमा पर्ने प्रकाशपुर क्षेत्रमा बाँध भत्किनाले लाखौँ हेक्टर जग्गा मरुभूमिमा परिणत हुनपुग्यो । सयौँ नेपालीले अकालमा ज्यान गुमाउनुप¥यो । खर्बौं रकम बराबरको धनमाल, बस्तुभाउ जलप्रलयको चपेटामा हेलिए । आज पनि त्यो क्षेत्र मरुभूमिमय नै छ । बाढीको महाप्रकोप भोग्नुअघि एकमानो खान सक्ने जनताको जीवन अझै पनि कष्टपूर्ण छ ।
बाँध भत्किने उच्च जोखिम हुँदा हुँदै पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिदा दुःखद् घटना जन्मन पुगेको यथार्थ हामी सामु छर्लङ्गै छ । सुक्खायाममा एकतुर्को पानी नचुहाउने वर्षामा बाँधका ढोका बन्द गरी प्राकृतिक बाटो छेकी नेपालतिर बाढी नै पसाइदिने गर्नाले जनता हरेक वर्ष आहत हुने गरेका छन् । यस वर्ष पनि समयमै नदीलाई बग्न नदिएर थुन्दा झण्डै चितवनसम्मै जल भरिई जनतामात्र आहत भएनन् चितवन निकुञ्जका वन्यजन्तु पनि प्रताडित भए । धेरै यसको भूमरीमा परी मरे । यस्ता ठूला नदीको दबाब र प्रभावबाट यस भेगका जनता आजित हुँदा सरकारले भारतीय उच्च अधिकारीसमक्ष आफूलाई परिरहेको मर्का भन्न नसक्नु हाम्रा निम्ति विडम्बना बन्ने गरेको छ ।
दशगजा क्षेत्रमा निर्मित बाँध ः
भारतले अन्तर्राष्ट्रि«य कानुन मिचेर नेपाल भारतको दशगजाबाटै एकतर्फी बाँध बाँधिरहेको छ । नेपालतिरको भूमि डुबानमा पार्ने गरी अग्लो ड्याम बनाई पक्की सडक बनाइरहेको छ । तराईमा डुबान हुनुको मुख्य कारणमध्ये यिनै बाँध र सडक पर्छन् ।
बाँके हुँदै बग्ने राप्ती नदीमा भारतले सीमा क्षेत्रमा बाँधेको बाँध लक्ष्मणपुर बाँधले प्रसिद्ध छ । यही बाँधका कारण त्यस क्षेत्रका दर्जनौँ गाउँ डुबानमा पर्र्दै आएका छन् । कलकलुवा तटबन्धका नामले परिचित तटबन्ध यही लक्ष्मणपुर बाँधसँगै जोडेर भारतले २२ किलोमिटर लामो तथा चार मिटर अग्लो बाँध निर्माण गरे पनि भारतले नेपालसँग कुनै परामर्श गरेन तर यसै तटबन्धका कारण अथाह विपत्ति आउने गरेको छ । भारतको धार्चुला जिल्लाबाट बगेर आई नेपालको महाकाली नदीमा मिसिने नदीमा भारतले बाँध बाँधेको छ । २०७० सालमा यही बाँध फुटेर आई नेपालको दार्चुला जिल्लाको सदरमुकामलाई विनाशलीलामा समाहित तुल्याएको थियो । हेर्दा हेर्दै ठूला महल धराशायी भए । यसको पुनर्निर्माण अझै हुन सकेको छैन । कोइलाबास तटबन्ध दाङको सीमाक्षेत्रमा बग्ने दारा खोलामा भारतद्वारा निर्मित तटबन्ध हो । यही तटबन्धकै कारण त्यस भेगका करिब तीन हजार परिवारको बिचल्ली हुने गरेको छ ।
२०५९ सालमा कपिलवस्तुको सीमावर्ती क्षेत्रमा निर्मित १५ ढोकायुक्त ३० मिटरको बाँध महलीसागर बाँधका रूपमा परिचित छ । यो बाँधकै कारण सुक्खा मौसममा समेत करिब १९१ हेक्टर जमिन डुबानमा पर्ने गरेको छ । रूपन्देहीको मर्चवार क्षेत्र नजिकै एकतर्फी रूपमा बाँधिएको बाँध रसियावाल खुर्दलौटनका नामले परिचित छ । यही बाँधकै कारण यस क्षेत्रका कम्तीमा १८ गाउँले सास्ती भोग्नु परिरहेको छ । सिद्धार्थ नगरपालिका अन्तर्गत वडा नं. २ स्थित डन्डा नदीमा बनाइएको ७ किमी मध्येको ३ किमी लामो तटबन्धका रूपमा चर्चित छ । स्थानीय जनताको विरोधका कारण निर्माण पूरा नभएको भए पनि निर्मित संरचनातिरको भूभागमा यसले प्रभाव पार्ने गरेको छ । यस्तै रौतहटको लालबकैया र बैरगनिया बागमती तटबन्धका कारण औरही सिर्सिया, पुरेनवा, जयनगर, बन्जराहा, औरैया, बैरिया पिपरा आदि गाउँपालिका तथा गौर नगरपालिका क्षेत्रलाई गम्भीर असर पु¥याइरहेको छ । धनुषा र सिरहा जिल्ला भएर बग्ने नदी कमला तटबन्ध, सिरहा जिल्लामा निर्मित सिरहा तटबन्ध र सप्तरी जिल्लामा निर्मित खाँडो तटबन्धले पारिरहेको प्रभाव अकथनीय रहेको छ । सप्तरीमै निर्मित कुनौली तटबन्धले सप्तरीका दर्जनौँ गाउँपालिकालाई प्रभावित तुल्याइरहेको छ । मोरङ जिल्लामा रहेको वक्राह नदीमा निर्मित लुना बाँधकै कारण कैयौँ नेपालीले पीडा भोग्दै आएका छन् ।
यस प्रकार नेपालमा जलप्रलयबाट बच्न सकिने धेरै अवस्था हुँदाहुँदै पनि आफ्नै अकर्मण्य चरित्र तथा हेपाहा प्रवृत्ति मूल समस्या बन्ने गरेका छन् । कम्तीमा सीमावर्ती क्षेत्रबाट १२ किलोमिटरको दूरी पार गरेपछि बनाउन पाइने प्रचलित कानुन हुँदा हुँदै यस विषयमा उससँग स्पष्ट अडान राख्न नसक्नु, अन्तर्राष्ट्रिय मञ्चमा पनि आपूmलाई पारिरहेको समस्या नराख्नु, कूटनीतिक स्तर बढाउन नसक्नु सरकारका कमजोरी हुन् । नेपालका दलहरूबीच राष्ट्रिय मुद्दामा मतैकता नहुनु, जनतामा नेतृत्वप्रति अझै गर्लान् कि भन्ने आशा जीवितै रहनु, विद्रोह आरम्भ भए पनि अझै यसले उत्कर्षता ग्रहण नगर्नु, जब भयो राति अनि बूढी ताती भनेझैँ वर्षाका याममा मात्र खोज खबर गर्नु बर्खा बितेपछि या विपत्तिको समयान्तरालन बढ्दै गएपछि क्रमशः सुस्तता छाउनुजस्ता कारणले नेपालले विपत्तिबाट जोगिन सकिने जत्तिको उपाय अवलम्बन गर्न नसक्दा धेरै सास्ती बहोर्दै आएको छ ।
यसका निम्ति जनता नै जाग्नुपर्छ र स्थानीय तहका अभिभावकको अगुवाइमा आपूmलाई प्रभाव पार्ने भारतीय संरचनाबारे सम्बन्धित निकायसमक्ष ठोस वार्ता आरम्भ गर्नुपर्छ ।

प्रकाशित मिति: २०७४/५/४

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना