कसरी मनाउने स्वस्थ तीज ?

Prakash budhathokiडा. प्रकाश बुढाथोकी


नेपाली हिन्दु नारीहरू महान् चाड तीजको पूर्वसन्ध्यामा छन् । तीजका गीत बज्न थालेको, तीजका लागि भनेर विशेष पसल खोल्ने र महिलाले किनमेल गर्ने कार्य पनि लगभग अन्तिम चरणमा पुगिसकेको छ । महिला दिदीबहिनी आपसमा भेटघाट गर्दे मीठो–मीठो खाने र रमाइलो नाँचगान गर्ने क्रम पनि शुरु भइसकेको छ । तीजको मुख्य विशेषता भनेको व्रत तथा पूजाआजाका साथै महिलाले खाने दर पनि हो । तीजमा आफू स्वस्थ रहेर व्रत सम्पन्न गर्न सक्नु पनि आफैँमा ठूलो कुरो हो । यसका लागि महिला तथा व्रतालुले केही कुरामा ध्यान दिनु जरुरी हुन्छ ।
खानपान
केही वर्षयता व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै आएको छ । हिजोआज हप्तौँ अघिदेखि नै दर खाने तथा खुवाउने प्रवृत्ति देखिएको छ । पहिले खीर, शाकाहारी खाद्य पदार्थलाई दरको रूपमा प्रयोग गरिन्थ्यो भने अहिले समयक्रमसँगै मासुजन्य पदार्थ, रक्सीजन्य पदार्थ र मिठाइमा बढोत्तरी भएको छ । खानाबाट विभिन्न रोग लागेर अस्पताल नै धाउने पनि धेरै भएका छन् । मासुका पनि विभिन्न काँचो तथा अर्धकाँचो परिकार तथा तारेको, भुटेको परिकारमा वृद्धि भएको छ भने बजारमा पाइने रङ्गीन, बुट्टेदार मिठाइमा बढोत्तरी भएको देखिन्छ ।
माछामासु
मासु मानिसका लागि जस्तै विभिन्न किसिमका रोगका जीवाणुको लागि पनि स्वादिलो र पोषिलो खानेकुरा हो । अशुद्ध मासु खाँदा लाग्ने रोगमा फित्ते कीरा–टिनिया सोलियस, टिनिया साजीनाटा, ट्राकीनेल्ला स्पाइरलीस र फ्यासकीओला हेपाटीका, ब्याक्टेरीयल सङ्क्रमणमा एन्थ्राकस, एकटीनोमाइकोसीस, क्षयरोग (टी.बी.) र खाद्य विषाक्तता वा फुड प्वाइजनिङ पर्छन् ।
प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानि गर्ने प्रिजरभेटिभ राखिने भएकोले ताजा मासु प्रयोग गर्नु नै राम्रो हुन्छ । काँचो मासुभन्दा ठिक्कको आगोमा पकाएको मासु राम्रो हुन्छ र कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा बन्छ र पचाउन गाह्रो हुन्छ । प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप तथा मुटु रोगीका लागि मासु अनुकूल हुँदैन । राँगा, खसी, बङ्गुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुका साथै कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइने भएकाले यो मासु राम्रो मानिन्छ ।
धेरै चिल्लो तथा मसला हालेको मासुले अपच गराउने तथा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने समस्या ल्याउँछ । काँचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जीवाणु सार्ने सम्भावना हुन्छ । मासु मात्र खाँदा कब्जियत हुन सक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि यथेष्ठ सेवन गर्नुपर्छ ।
मिठाइ
चाडवाडमा तयारी मिठाइ पसलबाट किन्ने चलन बढ्दो छ । हिजोआज बजारमा उपलब्ध विभिन्न प्रकारका मिठाइसँगै रोग पनि किनिरहेका हुन सक्छौँ किनभने मिठाइमा विभिन्न प्रकारका रङ्ग, सिम्रिक, सिन्दुर, अबिर, नीर, रोडामीन बी, ब्रिलीयन्ट ग्रीन, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामीन, केशरी तथा चम्पारङ्ग र बढी मात्रामा खाद्य रङ्गहरू क्यारोटीन, एनाटो, विकजीन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडिटिभ, प्रिजरभेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा तत्कालै प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्छन् । यसबाट पेट गडबड गराउनुका साथै पखाला लाग्छ । रातो रक्तकोष नष्ट, रगतको कमी र रोगसँग लड्ने क्षमता घट्नुका साथै कोमल अङ्गहरू जस्तै कलेजो, मुटु, मृर्गौलालाई कमजोर पार्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । यसबाहेक क्यान्सरको सम्भावना पनि बढेर जान्छ । चर्मरोग, बाझोपन, आँखा, कानमा यी तŒवको प्रतिकूल प्रभाव पर्न सक्छ । मिठाइ र प्रिजरभेटिभले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्ध आउने, दन्त सड्न बनाउने गरेको पाइन्छ ।
उपवास
नियमित रूपले उपवास वा व्रत बस्दा फाइदा प्रशस्त छन् । खोजबाट समेत व्रत बस्ने मानिस नबस्ने मानिसभन्दा बढी बाँच्छन्, उनीहरूमा दीर्घरोग लाग्ने सम्भावना कम हुन्छ तथा तौल स्थिर राख्न मद्दत गर्ने कुरा पत्ता लागिसकेको छ । व्रत बस्ने स्वस्थ व्यक्तिले पनि दैनिक कार्य गर्न, मन्दिर दर्शन गर्न, पूजापाठ र नाँचगानका लागि थप ऊर्जा चाहिने भएकाले पानी, फलाहार, जीवनजल, मिठाइ, मिस्री सेवन गर्न जरुरी हुन्छ । तथापि, लामो समयसम्म व्रत बस्दा शरीर कमजोर बन्छ, रोगसँग लड्ने क्षमता घट्छ । मधुमेहका रोगीले व्रत बस्दा हाइपोग्लाइसेमियामा जाने तथा रक्तचाप कम वा बढी भएकामा रक्तचाप घटी बेहोस हुने सम्भावना रहन्छ । नयाँ तथा दीर्घ बिरामी ग्याष्ट्रिक, अल्सर, मुटु रोगी, साना नानी भएका आमा, वृद्धा, गर्भवती, भर्खरै शल्यक्रिया गरेका र नियमित औषधि सेवन गरिरहेकाले व्र्रत नबस्नु नै उपयुक्त हुन्छ ।
पानी नपिएर व्रत बस्दा वा शरीरमा पानी कम हुँदा छाला सुख्खा हुने, मुख सुक्ने, धेरै तिर्खा लाग्ने, थकित देखिने, तौल घट्ने, अपच, झर्किने र मांसपेसी बाऊडिने, टाउको दुख्ने, अम्लपीत्त हुने, शरीरमा ग्लुकोजको कमी भएर बेहोस हुने सम्भावना पनि त्यत्तिकै रहन्छ । त्यसैमा हिँड्डुल, नाँचगान गर्दा शरीरमा भएको पानी पनि पसिनाको रूपमा निस्किँदा हिटस्ट्रोक, निर्जलीकरण भई शरीरका अङ्ग प्रत्यङगमा असर पर्ने तथा बेहोस हुने हुन सक्छ ।

प्रकाशित मिति २०७४/५/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना