मौलिक पर्व तीज

namrata pandeyडा. नम्रता पाण्डे

 


‘चाहिदैन भो मखमली चोलिया,
पुरानै छ सारी बरिलै,
माइती घर ,सँगी साथी ,चौतारी,
बिसाउंँला जो भारी बरिलै’
जहाँ प्रेम, स्नेह अनि श्रद्धा हुन्छ, त्यहाँ त्यसै आनन्द सुख शान्तिको अनुभूति हुन्छ । तीज बिल्कुल पारिवारिक पर्व हो, त्यसैले आफ्नो माइती, आफ्नो परिवार, आफ्नो रीतिरिवाज त्यसै प्यारो हुन्छ । त्यहाँ देखासिकी र बाहिरी तडक भडकले स्थान लिन सक्दैन । निश्चल भावना र सहज जीवन जिउने हाम्रा चेलीका यी भाकाले सरल जीवन, आत्मियता, माइतीको प्रेम, संवेदना र तीजको मौलिकतालाई इशारा गरेको छ । महिलाको पर्व भनेर परम्परादेखि मनाउँदै आएको तीज पर्वको आफ्नै मौलिकता हुँदा–हुँदै प्रत्येक वर्ष झन्भन्दा झन् भड्किलो बन्दै गएको देख्दा आधुनिक र बदलिँदो तीज बनेर प्रस्तुत भएको छ । अब तीजे भिडियामा पुरुषको प्रवेश देख्दा त लाग्छ तीज पर्वमा समानता आएछ । के पुरुष, के महिला सबै बराबरी, के को रातो सारी, किन सिन्दुर पोते पाइला हाराहारी हुँदैछ । सायद परिवर्तनको असर भनेको यही हुनुपर्छ तर परिवर्तन भनेको मौलिकताको विनाश अवश्य होइन । सबैले सजिलै यस्तो भड्किलोपन र संस्कृतिलाई पछ्याउन सक्छन् र ? कसरी शुरु भएको थियो तीज पर्व आज कसरी अर्थ लगाइँदै छ ?
हरितालिका अर्थात् तीज पर्व नेपालमा र भारतका केही प्रान्तमा मनाइने हिन्दु महिलाको महान् पर्व हो भनेर बुझिँदै आइएको छ । यो पर्व हिन्दु क्यालेन्डरअनुसार श्रावण शुक्ल पक्ष तृतीयाको दिनलाई हरितालिका अर्थात् तीज भनिन्छ तर यसलाई तीन दिनसम्म मनाइन्छ । जसमा हरितालिकाको एक दिन अगाडि दर खाने दिन भनिन्छ, दोस्रो दिन हरितालिका र तेस्रो दिन ऋषिपञ्चमी भनी मनाइन्छ ।
पहिलो दिन, दर खाने दिनमा विशेषगरी बिहे गरी कर्मघर गएका छोरी र चेलीबेटी जम्मा गरी माइती घरमा मीठामीठा भोजनका परिकार खाने खुवाउने र तीजको लोकगीत र नाचगानका साथ रमाइलो गर्ने चलन छ । अझ भनौंँ यस दिन बिहे गरी कर्मघर गएका छोरी, वर्ष दिनमा भेट हुने दिदीबहिनी आमाको हातबाट बनेको मीठा–मीठा परिकार खाने र वर्ष दिनभरिका सुखदुःख सबै बिर्सेर माइतीमा निर्धक्क लोकभाका र आफ्ना सिर्जनात्मक रचनाद्वारा तीजका गीत गाएर, नाचेर उत्सवमय मनाउने गर्छन् ।
सबैले ल्याए चेली र बेटी,
तीजको दिनलाई,
हाम्रीनी छोरी आत्तिइ होली,
जानुस् भो लिनलाई ...
वर्ष दिनको पर्वमा बाबालाई छोरी लिन जान आमाको अनुरोध हो यो ।
यस्तै सिर्जनामा देवी देवताका प्रर्थना, सुखदुःखका क्षण, अनुरोधका भाका, प्रेमका भावना, समय र परिस्थितिका यथार्थता र सहज अवस्था छताछुल्ल रूपमा पोखिएका हुन्छन् । आफ्ना छोरीहरू, चेलीबेटीलाई सौभाग्यको कामना गर्दै कपडा, गहना उपहार दिने चलन छ । घर–घर, टोल टोलमा, छिमेकमा आमा, दिदीबहिनी, चेलीबेटी जम्मा भएर मनाइने यो पारिवारिक पर्वको आफ्नै महŒव छ ।
दोस्रो दिन हरितालिका भनिन्छ, यस दिन पार्वतीले आफ्ना पतिदेव भगवान् शिवको पूजा आराधना गरेर आफ्ना पतिदेवको लागि वरदान मागेकी थिइन् । यहि किम्बदन्तीलाई आधार मानेर विवाहित हिन्दु महिला आफ्ना पतिदेवको सुख, स्वास्थ्य र दीर्घायुको, सफल वैवाहिक जीवनको एवम् आफ्नो सुहागन अनि अटल सौभाग्यको कामना गर्दै व्रत बसेर भगवान् शिवको आराधना गर्छन् । शिव मन्दिर गाएर पूजाआजा गर्छन् । विवाहित हिन्दु नारी सौभाग्यको प्रतीक राता, हरिया रङ्गीचङ्गी कपडा र चुरा पोते अनि गरगहनाले सजिएर दिनभर केही नखाई निर्जला व्रत बस्ने गर्छन् । भनिन्छ अविवाहित नारी असल पति पाउने कामना गर्दै व्रत बसेर भगवान् शिवको आराधना गर्छन् । नाच्छन्, गाउँछन् र उत्सव मनाउंँछन् । जे होस् समग्रमा हेर्दा आफ्नो परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रेमपूर्ण पर्वको रुममा यसको महŒव रहिआएको छ । जहाँसम्म व्यक्ति नाचगानको आनन्द लिन सक्छ, त्यतिबेला ऊ मन र विचारभन्दा पर पुगेको हुन्छ र तनाव रहितस्थिति, एकप्रकारको शान्त अवस्था अनुभूति गर्न सक्ने हुन्छ त्यसैले आध्यात्मिक हिसाबमा यसको आफ्नै महŒव छ ।
तेस्रो दिन ऋषिपञ्चमीको दिन हिन्दु महिला रातो माटो प्रयोग गरी नुहाउने र दतिवन प्रयोग गरी दात सफा गर्ने चलन छ । यसो गर्दा पापहरू गरिएको रहेछ भने पनि सारा पाप नष्ट भएर जान्छन् भन्ने भनाइ छ । यति गरेर सरसफाइपछि पञ्चऋषिको पूजाआजा गरिसकेर खाना खाने चलन छ । अहिलेको आधुनिक समयसम्म आइपुग्दा यस रीतिमा धेरै परिवर्तन आइसकेको छ र पनि यो रीति कतिपय ठाउँमा अझै जस्ताको तस्तै प्रचलनमा छ ।
‘वर्ष दिनको तीजको बेलिमा,
बाबा लिन आए बरिलै,
माइती घर जान्छु नि म त, सासु बिदा देऊ न बरिलै,
वर्ष दिनको दुःखलाई बिर्सी, हाँस्ने दिन आयो बरिलै
एकै झल्को आमाको मुख,
हेर्ने मन लाग्यो बरिलै’
भनेर सहज भाव बोकेको पारिवारिक पर्व तीज वास्तवमै आज कतातिर जाँदैछ ? यी भाकाले कस्तो संस्कारको विकास गर्ला ? समयले हामीलाई बदल्यो या हामीले समयलाई बदल्याँै ? अर्को व्यावहारिक पक्ष हेर्ने हो भने केही वर्षयता यो पर्वले महिलामा गरगहना र कपडाको÷फेसनको प्रतिस्पर्धा बढाइदिएको आभाष हुन्छ । आफ्mनो इच्छा र स्थितिभन्दा पर पुगेर देखासिकीको हिसाबमा महँगो र फेसनयुक्त कपडा र गरगहनामा नारीको ध्यानाकर्षण बढेको पाइन्छ । जुन सत्य छ, कल्याणकारी छ त्यो चिज सुन्दर हुन्छ । सफा मन, प्रेमल, करुणादायी, अनुशासितजस्ता गुणले महिलालाई त्यसै सुन्दर बनाउँछ तर आजकल महिलाले आफ्नो सुन्दरता पहिरनमा सीमित गर्न खोजिएको आभाष हुन्छ । आफ्नो स्वविवेकको प्रयोग गरी चाडपर्वलाई महŒव र निरन्तरता दिएका छौँ कि देखासिकीमा हामी अल्मलिएका छौँ महिलाले एकपटक आफूले आफूलाई नै सोध्नुपर्ने भएको छ । नेपाली समाजमा तीज पर्व मात्र होइनन्, अरू सामाजिक र शैक्षिक कार्यक्रम पनि त्यत्तिकै हुने गर्छन् तर महिला सहभागिता हेर्ने हो भने अरू कार्यक्रममा न्यून हुन्छ भने तीजको कार्यक्रममा सतप्रतिसत सहभागिता हुन्छ । आजको समयमा तीज पर्वलाई मौलिकताबाट पर सारिएको र तीज मनाउनुको औचित्य सामाजिक, व्यावहारिक, सिर्जनामूलक र चेतनामूलक नभइकन अनुकरणीय बनेको महसुस हुन्छ । करुणाको भावनाले ओतप्रोत भएर आफ्नै रीतिरिवाज, संस्कृति, अनि प्रेम र सद्भावले भरीपूर्ण हुन सकेमात्र हाम्रो पहिचान, हाम्रो अस्तित्व रहन्छ । अन्यथा भड्किलो फेसन, जीवनशैली र त्यसमै जोडिएको भड्किलो रूपको पर्वले सही पहिचान नभएर विकृति र विसङ्गति निम्याउला कि ?

प्रकाशित मिति २०७४/५/५

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना