पत्रकार महासङ्घमा उठेका प्रश्न

gorkarnaगोकर्ण अर्याल

 

श्रमजीवी पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकर महासङ्घको २५औँ महाधिवेशन नयाँ नेतृत्व चयनका साथ सम्पन्न हुँदैछ । व्यावसायिक पत्रकरिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनमा देशभरबाट एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी यस भेलाले लिने निर्णयलाई विशेष महŒवका साथ हेरिएको छ । महासङ्घको नेतृत्वमा को पुग्छ वा कुन समूह हावी हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन । जो चुनिए पनि पत्रकारितामा लागेका र यस क्षेत्रमा समय बिताएकाले नै महासङ्घको नेतृत्व हाँक्ने हो । पेसागत मर्यादा र दायित्व बुझेकाले नै नेतृत्व लिने हो । अमुक व्यक्ति वा समूहले विजय प्राप्त गर्दा सामान्य रूपमा केही भिन्नता महसुस होला तर ताŒिवक रूपमा भने कुनै फरक पर्ने छैन । एउटा निश्चित विधि र प्रक्रियामा सञ्चालित संस्था कुनै व्यक्ति परिवर्तन हुँदैमा उलट–पुलट हुन्छ भन्ने हुँदैन तर पछिल्लो समयमा महासङ्घको भूमिका र सिङ्गो सञ्चार जगत्प्रति उठ्न थालेका प्रश्नले भने यससँग सम्बद्ध सबैलाई गम्भीर तुल्याएको हुनुपर्छ । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता जगत्प्रति जनविश्वास कमजोर देखिनु वा बन्दै जानु निश्चय पनि सुखद विषय होइन । महासङ्घको उद्घाटनका अवसरमा राजनीतिक दलका प्रतिनिधिले महासङ्घप्रति राखेका अपेक्षा र स्वयम् यस क्षेत्रका अग्रज पुस्ताबाट व्यक्त भावनालाई आत्मसात् गर्ने हो भने यसमा आबद्ध सबैलाई अझ बढी गम्भीर र उत्तरदायी बनाएको हुनुपर्छ । यतिबेला पत्रकारितामा लागेकामा पेसागत व्यावसायिकताको कमी र चरित्र र आचरणमा खडेरी पर्न थालेको महसुस भएको छ । अब किन र के कारण यो परिस्थिति निर्माण हुँदैछ भनेर त्यसको खोजी गरी यसमा सुधार गर्न जरुरी छ । यी कुरामा सुधार नगरी यस क्षेत्रको भविष्य सुखद र सुरक्षित रहन पनि सक्दैन । मिडियाको शक्ति र पहुँचलाई कमजोर हुन दिनु हुँदैन । कुनै पनि क्षेत्रको विकास र विस्तारसँगै चुनौती पनि खडा भएका हुन्छन्, त्यसलाई सामना गर्न सक्ने तागत र सामथ्र्य निर्माण गर्न सक्नु अर्को चुनौती रहन्छ । मुलुकमा आएको परिवर्तनसँगै पत्रकारिता क्षेत्रले पनि ठूलो फड्को मारेको छ । सूचना र सञ्चारको विकासले समाजमा अन्य विकाससँगै मानिसको चेतनागत विकासमा समेत महŒवपूर्ण सहयोग पुगेको छ । यो मुलुकका लागि ठूलो उपलब्धि पनि हो । यस सन्दर्भमा पत्रकारहरूको नेतृत्व गर्ने संस्था पत्रकार महासङ्घ र त्यससँग आबद्ध सञ्चारकर्मीले यस क्षेत्रको गरिमा र मर्यादा बढाउन थप मिहिनेती र इमानदार बन्न सक्नुपर्छ ।
पछिल्लो चरणमा महासङ्घको भूमिका र पत्रकारितामा आबद्ध निकाय र व्यक्तिको भूमिकाको बारेमा समेत प्रश्न उठ्न थालेका छन् । समाजलाई दिशानिर्देश गर्ने जगत् स्वयम् आलोच्य देखिनु वा यसका बारेमा प्रश्न गर्ने अवस्था आउनु सुखद विषय होइन । महासङ्घको नेतृत्वमा रहेका व्यक्तिहरूबाट यसको मर्यादा र गरिमा धान्न नसकेका गुनासा पनि आउने गरेका छन् । व्यावसायिक पत्रकारिताभन्दा व्यापारिक र घरानिया पत्रकारिताले प्रश्रय र प्रोत्साहन पाउन थालेकोप्रति समेत चिन्ता बढ्न थालेको छ । महासङ्घको नेतृत्वमा रहने समेत व्यक्तिगत मोलमोलाइजामा लागेका आरोप पनि छन् । यस्तो चरित्र र प्रवृत्तिले राज्यको पहरेदारी कसरी हुन सक्छ ? यस्तो चरित्रले महासङ्घको कद घटाउने मात्र होइन लामो इतिहास बोकेको संस्थाको गरिमामा समेत दाग लगाउने काम भएको छ । योसँगै महासङ्घ एनजिओकर्मीको अखडा जस्तो बन्यो । आफ्ना निहित स्वार्थ र गुटमा लागेर महासङ्घको छवि घटाउने काम भइरहेका छन् भन्ने आरोप पनि लाग्ने गरेका छन् । यथार्थमा भन्ने हो भने महासङ्घ यसबाट मुक्त हुन सकेको छैन । आगामी नेतृत्वले यसमा सुधार गरेर आफूलाई प्रस्तुत गर्ने नै छ । महाधिवेशनका प्रतिनिधिले समेत महासङ्घले आफ्नो भूमिकालाई थप प्रभवाकारी बनाउन नसकेमा चिन्ता व्यक्त गरेका छन् । अर्को कुरा महासङ्घमा राजनीति हावी भयो र पार्टीका भातृ संस्थाको शैलीमा नेतृत्व चयन हुन थाल्यो भन्ने छ । आजको कुनै पनि समाज वा व्यक्ति आस्था र भावनाविहीन छ र हुन्छ भन्ने कल्पना गर्नु मूर्खता मात्र हुनेछ । त्यसमा पनि पत्रकारितामा लागेका कुनै आस्था र निष्ठामा रहँदैनन् भन्ने हुँदैन । यसलाई जाँच्ने सबैभन्दा ठूलो कसी भनेको उसले आफ्नो पेसामा रहेर निर्वाह गरेको जिम्मेवारी र दायित्व कति विवेकपूर्ण र व्यावसायिक छ भनेर हेर्ने हो । उसले बोकेको आस्था र विश्वासलाई हेरेर मूल्याङ्कन गर्ने परिपाटी ठीक होइन । ऊ आफ्नो पेसा व्यवसायप्रति कति इमानदार र प्रतिबद्ध छ भनेर हेरिनुपर्छ । यस महाधिवेशनमा पनि आस्थाका हिसाबले उम्मेदवार खडा भएका छन् । पत्रकारका नेताहरू त्यही अनुरूप समूह–समूहमा विभाजित पनि देखिएका छन् । यो आज मात्र होइन हिजोका दिनमा पनि थियो । यो अनौठो मान्नुपर्ने विषय होइन । भनाइ छ– बिरालोको रङ हेरेर यो कालो, रातो वा छिर्केबिके भन्नुभन्दा उसमा हुनुपर्ने गुण अर्थात् मुसा मार्न सक्ने क्षमता छ कि छैन भनेर हेरिनुपर्छ । यो गुण पहिचान गर्ने क्षमता पत्रकारहरूले राखेका छन् वा राख्ने छन् भन्ने विश्वास छ । आजको परिवर्तित अवस्थालाई हाँक्न सक्ने र मुलुकलाई रूपान्तरणको दिशामा अगाडि बढाउन सक्ने नेतृत्व महासङ्घले खोजेको छ । यो अपेक्षा पूरा गर्न र महाधिवेशनको म्यान्डेड कार्यान्वयन गराउनमा नयाँ नेतृत्वले सफलता पाउन सकोस् ।
वास्तवमा पछिल्लो समय पत्रकारिताप्रति आकर्षण निकै बढेको छ । यही आकर्षणले सञ्चार संस्थाको विकास पनि भएको छ । सूचना र सञ्चारको विकासले समाजलाई आधुनिकतातिर अगाडि बढाएको पनि छ । प्रतिस्पर्धा पनि बढ्दो छ । यही बढ्दो प्रतिस्पर्धाले सूचना सामग्रीको वितरणमा तीव्रतासँगै विश्वसनीयता पनि कमजोर हुँदै गएको छ । सञ्चारको प्रचारप्रसारमा देखिएको होडबाजीले स्रोत नखुलेका र पुष्टि नभएका समाचार सामग्रीले पनि महŒव र ठाउँ पाउन थालेका छन् । यसमा सुधार ल्याउन पत्रकारिताको पाको पुस्ताको अनुभव र नयाँ पुस्तामा देखिनुपर्ने मिहिनेत र धैर्यको संयोजन आवश्यक छ । रे को भरमा समाचार लेखेर वा सम्प्रेषण गरेर चर्चामा आउने प्रवृत्ति हावी होला कि भन्ने चिन्ता बढ्दो छ । यसलाई सुधार गर्न पत्रकारको नेतृत्व तहले पनि आफ्ना सदस्यलाई सचेत र जागरुक बनाउने अभियान सञ्चालन गर्नुपर्छ । अहिले नेपाली पत्रकारितामा चारवटा पुस्तासँगै काम गर्दैछ । पहिलो पुस्ता अर्थात् बाजेपुस्तादेखि नाति पुस्तासम्म पत्रकारिता गरिरहेका छन् । निश्चय पनि पहिलो पुस्ताले भोगेको जस्तो दुःख कष्ट आजको पुस्ताले व्यहोर्न परेको छैन । साधन, स्रोतको हिसाबले पनि यो पुस्ता निकै सुखी र भाग्यमानी छ । योसँगै पत्रकारितामा धेरै किसिमका चुनौती रहेका छन् । त्यसलाई निराकरण गर्न पत्रकारका संस्थाको सक्रियता जरुरी छ । व्यावसायिक पत्रकारिता कमजोर हुँदै जान थालेको छ । यसमा सुधार गर्ने पक्ष र पाटो पनि पत्रकारका अगुवाकै हो । आमसञ्चारको शक्तिलाई अझ सशक्त र प्रभावकारी तुल्याउन र पत्रकारितामा देखापर्न थालेको विकृति र विसङ्गति रोक्ने साझा संस्थाको रूपमा नेपाल पत्रकार महासङ्घलाई उभ्याउन सकियो भने मात्र यसले आफ्नो ऐतिहासिक विरासत धानेको ठहर्नेछ । यसो भयो भने मात्र मुलुकको सबै क्षेत्र र निकायलाई खबरदारी गर्न सक्ने सबैभन्दा ठूलो नागरिक सङ्गठन हुनेछ । पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट चुनिएको नेतृत्वले यही मान्यतालाई बोक्न सकोस् यही शुभकामना ।

 प्रकाशित मिति: २०७४/५/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना