सामाजिक व्यवहार सुधारका लागि नयाँ कानुन

uttam khanal_1डा. उत्तम खनाल

 

समयको गतिसँगै समाज विकासका आचरण पनि परिवर्तन हुँदै आए । मर्दापर्दा गरिने सामाजिक संस्कारका रूप र स्वरूपमा पनि बिस्तारै परिवर्तन भयो । न्वारन, पास्नि, व्रतबन्ध, गुफा, बेलविवह, विवह र मृत्यु संस्कार अभिन्न सामाजिक व्यवहार बन्दै हरेकको जीवनसँग गाँसियो । सबै जातजातिका सम्प्रदायले आफ्नै रीतिथिति, विधि र नीतिमा रही सामाजिक संस्कारका कार्य गर्दै आए तर आफ्नो धर्म, संस्कृति, परम्परालाई बिस्तारै भुल्दै परिष्कृत सामाजिक व्यवहार देखासिखी, भड्किलो बन्दै हुनेका लागि सामाजिक इज्जत एवम् प्रतिष्ठा देखाउने स्थान तथा गरिवका लागि कि त गर या त मर को गलाको पासो बनेर जानाले सम्मानको बदाला अपमानका ज्वाला बढ्न थाले । सक्नेले त गर्ने भयो, नसक्नेका लागि आफूलाई अपमानित गराएर बाँच्नुको विकल्प नहुँदा यसतर्फ राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।
सामाजिक व्यवहार भन्नाले जन्मोत्सव, विवाह, विवाह अघि वा पछि गरिने कार्यक्रम, मृत्युसंस्कार, पितृमातृ कार्य वा आफ्नो कुल, रीत, धर्म वा संस्कृतिअनुसार गरिने अन्य कार्य वा समारोह पर्छन् । प्रचलित यी सामाजिक व्यवहारमा अनुत्पादक खर्च तथा भड्किलो प्रदर्शन गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी सर्वसाधारण जनताको आर्थिकहित कायम गर्दै प्रचलित सामाजिक व्यवहारलाई सरल, स्वच्छ, मितव्ययी र मर्यादित बनाउँदै लैजानु राज्यको दायित्व हो ।
हुन त मुलुकी ऐनले यस्ता सामाजिक व्यवहार सुधारका लागि व्यवस्था नमिलाएको पनि होइन, तथापि हालको सामाजिक अवस्थालाई मनन गर्दै भविष्यमा हुन सक्ने विकृति हटाउन यथेष्ट व्यवस्थाको प्रबन्ध गर्न खास–खास अन्तरवस्तुमाथि सम्बोधन हुने गरी नयाँ आयाममार्फत समय सापेक्ष बनाउनुपर्ने दबाब पर्नु समयको माग थियो । यसको प्रमुख कारण के हो भने विवाहमा समाज यति भड्किलो भयो कि यो र त्यो नाउँमा तिलक तथा दाइजो लिने र दिने कार्यले देखासिको गर्दै सामाजिक विकृतिका रूपमा अपराध बढ्दै गयो । दाइजो नपुगेकै कारण घर निकाला, बुहारी हत्या, यातना, घरेलुहिंसाजस्ता पीडक र पीडितका घटना घटेनन् बरु बढ्दै गए, मौलाउँदै गए । यस्ता प्रकृतिका कुसंस्कार तत्काल सुधार गरी समाजमा जीवनयापनको सहज मान्यता स्थापित गराउन राज्यका तर्फबाट कानुनी मापदण्ड बनाइ त्यसैका आधारमा कामकाज अगाडि बढाउने प्रयास गर्नु लोक हिताय बन्दै गयो ।
सामाजिक सुधार ऐन, २०३३ ले गरेका व्यवस्थालाई प्रतिस्थापन गर्न बदलिँदो परिवेशमा थप आवश्यकता देखिएको छ । समाजमा हुने व्यक्तिले अथाह सम्पत्ति खर्च गरेर सामाजिक कार्य गर्ने र त्यसैको नक्कल नहुनेले गर्न खोज्दा घरबारविहीन हुन पुगेका घटना बढ्दै जाँदा समयानुकूल सुधार गर्न वाञ्छनीय ठानेर नेपाल सरकारले सामाजिक व्यवहार सुधार विधेयक संसद्मा पेस गरेको छ । यो विधेयकले भोलिका दिनमा समाजलाई भड्किलो हुनबाट बचाउने र समाजिक कार्य सरल रूपमा सम्पादन हुने अपेक्षा गरिएको छ तर अझैसम्म यो विधेयक पारित भई ऐनको रूपमा आउन नसक्नु समाजका लागि पनि हितकर मानिएको छैन । यो ऐन छिट्टै आओस् भन्नेमा सबैको एउटै मत रहेको छ ।
के छन् सामाजिक व्यवहार सुधार विधेयकमा प्रस्तावित मूल मुद्दा ?
- वैवाहिक सम्बन्ध स्थापित गर्दाका बखत दुलाहा पक्षले दुलही पक्षबाट दाइजो, उपहार, तिलक, भेटीजस्ता कुनै पनि किसिमको चल र अचल सम्पत्ति माग्न, लिन र दिन पाइने छैन ।
- दुलाहा पक्षले दुलहीलाई कपडा तथा बढीमा चालीस ग्राम सुन वा सो बराबरको प्रचलित मूल्यले हुने रकमको गरगहना र दुलही पक्षले दुलाहा पक्षलाई बढीमा बीस ग्राम सुन वा सो बराबरको प्रचलित मूल्यले हुने रकमको गहना र तोकिएको रकमसम्मको कपडा तथा अन्य जिन्सी सामान राजीखुसीले दिन सक्नेछ ।
- विवाहमा बाजावाला र भरियासहित दुलाहा पक्षले एक सय पचास जनाभन्दा बढी जन्ती वा बरियात लैजान पाउने छैन ।
- भरिया र बाजावालाबाहेक दुलाहा पक्ष वा दुलही पक्षले जन्ती वा बरियातमा सहभागीलाई नगद वा जिन्सी उपहार दिन पाउने छैनन् ।
- विवाहसम्बन्धी कार्यक्रमको निधोका लागि आयोजित कार्यक्रममा दुलाहा पक्षबाट दुलाहाबाहेक पच्चीस जना र दुलही पक्षबाट दुलहीबाहेक पैँतीस जनाभन्दा बढी सहभागी गराउन पाउने छैनन् ।
- विवाहमा नेपाल सरकारको सेवामा बहाल रहेको राष्ट्रसेवकलाई बाजावालाको रूपमा भाग लिन लगाउनु हँुदैन ।
- विवाहको भोजमा तीन सय पचास जनाभन्दा बढी सामेल गराइने छैन र विवाहबाहेक अन्य सामाजिक व्यवहारको भोजका लागि सय जनासम्मले सहभागी हुन पाउने छन् तर सामाजिक कार्य गर्ने हेतुले आयोजना गरिएको भोजमा यो नियमको सीमा वा बन्देज लागू हुने छैन ।
नियम विपरीत सामाजिक व्यवहारसम्बन्धी कार्य गर्ने वा गर्न लगाउनेका लागि कानुनले के कस्ता व्यवस्था गरेका छन् ?
- तिलक, दाइजो लिए वा दिए बिगो जफत गरी बिगोबमोजिम जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय र तिलक वा दाइजो लिई नसकेको अवस्थामा भने पचास हजार रूपियाँसम्म जरिवाना वा डेढ महिनासम्म कैद वा दुवै सजाय हुने ।
- तिलक वा दाइजो लिने दिने गरी भएको सम्झौता स्वतः बदर हुनेछ साथै कुनै पनि कारणले विवाह गर्न इन्कार गर्न वा बाधा अवरोध पु¥याउन हुँदैन । यदि यसो भएमा एक लाख रूपियाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
- सामाजिक व्यवहारमा आमन्त्रित व्यक्तिले प्रत्येकका लागि उपहार स्वरूप तोकिएबमोजिम नगद वा सो मूल्य बराबरको जिन्सी दिन सक्नेछ तर यस नियमको बर्खिलाप गर्नेलाई पच्चीस हजार रुपियाँसम्म जरिवाना हुनेछ ।
- विवाहसम्बन्धी कार्यक्रमको निधो गर्दा दुलाहा वा दुलही पक्षले खुसीराजीले एक आपसमा दश ग्रामभन्दा बढी सुन वा सोको प्रचलित मूल्य बराबरभन्दा बढीको अन्य उपहार दिन लिन हुँदैन । यसको बर्खिलाप भए बिगो जफत गरी बिगोको दोब्बर जरिवाना हुने ।
- दुलाहा वा दुलहीको पक्षबाट विवाहमा लागेको वा लाग्ने खर्च वा पढाइ, व्यापार, व्यवसाय वा व्यक्तित्व विकासमा लागेको वा लाग्ने खर्च दुलाहा वा दुलही पक्षले अर्को पक्षसँग माग्न वा लिन वा दिन हुँदैन । यसो भएमा बिगो खुलेकोमा बिगो जफत गरी बिगोबमोजिम जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय र बिगो नखुलेको खण्डमा एक लाख रुपियाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
- सामाजिक व्यवहार गर्ने व्यक्तिले उक्त व्यवहार सम्पन्न भएको मितिले पन्ध्र दिनभित्र आफूले गरेको सामाजिक व्यवहार र त्यसमा भएको खर्चको विवरण सम्बन्धित गाउँ वा नगरपालिका समक्ष पेस गर्नुपर्ने छ । सामाजिक व्यवहारको सिलसिलामा भोजको लागि आमन्त्रण गरिएका व्यक्तिको लगत तथा खर्चको विवरण सम्बन्धित प्रमुख जिल्ला अधिकारीले माग गर्न सक्नेछ र त्यसरी मागिएको विवरण सम्बन्धित व्यक्तिले सूचना पाएको मितिले बाटाका म्यादबाहेक पन्ध्र दिनभित्र उपलब्ध गराउनुपर्ने छ । सोबमोजिम विवरण पेस नगर्ने वा झुठो विवरण पेस गर्नेलाई पचास हजार रुपियाँसम्म जरिवाना हुनेछ ।
सामाजिक व्यवहार सुधार कानुन तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन सकेको खण्डमा विकृतिपूर्ण भड्किलो खर्चमा कटौती भई आर्थिक विचलन र देखासिकी नियन्त्रणमा सहयोग पुग्दै भ्रष्टाचार नियन्त्रणको कार्यमा समेत थप टेवा मिल्ने छ ।

 प्रकाशित मिति २०७४/५/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना