मनमनका कवि मोतीराम

dilliram mishraडिल्लीराम मिश्र

 

नेपाली साहित्यका अमर विभूति युवककवि मोतीराम भट्टले तीस वर्षको कलिलै उमेरमा मोतीरामले नेपाली वाङ्मयको बहुपक्षीय क्षेत्रमा समर्पण गरेको योगदानको वीरगाथा हिमचुली जस्तै छ । यिनै मूर्धन्य साधक मोतीरामको व्यक्तित्वलाई नेपाली समाजमा जीवन्त राख्ने कैयौँ रचनात्मक कार्यमध्ये युवावर्ष मोती पुरस्कार पनि एक हो ।
प्रत्येक वर्ष भाद्र कुशऔँशीका दिन यिनै राष्ट्रिय विभूति मोतीरामको जन्मजयन्ती मनाउने परम्परा कायम रहेको छ । अब त एक किसिमले यो ऐतिहासिक परम्परा नै बनिसकेको छ । भानुभक्तपश्चात् नेपाली साहित्यमा एउटा अत्यन्त उत्साही युवक साहित्यिक आन्दोलनका बहुप्रतिभाशाली मोतीराम भट्टको उदय भयो । उनको उदयले नेपाली साहित्यमा निकै योगदान पुगेको छ । आदिकवि परलोक हुनुभन्दा दुई वर्षअघि वि.सं. १९२३ साल भाद्र कुशेऔँशीका दिन काठमाडौँका पण्डित दयाराम भट्टको कुलमा जन्मेका मोतीराम तीस वर्षको उमेरमा नेपाली साहित्यमा राष्ट्रिय विभूतिद्वारा सम्मानित हुन पुगे । मोतीरामको मन आधुनिक मात्र होइन, उनी परिवर्तनका अनुयायी थिए । पण्डित कुलमा जन्मेका र सानै उमेरमा बाबुआमासँग बनारसमा गई संस्कृतको अध्ययन गरेका उनी धेरै भाषाका ज्ञाता थिए ।
नेपाली साहित्यमा मोतीराम शृङ्गारधाराका प्रवर्तक र प्रतिभा सम्पन्न व्यक्तित्व हुन् । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा मोतीरामले खेलेको संस्थागत भूमिका ज्यादै उल्लेखनीय छ । मोतीराम कविमण्डलीका अतिरिक्त रसिक समाजका पनि संस्थापक हुन् ।
नेपाली साहित्यको माध्यमिककालमा मोतीराम मूलतः तीन तथ्यका लागि सही आन्दोलक भए । प्रथमतः उनले आदिकवि भानुभक्तका कृति सङ्कलन गरी प्रचारप्रसार गरे दोस्रो अद्वितीय समर्पण तेस्रो निःस्वार्थका साथ भानुभक्तपछि चक्रपाणि चालिसे र लेखनाथ पौड्याल नआएसम्मको साहित्यिक युगलाई समेत उनले प्रतिनिधित्व गरेका थिए । मोतीरामले एकातिर विभिन्न कृति रचना गर्दै गए भने अर्कातिर अन्य लेखक कविहरूका कृतिलाई छाप्ने प्रबन्ध मिलाएर पहिलोपटक नेपाली साहित्यमा कृतिहरू सार्वजनिक गरे । मोतीराम आफू त कवि छँदै थिए, त्यसमा पनि उनले आफ्ना समकालीन कविहरूलाई साहित्य लेखनतर्फ प्रेरणाको हुटहुटी नै जगाए । राष्ट्रिय योगदानको आधार शृङ्खला हेर्ने हो भने मोतीरामका अनगन्ती कृति प्रकाशित छन् । उनका मौलिक कृतिहरूको चर्चा गर्दा सर्वप्रथम सम्बत् १९४४ सालमा प्रकाशित काव्य उषाचरित्रलाई लिइन्छ । नेपाली साहित्यमा कविता, काव्य, नाटक, पत्रकारिता, जीवनी, गजल, संवाद र सम्पादन विधामा कलम चलाएका मोतीरामका प्रकाशित कृति क्रमशः मनोद्वेग–प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, प्रह्लादभक्तिकथा, गफाष्टक, उषाचरित्र, तीजको कथा, उखानको बखान, गुलसनाबेर, वालाजी वर्णन, चाणक्य नीति, कमल भ्रमर संवाद, काशीराज चन्दसेन, सङ्गीत चन्द्रोदय, स्वप्नाध्याय, प्रियदर्शिका, पिकदूत, कालमहिमा, शकुन्तला, कविसमूह वर्णनम् र कवि भानुभक्तको जीवनचरित्र रहेका छन् । कवि मोतीरामले भानुभक्तीय रामायणको पनि अनुवाद सम्पादन गरेका छन् । यसका साथै मोतीरामका दुई दर्जनभन्दा बढी फुटकर कविता रहेका छन् भने गजल र गीतको पाटो त्यत्तिकै बलियो छ । समस्यापूर्ति कविताले उनको प्रतिभाको थप परिचय दिएको छ । काव्यअन्तर्गत रहेको उनको शृङ्गारिक कविता पिकदूत ज्यादै मीठो काव्य हो । पिकदूत पहिलोपटक सम्बत् १९७४ सालमा सूक्तिसिन्धुमा प्रकाशित भएको हो । सुक्तिसिन्धु नेपाली
साहित्यजगत्मा प्रभावकारी भूमिका खेल्ने अनेकन कविहरूका शृङ्गाररस प्रधान कविताहरूको सङ्कलन हो ।
कवि मोतीरामले नेपाली पत्रिका गोर्खा भारत जीवनको पनि सम्पादन कार्य गरेका थिए । नेपाली साहित्यमा पहिलो जीवनीपरक समालोचनात्मक कृति कवि भानुभक्तको जीवनचरित्र सम्बत् १९४८ भदौमा भारत जीवन यन्त्रालय काशीबाट सार्वजनिक गरेपछि भाषासाहित्यको क्षेत्रमा भानुभक्तको व्यक्तित्व र कृतित्वको बारेमा चिन्तनमनन, अध्ययन–अनुसन्धान, चर्चा–परिचर्चा, बादविवाद, बहस अन्तरबहस र टीकाटिप्पणी आ–आफ्नै अध्ययन, शैली, क्षमता र अनुभवको आधारमा हुन थाले । यो क्रम भानुभक्तको जीवनी सार्वजनिक भएको १२० वर्ष बितिसक्दा पनि तथ्यपरक उठानको भ्रम निरूपण हुन सकिरहेको छैन । कवि भानुभक्तको जीवनचरित्र भानुभक्त जन्मेको ७८ वर्ष र निधन भएको २४ वर्षपछि मोतीरामले २५ वर्षको उमेरमा प्रकाशित गरेका हुन् । नेपाली वाङ्मयको क्षेत्रमा कवि, नाटककार, गजलकार, जीवनीकार, समस्यापूर्तिकार समालोचक, अन्वेषक, पत्रकार, पत्रिका तथा छापाखाना प्रबन्धक एवम् पुस्तकालयको संस्थापकका रूपमा उनको योगदानको मूल्याङ्कन गर्न सकिन्छ ।
नेपाली समाजको तत्कालीन परिवेश पनि संस्कृतकै विद्वान्हरूको आधिपत्य जस्तै थियो, तापनि भानुभक्तले नेपाली भाषामा रामायण लेखेर परिस्थितिलाई कडा चुनौती भने दिएका थिए । मोतीरामको कालसम्म नेपाली भाषाले प्रतिष्ठापूर्ण स्थान लिन त्यति सकेको थिएन । राणा शासनको समय उर्दू र फारसीको प्रभावले नेपाली भाषा फस्टाउन नसकेको अवस्थामा नाटकहरू पनि उर्दू र फारसी भाषामा नै मञ्चन हुन्थे । त्यस प्रकारको परिपाटीलाई अन्त्य गरी शकुन्तला र प्रियदर्शिका नाटक मोतीरामले नेपाली भाषामा मञ्चन गरेका थिए । राष्ट्रप्रेमप्रति उन्मुख मोतीरामलाई मात्र होइन मानिसको जीवनका तीन अवस्था शैशवावस्था, किशोरावस्था र युवावस्थामा काल विभाजन गर्दा समय कति पो रहन्छ र ? तर पनि मोतीरामले अल्पायुमै भाषा र साहित्यको श्रीवृद्धि र प्रतिष्ठाका लागि जति गरे त्यो नै असाधारण छ । उनलाई राष्ट्रिय विभूतिका रूपमा देशले सम्मान गरेकै कारण युवककवि भनेर सम्बोधन र स्मरण गरिएको हो ।
मोतीराम तीस वर्षमात्र बाँचे तर नेपाली साहित्यमा उनले खडा गरेको मोतीमण्डलीको पनि आफ्नै योगदान छ । मोतीरामका अनेकन फुटकर कवितामध्ये अचल झण्डा प्रसिद्ध राष्ट्रिय कविता हो ।
युवककवि मोतीराम भट्टको भावना आकाशजस्तो निर्मल थियो । आफ्ना युगमा अरूलाई उठ्न नदिएर आफूमात्रै अगाडि बढ्ने सङ्कुचित भावना उनमा बिलकुलै थिएन । मोतीराम साहित्य सिर्जनामा आफ्ना अग्रज, समकालीन र उत्तरवर्ती सर्जकहरूलाई अगाडि बढाउन चाहन्थे । कसैको प्रशंसा गर्दा निर्भीक भएर गर्ने विलक्षण गुण मोतीराममा थियो । उनले कविको वर्गीकरण पनि सहजकवि र संसर्गीकवि अर्थात् स्वाभाविक र कृतिम कवि भनेर विभाजन गरेका छन् । सहजकविको तुलनामा संसर्गीकवि कहिल्यै पनि पुग्न सक्दैन भन्ने मोतीरामको मूल्याङ्कन शाश्वत छ । त्यसैले आफ्ना अग्रजकवि भानुभक्तलाई कतै कविकुलमुकुटमाणिक्य र कतै कविचक्रचुडामणि भनेका छन् भने समकालीन कवि राजीवलोचन जोशीलाई कविशिरोमणि र पद्मविलास पन्तलाई कविवर तथा उपदेशमञ्जरीका सिर्जनाकार कवि तीर्थराज पाण्डेलाई कविकेशरीको उपाधि दिएका छन् ।
यसरी नेपाल र नेपाली भाषासाहित्यको विकासमा अविस्मरणीय योगदान दिएका मोतीरामको वि.सं. १९५३ साल भाद्र महिना आफू जन्मेकै दिन पशुपति आर्यघाटमा निधन भयो । नेपाली साहित्यमा प्रशस्तै कीर्तिमान कायम गरेर सफलता प्राप्त गरेका मोतीरामले चौध वर्षको उमेरमा वि.सं. १९३७ मा विवाह गरे पनि सन्तान भने भएनन् तर उनले गरेको सम्पूर्ण सेवा र कृति नै नेपाली साहित्यका लागि औरस सन्तानसरह जीवन्त र कालजयी भएर रहनेछन् । कवि मोतीरामको परिवारमा आमा, बाबु र एक बहिनी मात्र भएको देखिन्छ । एउटै मात्र छोरा मोतीरामको निधन पछि पं. दयाराम भट्टले पुनः अर्को विवाह गरेका थिए र त्यसबाट एक छोरा रामेश्वर भट्टको जन्म भयो । नेपाली भाषा साहित्यको उन्नतिमा सदा समर्पित मोतीरामको जीवन भने सुखमय रहन सकेन । त्यसैले कवि मोतीरामले तीस वर्षको कलिलै उमेरमा नेपाली भाषा, साहित्य र वाङ्मयको क्षेत्रमा के गरे भन्दा पनि के गरेनन् भनेर अध्ययन गर्नुपर्ने अवस्थाप्रति विमति रहँदैन ।

 

प्रकाशित मिति: २०७४/५/५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना